बाँसुरी वादन प्रतियोगिता हुँदै

२०८० मंसिर १३ गते, बुधबार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । महानगरले २७ मंसिर गते २९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ ।
श्रेष्ठले इच्छुक हुने समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्ने बताइन् ।
दर्ता फाराममा टोल, गुथि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मंसिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनुपर्ने श्रेष्ठले बताइन् ।
विभागका अनुुसार प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (श्रृङ्गार) लगाउनुपर्छ । बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ ।
महानगरका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ । यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ । ‘२ जनाले पछिमा, खिं, कोचखिं, धाः, नायखिं, मादल, धिमे, धोलक, नगरा वा अन्य नेवार समुदायका छालाका बाजामध्ये ३ वटा बाजा बजाउन सक्छन् । यस्तै २ जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाउन पाउँछन्,’ महानगरले भनेको छ ।
प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्छ । यसमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनु पर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ । दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ । एउटा धुन ५ मिनेटभित्र सक्नुपर्छ । ४ मिनेटमा संकेत बज्नेछ । यदि छोटा धुन भए २ वटासम्म मिलाएर बजाउन पाइन्छ । गीत नेपाल भाषाकै हुनुपर्छ ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५० हजार रुपैयाँ र चाँदीको ठूलो बाँसुरी प्रदान गरिने महानगरले जनाएको छ । दोस्रो पुरस्कार एक लाख रुपैयाँ नगद र चाँदीको मझौला बाँसुरी र तेस्रोलाई ५० हजार रुपैयाँ नगदसहित चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ । सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ नगद प्रदान गरिने महानगरपालिकाले जनाएको छ । प्रतियोगिता मंसिर २७ गते राष्ट्रिय सभा गृहमा आयोजना हुनेछ ।

प्रतिक्रियाहरु