भारतले दुई हजार रुपैयाँको नोट हटाउने

२०८० जेष्ठ ६ गते, शनिबार


काठमाडौँ । भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर,नोटलाई अमान्य भने घोषणा गरिएको छैन् । बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको हो । देशैभरको कुनैपनि बैंकमा गएर नोटलाई बदल्न पाउने सूचनामा उल्लेख छ । त्यसका लागि २३ मेबाट ३० सेप्टेम्बरसम्मको समय दिइएको छ । यस अवधिमा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गरिसक्नुपर्ने छ । एक पटकमा १० वटा दुई हजारको नोट अर्थात २० हजार रुपैयाँ मात्रै साट्न पाइने व्यवस्था गरिएको छ ।
भारतीय रिजर्भ बैंकले अन्य बैँकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न पनि निर्देशन दिएको छ । रिजर्भ बैंकले सन् २०१६ मा दुई हजारको नोट जारी गरेको थियो । ८ नोभेम्बर २०१६ को रातिबाट ५ सय र हजारको नोटमाथि प्रतिबन्ध लगाइएपछि दुई हजारको नोट ल्याइएको थियो । सन् २०१८ र १९ पछि उक्त नोट छाप्न बन्द गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बजारमा केही समययता दुई हजारको नोटको अभाव देखिन थालेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु