भ्रष्टाचारविरुद्धको जनआक्रोश र अराजकताको खतरा

२०८० जेष्ठ ८ गते, सोमबार

विष्णु पन्त

१. भ्रष्टाचारविरुद्धको जनआक्रोश ः भ्रष्टाचार हाम्रो देशको सबैभन्दा ठूलो शत्रु हो । भ्रष्टाचारविरुद्धको जनआक्रोश डढेलो बनेर फैलिएको छ । हालै मात्र नक्कली भुटानी शरणार्थी काण्ड निकै चर्चामा छ । सरकारले नक्कली भुटानी शरणार्थी काण्डलाई छानबिनको दायरामा ल्याएर चर्चा बटुलेको छ । वास्तवमा यो काण्डले नेपालको अन्तर्राष्ट्रिय स्तरमै बद्नामी भएको छ । हामी भ्रष्टाचारको कुन युगका कालरात्रीमा छौं भन्ने तथ्यलाई विश्वसामु उजागर गराएको छ । भुटानी शरणार्थी काण्डले हामीलाई विश्वसामु लज्जित बनाएको छ । हामीले भुल्नै नहुने तथ्य त यो हो कि भ्रष्टाचार हाम्रो संस्कृति र पद्धतिका रूपमा विकास भएको छ । सामाजिकरूपमा नै भ्रष्टाचार गर्नेहरुलाई सम्मानित गर्ने वा सफल ठान्ने मनोविज्ञान हावी भएको छ । आफ्ना नागरिकको सम्पत्ति कति छ भन्ने कुरा राज्यलाई थाहा छैन । भ्रष्टाचार नेता, कर्मचारी तथा राजनीतिक पहुँच हुनेले गर्छन् भन्ने एउटा सत्य हो ।

सँगसँगै अर्काे सत्य पनि छ ः भ्रष्टाचार घरघरमा र गाउँगाउँमा फैलिएको छ । भ्रष्ट मनोविज्ञान आजको मुख्य समस्या हो । शहरका बहुसंख्यक घरहरुको आयश्रोत पुष्टि हुन सक्ला र ? सबैलाई थाहा छ, नेपालमा श्रम गरेर, जागीर गरेर अनि सामान्य व्यापार गरेर शहरमा घर ठडिन सक्दैनन् । आजको युगमा सफल त्यो हो जसले घर ठड्याउँछ, गाडी किन्छ आदि । जो रातारात धनी बन्छ वा कालो धन वा इजी मनी थुपार्छ, त्यो सफल र विजयी सावित हुन्छ । इमानदार मान्छे त लोपोन्मुख जातिमा परिणत हुँदैछ । श्रम गरेर धनी बन्ने अवस्था छैन किनकि श्रमको मूल्य नै छैन । जागिर वा काम पाउने अवस्था नै छैन । भ्रष्टाचार यसरी फैलिनुका पछाडिका मुख्य कारण हुन्– (१) अपादर्शी राज्य व्यवस्था, (२) भष्टाचारलाई छुट दिने वा प्रोत्साहित गर्ने कानूनी संयन्त्र र (३) भ्रष्टाचारलाई सम्मान प्रदान गर्ने सामाजिक मनोविज्ञान । भ्रष्टाचारको नशा सर्वत्र फैलिएको छ । आजको युगमा पैसा वा सम्पत्ति भएपछि सबैभन्दा ठूलो जीत वा सफलता मिल्छ । एउटा पुँजीपतिले डाक्टर, इन्जिनियर, वैज्ञानिक, प्राध्यापक, पाइलटलाई जागीर लगाउन सक्छ । हाम्रोमा सम्पत्ति भए पुग्छ त्यसको श्रोत खुलाउन पर्दैन । भ्रष्टहरुको खोजी छानबिन र जेल गएका हाम्रोमा दुर्लभ घटना छन् । भ्रष्टाचारविरुद्ध आमजनआक्रोश बनेको यो पहिलो घटना हो । आजको जनआक्रोशको निशानामा छ राजनीतिक नेतृत्व छ । पुराना दल, पुराना नेता वा भूतपूर्व शासकहरूप्रतिको जनआक्रोश बढ्दो छ । यो जनआक्रोशको शिकार बन्नेमा को–को नेता पर्ने हुन् त्यो भन्न सकिँदैन । निर्दाेष मान्छेहरु पनि यस्तो कालखण्डमा शिकार बन्ने सम्भावना प्रवल हुन्छ । भ्रष्टाचारविरुद्धको जाँतोमा निर्दाेषहरु नपिसिउन भन्ने चिन्ता र खबरदारी जायज हुन्छ ।

२. भ्रष्टाचारको नाममा राजनीतिप्रतिको वितृष्णा ः निराशा र वितृष्णाको मुख्य विषय त यो हो कि देशमा ठूला–ठूला परिवर्तन भए तर, जनताको जीवनस्तरमा कुनै सुधार आएन । बाँच्नका लागि काम वा काम पाउनका लागि देशै छोड्नुपर्ने विवशता आजको पीडादायी समस्या हो । युवाहरुको विदेश पलायनका कारण आज गाउँ र सहरसमेत खाली हुँदैछन् । प्रत्येक युवा अनि नागरिकको सपना विदेश पलायन छ । वास्तवमा जनताको जीवनमा एक प्रकारको भागदौड, अशान्ति र बेचैनी मच्चिएको छ । अहिले हामी विस्तारै आर्थिक संकटतर्फ धकेलिँदै छौँ । सबै उद्योगी, व्यापारी वा व्यवसायीहरु अहिले टाट पल्टिने खतरामा उभिएका छन् । आमजनतामा महँगी, अभाव र गरिबीले सताएको छ । जब अभाव र संकट बढ्छ, तब जनआक्रोशको निशानामा राजनीति पर्दछ । आजको यो जनआक्रोश राजनीतिको असफलता पनि हो । यो आक्रोशले भोलि क–कसलाई खान्छ, त्यो हेर्न बाँकी नै छ ।

फेरि पनि यतिबेला संयमित अनि दूरदर्शी रणनीतिलाई अंगिकार गर्नु जरुरी हुन्छ । यो आक्रोश र संकटलाई टार्नका लागि एउटा ठूलै परिवर्तनका लागि सबै तयार हुनु बुद्धिमता हुन्छ । संकटलाई टार्नका लागि एउटा ठूलै परिवर्तनका लागि सबै तयार हुनुपर्ने देखिन्छ । संकटलाई समाधान गर्ने सही विधि बृहत राष्ट्रिय एकता हो । निषेध र शत्रुतापूर्ण सम्बन्धले देशलाई गृहयुद्धमा धकेल्न सक्छ । आजको हाम्रो प्रश्न यो पनि हो ः भ्रष्टाचार कहाँ छैन र ? सेना, प्रहरी, कर्मचारी, राजनीति । समाज सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । केही प्रतिनिधिमूलक छानबिन गर्दै भविष्यमा भ्रष्टाचारलाई राष्ट्रिय अपराधका रूपमा दण्डित गर्ने र छानबिन गर्ने विधि बनाउनुपर्छ । त्यसकारण अबको आक्रोश राजनीतिप्रतिको आक्रोश छ । जनताले नेताहरुलाई लखेट्न सक्छन् । एकले अर्कालाई दोष लगाउनु वा आरोप प्रत्यारोप गर्नुभन्दा एउटा संयमित र भद्र योजना बनाउनु सही हुन्छ ।

३. अराजकता र लुटपातको खतरा ः जनआक्रोशहरु अनियन्त्रित वा विष्फोटक बन्दै गए पनि अराजकता र लुटपाटको अवस्था उत्पन्न हुनसक्छ । बालाजुको लोत्से मलमा भएको लुटपाट एउटा उदाहरण र सावधानीको विषय हो । देशमा अराजकता हावी भयो भने के हुन्छ भन्न वा पूर्वानुमान गर्न सकिँदैन । नेताहरुमाथिको आक्रमण, ढुंगामुढा वा आगजनीका घटनाहरु हुनसक्छन् भन्नेतर्फ सचेत हुनुपर्छ । आजको पाकिस्तान र हिजो भर्खरको श्रीलंकाबाट हामीले सिक्नुपर्दछ । श्रीलंकाबाट शासकहरु वा नेताहरु लखेटिनुपर्ला भनेर सचेत हुनुपर्छ भने पाकिस्तानबाट पालैपालो नेताहरु जेल जानुपर्ला भनेर सजग रहनुपर्छ । समाजमा लुटपाटका घटनाहरु नघटुन् भनेर हामी सचेत हुनुपर्छ । हाम्रोमा सर्वसम्मत वा निर्विवाद नेतृत्वको सम्भावना कम छ । त्यसकारण जनआक्रोशलाई संयमित ढंगले व्यवस्थापन गर्ने रणनीति अंगिकार गर्नु सही र दुरदर्शी हुनसक्छ ।

४. सस्तो लोकप्रियता र अन्धविरोधको होडबाजी ः रिस वा प्रतिशोध साँध्नु प¥यो कि ‘तँ भ्रष्टाचारी वा अपराधी’ भनिदिए पुग्छ । यो भ्रष्टाचारीको घर भनेर लुटपाट भएमा राज्य वा कानून निरीह बन्नसक्छ । विधि, पद्धति वा संस्थालाई बलियो बनाउने परम्परा हाम्रोमा छैन । गाली, बेइज्जती र विरोध गरेर समर्थन जुटाउने लहड चलेको छ । क्षणभरमै वा रातारात लोकप्रिय बन्ने बाटोमा हामी फस्दैछौँ । त्यसकारण सस्तो र व्यक्तिगत लोकप्रियताको बाटो त्यति परिपक्व बाटो होइन । क्षणभरमै उदाउने र क्षणभरमै अस्ताउने राजनीति अन्तत्वागत्वा पतन वा बदनामीको बाटो हो । व्यक्ति वा दललाई होइन देश र जनतालाई केन्द्रमा राखौँ । भ्रष्टाचारलाई नीतिगत र प्रणालीगत ढंगले बन्द गर्ने बाटो अंगिकार गरौँ । सबैभन्दा पहिले भ्रष्टाचारलाई राष्ट्रिय अपराधका रूपमा परिभाषित गराँैँ । यसको छानबिन र नियन्त्रणका लागि स्वतन्त्र, निष्पक्ष र अधिकार सम्पन्न वा शक्तिशाली आयोग बनाऔँ । भ्रष्टाचारको छानबिन मूलतः राष्ट्रपति, प्रधानमन्त्री र न्यायाधीश र प्रधानसेनापतिबाट हुने व्यवस्था गरौँ । कमजोर, निरीह र विपक्षीहरु वा रिस उठेकालाई मात्र छानबिन गर्नु अर्काे भ्रष्टाचार हो । छानबिन गर्नेले सुरुवात आफैँबाट गर्नुपर्छ । भ्रष्टाचारको आरोपमा कोही पनि निर्दाेष मान्छे नपरुन् भनेर सजग हुनुपर्छ । हामीले जनतालाई सही सूचना दिनसक्नुपर्छ । मिसन पत्रकारिता आजको मुख्य चुनौति हो । हामीले निष्पक्ष पत्रकारितालाई अंगीकार गर्न जरुरी छ । ब्ल्याकमेलिङ अनि मिडिया करप्सन पनि अर्काे समस्या हो ।

त्यसकारण हाम्रोमा संस्था होइन, व्यक्ति लोकप्रिय बन्ने होडबाजी चलेको छ । सभ्याताको विकासका हिसाबले यो त्यति राम्रो प्रवृत्ति वा संस्कृति होइन । व्यक्ति हिरो बन्ने प्रवृत्तिलाई सामन्ती सोचको स्थानान्तरणको रूपमा बुझ्न सकिन्छ । एकजना व्यक्तिको लोकप्रियताले रातारात पार्टी कन्ने अवस्था पनि बन्दैछ । तर, एकजना असल नेता जन्मियो भने त्यसले सर्वत्र सकारात्मक सन्देश प्रवाह गर्न सक्छ । आम असल नेतृत्वको अभाव, संकट वा अनिकालको बेला हो । नेपाली समाजमा एउटा उखान छ ‘अनिकालमा बिउ जोगाउनु’ देशका लागि अनि जनताका लागि केही गर्छु भन्ने नेताहरुलाई जनअपेक्षाअनुसार मौका दिनुपर्छ । गर्छु भनेर प्रतिबद्धता जनाउनेलाई अवसर वा मौका दिनु लोकतन्त्रको सौन्दर्य पनि हो । निषेध होइन सहकार्यको बाटो अनि प्रतिशोध होइन स्वीकार्यताको बाटो अबलम्बन गरौँ ।

५. परिस्थिति नियन्त्रण बाहिर जान सक्ने – हामी अहिले आर्थिक संकटको घडीमा छौं । जनताले गरिबी, अभाव, बेरोजगारी र महँगीको चौतर्फी संकटको सामना गर्नु परेको छ । पाकिस्तान र श्रीलंकामा पनि केही समय पहिले जनआक्रोशहरु विष्फोटक बनेका थिए । भ्रष्टाचारको मुद्दाले थुप्रै दलहरुभित्र उथलपुथल पनि आउन सक्छन् । नयाँ वा पुराना सबै शीर्ष नेताहरु अदालतको जनाताको कठघारामा परेका छन् । भ्रष्टाचारको मुद्दा या त सुनामी बनेर आउने छ या त सामसुम हुनेछ । हाम्रोमा सरकार अस्थिर छ र शक्तिशाली सरकारको अभाव छ । कुन–कुन फाइल खोल्दा कसलाई फाइदा हुन्छ वा कसको प्रतिशोध पूरा हुन्छ भन्नेतर्फ राजनीतिक खिचातानी बढेको छ । भ्रष्टाचारको सुनामीले क–कसलाई बगाउने हो अनि क–कसलाई स्थापित गर्ने हो त्यो हेर्न बाँकी नै छ । अहिले अर्काे पर्दा ताली बजाउने अनि जुलुश निकाल्ने र आपूm वा आफ्ना पर्दा सन्नाटा छाउने अवस्था आउने छ । परिस्थितिलाई धेरै बिग्रन नदिनु सबैको हितमा हुनसक्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु