गुगल ९ करोड ३० लाख डलर क्षतिपूर्ति तिर्न तयार

२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौँ । गुगलमाथि उपभोक्ताहरुलाई दिग्भ्रमित बनाएको आरोप लागेको छ । प्रयोगकर्ताको लोकेसन कसरी ट्रयाक गरेर त्यसलाई संग्रहित गरिएको हुन्छ भन्ने बारेमा गुगलले सही जानकारी नदिएको अभियोग गुगलमाथि लागेको थियो । उक्त मुद्दालाई टुंग्याउनका लागि गुगलले ९ करोड ३० लाख डलर अर्थात् करिब १२ अर्ब ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ ।
अमेरिकाको क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले गुगलविरुद्धको उक्त मुद्दा दायर गरेका थिए । जसमा गुगलले प्रयोगकर्ताको लोकेसन कन्ट्रोलका विषयमा गलत जानकारी दिइएको अभियोग लगाइएको छ ।
महान्यायाधिवक्ताले भनेका छन्, ‘हाम्रो छानविनबाट के पत्ता लागेको छ भने गुगलले लोकेसन डिसेबल गरेपछि उसले प्रयोगकर्ताको लोकेसन ट्रयाक नगर्ने बताएपनि वास्तवमा त्यसको उल्टो काम गरिरहेको छ । कम्पनीले आफ्नो फाइदाका लागि लगातार प्रयोगकर्ताहरुको गतिविधि ट्रयाक गर्ने गरेको छ ।’
गुगलले भने उक्त आरोप स्वीकार गरेको छैन, तथापि ऊ सो मुद्दालाई मिलाउनका लागि तयार भएको छ । यसका लागि गुगल ९ अर्ब ३० करोड डलर क्षतिपूर्तिसहितका अन्य दायित्व निर्वाह गर्न पनि तयार भएको छ । साथै प्रयोगकर्ताको लोकेसन ट्रयाकिंगसम्बन्धी कार्यलाई अझै पारदर्शी बनाउने र प्रयोगकर्ताको लोकेसन प्रयोग गर्नुअघि उनीहरुलाई जानकारी दिने लगायतका कदम चाल्ने पनि उसको प्रतिवद्धता छ ।
स्मरणहोस्, प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने वा उनीहरुको कुराकानी तथा गतिविधिको निगरानी गर्नेमा केवल गुगल मात्र एक्लो होइन । अन्य विभिन्न ठूला प्रविधि कम्पनीहरुमाथि पनि यस्तै आरोप लाग्ने गरेको छ । फेसबुकको मातृ कम्पनी मेटामाथि त यहीँ अंग्रेजी वर्षको सुरुआतमा एक अर्ब २० करोड युरो जरिवाना भएको थियो ।

प्रतिक्रियाहरु