अब पर्यटकले गोठमा बस्नु पर्दैन

२०८० माघ १७ गते, बुधबार

काठमाडौँ । एक दशक अघिसम्म नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो। अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल। जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो।
जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस घुम्न जान्थे। ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे। खाना खाने र सुत्ने होटलको सुविधा थिएन। अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन्। पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छैन। अहिले कच्ची भए पनि सडक पुगेको छ। सामान्य भए पनि होटल तथा होमस्टे ठाउँ–ठाउँमा छन्।
सडक र होटल सञ्चालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकसमेत बढेका छन्। यहाँ दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास सञ्चालनमा आएका छन्। होटल सञ्चालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नुपरेको छैन। काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन्। स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन्।
ढोरपाटनमा आएको परिवर्तनले स्थानीय बूढापाका दंग छन्। पहिले सामान्य झुपडी रहेको बस्तीमा अहिले ठूला–ठूला भवन निर्माण भएर होटल सञ्चालनमा आएका छन्। चिसो ठाउँ भएको हुँदा न्यायो हुनेगरी यहाँका भवन निर्माण भएका छन्। ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथर गाउँमा होटल निर्माण भएको पाइन्छ। कच्ची भए पनि मोटरबाटोले ढोरपाटन जोडिएपछि यहाँ आउनेको सङ्ख्या बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवनकुमार पुनमगरले बताए। पहिले ढोरपाटन आउँदा बास बस्न र खानाको ठूलो समस्या हुने हुँदा कम मात्रामा पर्यटक आउने गरेको उनको भनाइ छ।
अहिले टोलटोल र बस्तीबस्तीमा होटल तथा घरबास सञ्चालनमा आएको हुँदा एक रातमा करिब छ सयको हाराहारीमा पाहुना राख्ने क्षमता रहेको अध्यक्ष पुनमगरले बताए। हाल ढोरपाटन उपत्यकामा करिब ३४ वटा होटल र घरबास रहेको उनको भनाइ छ। सञ्चालनमा आएका होटल सहरबजारका जस्ता व्यवस्थित नभए पनि खाना बस्न भने उपयुक्त रहेको पुनमगरले बताए। पछिल्लो समय धेरैले होटललाई व्यवस्थित बनाउँदै गएको उनी बताउँछन्।
‘चार वर्ष अगाडिसम्म ढोरपाटन आउने पर्यटकलाई कहाँ बस्ने, कहाँ खाने भन्ने समस्या थियो, सामान्य गोठमा स्याउला बिछ्याएर चिसोमा रात बिताउनुपर्ने अवस्था थियो। खाना खाने व्यवस्था थिएन, तर अहिले त्यो समस्या पूर्णरूपमा समाधान भएको छ, दुई–तीन वर्षको अवधिमा यति धेरै होटल र होमस्टे सञ्चालनमा आए’, उनले भने, ‘शहरको जस्तो सुविधासम्पन्न त नहोलान् तर भोक टार्न र रात बिताउन होटल भने प्रशस्तै छन्।’
ढोरपाटन नगरपालिका–९ पाखाथरका स्थानीय गङ्गा भण्डारीले यो क्षेत्र निकै परिचत भए पनि विकासका हिसाबले पछाडि रहेको बताए। स्थानीयको पहलमा ढोरपाटन क्षेत्रमा केही परिवर्तन भए पनि राज्यको नजर भने पुग्न नसकेको गुनासो पोखे। हिउँदमा बेँसी (बोबाङगाउँ) र बर्खामा लेक (ढोरपाटन) मा बस्ने स्थानीय अहिले उपत्यका क्षेत्रमै स्थायीरूपमा बसेर होटल व्यवसाय गर्न थालेको उनको भनाइ छ। गाउँलेले आगन्तुकका लागि बस्न र खानका लागि राम्रो व्यवस्थापन गर्दै गएको तर सडकका कारण सोचेअनुसार पर्यटक ल्याउन नसकेको भण्डारीले बताए।
‘यो ठाउँका अधिकांश मान्छे बुकी जाने, वस्तुभाउ चराउने र खेतीगरेर जीविकोपार्जन गर्दै आएका थिए, व्यापार व्यवसाय गर्ने वातावरण थिएन, अहिलेका जस्ता घर पनि थिएनन्, विस्तारै बाटो आयो, मोटरगाडी आउन थालेपछि घर पनि राम्रा बन्न थाले, होटल भन्ने थाहा हुँदैनथ्यो, शहरबजार जाँदामात्रै सुनिन्थ्यो’, उनले भने, अहिले त यहाँ पनि धेरै होटल खुलेका छन्, यस क्षेत्रका जनतालाई सबैभन्दा बढी समस्या बुर्तिबाङबाट यहाँसम्म आउने बाटोको छ, धेरै वर्ष भयो बाटो खुलेको तर अहिलेसम्म राम्रो बन्न सकेको छैन।’
ढोरपाटन पर्यटन प्रवर्धन संस्थाका अध्यक्ष बेगबहादुर विश्वकर्माले एक दशक अगाडि यहाँ आउने पर्यटकको सङ्ख्या निकै न्यून रहेको भन्दै पछिल्लो समय बढ्दै गएको बताए। पहिले ढोरपाटन आएका पर्यटकले गोठमा बसेर आलुको ढिँडो, आलुकै खोले खानुको विकल्प थिएन। अहिले पाहुनाले चाहेअनुसारको ठाउँमा बस्न र स्थानीय उत्पादनका परिकार खान पाउने उनको भनाइ छ। ढोरपाटन आउने अधिकांश पर्यटक उपत्यका क्षेत्रमा मात्रै डुलेर जाने गरेको विश्वकर्माले बताए।
उपत्यकाभन्दा बुकी क्षेत्र, जलजला, छुन्तुङलगायत माथिल्लो क्षेत्र निकै रमणीय रहेको उनको भनाइ छ। होटल तथा घरबास सञ्चालनमा आएपछि पर्यटक आगमनमा निकै वृद्धि भएको अध्यक्ष विश्वकर्माले बताए। अहिले चिसोका कारण पर्यटक आउन छाडे पनि सिजनमा दैनिक करिब ३०० देखि ५०० सम्म आउने गरेको उनको भनाइ छ। -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार

ठमेल २४ सैँ घण्टा खुल्दै

२०८० चैत्र २९ गते, बिहीबार