मलाई क्रान्ति भए पुग्छ

२०८० मंसिर ११ गते, सोमबार


झपेन्द्रराज बैद्य

मंसीर ७ गते नेकपा ब्यूरो ३ क्षेत्रबाट मलाई अभिनन्दन तथा सम्मान गरिएको छ। नेपाल कम्युनिष्ट पार्टीबाट आफ्नै निबासमा फूल र मालाले सम्मान गरिएको हो। म बिगत २०२२ साल देखि कम्युनिष्ट पार्टीमा आबद्ध भई काम गर्दै आएको मीठो अनुभूति छ। २०६० पूर्व म मोहन बिक्रम सिंहको नेकपा मसाल पार्टीमा आबद्ध भई जिल्ला समितिमा कामगर्दै आएको स्मरण छ। तत् पश्चात म प्रचण्ड नेतृत्वको नेकपा माओबादीको केन्द्रिय कमिटीमा आबद्ध भई सल्लाहकारको रुपमा काम गर्दै आएको अवस्थामा पाटी टुट फुट भै त्यस पछि लगत्तै म मोहन बैद्य किरणको नेतृत्वमा स्थापना भएको डाइस नेकपामा प्रबेश गरी केन्द्रिय सल्लाहकारमा कामगर्दै आएको अनुभब छ। पछि मोहन बैद्यबाट पनि साथीहरु फुट भै माओबादी केन्द्रमा समाबेश भएको अवस्था छ। स्मरण रहोस कम्युनिष्ट पार्टी गठन पुनर्गठनबाट गुज्री रहेको नमीठो अनुभब छ। बर्ग संघर्ष नचर्काई साथीहरुले कुर्सीमात्र खोज्ने हुनाले कम्युनिष्ट पाटीको धेरै बिकास हुनसकेको छैन। एक अर्कामा आरोप प्रत्यारोप चलिरहेको अवस्था छ। अहिले शुद्ध कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा रहेको छ। किरणले नेतृत्वगरेको पार्टीमा बर्ग संघर्ष नचलेकोले बिप्लभको नेतृत्वमा नेकपा गठन भएको हो। पार्टी स्थापना देखिनै म क बिप्लभको नेतृत्वमा केन्द्रीय सल्लाहकारको रुपमा अनबरत रुपमा कामगर्दै आएको अबस्था छ। हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोला कुर्सीको भागबण्डाको बिषयमा पार्टीबाट अलग रहेको नमीठो अवस्थाछ। मेरो बिचारमा साच्चैनै क्रान्ति र परिवर्तन खोज्ने हो भने दुबै नेता (वली र बास्तोला) एक ढीक्का भएर नेकपामा उचित स्थानमा बसी कामगर्नु पर्छ। र क्रान्तिलाई अगाडि बढाउनु पर्छ। कम्युनिष्टमा सुन्दर पक्ष भनेको क्रान्ति हो। यसमा ब्यक्ति भन्दा क्रान्ति प्रमुख हुन्छ। यसै क्रान्तिमा अहोरात्र खट्दै मैले खाशगरी प्यूठानमा काम गर्दै आएको हुँ। यस्तो प्रतित हुन्छ त्यहाँका रुख बिरुवाले पनि मलाई संझदा हून्। काम गर्ने शिलशिलामा म पटक पटक पक्राउपरेको अवस्था हो। ०३३ सालमा म सल्यान कारागारमा १ बर्षसम्म चीसो कोठामा बसेर कथा संग्रह र चम्पा महा काब्य तयार पारी कारागार बाट बहिर आएको हुँ। ती रचनाहरुको अध्ययन गर्ने भनी अञ्चलाधीश कार्यालयमा ४ महिना राखिएको थियो। पछि दाँग गएर ती रचनाहरु ल्याउन सफल भएको हुँ। पञ्चायत कालमा पटक पटक प्यूठानको प्रहरी हिरासतमा बस्दै आएको तीतो अनुभब छ। तर गर्व पनि छ। आखिरिमा सबैको बलले नै बहुदल आएको हो तर बिडम्बना नेताहरुले जे एजेण्डा देखाएका थिए ती सबै पानीकाफोका जस्तै फुट्दैगए। जनताको सपना हरायो। नेताहरु पैसा कुम्ल्याउने दाउँमा लागे। कार्य कर्ताहरुले डर र त्रास लोभलालचामा नेताहरुको भजन गाउन थाले। लेताहरुले आत्मसमर्पण गरेर बिदेशी दलाल बने। त्यसैले क्रान्ति जारी छ।
अहिले क बिप्लव सी को मेतृत्वमा एकीकृत जनक्रान्ति जारी छ। अहिले इमानदार क्रान्तिकारी नेता क बिप्लभ हो। यो कुनै गीत होइन। भजन पनि होइन। कामबाट सबै स्पष्ट देखिन्छ। घाम जस्तै छर्लंग देखिन्छ। क्रान्तिको राप र तापले नै सरकारले नेकपालाई दुई बर्ष सम्म प्रतिबन्ध लगायो। अझै केही कमरेडहरु जेलको चीसोमा बसिरहनु परेको अवस्था छ।
अहिले म धेरै बृद्धा अवस्थामा भएको र हिँडडुल गर्न नसक्ने भएकोले मेरो सगौरब इतिहास हेरी पार्टीले मेरै निबासमा आई अबीर र मालाले सम्मान गरेको छ। म यसैमा सन्तुष्ट छुँ। मलाई कुनै ठूलो उपहार चाहिएन। क्रान्ति भए मलाई पुग्छ। एकीकृत क्रान्तिबाट नै बैज्ञानिक समाजबादमा पुग्न सकिन्छ। समाजबादी मोर्चाले बैज्ञनिक समाजबादको दूरी कमगर्ने छ। अहिले मैले कोठामा बसेर कलमको युद्ध गरिरहेको अवस्था छ।

प्रतिक्रियाहरु