टिकटक र यसको उपादेयता

२०८० मंसिर १० गते, आईतवार

झपेन्द्रराज बैद्य

टिकटक एउटा नयाँ प्रबिधि हो । टिकटक चीनबाट आयातित प्रबिधि हो । १६–१७ देशहरुमा मात्र यो प्रबिधि लागू छ । यो सरल र सहज प्रबिधि हो । यो ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड’ भनेजस्तै हो । प्रबिधि स्वयंमा नराम्रो हुँदैन । यसलाई नियमन गर्नुपर्छ । अहिले सरकार भर्सेज जनता भएको छ टिकटक सम्बन्धमा । सरकार र सरकार वरिपरि चक्कर लगउनेहरु टिकटक बन्द भएकोमा खुसी छन् । यिनीहरु टिकटकलाई सधैँ अँध्यारो देख्छन् । टिकटक चलाउनेहरु सधैँ उज्यालो । अमेरिकाले बन्द गर्न चाहन्छ टिकटक । अमेरिका टिकटक प्रबिधि चाइनाबाट किन्न चाहन्छ तर चाइनाले दिँदैन । यसैले अमेरिका टिकटकको विरोधी छ ।

यो मान्नु पर्छ कि टिकटकले केटाकेटी, युवाहरुको उर्जाशील समय खेर गएको छ । पढाइ–लेखाइमा त्यति ध्यान गएको देखिँदैन । तर, साथसाथै दिनको १–२ घण्टा टिकटक चलाएमा यसले नयाँ उर्जा पनि दिन्छ । टिकटक संचारको एउटा माध्यम पनि हो । यो नदीजस्तै सलसल बगिरहन्छ । नयाँ नयाँ विचार दिन्छ । यो किन बन्द भयो त ? मंसीर ७ को आन्दोलन छल्न अथवा आगामी निर्विाचनमा प्रचार–प्रसारबाट हुने क्षति रोक्न यसलाई प्रतिबन्ध लगाएको हुनसक्छ । वा बढ्दो भ्रष्टाचारलाई थामथुम पार्न अथवा अमेरिकालाई खुसीपार्न ।

यो प्रतिबन्ध सामान्य होइन । सूचना तथा अभिब्यक्ति स्वतन्त्रतालाई समाप्त पार्ने चालबाजी हो । सूचना एउटा धारिलो हतियार हो । सूचनाको हतियारबाट सरकार डराएको छ । जसै–जसै सरकार जनताबाट पराजित हुँदै जान्छ त्यसैबेला सरकारले अनेकौं हतकण्डा अपनाउँछ । केही नलागेर अहिले सरकारले जनताको आवाज रोक्न टिकटक बन्द गरेको छ । यो हतियार आफ्नै कार्यकर्तामा पनि सोझिएको छ । अहिले जनतामा ब्यापक असन्तुष्टि चुलिएको छ । यो कुरालाई रोक्न सरकारले टिकटकको प्रतिबन्ध लगाएको हो । यस्तै तरिकाले सरकारले फेसबुक र इन्टरनेटमा पनि प्रतिबन्ध लगाउन सक्छ । तर इन्टरनेटमा प्रतिबन्ध लगाउनुु सजिलो छैन । यसको विरोधमा देश जुरक्क उठ्छ । साम्राज्यवादका मतियारहरुले आफ्ना मालिक रिझाउन यस्तै हर्कत गरेका हुन्छन् । उत्तर कोरियामा सञ्चार माध्यम स्वतन्त्ररुपमा दिईएको हुँदैन । त्यहाँको हाल खबर अर्को दुनियाँमा सजिलै थाह हुँदैन । नेपाल त सोसलिस्ट रिपब्लिक उत्तर कोरिया जस्तो छैन । लोकतान्त्रिक देश हो तर अहिले त सरकार लोकतन्त्रसित डराएको अवस्था छ । लोकतन्त्र भत्काउने दुष्प्रयास गरिरहेको छ । वलीको पालामा पार्टीलाई प्रतिबन्ध लगाएको कालो इतिहास छ । संसदीय व्यवस्थामा ‘जुन जोगी आए पनि कानै चिरेका’ हुन् । यो असफल व्यवस्थाबाट न्याय समानता र सही लोकतन्त्रको अपेक्षा गर्न सकिँदैन । पैसा आए पछि ठूला तीन पार्टीहरु मिलेका हुन्छन् । अरबौंका काण्डहरु त्यसै सेलाएर गएका छन् । अहिले टिकटक सम्बन्धमा ‘बूढी मरी भन्ने चिन्ता भन्दा काल पस्यो’ भन्ने चिन्ता छ । यस पंक्तिकार प्रेस स्वतन्त्रता सेनानी भएको कारणले अभिब्यक्ति स्वतन्त्रता हरण भएकोमा चिन्तालाग्नु स्वभाबिकै हो ।

टिकटकको छाडा गतिबिधि भएकोले युवाहरु पलायन हुन्छन् भन्ने चिन्ता छ भने एमसीसी र एसपीपीले देश साम्राज्यवादीको कब्जामा रहेको चिन्ता लाग्छ कि लाग्दैन ? टिकटक बन्द गर्नु जनताको फिडब्याक देख्न नचाहने तानाशाही प्रबृत्ति हो । साम्राज्यवादको दलाल बनेर प्रेस स्वतन्त्रताको घाँटी निमोठ्नु दुष्प्रयास हो । टिकटक प्रतिबन्ध विरुद्ध १० वटा रिट दायर भएका छन् । तर हेर्न नभ्याउने भनेर राखिएको छ । जाग–जाग जनता देशको स्वतन्त्रताको लागि जाग, न्यायको लागि जाग, समानताको लागि जाग । कालापानी, लिपुलेखमा भारतीय सेना मार्चपास गरिरहेका छन्, राष्ट्रियताको लागि जाग ।

प्रतिक्रियाहरु