उल्टो छापिएको हुलाक टिकट २६ करोडमा बिक्री !

२०८० मंसिर १२ गते, मंगलवार


काठमाडौँ । सन् १९१८ मा प्रकाशित अमेरिकी हुलाक टिकट करिब २६ करोड रुपैयाँमा बिक्री भएको छ । यसरी करोडौंमा यो टिकट बिक्री हुनुको मुख्य कारणचाहिं त्यो टिकटको छपाइमै गडबडी भएका कारणले हो । यो हुलाक टिकटमा माथिल्लो दिशामा जेनी कर्टिस बाइप्लेनको चित्र बनाइएको थियो । तर अनौठो के भयो भने यो हुलाक टिकट छाप्ने बेलामा कर्मचारीहरुको गल्तीका कारण टिकटमा जेनिज जहाज उल्टो छापियो । त्यस्ता उल्टो जहाजका चित्र भएका २४ सेन्ट मूल्यका १०० वटा हुलाक टिकटको एउटा पाना यसअघि नै बेचिएको थियो । तर केही समयपछि एकजना ग्राहकले त्यो टिकटमा रहेको जहाजको चित्र उल्टो भएको पत्ता लगाएपछि ती टिकटको बिक्री रोकिएन मात्र त्यो विशेष नै बन्यो ।
न्युयोर्कस्थित सिगल लिलाम ग्यालरीका अध्यक्ष तथा हुलाक टिकट विज्ञ स्कट ट्रेपेलका अनुसार यो हुलाक टिकट यतिधेरै महंगो र विशेष यसकारण छ कि यो हुलाक टिकट संग्रहको प्रतिक बनेको छ । उनका अनुसार सन् १९१८ मा विमानहरु आमरुपमा उपलब्ध थिएनन् र अधिकांश मानिसहरुले त जहाजहरुको तस्वीर कस्तो हुन्छ ? भन्नेसम्म देखेका थिएनन् । त्यसैले टिकटमा जहाजको चित्र उल्टो हुँदा हुँदैपनि धेरै मानिसले सुरुमा त्यसको भेउ पाउन सकेनन्।
पछि त्यो कुरा पत्ता लागेसँगै हुलाक घरका टिकट बेच्ने कर्मचारीलाई किन उल्टो टिकट बेचेको ? भनेर सोधियो । त्यसको जवाफमा ती कर्मचारीले भनेका थिए, ‘हेर्नुस् मलाई दोष नदिनुस् । विमान कस्तो हुन्छ भन्ने मलाई थाहा नै छैन । त्यसैले टिकट बेच्ने बेलामा मैले यसलाई पहिचान नै गर्न सकिनँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु