लेनिनवादी संगठनात्मक सिद्धान्त र नेपालका कम्युनिष्टहरु

२०८० माघ १६ गते, मंगलवार

डा. केशव देवकोटा

नेपालमा पछिल्ला दिनमा मुख्यत कम्युनिष्ट राजनीतिमा विभिन्न किसिमका उतार–चढावहरु देखिएका छन् । मुख्यत ०४६ सालको राजनीतिक परिवर्तनबाट नेपालमा बहुदलीय संसदीय ब्यवस्थाको पुनस्र्थापना भएपछि शुरु भएको कम्युनिष्ट पार्टीहरुको भ्रष्टीकरणको अवस्था ०६३ को राजनीतिक परिवर्तनपछि तीब्र भएको छ । मुख्यत ०५२ मा शुरु भएको जनयुद्ध, जसले दिएका नारा र ०६३ पछिको कतिपय समूहहरुको पछि हटाइका कारण कम्युनिष्ट पार्टीहरुलाई विभिन्न धारामा बिभाजित गरेको छ र अन्योलहरु तीब्ररुपले बढेर गएका छन् । मुख्यत कम्युनिष्ट राजनीति आफैँमा विचारको राजनीति हो । जसको हरेक कुरालाई हेर्ने, बुझ्ने र परिचालन गर्ने÷गराउने आफ्नै विश्वव्यापी मूल्य, मान्यता र आदर्शहरु रहेका छन् । त्यसअनुसार पार्टीमा परिमार्जन गर्न प्रयास गर्ने हो भने फेरि नेपालको कम्युनिष्ट आन्दोलन जुरुक्क उठ्ने छ । कम्युनिष्टहरुले अपनाउने भनेको मालेमा दर्शनका साथै लेनिनवादी संगठनात्मक पद्धतिनै हो । विचारवान पार्टीहरुले गलत विचारलाई निरन्तर सच्याउँदै अगाडि बढ्नु पर्दछ । कमरेड माओले भन्नुभएको पनि छ ‘जहाँ कुचो पुग्दैन, त्यहाँ कसिंगर बाँकी रहन्छ ।’ जसरी हामी हाम्रो घर आँगन र करेसा वरिपरी हरेक दिन बिहान कुचो लगाउँदछौं । त्यसैगरी हाम्रो ‘संगठनात्मक घर’ पार्टीमा पनि कुचो लगाउने प्रबन्ध गर्नुपर्दछ । त्यो भनेको पार्टी मालेमावादी विचारअनुसार चलेको छ÷छैन र लेनिनवादी संगठनात्मक पद्धतिअनुसार चलेको छ÷छैन भन्ने निरन्तर जाँच पड्ताल गर्ने प्रबन्ध गर्नु हो । पार्टी संगठनका क्रममा घमण्ड, शिथिलता र कुनै मौका पाउनासाथ राजनीतिमा अनिच्छा बढ्न सक्छ । यश, आरामको चाहना र अनबरत कठिन जीवनप्रति अरुची पनि बढ्न सक्दछ । पछिल्लो समयमा त नेपालमा मुखले क्रान्तिकारी र व्यवहारले प्रतिक्रान्तिकारी हुनेहरुको संख्या पनि उल्लेख्य छ । त्यसैले कसैले मुखले भनेकै आधारमा उसको मूल्यांकन गर्न सकिने अवस्था छैन । उ के भन्छ होइन, के गर्छ त्यो महत्वपूर्ण विषय हो । विश्व सर्बहारा वर्गका महान् नेता भ्लादिमिर लेनिनले कम्युनिष्ट पार्टी सञ्चालनका नीति तथा सिद्धान्तको आजभन्दा १०० वर्ष अघिनै प्रतिपादन गर्नुभएको थियो । उहाँले त्यसको अभ्यास पनि गर्नुभयो र सफलता पनि प्राप्त गर्नुभयो । हालसम्म पनि सोही सिद्धान्तका आधारमा कम्युनिष्ट पार्टीहरु सञ्चालित, परिचालित हुने गरेका छन् भन्ने गरिन्छ । तर कतिपय त्यसअनुसार परिचालित नभएको अवस्था पनि छ ।

त्यसैले आजका सन्दर्भमा मुख्यत नेपालका क्रान्तिकारी धारका कम्युनिष्ट पार्टीहरुले लेनिनवादी संगठनात्मक सिद्धान्त अपनाउनु पनि जरुरी छ भने त्यस आधारमा आफ्नो पार्टी संगठनको जाँच पड्ताल गर्नु पनि त्यतिकै जरुरी छ । खासमा लेनिनवादी संगठनात्मक सिद्धान्त जनपक्षीय राजनीति गर्न चाहने सबै राजनीतिक दलहरुले अपनाउनु उपयुक्त हुन्छ । आजभन्दा १०० वर्षभन्दा अघि लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्तको आजसम्म पनि त्यतिकै महत्व रहेको छ । जुन सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यतामा जोड दिएको छ । लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयताका विषयहरुको व्याख्यासहित कड्याइका साथ त्यसको कार्यान्वयनमा जोडसमेत दिएको छ । यसलाई कडा अनुशासनकारुपमा समेत हेर्नेगरिएको छ । लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार व्यक्ति संगठनको अधिनस्थ हुन्छ, अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो समिति माथिल्लो समितिको अधिनस्थ हुन्छ, पार्टीका सम्पूर्ण समितिहरु केन्द्रीय समितिको अधिनस्थ हुन्छन्, केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ र महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छभन्ने रहेको छ । यसरी लेनिनवादी संगठनात्मक सिद्धान्त कम्युनिष्ट पार्टीले मात्र नभएर अन्य राजनीतिक दलहरुले पनि अपनाउन सकेको खण्डमा पार्टी दिगो, दरिलो र प्रभावकारी हुन्छ । लेनिनले त्यतिबेलानै संगठनात्मक सिद्धान्तकारुपमा कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरुसमेत तोक्नुभएको पाइन्छ । कम्युनिष्ट पार्टी कडा तथा फलामे अनुशासनमा रहने संगठन भएकाले लेनिनको पार्टीलाई बोल्सेभिक पार्टीसमेत भनिन्थ्यो । उहाँले अगाडि सारेका कम्युनिष्ट सदस्यहरुका लागि न्यूनतम शर्तहरुमा पार्टीको नीति तथा कार्यक्रम मान्ने, पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने र पार्टीलाई नियमितरुपमा लेबी तिर्ने भन्ने रहेको छ । लेनिनले प्रतिपादन गरेका संगठनात्मक सिद्धान्तका तीनवटा आधारहरु पनि रहेका छन् । जसमा पार्टीमा जनवादी केन्द्रीयताको राम्रो अभ्यास भएको हुनुपर्छ भन्ने रहेको छ । जसमा जनवाद र केन्द्रीयताको तालमेल कसरी गर्ने भन्ने कुराहरु पनि रहेका छन् । उक्त सिद्धान्तले जनवादविना केन्द्रीयता निरंकुश हुने र केन्द्रीयताबिना जनवाद अराजकतावादमा जाने विषयमा जोडदिइएको छ । केन्द्रीयताबिना पार्टीका विभिन्न समिति÷संगठनहरु ठीक ढंगले परिचालित हुँदैनन् । किनकि केन्द्रीयता भनेको कम्युनिष्ट पार्टीको अनुशासनको कुरा पनि हो । स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना भएन भने त्यसले अनुशासनलाई कमजोर बनाउने काम गर्दछ । केन्द्रीयताको प्रश्नमा जनवादको प्रयोग पनि जरुरी हुन्छ । त्यसैले कम्युनिष्ट पार्टीमा कुनैपनि सदस्य सधैं संगठनको मातहतमा रहन्छ भन्ने मान्यता रहेको हुन्छ । त्यसैगरी बहुमतको निर्णय विनाशर्त अल्पमतले मान्नै पर्दछ ।

कम्युनिष्ट पार्टीहरुमा आत्मालोचना र आलोचनाको सिद्धान्तलाई पनि दह्रोसँग पक्रिनु अर्थात अपनाउनु जरुरी हुन्छ । कम्युनिष्ट पार्टीमा सदस्यहरुले आफ्ना कमजोरी र समस्याहरुको आफैँले समीक्षा गरेर बैठकमा बताउँने बिधिलाई आत्मालोचनाको सिद्धान्त भनिन्छ । कुनै पनि कुराको आत्मालोचना गरिसकेपछि उसले त्यसलाई फेरि नदोहो¥याई अगाडि बढ्छ र असल कम्युनिष्ट बन्छ भन्ने मान्यता रहेको हुन्छ । त्यसैगरी पार्टी संगठन र नेता तथा कार्यकर्ताहरुको कमजोरीका बारेमा सम्बन्धित समिति अथवा माथिल्लो निकायबाट आलोचना हुन्छ । त्यो आलोचनालाई बिरोध नभएर सुधारका लागि हो भन्ने ठान्नुपर्छ । आलोचना खासमा तथ्यमा आधारित र सुधारात्मक एबं सुझावात्मक हुन पनि त्यतिकै आवश्यक रहेको छ । त्यसैगरी कम्युनिष्ट पार्टीमा असल नेता चुन्ने बिधि पनि आफ्नै किसिमको रहेको हुन्छ । त्यसैले लेनिनले पार्टी संगठनमा नेतृत्व चयन गर्दा इमान्दारिता, सक्रियता वा निरन्तरता, समर्पित भावना र रचनात्मक क्षमता वा कार्य दक्षतामा ध्यान दिनुपर्छ भन्नुभएको छ । लेनिनवादी संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता, आलोचना र आत्मालोचना, नेतृत्व चयनको विधिको सन्तुलनकारी भूमिका रहेको हुन्छ । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्दा पनि उपरोक्त कुराहरुलाई ध्यान दिइएको पाइन्छ । आन्दोलनको विकासका लागि पृष्ठभूमि निर्माण गर्ने र कम्युनिष्ट आन्दोलनको आरम्भ, विकास र बिस्तार गर्ने कार्यमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालका विचारहरु पनि त्यतिकै सान्दर्भिक रहेका थिए र छन् पनि । वास्तवमा उहाँका अवधारणाहरु नेपाली समाजलाई आमूल र अग्रगामी सामाजिक परिवर्तनको दिशाबोध गराउने विश्वको क्रान्तिकारी दर्शन, विचार, सिद्धान्त अर्थात मालेमावादमा आधारित नेपालको बिशिष्ठ भौतिक परिस्थिति अनुरुपका अवधारणाहरु हुन् र नेपालको कम्युनिष्ट आन्दोलनको विकास र समृद्धि तथा आमूल अग्रगामी परिवर्तनका निमित्त ती अपरिहार्य पनि रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी बिधिवत स्थापना गर्ने तयारी सँगसँगै नेपाली क्रान्तिको मूलबाटो र यसको चरित्रकाबारेमा पुष्पलालले विचार निर्माण गर्न थाल्नुभएको देखिन्छ । उहाँले नेपाली जनआन्दोलनको दिशाकाबारेमा अगाडि सार्नुभएका प्रस्तावनाहरु धेरै महत्वपूर्ण रहेका छन् । उहाँले वर्ग बिभाजित कुनै पनि समाजमा समाज विकासको क्रमलाई अगाडि बढाउने र त्यसलाई क्रान्तिकारी रुपान्तरण गर्ने प्रश्नमा सही माक्र्सवादी–लेनिनवादीहरुको सिद्धान्त र ब्यवहार प्रष्टरुपमा वर्ग संघर्षमा आधारित हुनुपर्छ भन्ने कुरामा बिशेष जोडदिएको पाइन्छ । त्यसैगरी संयुक्त जनआन्दोलनको नीति, संयुक्त मोर्चा र वामपन्थी एकताको सवाल, राष्ट्रियताकोे प्रश्न, जनतन्त्रका सम्वन्धमा, जनजीविकाको सवाल, जाति, भाषा र सांस्कृतिक समस्याको सवाल, समकालीन विश्व परिस्थितिलाई हेर्ने सवाल, सर्बहारा अन्तर्राष्ट्रवादी निष्ठाको सवाल आजको नेपालको कम्युनिष्ट राजनीतिका लागि धेरै महत्वपूर्ण मानिन्छन् । नेपालका कम्युनिष्टहरुले त्यो इतिहास र ऐतिहासिक दस्ताबेजलाई आज फेरि पल्टाएर हेर्ने र चिन्तन मनन गर्ने हो भने पार्टीलाई फेरि सशक्त ढंगले अगाडि बढाउन सकिने अवस्था रहेको छ । पुष्पलालले अघि सार्नु भएको कम्युनिष्ट पार्टी र यसको कार्यपद्धति, नेपाली जनआन्दोलन ः एक समीक्षा र नेपाली प्रगतिशील बुद्धिजीविहरुले सामाजिक परिवर्तनमा खेल्नुपर्ने भूमिकाजस्ता दस्तावेजहरु आज पनि उत्तिकै महत्वपूर्ण रहेका छन् । उहाँले त्यतिबेलानै नेता होइन, नीति प्रधान हुन्छ भन्ने मान्यता विकसित गर्नु भएको थियो । आज नेता प्रधान बन्दै गएका नेपालका कम्युनिष्ट पार्टीहरुले उपरोक्त कुराको पनि स्मरण गर्नु जरुरी छ । नेपालका कम्युनिष्ट पार्टीहरु विचारबाट कमजोर हुँदै गएकाले संगठनात्मक रुपमा पनि कमजोर भएका हुन् । सबै कम्युनिष्ट पार्टी, तिन्का जन संगठन र हरेक सदस्यहरुले आ–आफ्नाबारेमा चिन्तन् मनन् गरुन् । त्यसैबाट हरेक समस्या समाधानका उपायहरु पत्ता लाग्ने छन् ।

प्रतिक्रियाहरु