‘क्रान्ति सम्पन्न गर्न नयाँ तरिकाबाट लड्न पर्छ’

२०७९ चैत्र १० गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले क्रान्ति सम्पन्न गर्न नयाँ तरिकाबाट लड्नपर्ने बताएका छन् । सो पार्टीले शुक्रबार केन्द्रीय कार्यालय कपिलबस्तुमा आयोजना गरेको केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङ कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले दलाल पुँजीवादले नयाँ विचार , नयाँ प्रविधि लिएर आएको छ , पुँजीवाद पहिलाका राजाहरु जस्तो नभएको उल्लेख गर्दै भने – ‘उनीहरु नयाँ तरिकाले आउँदा हामी पुरानो तरिकाले गएर हुँदैन । हामीले पनि नयाँ तरिकाबाट लड्न पर्छ । हामी पुरानो तरिकाले लड्यौं भने परिजित हुने निश्चित छ ।’
महासचिव विप्लव सी ले माक्र्सवाद, लेनिनवाद र माओवादले संस्लेषण गरेको ज्ञानलाई र विश्वमा विकास भएको ज्ञानलाई एकीकृत गर्न स्कुल खोलिएको बताए । ‘मालेमावादले संस्लेषण गरेको ज्ञान र अहिलेको विकसित विश्वलाई एकीकृत गर्न हामीले नयाँ संस्लेषण गरेका छौँ ।’, उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘हामी समाजवादी क्रान्ति, साम्यवादी क्रान्ति गर्न चाहन्छौं । यो क्रान्ति पुरा गर्न हामीलाई मालेमावाद पनि चाहिन्छ, विश्वमा देखिएको परवर्तन पनि चाहिन्छ । हामीले विकास गरेको एकीकृत जनक्रान्तिलाई एकरुपता दिन स्कुलिङ सुरु गरिएको हो ।’
महासचिव विप्लव सी ले कम्युनिस्ट स्कुलको अभावमा सोभियत संघ ढलेको दृष्टान्त दिदै उनले समस्याहरुको हल गर्ने माध्यम स्कुल भएको बताउदै भने ‘हामी कम्युनिस्ट हौं तर कमजोर जस्तो देखिएका छौँ । विश्वमा पुँजीवाद हावि भएको जस्तो देखिन्छ । नेपालमा हामी कम्युनिस्ट छौं, कम्युनिस्ट कै सरकार छ । तर यहाँ दलाल पुँजीवाद हावि छ ।’


उनले अगाडी भने, ‘हामी क्रान्ति चाहिरहेका छौँ तर क्रान्ति माओ, लेनिलले गरेको जस्तो होइन । फरक हो भनेर देखाउन, बुझाउन आवश्यक ठानेर स्कुल संचालन गरेका हौं । यसलाई देशभरी विस्तार गर्नपर्ने योजना छ ।’
महासचिव विप्लव सी ले सामान्तवादको गर्भबाट पुँजीवाद र साम्यवादीहरुको जन्म भएको भन्दै अमेरिकाले तिनै पुँजीवादीहरुलाई पुँजीवाद पढाएर नेपालमा पठाएको बताए । उनले अमेरिकाले पुँजीवादी विद्यालय खडा गरेर, पुँजीवादका विद्यार्थी उत्पादन गर्दै नेपालमा पठाएको र त्यसकै जडमा केहीले धार्मिक स्कुलहरु चलाएको बताए । उनले अगाडी भने- ‘उनीहरुले कम्युनिस्टसँग कसरी लड्ने भनेर सिकाएका छन् । धर्ममा विज्ञान र प्रविधि मिसाएर प्रचार गरिरहेका छन् । यसलाई सच्चा कम्युनिस्टहरुले चिर्न पर्छ । त्यसका लागि केन्दीय स्कुलिङको स्थापना गरिएको हो ।’
सोही , कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा केन्द्रीय स्कुल तथा अनुसन्धान विभागका इन्चार्ज भरत सीले नयाँ स्कुल एकीकृत जनक्रान्तिको स्कुल भएको बताए ।उनले यसलाई अर्को अर्थमा विप्लव स्कुल भन्दा पनि फरक नपर्ने बताए । ‘पुरानो कम्युनिस्ट आन्दोलनलाई सोच्ने, पढ्नेमात्र गरियो भने सिद्धिने हो । जसले नयाँ विचार दियो, नयाँ आधारमा सुरु गर्यो त्यो टिक्न सक्छ ।’
नेता भरत सीले भने – ‘नयाँ कम्युनिस्ट स्कुलमा असल कम्युनिस्ट बन्न आफूलाई निरन्तर रुपान्तरण र विकास गर्न पर्यो । नयाँ क्रान्ति पुरा गर्न, अधुरो क्रान्ति पुरा गर्न हामीले नयाँ कोर्षको विकास गरेका छौं । मालेमावादलाई पनि थप विकास गरेका छौँ । एकीकृत जनक्रान्तिको नयाँ स्कुलमा ति कुराहरु पढाई हुन्छन् ।’


उनले नेकपा माओवादी केन्द्रले विचारको महत्व बल्ल बुझेको व्याङ्ग्य गर्दै भने – ‘विचार विहिन भएको माकेले पनि स्कुलिङ गर्यो रे ।’, उनले भने, ‘हामीले यता तयारी गरेपछि उनीहरुले स्कुलिङको नाटक गरे । कस्तो हुन्छ होला उनीहरुको स्कुलिङ ? योजना त अर्काको चोर्छन…।’
नेकपा पोलिटव्युरो सदस्य धुब्र सीको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रमा नेकपा केन्द्रीय सदस्य तिर्थ सीले उपस्थित सबैलाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सन्देश सीले गरेका थिए । स्कुलिङमा तीन वटा विषयहरु राखिएको कार्यक्रममा अध्यक्ष धु्रब सीले जानकारी दिए । दर्शन सास्त्र, राजनीतिक अर्थसास्त्र र वैज्ञानिक समाजवाद गरि तीन विषयमा स्कुलिङ केन्द्रीत रहने उनको भनाई थियो । स्कुलिनमा भरत सी, धु्रब सी, तिर्थ सी र प्रयास सीले कक्षा संचालन गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु