नेपालमा राजनैतिक संकट

२०७९ फाल्गुन १४ गते, आईतवार

झपेन्द्रराज बैद्य

नेपालमा आर्थिक, संस्कृतिक संकट भए पनि राजनीतिले सबै कुराको निर्धारण गर्नेभएकोले राजनैतिक संकट अग्रपंक्तिमा आउँछ । नेपालको सत्ता अहिले संकटमा छ । १) राष्ट्रपतिको संकट २) प्रधानमन्त्रीको संकट र ३) गृहमन्त्रीको संकट । अहिले राष्ट्रपतिको संकट चुलिएको छ । रबि लामीछानेको गृहमन्त्री खोसिएपछि गृहमन्त्री खाली रहेको अवस्था छ । गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट चलेको छ । प्रधानमन्त्रीबाट नै गृहमन्त्रालय चल्ले हो भने अरु मन्त्रालय पनि किन पो चाहियो भन्ने चर्चा पनि चलेको छ । यस्तै प्रधानमन्त्री पनि पुरा नभएर अढाई वर्षको छ । यो पनि एउटा संकट हो । अढाई वर्ष क प्रचण्ड र अढाई वर्ष एमालेबाट हुने सहमति भएको छ । पछि सहमति फेरिएर प्रचण्डलाई नै पूरा ५ वर्षको प्रधानमन्त्री बनाउन सकिएला । यो अर्कै पाटो हो । हालै अर्को संकट जोडिको कुरा छ । राजतन्त्रले पहिलेबाट नै टाउको उठाएको हो । अहिले प्रजातन्त्र दिवसकोे अवसरमा राष्ट्रियता, जनजीबिका र सुशासन सुदृढ र सवल गराउन राज संस्थाले नै जिम्मा लिनुपर्ने बेला आएको छ भनेर राजाले बिज्ञप्ती नै दिएका छन् । मेले यस्तो अस्तब्यस्थ हेरेर बस्न सक्दैन भन्ने कुरा जाहेर गरिएको छ । पूर्वराजा ज्ञानेन्द्रबाट सहकार्यको आवश्यकता बताइएको छ । पार्टीहरुले भागबिलो लगाएर देशलाई कंगाल बनाएको र राष्ट्रि«यताको सवालमा देश दिन प्रतिदिन खुम्चिदै गएकोले विदेशीको इशारामा चल्ने सरकारभन्दा राजतन्त्र ठीक नै होला भनेर राजनैतिक तहमा बहस चलेको छ एउटा राजाको ठाउँमा सय राजा हुनु जनताको लागि असैह्य हुन्छ भनिएको छ । बाह्र बुँदे सहमतिमा संघीयताको कुरा थिएन । युरोपियन युनियनको प्रेसरमा संघीयत आएको बुझिन्छ । संघीयताको खर्चभार पनि युरोपिएन युनियनबाट आएको भन्ने कुरा छ । हुन पनि संघीयताले देशको आर्थिक बोझ बढेको छ । नेताहरुलाई रोजगारी दिनको लागि संघीयता थोपरिएकको हो । सवल स्थानीय सरकार र संघ भए सबै पुग्ने देखिन्छ ।

अहिले प्रसंग राष्ट्रपतिको चुनाबको छ । पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमतिअनुसार राष्ट्र«पति एमालेले पाउनुपर्छ भनेर एमालेले भनेको अवस्था छ । तर, प्रचण्डको भनाइ राष्ट्रिय सहमति गरौं भन्ने छ । कुरा फेरिएको आशंका छ । नेपाली कांग्रेसले राष्ट्रपति आफ्नो भागमा हुनुपर्छ भनेको छ । यो कुरा पुष्पकमल दाहाल प्रचण्डलाई स्वीकार्य छ । किनकि कांग्रेसले क प्रचण्डलाई विश्वासको मत दिइसकेको छ । संभबतः नेपाली काँग्रेसको हातमा नै बल आउनेछ । संसदीय पार्टीहरु आफ्नो सिद्धान्त र विचारअनुसार चलेका देखिँदैनन् । बिलो पाइन्छ भने जे पनि गर्न तयार हुन्छन् । राष्ट्रपति आफ्नो पार्टीबाट हुुने हो भने जे पनि गर्न सकिन्छ भन्ने सोंचमा छन् पार्टीहरु । मन नपरेका प्रधानन्यायाधीश, न्यायाधीश तथा अन्य संबैधानिक निकायका पदाधिकारीहरु महाभियोगबाट हटाउन सकिन्छ भन्ने दाउमा रहेका हुन्छन् पार्टीहरु । संसदमा रवि लामिछानेको प्रसंग पनि नआएको होइन । उनी गृहमन्त्री हुन सफल त भए तर नागरिकताको विषय लिएर १५ – २० दिनमानै हट्नुपर्ने अवस्था आएको हो । नागरिकता त निहुँ हो । रबि जस्तै एक दर्जन ब्यक्ति होलान् विदेशबाट आएर नागरिकता नलिएको । उनी अमेरिकामा बसेकोले उनलाई अमेरिकाले रेसिडन्टल नागरिकता दिएको हो । सिटिजनसिप पनि मिल्न सक्छ । तर, नेपनलमा आए पछि स्वतः नेपालको नागरिक हुन्छ । सिटिजनसिप भएको अवस्थामा भने उनीले यहाँ आएर फेरि नागरिकता लिनुपर्छ । सरकार र न्यायाधीश मिल्ने हो भने के हुँदैन नेपालमा ? तर यहाँ रबिलाई बचाउ गरिएको भने होइन । उनको के सोच छ ? कुन पृष्ठभूमिबाट आएका हुन त्यो बेग्लै कुरा हो । तर, जहाँसम्म मानिसको कुरा छ उनी नेपाली हुन । फेरि नागरिकता लिने कुरा त प्रकृयागतको कुरा हो । लिनुपर्छ ।

बिहानले दिउसको संकेत गर्छ भने जस्तै उनले केही काम देखाउन थालेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका ब्यक्ति हुन् लामिछाने । उनी समाजवादी होइन, पुँजीवादी हुन । कम्युनिष्ट होइनन्, समाजिक हुन । समाज बदल्न कम्युनिष्ट कै विचार प्रधान हुन्छ । संसदवादी नेताहरु पनि कम्युनिष्ट होइनन् । छन् भने भेष बदलेका छन् । उनीहरु अमेरिका र भारतमा बिकिसकेका छन् । पटक–पटक १२ बुँदेको कुरा आउनु भारतलाई रिझाउनु हो । किन जनयुद्ध भएको थियो ? किन १७ हजार मारियो ? अहिले रिस आबेगमा जनयुद्धको ब्याज खाएर हुन्छ ? हल्लै हल्लामा दिन गएको छ । बाँकी अब हिँग बाँधेको टालो छ । त्यही हो । त्यो पनि कहिले पखालिन्छ ? थाह छैन । विचार र सिद्धान्त नरहे पछि मानिसले जे पनि गर्न सक्छ । न त कम्युनिष्ट नत अदर्शवादी भए पछि निश्चयनै छटपटाहट हुन्छ नै । पानी बाहिरको माछो यस्तै हुन्छ । कार्यकर्ताले पनि के गरुन् । बेरोजगारी छ । महंगी छ । त्यसैले नेताको गीत गाउनु बाध्यता छ । सच्चा कम्युनिष्टले विकास गर्न नसकेको अवस्थामा कार्यकर्ताहरु धमाधम पालिकाको पदमा बसिरहेको अवस्था छ । तर, उनीहरुले जनचेतनाको विकास गर्नुपर्ने हो भएको देखिँदैन । निर्बिकल्प केही छैन । विकासको क्रममा एक दिन कम्युनिष्टको सत्ता बन्नेछ नेपालमा । संघर्ष गर्नेहरु गरिरहेका छन् । खुट्टा काट्नेले पनि काटिरहेका छन् । विकासको गति पनि बढिरहेको छ । निम्नपुँजीवादी चिन्तन ब्याप्त छ । सरकारले बिभिन्न आरोप लागाएर कारागारमा राखेको हुन्छ तर ब्यापक दबाब पछि रिहा हुँदा कम्युनिष्ट हुँ भन्नेले टाउको दुखाएका हुन्छन् ।

संसदवादीले निम्त्याएको कहरले मानिसहरुले राजालाई संझेका हुन । राजामा कुनै जादूको छडी छैन । राष्ट्रियता भने सुरक्षित हुन सक्छ । राजालाई संझनु शैनिक शासनका लागि हो । एक्लै राजाले केही गर्न सक्दैनन् । दलाल पुँजीवादले गर्दा जनताले कष्टकर जीवन जिईरहेका छन् । पैसा आयातको सञ्चितिमा जान्छ । एक जना नेपालीको टाउकोमा ६८ हजार ऋण छ । भ्रष्टाचार ब्याप्त छ । कमिशन र लूटतन्त्र छ । सही मानिसको मूल्यांकन छैन । साहित्यकारको खोजी गर्न जमिनमा होइन आकासतिर हेरिन्छ । पुरस्कार हास्यास्पद हुन्छ । भक्ति भाव भए पुग्छ ।

अहिले देशमा विशेष संकट छ । संकट दलालमा छ । उनीहरुले गर्दा जनतामा पनि संकट छ । देश सिक्किमीकरणको अवस्थामा छ । एमसीसी त्यसै लागू भएको होइन । अब एसपीपी आएको छ । कति खुल्ला आक्रमण ? यसैले जनताको अन्तरविरोध दलालसँग छ । कहिलेकाहीँ पार्टी एकताको कुरा आउँछ । यो आफैँमा राम्रो हो तर भूलभूलैयामात्र हो । सिद्धान्त छोडेर भागेकाहरु आउँछन् भने स्वागत छ । सहकार्य गरौं । देश संकटग्रस्त भएकोले अहिले आप्mनो सानो चुलोचौकोमा बस्नुको कुनै अर्थ छैन । दलाल पुँजीवाद इतर सबै देशभक्तहरु एकजुट हुन जरुरी छ । यी सब कुरा एकीकृत जनक्रान्तिमा मात्र सम्भब छ । जति चाँडै जनचेतनाको लहर आउँछ उति चाँडै जनताको सरकार हुनेछ ।  

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु