भरत सीको ‘राज्यसत्तामा कम्युनिष्ट क्रान्ति र भ्रान्ति’ पुस्तक सार्वजनिक

२०८० आश्विन १ गते, सोमबार


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी योद्धा भरत सीद्वारा लिखित नेपालको कम्युनिष्ट आन्दोलन र त्यसका सकरात्मक तथा नकरात्मक कामकाबारे गहिरो अध्ययन गरी विश्लेषण गरिएको पुस्तक “राज्यसत्तामा कम्युनिष्ट क्रान्ति र भ्रान्ति” बजारमा आएको छ । पुस्तकमा खण्ड एक र खण्ड दुई छन् भने त्यसमा समय सान्दर्भिक तथा अति महत्वका लेखहरु समावेश छन् । पुस्तक कुल २०४ पेजको रहेको छ ।
पुस्तकको खण्ड एकमा इतिहास र कम्युनिष्ट, ऐतिहासि राष्ट्रिय सन्दर्भ, कम्युनिष्ट र वर्तमान विश्व, कम्युनिष्ट र वर्तमान नेपाल र भविष्य र कम्युनिष्टकाबारे गहिरो अध्ययन र अनुसन्धान गरी आलेखहरु राखिएका छन् ।
यस्तै पुस्तकको खण्ड दुईमा कम्युनिष्टको उपस्थिति र अस्तित्व शिर्षकमा कम्युनिष्ट पार्टीको स्थापनादेखि झापा विद्रोह, महान जनयुद्ध र जनआन्दोलन ०४६/०४७ र २०६२/६३ लगायतका आन्दोलनकाबारे चर्चा गरिएको छ ।
यस्तै पुस्तकको खण्ड दुईमै एमालेको अल्पमतको सरकारका काम र प्रभाव, माओवादी कम्युनिष्ट सरकारका काम र प्रभाव, कम्युनिष्ट जनमत, सरकारी कम्युनिष्टका नकारात्मक काम, र परिवर्तित परिस्थिति र कम्युनिष्ट कार्यभार शिर्षकका आलेखहरु समावेश गरिएको छ ।
भुँडीपुराण प्रकाशन काठमाडौँले प्रकाशित गरेको पुस्तकको मन्तव्य नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले दिदै असल लेख्नु पनि क्रान्ति गर्नु जस्तै हो भनेका छन् ।
महासचिव विप्लवले मन्तव्यमा भनेका छन्, “मुठ्ठीभर लुटेरा वर्गवाहेक मान्छेहरु नयाँ विकल्प खोजिरहेका छन् । अवश्य पनि पुँजीवादको विकल्प साम्यवाद हो तर असफल भएको समाजवाद होइन,२१ औं सताव्दीवाट अगाडि बढेको वैज्ञानिक समाजवाद हो । कमरेड भरत सी पनि राज्यसत्तामा कम्युनिष्ट क्रान्ति र भ्रान्ति नामक पुस्तकमा यिनै विषयमा पस्न र निस्कन खोज्नु भएको छ ।”
पुस्तकका लेखक भरत सीले नेपालमा वास्तविक कम्युनिष्टहरुको सार र रुप बुझन र बुझाउन नसक्दा नेपालमा जनताले सधै धोका खानु परेको औल्याउदै आफू जेल बसाईका बेला नै यो पुस्तकको जन्म भएको बताएका छन ।
उनले मुख्य गरी पुस्तकमा विश्व कम्युनिष्ट आन्दोलनमा कम्युनिष्टहरु सफल भएर पनि सत्ता रक्षा गर्न नसक्नुका कारण र नेपाली कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट जनमत धेरै भएर पनि समाजवादी व्यवस्थामा पुग्न नसक्नुका कारणहरु बारे गहिरो विवेचना गरेका छन । यो पुस्तक कम्युनिष्ट क्रान्तिकारीहरुका लागि महत्वपूर्ण खुराक हुनेछ ।

प्रतिक्रियाहरु