जनतालाई बिश्वास दिलाउन सफल गीत ‘साम्यवाद’

श्याम टमोट २०८० मंसिर ६ गते, बुधबार


आज साम्यवाद गीतको सार्वजनिकीकरण भएको छ । यस महत्वपुर्ण कार्यक्रममा उपस्थित सम्पूर्ण कलाप्रेमी मित्रहरु, कलाकार मित्रहरु सवैलाई हार्दिक अभिवादन नमस्कार । माफ गर्नुस, यो मेरो शुभकामना मन्तव्य हुन्छ समिक्षा भन्दा पनि । यसमा आफुलाई लागेका २, ४ ओटा कुराहरु राख्न चाहन्छु । गीतकार प्रकाण्ड सी, सङ्गीतकार, गायक स्वयम् गीतकार चिरन सी र यसमा स्वर दिनुहुने प्रगति महरा, लक्ष्मण जी लगायत सम्पूर्ण मित्रहरु, यहाँ एरेन्जर मित्र नारायण दङ्गाल जी। अघिनै मित्र चिरन जीले भन्नु भयो, हामीले यो एकछिन हेर्यौ करिव करिब ५ मिनेट जति हेर्यौ तर यसको तयारी र यसको पछाडि एउटा लामो पङ्ती छ । जसको अहोरात्रको प्रयाशले अहिले हामीले हेर्न पाईरहेका छौ । टिम कार्टुन स्वयम् छ र यसलाई ईडिटिङ गर्ने, स्वर दिने, बाजा दिने, प्राविधिक मित्रहरुपनि हुनुहुन्छ। यी साराको प्रयत्न पछि उहाँहरुको सद्भाव र सद्कार्य पछि अहिले हामीले यहाँ बसेर एकैछिनमा यो सारा कुराहरु हेर्यो । यो ५ मिनेटको पछाडिको तयारीमा कति लामो समय वितेको छ । त्यसकारण उहाँहरु सवै सवैलाई मैले हार्दिक नमन र बधाई दिन चाहन्छु ।
नेपालको गीत सङ्गीतको ईतिहाँस बारे नकोट्उ, हामी धेरैले पढेका छौ । कलाप्रेमी छौ, खासगरी जनताको पक्षमा गीत सङ्गीतको यो स्वरुप आउन २०२३, ०२४ मा स्थापीत नेपालको एउटा राल्फा आन्दोलन भन्छौ, त्यो राल्फा कालदेखि यो स्वरुपमा आउन थालेको हो । गीत त्यो भन्दा अगाडि पनि थियो तर, गायक, कलाकारहरुले त्यसलाई गीति कविताको रुपमा हुन्थ्यो, लामो हुन्थ्यो, बर्णनात्मक हुन्थ्यो, आफै स्वयम् उपस्थित भएर गाउने गर्नुहुन्थो । रेडियो नेपाल २००७ देखि २०१७ सालसम्मको खुल्ला भएको अवस्थामा पनि हाम्रो लागि प्राप्त भएन । तसर्थ देवीप्रसाद ‘केवलपुरे किसान‘, गोकुल जोशी जस्ता गितकारहरुले ठाँउ, ठाँउमा गाँउ, गाँउमा गएर गीत सुनाई हिेड्नु पर्यो, त्यो एउटा वाध्यता थियो । तर २०२३, ०२४ पछि भने त्यसलाई अलिकति मुर्तरुप दिएर, आधुनिक रुप दिएर, गीतको सैलीमा, गीतको लेखनमा, गीतको गायनमा, अलि परिमार्जन गरेर राल्फाहरुले गायनको यात्रा र कार्यक्रमहरुको शुरु गरे तत्पश्च्यात यसले अलिकति गति लियो र २०३६, ०३७ सालको जनता खास गरेर विद्यार्थीहरुको आन्दोलनले शुरुगरेको जनताको आन्दोलन त्यसले अलिकति खुल्लापन ल्यायो। त्यो कालमा सङ्कल्प साँस्कृतिक साँङ्गीतिक अभियान, वेदना अभियान जस्ता अभियानहरु त्यसले ब्यापक रुप लियो, यसले ब्यापक जनचेतना फैलाउनेकाम र जन संगठन गर्नेकाममा ठुलो उर्जा प्रदान गर्यो ।
२०४६ पछिको खुल्लापन ल्याउनको लागि जनपक्षीय कलाकारहरुको ठूलो भुमिका छ किनभने राजनीतिलाई गीतमार्फत दिइयो । जनताले बुझ्ने भाषामा दिईयो । गीत सङ्गीत भनेको मिठो कुरा हो, सुन्ने कुरा हो । सवैले सुन्छ, जो हाम्रो जन्मदेखि मृत्यु प्रयन्त सङ्गीतमा हामी हुन्छौ । जन्मदा होस् या न्वारनमा होस्, विवाह बटुलोमा होस वा धर्मकार्यमा होस , मृत्यु परयन्त शवयात्रामा पनि सङ्गीतको साथ हुन्छ । त्यसकारण यस्तो मिठो चिजलाई, आत्मीय चिजलाई जनपक्षीय विचारले लेस गरेर, जनपक्षीय विचारहरु राखेर जनताको वीचमा जनताका कलाकारहरुले अगाडि बढाउदा आज देशमा आन्दोलन संभव भएको छ । तर यसमा गीत गायर मात्रै हो त ? गीतैले मात्रै परिवर्तन ल्याएको हो त ? यो कुरा होईन यथार्थ होईन। गीतैले मात्र परिवर्तन ल्याएको होईन, तर गीतले चेतना निमार्ण गर्न, गीतले संगठन निमार्ण गर्न, गीतले संगठित मान्छेलाई एउटा विद्रोही बनाउने, आत्मबल उकास्न, उनिहरुलाई आफ्नो न्यायको पक्षमा नझुक्नको निमित्त भने अन्यन्त श्रहानीय र महत्वपुर्ण काम गर्यो, आत्मबल बढायो यो कुरा फेरी चाँही एकदम सत्य हो ।
२०४६ पछिको राजनीतिक आन्दोलन, २०६२, ०६३ पछिको राजनीतिक आन्दोलनमा हामी सवै भुक्तभोगी भएर हामी यहाँसम्म आएका छौ । कति चित्त बुझ्दो कुराहरु छन् ,कति चित्त नबुझ्दो कुराहरु छन् , यो आफ्नो स्थानमा छ। यसको बारेमा यो राम्रो कुरा वा यो नराम्रो कुरा भन्ने होईन। म यहाँ गीतको बारेमा मात्र भन्छु । किनकी, यो कुुरा जोडियो भने गीत स्वयम् साम्यवाद भन्छ, त्यसो हुनाले यी कुराहरु अलिकति जोडिएर आएका छन् । अब यो पछिका सन्तुष्टी, असन्तुष्टीका कुराहरुसँग जोडिएर आउदा यो कुरा देखिन्छ भने नेपाली जनमानसमा नेपाल कम्युनिस्ट पार्टीमा २००६ साल देखि लाग्दै आएका मान्छेहरु छन् । २०१७ साल पछि लाग्दै आएका मान्छेहरु छन् । २०३६ सालमा होमिएका मान्छेहरु छन् । २०४६ मा होमिएका मान्छेहरु छन्, २०६२, ०६३ मा होमिएका मान्छेहरु छन् । कसैको अङ्ग, भङ्ग भएका छन्, कसैको जिवनलिला समाप्त भएका छन्, कसैको घर परिवार क्षत — विक्षत भएको छ । अलिकति आशा राखेका मान्छेहरुले पनि ओहो यो कुरा त संभव होईन रहेनछ नी, यो कुरा ठिक होईन रहेछन् नी, यिनीहरुले ठिक गर्दा रहेनछन् नि, यो कुराबाट पार नलाग्ने रहेछन नि, भन्ने एउटा ब्याप्त निराशाको स्थिति नेपालमा छ । धेरै मान्छेहरुले अव नेपालमा बसेर केही हुनेवाला देखिएन भनेर दिन रात झोला बोकेर बाहिर जान्छन् । जाँउ गरौ, यहाँ गरेर हुँदैन, त्यहाँ गरेर केही ल्याईछ भने थात थलो छँदैछ, होइन भएन भने अब यसैपनि उसै पनि कै देखिएन, यो निराशा छ । यस्तो किसिमको व्याप्त निराशाको स्थितिमा साम्यवाद गीत जन्मियो ।
समाजको विकाशको क्रममा कति राम्रा कुरा हुन्छन् ,कति नराम्रा कुरा हुन्छन् । आन्दोलनमा जाँदा धेरै राम्रा कुराहरु देखिएका होलान, धेरैको हाम्रो मनमा गडेका होलान। यथार्त त्यति मिठो हुँदैन र सोचेजस्तो हुँदैन । उतार चडाव, आरोह अवरोह, इर्श्या , द्वेष , भाईचारा, मित्रता यी दुवै मानवीय स्वाभाव हुन । इर्स्या पनि छ, द्वेस पनि छ, भाईचारा पनि छ, मित्रता पनि छ, सहयोग पनि छ, यो मान्छेको जिवनको गुण हो । यी कारणले गर्दा हामी सर्वसाधारण मान्छेहरुको जिवनमा त्यसले ठुलो असर गर्दछ । हामीले अहिलेसम्मको राजनीतिक ब्यवस्थामा हेर्दै, सुन्दै, पढ्दै आयौ । लोकतन्त्र भनौ, प्रजातन्त्र भनौ, भन्दै भन्दै आएर भोटैमात्रै दिेने, बहुमतले शाासन गर्ने, अल्पमतले त्यसको सवैकुरा मान्ने, ५ बर्षसम्म जे जे भन्यो त्यहि त्यहि मान्ने यी कुराहरु हेर्दैै आएको कुरा यसलाई पुरानो प्रजातन्त्र भनेर नयाँ प्रजातन्त्र नौलो जनवाद भनेर नयाँ किसिमको सोँच आएको कुरा पनि हामी सवैलाई थाहानै छ । त्यसको यो सोचलाई अगाडी ल्याउनको लागी प्रेरित हुनुभयो माओत्सेतुङ ।
उहाँले पनि माक्र्सवाद नै पढेर ल्याउनु भयो । माक्र्सवादले यो समाज विकाशलाई हिजो देखि आज र शुदुर भविस्यसम्म कल्पना गर्नुभयो । समाज कहाँ जादैछ र कसरी अघि बढ्दैछ, त्यसैको उन्नत ब्यवस्था वा उन्नत स्वरुप भनेर साम्यवाद भन्नुभयो । हामीले गीतमा त्यही साम्यवादको बारेमा सुन्यौ ।

मान्छेहरु निराशा भैरहेको बेलामा, मान्छेहरु अविस्वास भैरहेको बेलामा एक अर्कालाई भाईचार, मित्रता सिथिल भैरहेको अवस्थामा यो गीत एउटा विचार उत्तेजक भनौ वा विचार प्रधान भएर श्रोता समक्ष आएको छ। यसको लागि गीतकारलाई धन्यवाद भन्न चाहन्छु र उहाँलाई बधाई दिन चाहन्छु । किनभने अध्यारोमा भै रहेको मान्छेलाई उज्यालो दिनु कविहरुको, कलाकारहरुको, सर्जकहरुको काम हो । त्यसलाई उज्यालो दिनु पर्दछ र त्यो गीतलाई त्यस्तै किसिमको जोसिलो पाराले सङ्गीत दिनुभएको छ , म सङ्गीतकारलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। समग्र टिम यसमा सफल छ । गीतले जे बोकेको छ, जे भाव बोकेको छ, जे विचार बोकेको छ , त्यो विचारलाई पुष्टी दिने खालको र त्यो विचारलाई जिवन्त पार्ने खालको सङ्गीत पनि छ । त्यसरी नै गाउने साथिहरुले पनि पूर्ण प्रतिवद्धताका साथ हृदयदेखि गाउनु भएको छ । अब गीतका सन्दर्भमा हाम्रो फाँटमा गीतको भण्डार छ, थुप्रो छ, त्यसलाई प्रकाशन गर्न नसकिएको मात्र हो , त्यो कारण आर्थिक कारण मात्र हो । म यहाँ राजनीतिक नेताहरु पनि हुनुहुन्छ, कलाकारहरु पनि हुनुहुन्छ, दुवैजना भएको ठाँउमा मैले यो कुरा राख्दै छु किनभने कलाकारको पिडा यहाँ पिविएम कमरेडहरु सिसिएम कमरेडहरुपनि हुनुहुन्छ ।

अब यत्तिको भिडियो बनाउनका निमित्त टिम कार्टुनले निशुल्क सहयोग गर्नुभएको र अरुले पनि निशुल्क सहयोग गर्नुभएको भएपनि यो ४०, ५० हजार लाग्ने कुरा हो । तर, हामीले यस किसिमको स्तरको भिडियोग्राफी बनाउनलाई त एक डेड लाख त परिनै हाल्छ। भन्नुस गीत पनि लेख्नु, सङ्गीत पनि गर्नु, १ डेड लाख पनि ल्याउनु, एउटाको लागि कसरी ल्याउनु यो सवै पार्टी र कलाकारहरुको बीचमा भएको समस्या हो र यहाँ पनि पक्कै यो छ । यसतर्फ नेता साथिहरुको ,नेतागणको ध्यान जावस र पार्टीमा भएको रकममध्ये कला साहित्यको क्षेत्रमा पनि केहि प्रतिसत छुटाउनु पर्दछ भन्ने उहाँहरुको निर्णय होस । खासगरी जनपक्षीय वा जनवादी आन्दोलनको क्षेत्रहरुमा हाम्रो आस्था भनेको कला र राजनीति भनेको अनन्य घनिस्ट मित्रहरु हुन । हामीले कुनै एकजना नेताले भन्नुभएजस्तो म राजनीतिको क्षेत्रमा प्रजातन्त्रवादी हुँ र साहित्यको क्षेत्रमा अराजकतावादी हुँ भन्नु भएको छ, हामी त्यस्तो खालको होईनौ, हामी कलाको पक्षमा पनि जनपक्षीय हौ र राजनीतिको पक्षमा जनपक्षीय हौ । तसर्थ साँस्कृतिक क्षेत्रलाई दरो बनाईएन भने राजनीतिक विचलन हुन्छ, त्यो दुर्घटनाग्रस्त हुन्छ । साँस्कृतिकरुपले लैस बनाउन साँस्कृतिककर्मीहरुलाई र साँस्कृतिक मोर्चाहरुलाई संगठित, चलायमान बनाईएन पार्टी अथवा जे भन्नुस त्यो दुर्घटनामा पर्छ, पर्छ त्यो निश्चित कुरा हो । विचारका कुरामा जे जे सुकै भने पनि र लेख्नलाई जे जे कुराहरु लेखेपनि त्यसले दिगोपन दिनेवाला छैन । दिगो हुनको लागि आर्थिक र साँस्कृतिक रुपान्तरण नै हो । त्यसकारणले साँस्कृतिक रुपान्तरणका लागि साँस्कृतिक मोर्चाहरुलाई, सास्कृतिक क्षेत्रहरुलाई बलियो बनाउनु अनिवार्य हुन्छ।
भिडियो गीतको सन्दर्भमा त साम्यवादका विषेशताहरु के हुन ? के हुन्छन ? भनिएको छ । जनताको राज र जनताले सवैले जित्ने भनेको सामयवादनै हो भनेपछि एकै लाइन आउँछ । जनताले जित्ने अवस्था भनेको साम्यवाद नै हो । र त्यो साम्यवादमा पुग्नको निमित्त जनताको जित निश्चित छ, सुनिश्चित छ र पुँजीवादको हार पनि एकदम अनिवार्य छ । यो हामीले पढ्दै आएको कुरा हो त्यो हुन्छ । यो वा त्यो प्रत्यक्ष नदेखेका हौला, तर अहिले सम्मको समाजब्यवस्थालाई हेर्दै आयौ । पन्चायती कालदेखि हेर्दै आउदा पनि जनताको जनस्तर र चेतनास्तर त बढेको छ नि ? यो बढेको छ, संगठित हुन केहि कुराले निराशा ल्याएको भएतापनि जनता आज शक्तिशाली भएका छन्, यो कुरा पक्कै हो । त्यसले गर्दा यो गित विचार प्रधान, विचार उत्तेजक छ, सङ्गीत पनि त्यस्तै छ । अब अलिकति साउण्ड सिस्टमको हिसाव कितावले मेरो कानपनि अलि कमजोर भएर पनि होला, कता कता संङ्गीतले शब्दलाई किचेको छ कि ? सङ्गीतको ध्वनी अलि बढ्ता भयो कि ? हाम्रो गीतहरुलाई सङ्गीतको ध्वनी भन्दा पनि शव्दहरु सुनाउने हो, गीतले विचार दिन्छ र गीतका शव्दहरु प्रस्ट हुन आवश्यक हुन्छ । त्यसैले कता कता ध्वनीले किच्यो अलिकत मलाई त्यसमा डर छ । अर्कोकुरा जुन क्याप्सन लेखिदिनु भएको छ अग्रेजीमा त्यो एकदमै राम्रो भएको छ, अझ नेपालीमा पनि लेखिदिएको भए झनै राम्रो हुन्थ्यो कि ?

जहाँसम्म भिडियो र टिम कार्टुनको कुरा छ, उहँहरुको प्रोफेसनल, ब्यवसायीक दक्षता हामी सवैमा प्रस्ट नै छ। अव यो भिडियोको डाईरेक्टरले पनि मार्सल आर्ट र हाम्रो नेपाली लोक कलालाई पनि जोड्नु भएको छ, नेपालको राष्ट्रिय झण्डा छ, पार्टीको झण्डा छ, पार्टीको झण्डाले देशको झण्डा उठाउने हो, देशको झण्डा अग्लो छ, त्यसको अलिकत मुन्तिर पार्टीको झण्डाहरु छन् । कुनै बेलामा पार्टीहरु रहलान, नरहलान, क्षत विक्षत होलान, देश त रहन्छ नी, रहनुपर्छ नी ? त्यसकारण देशको झण्डालाई उच्च राखेर ल्याउनु भएको छ ।
महुरी एउटा गुनिलो किरा हो तर महुरीसँग खिल पनि छ नि ? खिल हुन जरुरी छ नि ? त्यसकारण गीत सङ्गीत भनौ, वा राजनीतिक पार्टी विचारमात्रै दिएर र सङ्गीतमात्रै दिएर नहुने रहेछनी त्यो सँग त आत्मरक्षाको बलपनि हुनुपर्यो र प्रत्याक्रमणको शक्तिपनि हुनुपर्यो त्यो मार्सल आर्ट हो, त्यसले आक्रमण पनि गर्दछ, त्यसले प्रतिकार पनि गर्दछ । टिम कार्टुनिजले सायद त्यसैको लागि उचित ठान्यो कि यसमा मार्सलआर्ट पनि राखौ । त्यहाँ मार्सलआर्ट मात्रै हैन यो लोकतन्त्र त धेरै धेरै मान्छेहरुले, जनताहरुले लड्दै ल्याएको हो नि त्यहाँ कम्व्याट लगाउने मान्छेहरुपनि हुनुहुन्थ्यो, त्यहाँ लोक भेषभुसा लगाउने मान्छेहरुको पनि र सवैको संयुक्त प्रयाशले हामी यहाँसम्म आएको हो नि ? त्यो कुरालाई मैले त्यसरुपमा पनि देखेँ । किनभने, लोक भेषभुसामा पनि नाच्नु भएको छ, खुकुरी लिनु पनि भएको छ अनि कलाकारहरुले कम्ब्याट पनि लगाउनु भएको छ, अथार्त सेना, जनकलाकारहरु हुदै यहाँसम्म आएको भन्ने ईतिहाँस पनि यसले बोकेको जस्तो लाग्यो । यसरी समग्रमा एउटा राम्रो काम भएको छ, आमजनताको विस्वासलाई मर्न नदिन, जगाउन, उहाँहरुको सपना भत्किएको छैन है भनेर जनतालाई विस्वास दिलाउन, प्रत्याभुति दिलाउन यो गीत अगाडि छ । समग्रमा धेरै राम्रो छ, समयानुकल छ, किनभने यो निराशा, हतोत्साही, विखण्डनले ढाकिरहेको बेलामा साम्यवादप्रतिको विस्वास, गन्तव्य, सपना, अभिष्ट, पुग्ने ठाँउ छ है । त्यसपर्फ जाने हाम्रो बाटो निरन्तर र यात्रा निरन्तर छ है भन्ने कुरा राख्दै मलाई निमन्त्रणा दिने र बोल्ने अवसर दिने विशेष गरी चिरन जी र सवैलाई धन्यवाद । मेरो कुरा सुनिदिनुभएकोमा सवैप्रति आधार छ ।

  • वरिष्ठ गीतकार तथा सङ्गीतकार श्याम टमोटले नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीद्वारा रचित ‘साम्यवाद’ गीत सार्वजनिक समारोहमा राखको धारणाको सम्पादित अंश ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु