‘माक्र्सवाद–लेनिनवादको विज्ञान सबै क्रान्तिकारीहरूले अध्ययन गर्नैपछ’

२०८० माघ १६ गते, मंगलवार

कमरेडहरू ! विचार आदान–प्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम क्रान्तिकारी कार्यका माझको सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईंंहरूलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसो गर्नाको हाम्रो उद्देश्य क्रान्तिकारी साहित्य र कलाले विकासको सही बाटो लिन सकून् भन्ने र राष्ट्रिय सत्रुको तख्ता पल्टाइदिन तथा राष्ट्रिय मुक्तिको अभिभारा पूरा गर्न र क्रान्तिकारी कार्यलाई अझ सजिलो तुल्याउन अझ राम्ररी मद्दत गर्ने कुरो सुनिश्चित गर्नु हो ।

चिनियाँ जनताको मुक्तिका निम्ति गरिने हाम्रो सङ्घर्षका अनेकौँ मोर्चाहरू छन्, जसमा कलम र बन्दुकका मोर्चाहरू, सांस्कृतिक र सैनिक मोर्चाहरू पर्दछन् । सत्रुलाई हराउनका निम्ति हामीले मुख्य रूपले बन्दुकधारी सेनामाथि भर पर्नुपर्दछ तर यो सेना मात्र पर्याप्त हुँदैन । हामीसत सांस्कृतिक सेना पनि हुनैपर्छ । जो हाम्रा पङ्क्तिहरूलाई एकतावद्ध पार्न र दुश्मनलाई हराउन अनिवार्य रूपले आवश्यक छ । मई ४ आन्दोलनदेखि चीनमा यस्तो सांस्कृतिक सेनाले साकार रूप लिएको छ र यसले चिनियाँ क्रान्तिलाई मद्दत गरेको छ । चीनको सामन्ती संस्कृति र साम्राज्यवादी अतिक्रमणलाई टेवा दिने दलाल–पुँजीवादी संस्कृतिको प्रभाव–क्षेत्र क्रमशः घटाएको छ र तिनको प्रभावलाई कमजोर पारेको छ । नौलो संस्कृतिको विरोध गर्नका निम्ति चिनियाँ प्रतिक्रियावादीहरूले अब ‘गुणसित मात्राले टक्कर लिने’ एक मात्र तरिका अपनाउन सक्छन् । अर्को शब्दमा भन्ने हो भने चिनियाँ प्रतिक्रियावादीहरूसित पैसा छ र उनीहरूले कुनै श्रेष्ठ रचना तयार पार्न नसके तापनि भएभरको शक्ति लगाएर मात्रा भने थुपार्न सक्छन् । मई ४ आन्दोलनदेखि साहित्य र कला सांस्कृतिक मोर्चाका महत्वपूर्ण र सफल अङ् हुन गएका छन् । दश वर्षको गृहयुद्धको अवधिमा क्रान्तिकारी साहित्य र कलाको आन्दोलनको औधी विकास भएको छ । यो आन्दोलन र क्रान्तिकारी युद्ध दुवै नै एउटै सामान्य दिशातर्फ अघि लम्कँदै गए तर यी दुई बन्धु सेनाहरू आ–आफ्ना व्यावहारिक कार्यमा एक–अर्कोसित गाँसिएनन् किनभने प्रतिक्रियावादीहरूले यिनलाई एक–अर्कोबाट अलग्याइदिए । जापानविरोधी प्रतिरोध युद्ध छोडिएपछि झन्झन् बढी क्रान्तिकारी लेखक र कलाकारहरू येनान र हाम्रा अरू जापान विरोधी आधार इलाकाहरूमा आइरहेका छन् । यो सा¥है राम्रो कुरा हो तर यसको अर्थ आधार इलाकाहरूमा आउँदैमा उनीहरू यहाँका जनसमूहहरूसित पूरापूर एकाकार भइहाले भन्ने होइन । हामीले आफ्नो क्रान्तिकारी कार्यलाई अघि बढाउने हो भने यी दुईथरी सेनालाई एकाकार गर्नैपर्छ । हाम्रो आजको बैठकको उद्देश्य साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मेसिनसित अभिन्न पाटपुर्जाको रूपमा एकदम राम्ररी जोडिऊन्, तिनीहरू जनतालाई एकतावद्ध र शिक्षित तुल्याउने तथा सत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनून् र तिनले जनतालाई एक मन, एक प्राण जस्तो भएर सत्रुसित जुध्न मद्दत गरून् भन्ने कुरालाई सुनिश्चित पार्नु हो । यो लक्ष्य प्राप्त गर्नका निम्ति हल गर्नुपर्ने समस्याहरू के–के हुन् ? मेरा विचारमा यी समस्याहरू हुन्– लेखक र कलाकारहरूको वर्गीय अडानको समस्या, उनीहरूको प्रवृत्तिको समस्या, उनीहरूका पाठक–दर्शकहरूको समस्या, उनीहरूको कार्यको समस्या र उनीहरूको अध्ययनको समस्या ।

वर्गीय अडानको समस्या । हाम्रो अडान सर्वहारावर्ग र जनसमूहकै अडान हो । कम्युनिस्ट पार्टीका समस्याहरूका निम्ति यसको अर्थ हो पार्टीकै अडानबमोजिम चल्नु, पार्टीको भावना र पार्टीको नीति बमोजिम चल्नु । अझै यस समस्याबारे गलत सोचाइ राख्ने वा यसलाई प्रस्टसित नबुझ्ने हाम्रा केही लेखक र कलाकर्मीहरू छन् कि ? मेरा विचारमा त्यस्ता मानिसहरू अझै छन् । हाम्रा निकै कमरेडहरू सही अडानबाट बारम्बार चिप्लिएका छन् ।

प्रवृत्तिको समस्या । आ–आफ्नो अडानबाट विशिष्ट प्रवृत्तिहरू देखापर्छन् । दृष्टान्तका निम्ति हामीले गुणगान गर्ने कि उदाङ्गो पार्ने ? यो प्रवृत्तिको सवाल हो । यीमध्ये कुनचाहिँ प्रवृत्ति अपनाउने ? मेरा विचारमा दुवै प्रवृत्ति अपनाउनुपर्छ । अब सवाल उठ्छ, तपाईंं कसका बारेमा कुरा गर्दै हुनुहुन्छ ? मानिसहरू तीनथरीका छन्– हाम्रा सत्रुहरू, संयुक्त मोर्चाका हाम्रा सहयोगीहरू र हाम्रा आफ्नै मानिसहरू । यिनमा पछिल्लो श्रेणीका मानिसहरू जनसमूहहरू र उनीहरूका अगुवाहरू हुन् । यी तीनथरीका मानिसमध्ये हामीले हरेकप्रति बेग्ला–बेग्लै प्रवृत्ति अपनाउनुपर्छ । सत्रुको हकमा अर्थात् जापानी साम्राज्यवाद र जनताका अरू सबै सत्रुहरूका हकमा, क्रान्तिकारी लेखक र कलाकारहरूको अभिभारा तिनको छलकपट र निष्ठुरतालाई उदाङ्गो पारिदिनु र त्यसका साथसाथै तिनको हार अवश्यम्भावी छ भन्ने कुरा औँल्याइदिनु हो; जसले गर्दा जापान विरोधी सेना र जनतालाई ती सत्रुहरूलाई उखेलेर मिल्काउनका निम्ति एक मन, एक प्राण भएर दृढताका साथ जुध्ने काममा प्रोत्साहित गर्न सकियोस् । संयुक्त मोर्चाका हाम्रा विभिन्न सहयोगीहरूका हकमा हामीले सहयोग र आलोचना दुवैका प्रवृत्ति अपनाउनुपर्छ र यो सहयोग र आलोचना पनि बेग्लाबेग्लै किसिमको हुनुपर्छ । उनीहरूको जापानसित प्रतिरोध गर्ने कामलाई हामी समर्थन गर्छौँ र यस काममा उनीहरूले पाएको सफलताको प्रशंसा गर्छौं तर उनीहरूको प्रतिरोध युद्धमा सक्रिय नभएको खण्डमा भने हामीले उनीहरूको आलोचना गर्नैपर्छ । कसैले कम्युनिस्ट पार्टी र जनताको विरोध गर्छ र प्रतिक्रियावादी बाटोतिर खस्कँदै जान्छ भने हामी दृढतापूर्व यसको विरोध गर्नेछौँ । जहाँसम्म जनसमूहहरू, उनीहरूको पराक्रम र सङ्घर्ष, उनीहरूको सेना र उनीहरूको पार्टीको सवाल छ, हामीले अवश्यै तिनको प्रशंसा गर्नैपर्छ । जनताका पनि आफ्नै कमजोरीहरू हुन्छन् । सर्वहारावर्गका निकै मानिसहरूमा निम्न–पुँजीवादी विचारहरू रहेका हुन्छन् । उता किसान र सहरिया निम्न पुँजीपतिवर्गका मानिसहरूमा पिछडिएका विचारहरू रहेका हुन्छन् । यी विचारहरू सङ्घर्षमा तिनलाई वाधा पार्ने बोझहरू हुन् । उनीहरूलाई शिक्षित तुल्याउन र उनीहरूलाई आफ्नो पिठ्युँबाट यी बोझहरू मिल्काउन र आफ्ना कमजोरीहरूसित जुध्न मद्दत गर्न हामीले धैर्यपूर्वक निकै समय लगाउनुपर्छ; जसले गर्दा लामा–लामा फड्का हाल्दै उनीहरू अघि लम्कन सकून् । उनीहरूले सङ्घर्षद्वारा आफ्नो संस्कार फेरेका छन् वा फेर्दैछन् र हाम्रो साहित्य र कलाले यस प्रक्रियाको चित्रण गर्नुपर्छ । यदि उनीहरू आफ्ना गल्तीहरू काखी च्यापेर बस्दैनन् भने हामीले खाली उनीहरूको नकारात्मक पक्षको कुरा गर्दै उनीहरूको खिल्ली उडाउने गर्नु वा अझ नराम्रो कुरा, उनीहरूप्रति वैरभाव राख्नुहुँदैन । हाम्रा रचनाहरूले त उनीहरूलाई एकतावद्ध हुन, प्रगति गर्न, एक मन र एक प्राण भएर अघि बढ्न, पिछडिएका कुराहरू त्याग्न र क्रान्तिकारी कुराहरूको विकास गर्न सघाउ पु¥याउनुपर्छ र त्यसको उल्टो काम भने निश्चय नै गर्नुहुँदैन ।

पाठक–दर्शकहरूको समस्या अर्थात् ती मानिसहरूको समस्या; जसका निम्ति हाम्रो साहित्य र कलाका कृतिहरू रचिएका छन् । सेनसी–कानसु–चिङ्स्या सिमान्त क्षेत्रमा र उत्तरी चीन र मध्य–चीनका जापानविरोधी आधार इलाकाहरूमा यो समस्या क्वोमिन्ताङ शासित इलाकाहरूमा भन्दा बेग्लै छ र प्रतिरोध युद्धअघिको साङ्घाईमा भन्दा झन् बेग्लै छ । साङ्घाई अवधिमा क्रान्तिकारी साहित्य र कलाका कृतिहरूका पाठक र दर्शकहरू मुख्यतया विद्यार्थीहरू, कर्मचारीहरू र पसलका सहायकहरू नै हुन्थे । प्रतिरोध युद्ध छेडिएपछि क्वोमिन्ताङ–शासित इलाकाहरूमा पाठक र स्रोताहरूको घेरा अलि फराकिलो भयो, तैपनि तीमध्ये मुख्य रूपले उस्तैखालका मानिसहरू थिए किनभने त्यहाँ सरकारले मजदुर, किसान र सिपाहीहरूलाई क्रान्तिकारी साहित्य र कलाको सम्पर्कमा आउन दिएको थिएन । हाम्रा आधार इलाकाहरूमा भने परिस्थिति एकदमै फरक छ । यहाँ साहित्य र कलाका कृतिहरूका पाठक र दर्शकहरू मजदुरहरू, किसानहरू, सिपाहीहरू र क्रान्तिकारी काडरहरू नै छन् । आधार इलाकाहरूमा पनि विद्यार्थीहरू त छन् तर यी पुराना खालका विद्यार्थीहरूभन्दा बेग्लै छन् । उनीहरू कि त पहिलेका कि भावी काडरहरू हुन् । साक्षर हुनासाथै, सबै किसिमका काडरहरू, सेनाका योद्धाहरू, कारखानाका मजदुरहरू र गाउँका किसानहरू सबैले पुस्तक र अखबारहरू पढ्न मन गर्छन् र निरक्षर रहेका मानिसहरूचाहिँ नाटक र अपेराहरू, रेखाचित्र र रङ्गीन चित्रहरू हेर्न, गीत गाउन र सङ्गीत सुन्न मन गर्छन् । हाम्रो साहित्य र कलाका कृतिहरूका पाठक–दर्शकहरू यिनै हुन् । अब काडरहरूलाइ मात्र लिऔँ । उनीहरू थोरै होलान् भन्ने नठान्नोस्, क्वोमिन्ताङ–शासित इलाकामा प्रकाशित हुने कुनै पनि पुस्तकका पाठकहरूभन्दा यिनीहरू कहाँ हो कहाँ धेरै छन् । त्यहाँ कुनै पुस्तकको एक संस्करणमा खालि २, ००० थान पुस्तक छापिन्छन् र तीन संस्करण जोड्दा सम्म ६, ००० थान मात्र हुन्छन् तर जहाँसम्म आधार इलाकाका काडरहरूको सवाल छ, येनानमा मात्रै पुस्तक पढ्न सक्नेहरूको सङ्ख्या दश हजारभन्दा धेरै छ । अर्को कुरा, उनीहरूमध्ये धेरैजसो देशका सबै भागबाट आएका र लामो इतिहास भएका खारिएका क्रान्तिकारीहरू छन् र उनीहरू विभिन्न ठाउँमा काम गर्न जानेछन्, यसकारण उनीहरूका माझमा शैक्षिक कार्य गर्नु ज्यादै महत्वपूर्ण छ । हाम्रा साहित्य र कलाकर्मीहरूले यस क्षेत्रमा सा¥है राम्ररी काम गर्नुपर्दछ ।

हाम्रो साहित्य र कलाका पाठक–दर्शकहरू मजदुर, किसान र सिपाहीहरू तथा उनीहरूका काडरहरू भएका हुनाले यहाँ उनीहरूलाई बुझ्नुपर्ने र राम्ररी चिन्नुपर्ने सवाल उठ्छ । उनीहरूलाई बुझ्न र राम्ररी चिन्नका निम्ति, पार्टी र सरकारका सङ्गठनहरू, गाउँ र कारखानाहरू तथा आठौँ मार्ग सेना र नौलो चौथो सेनाहरूभित्र रहेका विभिन्न किसिमका मानिसहरू र घटनाक्रमहरूलाई बुझ्न र राम्ररी चिन्नका निम्ति थुप्रै काम गर्नुपर्ने भएको छ । हाम्रा लेखक र कलाकारहरूले आ–आफ्नो साहित्य र कला–सिर्जनाको काम गर्नु त छँदैछ तर उनीहरूको सबभन्दा पहिलो अभिभाराचाहिँ जनतालाई राम्ररी बुझ्नु र चिन्नु हो । यस सम्बन्धमा हाम्रा लेखक र कलाकारहरूको के कस्तो अवस्था छ त ? म के भन्न चाहन्छु भने उनीहरूमा ज्ञान र समझदारीको कमी छ । उनीहरू “शू¥याइँ देखाउने ठाउँ नपाएको शूरवीर” जस्ता भएका छन् । ज्ञानको कमी भन्नाको अर्थ के हो ? यसको अर्थ हो जनतालाई राम्ररी नचिन्नु । लेखक र कलाकारहरूमा न त आपूmले वर्णन गर्ने मानिसहरूको राम्रो जानकारी छ, न त उनीहरूमा आफ्ना पाठक–दर्शकहरूको राम्रो जानकारी छ, वास्तवमा उनीहरूले ती मानिसलाई बिरलै चिनेका होलान् । उनीहरूले मजदुरहरू वा किसानहरू वा सिपाहीहरूलाई राम्ररी चिन्दैनन् र काडरहरूलाई पनि राम्ररी चिन्दैनन् । समझदारीको कमी भन्नाको अर्थ के हो ? यसको अर्थ हो उनीहरूको भाषा नबुझ्नु अर्थात् जनसमूहको समृद्ध, सजीव भाषासित परिचित नहुनु । धेरै लेखक र कलाकारहरू जनसमूहबाट अलग्गै बस्ने र निस्सार जीवन बिताउने हुनाले उनीहरू जनभाषासित स्वाभाविकै रूपले अपरिचित छन् । परिणामस्वरूप उनीहरूका रचनाको भाषा निरस हुने मात्र होइन, तिनमा धेरैजसो उनीहरू आपूmले रचेका त्यस्ता अनुपयुक्त अभिव्यक्तिहरू पनि पर्दछन्; जो प्रचलित प्रयोगको उल्टो हुन्छन् । धेरै कमरेडहरू “जनशैली” बारे कुरा गर्न रुचाउँछन् तर जनशैलीको साँचो अर्थ के हो ? यसको अर्थ के हो भने हाम्रा लेखक र कलाकारहरूका विचार र भावनाहरू मजदुर, किसान र सिपाहीहरूका जनसमूहका विचार र भावनाहरूसित ठ्याम्मै एक रूप भएर मिल्नुपर्छ । यस्तो एकरूपता हासिल गर्नका निम्ति उनीहरूले दिलोज्यानले जनसमूहको भाषा सिक्नुपर्छ । तपाईंं जनसमूहको भाषाका थुप्रो कुरा नै बुझ्नुहुन्न भने साहित्य र कला सिर्जनाबारे कसरी कुरा गर्नुहुन्छ ? “शू¥याइँ देखाउने ठाउँ नपाएको शूरवीर” भन्नाको हाम्रो तात्पर्य के हो भने तपाईंंको तथाकथित् महान् सत्यको सँगालोलाई जनसमूहले रुचाएका छैनन् । तपाईंं जनसमूहका सामु जित दिग्गज हुने स्वाङ् र ‘शूरवीर’ हुने नाटक रच्नुहुन्छ, जनसमूहलाई त्यति नै यस्ता फोहोर–कसिङ्गर कोच्ने प्रयत्न गर्नुहुन्छ अनि जनसमूहले यसलाई स्वीकार गर्ने सम्भावना त्यति नै कम हुन्छ । तपाईंं जनताले आपूmलाई बुझिदिऊन् भन्ने इच्छा गर्नुहुन्छ र तपाईंं जनसमूहसित एकरूप हुन चाहनुहुन्छ भने आपूmलाई खार्ने दीर्घकालीन र अझ कष्टपूर्ण प्रक्रियाबाट गुज्रन तपाईंंले अठोट गर्नैपर्छ । यहाँनेर मेरा आफ्नै भावनाहरू कसरी फेरिए भन्ने अनुभवको मैले चर्चा गर्नुपर्ला ।

मैले विद्यार्थीका रूपमा जीवनको थालनी गरेँ र विद्यालयमा विद्यार्थीको चालचलन सिकेँ । आफ्ना काँधमा वा हातमा एउटा छेस्कोसम्म पनि बोक्न नसक्ने सहपाठीहरूका अगाडि मैले मेरा आफ्नै सर–सामानहरू बोक्ने जस्तो मामुली शारीरिक श्रम गर्दा पनि मेरो इज्जत गइहाल्ला कि भन्ने मलाई लाग्दथ्यो । त्यसबखत मलाई बुद्धिजीविहरू मात्रै यस संसारका सफासुग्घर मानिस हुन् र तिनको दाँजोमा मजदुर र किसानहरूचाहिँ फोहोरी मानिस हुन् भन्ने लाग्थ्यो । बुद्धिजीविहरू सफासुग्घर मानिस हुन् भन्ने विश्वास भएकाले उनीहरूका लुगा लाउन मलाई पटक्कै अप्ठेरो लाग्दैनथ्यो तर मजदुर र किसानहरूचाहिँ फोहोरी हुन् भन्ने विश्वास भएकोले म तिनका लुगा लगाउँदैनथेँ तर, म क्रान्तिकारी भएपछि र मजदुर र किसानहरू तथा क्रान्तिकारी सेनाका सिपाहीहरूसँग बसेपछि मैले विस्तारै–विस्तारै उनीहरूलाई राम्ररी चिनेँ र उनीहरूले पनि विस्तारै–विस्तारै मलाई चिनेँ । पुँजीवादी विद्यालयहरूमा छँदा मेरा मनमा जरा गाडेका पुँजीवादी र निम्न–पुँजीवादी भावनाहरूलाई मैले त्यसबखत मात्रै आधारभूत रूपमा फेर्न सकेँ । अनि मलाई कस्तो लाग्यो भने संस्कार नफेरिएका बुद्धिजीविहरू मजदुर र किसानहरूको दाँजोमा सफासुग्घर हुँदा रहेनछन् र अन्तिम विश्लेषणमा मजदुर र किसानहरू नै सबभन्दा सफासुग्घर मानिस रहेछन् अनि हातमा हिलो लागेका र खुट्टामा गोबर लत्पतिएका भए पनि किसान र मजदुरहरू पुँजीवादी र निम्न–पुँजीवादी बुद्धिजीविहरूभन्दा त साँच्चै नै सफासुग्घर पो हुँदा रहेछन् । भावनात्मक परिवर्तन, एक वर्गबाट अर्को वर्गमा परिवर्तन भन्नाको अर्थ यही हो । बुद्धिजीवि समुदायबाट आएका हाम्रा लेखक र कलाकारहरू जनसमूहले आफ्ना रचनाहरू राम्ररी रुचाएको देख्न चाहन्छन् भने उनीहरूले आफ्ना विचार र भावनाहरूलाई रूपान्तर गर्नुपर्छ र पुनः संस्कार गर्नैपर्छ । यस्तो रूपान्तर नगरीकन, यस्तो पुनः संस्कार नगरीकन उनीहरूले कुनै काम पनि राम्ररी गर्न सक्नेछैनन् ।

अन्तिम समस्या अध्ययनको समस्या हो । यसो भन्नाको मेरो तात्पर्य हो माक्र्सवाद–लेनिनवाद तथा समाजको अध्ययन । आपूmलाई माक्र्सवादी लेखक ठान्ने कुनै पनि व्यक्तिले र विशेष गरेर कम्युनिस्ट पार्टीको सदस्य रहेको कुनै पनि लेखकले माक्र्सवाद–लेनिनवादको ज्ञान हासिल गर्नैपर्छ । तैपनि हाल केही कमरेडहरूमा माक्र्सवादका आधारभूत धारणाहरूको जानकारी पनि छैन । उदाहरणका निम्ति, मानिसको अस्तित्वले उसको चेतनालाई निर्धारित गर्छ र वर्गसङ्घर्ष र राष्ट्रिय सङ्घर्षका वस्तुगत वास्तविकताहरूले हाम्रा विचार र भावनाहरूलाई निर्धारित गर्छन भन्ने कुरा एउटा आधारभूत माक्र्सवादी धारणा हो । तर हाम्रा केही कामरेडहरू यस तथ्यलाई उल्टाइदिन्छन् र ‘प्रेम’ बाटै हरेक कुराको थालनी हुनुपर्छ भन्छन् । अब प्रेमकै कुरा गर्ने हो भने वर्गीय समाजमा वर्गीय प्रेम मात्रै हुन सक्छ तर यी कामरेडहरू भने वर्गभन्दा माथि रहेको प्रेम, अमूर्त प्रेम, अमूर्त स्वतन्त्रता, अमूर्त सत्य, अमूर्त मानव स्वभाव आदि कुरा खोजिरहेका छन् । यसले के जनाउँछ भने उनीहरू पुँजीपतिवर्गबाट सा¥है गहिरोसित प्रभावित भएका छन् । उनीहरूले आपूmलाई यस प्रभावबाट पूरापूर मुक्त गर्नुपर्छ र नम्रतासाथ माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नुपर्छ । लेखक र कलाकारहरूले साहित्य र कलाका कृतिहरूको अध्ययन गर्नु उचित कुरो हो तर माक्र्सवाद–लेनिनवादको विज्ञान भने सबै क्रान्तिकारीहरूले अध्ययन गर्नैपर्छ र यस कुरामा लेखक र कलाकारहरू पनि अपवाद हुँदैनन् । लेखक र कलाकारहरूले समाजको अध्ययन गर्नुपर्छ । भनाइको अर्थ के भने उनीहरूले समाजका विभिन्न वर्गहरू, तिनका आपसी सम्बन्धहरू र तिनका आ–आफ्ना स्थितिहरू, तिनको स्वरूप र तिनको मनोविज्ञानको अध्ययन गर्नुपर्छ । यी सबै कुरालाई प्रस्टसित ठम्याएपछि मात्रै हामीले समृद्ध विषयवस्तु र सही दिशा भएको साहित्य र कला हात पार्न सक्नेछौँ ।

(मई १९४२ मा येनान गोष्ठीमा साहित्य र कलाबारे माओले दिएको प्रवचन, माओका सङ्कलित रचना, भाग ३ बाट)

प्रतिक्रियाहरु