आजका सन्दर्भमा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन
नेपालका संसदवादी पार्टीमध्येको एक एमालेको गत बैशाख २८–३० मा भएको केन्द्रिय कमिटीको बैठकले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेपछि त्यसबारे बहसहरु सुरु भएका छन् । उक्त बैठकले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको बताइएको छ । सो बैठकले विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन उदाहरणीयरुपमा रहेकाले यसै वर्ष कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको सो पार्टीको प्रचार विभागले जनाएको छ । तर, सो सम्मेलनमा हुने सहभागिता र अन्य कुराहरुका बारेमा केही पनि स्पष्ट गरिएको छैन । नेपालको कम्युनिष्ट आन्दोलनले कस्तो उदाहारणीय काम गरेको हो भन्ने पनि केही खुलाइएको छैन । एमालेका नेताहरुले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादका माध्यमबाट कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिएको दाबी पनि गर्ने गरेका छन् । तर, नेपालमै एमालेको जबजका बारेमा विवादहरु रहेका छन् । सो पार्टीबाट अलग भएर बनेको एकीकृत समाजवादीले समेत जबजलाई पूर्णरुपमा स्वीकार गर्न सकिरहेको छैन । खासमा छिमेकी चीनमा माओत्सेतुङको निधनपछि भएको राजनीतिक परिवर्तन र नेपालमा बुहदलीय ब्यवस्थाको पुनस्र्थापनापछि एमालेले पार्टीको बैठकबाट औपचारिकरुपमै निर्णय गर्दै माओत्सेतुङ विचारधारा परित्याग गरेर जनताको बहुदलीय जनावादको रचना गरेको थियो । जबजका रचनाकार मदन भण्डारीको निधनपछि जबजको नीति पनि संकटमा परेको ठानिएको थियो । ०४६ को राजनीतिक परिवर्तनपछि एमालेले बहुदलीय संसदीय ब्यवस्थालाई पूर्णरुपमा स्वीकार्नुका साथै जबजको सिद्धान्तको प्रतिपादन गरेपछि सो समूह नाम मात्रको कम्युनिष्ट पार्टी हुनपुगेको थियो । पछिल्ला दिनमा एमालेका लागि जबज कहिलेकाहीं सम्झने विषय मात्र भएको छ ।
हाल आएर उनीहरुले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा समसामयिक सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोगलाई छलफलको मुख्य विषय बनाउने भनेका छन् । माक्र्सवादको ब्याख्या र बिश्लेषण कुन ढंगले हुन्छ ? त्यो भने हेर्न बाँकी छ । तर पनि नेपालको एमालेजस्तो संशोधनवादी राजनीतिक समूहले कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन गराउने र माक्र्सवादको ब्याख्या र विश्लेषण गराउने कुरा आफैँमा अन्योलपूर्ण छ । जसले धेरैको ध्यानाकृष्ट गरेको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसको नीतिको पछि लागेर एमाले हालको अवस्थामा पुगेको हो । २०६३ को राजनीतिक परिवर्तनपछि माओवादी केन्द्र पनि नेपाली कांग्रेसकै पछिलागेर बिघटनको संघारमा पुगेको छ । यतिबेला कम्युनिष्ट पार्टी र राजनीतिका हिसावले माओवादी केन्द्र एमालेभन्दा पनि बढी पतनको अवस्थामा छ । तथापि कतिपय क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादी केन्द्रको वरिपरी घुमिरहेका देखिन्छन् । एमालेले गर्ने कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनले माओवादीका विभिन्न समूहहरुलाई आ–आफ्नो अवस्थाप्रति झकझकाउने निश्चित छ । नेपालमा मात्र नभएर आज विश्वमै कम्युनिष्ट पार्टीहरुका बीचमै विभिन्न किसिमका विवादहरु रहेका छन् । साम्राज्यवादी शक्तिले कम्युनिष्टहरुलाई सिध्याउन कम्युनिष्ट नामधारी पार्टीकै प्रयोग गरिरहेको देखिएको छ । खासगरी सोभियत संघको पतनपछि विश्वकै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । कतिपयले त आगामी डेढ दशकभित्रमा विश्वबाटै कम्युनिष्ट पार्टीहरुको नामोनिसान हराउने भविश्यवाणी पनि गरेका छन् । तर, विश्वमा कम्युनिष्ट पार्टी र राजनीतिको आवश्यकता बढ्दो छ । जसकाबारेमा नयाँ ढंगले अगाडि बढ्नुपर्ने अवस्था छ । आजभन्दा करिव १०४ वर्षअघि अन्तर्राष्ट्रियरुपमै कम्युनिष्ट पार्टीहरुले एकताबद्ध हुने प्रयास गरेका थिए । जसका कारणले कम्युनिष्ट इन्टरनेशनल (कोमिन्टर्न) को जन्म भएको थियो । जसलाई तेश्रो विश्व पनि भन्ने गरियो । सो संगठन हाल मृत प्रायः अवस्थामा रहेको छ । तत्कालीन अवस्थामा क्रान्तिकारी धारमा रहेका विश्वका ३४ कम्युनिष्ट पार्टीहरुले सन् १९१९ को मार्च २–६ मा भएको सम्मेलनका क्रममा कम्युनिष्ट इन्टरनेशनलको स्थापना गरेका थिए । जतिबेला ५२ प्रतिनिधिहरुको उपस्थिति रहेको पाइन्छ । उनीहरुले कार्यकारी समितिसमेत गठन गर्ने निर्णय गरेका थिए । कार्यकारी समितिले अन्तर्राष्ट्रिय दैनिक मामिलाहरुमा ध्यान दिने भनिएको थियो । सो संगठनले आफ्नो दोश्रो महाधिवेशनमा ‘अन्तर्राष्ट्रिय पुँजीपति वर्गलाई परास्त गर्न र राज्यको पूर्णउन्मूलनको लागि संक्रमण चरणकोरुपमा अन्तर्राष्ट्रिय सोभियत गणतन्त्रको निर्माणका लागि सशस्त्र बलसहित सबै उपलब्ध माध्यमहरुद्वारा संघर्ष गर्ने’ संकल्प गरेको थियो । कोमिन्टर्नले सन् १९१९ देखि १९३५ को बीचमा रुसको मस्कोमा सातवटा विश्व अधिवेशनहरु आयोजना गरेको पाइन्छ । त्यस अवधिमा उसले आफ्नो गभर्निङ कार्यकारी समितिको १३ वटा विस्तारित प्लेनमहरुसमेत सञ्चालन गरेको थियो ।
सोभियत संघका तत्कालीन नेता जोसेफ स्टालिनले दोश्रो विश्वयुद्धका पछिल्ला वर्षहरुमा विभिन्न किसिमका बिरोधहरुबाट जोगिनको लागि सन् १९४३ मा कोमिन्टर्नको विघटन गर्नुभएको थियो । तर, पनि विभिन्न समयमा विभिन्न देशका कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय भेला र सम्मेलनहरु गर्दैआएका छन् । सन् १९७६ को सेप्टेम्बर नौमा माओको निधनपछि विश्वका एक दर्जन कम्युनिष्ट पार्टीहरुले संयुक्त बक्तब्य प्रकाशित गरेर चीनमा प्रतिक्रान्ति भएको ठहर गरेका थिए । तर, ती कम्युनिष्ट पार्टीहरुले पनि आपूmहरुबीचको एकतालाई निरन्तरता दिन सकेनन् । विश्वमा शुरुदेखि नै क्रान्तिकारी र सुधारवादीहरुबीचको भिन्नता रहँदै आएको थियो । दोश्रो इन्टरनेशनलनै क्रान्तिकारी वामपन्थी, मध्यपन्थी र थप सुधारवादी दक्षिणपन्थीहरुका बीचमा विभाजित भएको थियो । सन् १९१९–१९२४ लाई कोमिन्टर्न इतिहासमा पहिलो अवधिकारुपमा लिने गरिन्छ । जतिबेला युरोपभरि नै क्रान्तिका लहरहरु चलेका थिए र उनीहरु कोमिन्टर्नमा सक्रियतापूर्वक सहभागी पनि भएका थिए । कोमिन्टर्नको संस्थापक कंग्रेसमा रुसी कम्युनिष्ट पार्टी (बोल्शेविक) लगायतका दलहरु थिए । पहिलो कोमिन्टर्न महाधिवेशनमा रुस, अष्ट्रिया, हंगेरी, पोल्याण्ड, फिनल्याण्ड, युक्रेन, लाटभिया, लिथुआनिया, बेलोरुसिया, इष्टोनिया, आर्मेनिया र जर्मनका विभिन्न कम्युनिष्ट पार्टीहरु रहेका थिए । सो संगठनको केन्द्रीय नीतिनै अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिलाई सहयोग गर्न विश्वभर कम्युनिष्ट पार्टीहरु स्थापना गर्नुपर्छ भन्ने रहेको थियो । कम्युनिष्ट इन्टरनेशनलको दोश्रो महाधिवेशनले औपनिवेशिक देशहरुमा सर्वहारा, किसान र राष्ट्रिय पुँजीपति वर्गकाबीचमा एकताबद्ध मोर्चाको गठन गर्नुपर्ने प्रावधान राखेको थियो । कम्युनिष्ट इन्टरनेशनलको तेश्रो कंग्रेस सन् १९२१ को जुन २२–जुलाई १२ को बीचमा मस्कोमा भएको थियो । चौथो कंग्रेस १९२२ को नोभेम्बरमा भएको थियो । सातौं कंग्रेसपछि यस्को अस्तित्व समाप्त भएको मानिन्छ ।
१९४७ पछि फेरि कोमिन्टर्नको विकल्पहरुको खोजी गरिएका थिए । तर, कसैले पनि विकल्प दिन सकेका थिएनन् । आज पनि विश्व कम्युनिष्ट पार्टीहरुको संगठनको सख्त आवश्यकता रहेको छ । तर, कम्युनिष्ट पार्टीका विभिन्न धाराहरुको विकास भएका कारण यस्तो अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठनको निर्माणका लागि पहलनै हुन सकेको छैन । नेपालमा खासगरी ०६२ मा माओवादी जनयुद्धमा भएको असफलतापछि कम्युनिष्ट पार्टीहरु छिन्नभिन्न अवस्थामा पुगेका छन् । नेपालका कम्युनिष्ट पार्टीहरुकाबीचमै बृहत् सम्मेलनको आबश्यकता रहेको छ । त्यस्तो सम्मेलन हुन सकेको खण्डमा त्यसले निकाल्ने निष्कर्षका आधारमा कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुनु बढी सान्दर्भिक हुन्छ । नेपालमा कम्युनिष्ट पार्टीको जन्म दिनकैबारेमा विवाद रहेको छ । आपूmलाई माओवादी बताउने कतिपय समूहहरु नेपाली कांग्रेससँग दीर्घकालीन एकतामा रहेका छन् । उनीहरु कम्युनिष्ट र कांग्रेस भनेका उस्तै पार्टी हुन् भन्दै खुलेयाम प्रचार गरिरहेका छन् । नेपालका कम्युनिष्टहरुमा शुरुदेखि नै भारतीय प्रभाव त छँदैथियो, पछिल्लो समयमा अमेरिकी र युरोपियन प्रभावहरु पनि देखिन थालेका छन् । माओवादी केन्द्रले ०६३ पछि अमेरिकी प्रभावमा परेर नेपालमा संघीयता, जातीय समाबेशी र समानुपातिक निर्वाचन प्रणालीलगायतका कुराहरु स्थापित गराउने प्रयास गरेका कारण प्रायः सबै कम्युनिष्ट पार्टीहरुभित्र बिभाजनको रेखा कोरिएको छ । भनाईको तात्पर्य नेपालको कम्युनिष्ट राजनीतिमा जातीय र लिङ्गिय बिभाजनको प्रबेश भएकाले अब कम्युनिष्ट पार्टीलाई अन्तर्राष्ट्रिय मूल्य, मान्यता र आदर्शअनुसार पुनस्र्थापित गराउन कठीन पर्दै गएको छ । जुन अवस्था चिनियाँ कम्युनिष्ट पार्टीमा समेत छैन ।
चिनियाँ कम्युनिष्ट पार्टीले जातीय र लिङ्गियभन्दा प्रतिस्पर्धा, क्षमता र योग्तालाई प्रमुखता दिएका कारण लामो समयदेखि देशको शासन सत्ता सञ्चालन गर्न सफलता पाएको छ । नेपालका अमेरिका प्रभावित माओवादी केन्द्रलगायतका कम्युनिष्ट नामधारी पार्टीहरुले आपूmलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि टाढा बनाउँदै लगेको अवस्था छ । पछिल्लो समयमा कम्युनिष्ट राजनीतिबाट बिचलित हुँदै गएका केही समूहहरुले समाजवादको अमूक शब्द प्रयोग गरेर जनतामा भ्रम दिने प्रयास गरिरहेका छन् । कम्युनिष्ट पार्टीका विश्वब्यापी मूल्य, मान्यताबाट च्यूत हुँदै गएकाहरुले वैज्ञानिक समाजवाद स्थापनाको पक्षमा काम नगर्ने निश्चित छ । त्यसैले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको पहलमा अन्तर्राष्ट्रिय सम्मेलन गराउन आवश्यक देखिएको छ । तत्कालका लागि सानोरुपमा भएपनि अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठनको स्थापना गरेर त्यसलाई विश्वब्यापी बनाउनु पनि त्यतिकै आवश्यक छ । एमालेको आयोजनामा हुने अन्तर्राष्ट्रिय सम्मेलनले दिनसक्ने भ्रमलाई चिर्न तत्कालैबाट तयारीहरु थालिनु पर्दछ ।