जीप दुर्घटना : पाँच जनाको मृत्यु

२०८० जेष्ठ ११ गते, बिहीबार


काठमाडौँ । रुकुम पश्चिममा सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै मृत्यु भएको र जीपमा रहेका कम्तिमा आधा दर्जन घाइते भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सानोभरी नगरपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनका छोरा रोशन केसी र सोही ठाउँका नाम नखुलेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
१५ जना सवार जीप कच्ची सडकबाट चार सय मिटर तल खसेको हो । जीपमा रहेका अन्य दश जना घाइते रहेको र घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घाइतेहरुलाई उपचारका लागि लैजान हेलिकप्टर माग गरिएको बाफिकोट गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर खत्रीले बताएका छन् ।

यता, ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा चालक कृष्णका भाईका ५ वर्षका छोरा अंशुमनको मृत्यु भएको र सवारी चालक कृष्णको दायाँ आँखाको डिलमा चोट रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार मे१च७३५३ नम्बरको स्कारपिओ अनियन्त्रित भई बाटो देखि करिव ४०–५० मिटर तल खसी दुर्घटना भएको थियो।
गाडीमा सवार दुबै जनालाई घटनास्थलबाट उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा ५ बर्षे बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए। शव जिल्ला अस्पतालको शव गृहमा राखिएको समेत प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार