रूस-युक्रेन युद्धमा ७ हजार जनाको मृत्यु ११ हजार जना घाइते

२०७९ माघ ११ गते, बुधबार


काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर)ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार रूस र युक्रेनबीच जारी युद्धमा हालसम्म झण्डै ७ हजार जनाको मृत्यु भएको छ भने ११ हजार जना घाइते भएका छन् । यूएनएचसीआरले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०२२ को फेब्रुअरी २४ देखि सन् २०२३ जनवरी २ सम्म १७ हजार ९९४ जना नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । त्यसमध्ये ६ हजार नौ सय १९ जनाको मृत्यु भएको छ भने ११ हजार ७५ जना घाइते भएका छन् । यूएनएचसीआरको प्रतिवेदनअनुसार मृत्यु भएका ६ हजार नौ सय १९ जनामध्ये पुरुष दुई हजार ७३७ जना, महिला एक हजार ८४२ जना, युवती १७५ जना र युवक २१६ जना छन् । त्यस्तै बालबालिका ३८ जना छन् भने एक हजार ९११ किशोर÷किशोरीको लैंगिक परिचय खुल्न सकेको छैन ।
त्यस्तै घाइते भएका कुल ११ हजार ७५ जनामध्ये पुरुष दुई हजार ४०१ जना, महिला एक हजार ७२९ जना, युवती २३३ जना र युवक ३२१ र बालबालिका २५४ जना छन् भने ६,१३७ जना किशोरकिशोरीको लैंगिक परिचय खुल्न सकेको छैन । प्रतिवेदनका अनुसार रूसले कब्जा जमाएको भनिएको डोनेस्क र लुहनास्क क्षेत्रमा घाइते र मृत्यु हुनेको संख्या जोड्दा नौ हजार ७३६ पुग्छ । त्यसमध्ये चार हजार ६२ जनाको मृत्यु भएको छ भने पाँच हजार ६७४ जना घाइते भएका छन् । त्यस्तै युक्रेनमा आफ्नै सरकारको नियन्त्रण रहेको क्षेत्रमा घाइते तथा मृतकको संख्या सात हजार ६०० रहेको छ । त्यसमध्ये तीन हजार ५७६ जनाको मृत्यु भएको छ भने चार हजार २४ जना घाइते भएका छन् । रसियन सेनाले नियन्त्रणमा लिएका क्षेत्रमा दुई हजार १३६ जना हताहत भएकोमा ४८६ जनाको मृत्यु भएको छ भने एक हजार ६५० जना घाइते भएका छन् । यसबाहेक युक्रेनको मुख्य सहर किभ, चेर्कसी, चेर्निभ, इभानो–फ्रान्किभ्स्क, खारखिब, खेरसोन, किरोभोर्हाड, मिकोलाइभ, ओडीसा, सुमी, जापोरिजजाइया, निप्रोपेट्रोभ्स्क, खमेल्नीत्सकी, पोल्टाभा, रिभ्ने, टेर्नोपिल, भिन्नयत्सीया, भालिन र जायलोमिर जहाँ सरकारको नियन्त्रण रहेको क्षेत्रमा घाइते तथा मृत्यु हुनेको संख्या आठ हजार २५८ रहेको छ । त्यसमध्ये दुई हजार ८५७ जनाको मृत्यु भएको छ भने पाँच हजार ४०२ जना घाइते भएका छन् ।
यूएनएचसीआरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्षको डिसेम्बरमा मात्रै मृत्यु हुने र घाइते हुनेको संख्या ८०१ जना रहेको छ । त्यसमध्ये १८८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुष ८२ जना, महिला ४० जना, युवक ४ जना र ६२ जना लैंगिक परिचय नखुलेका किशोरकिशोरी रहेका छन् । यस्तै घाइते भएका ६१३ जनामा पुरुष १२७ जना, महिला १०५ जना, युवती १५ जना, युवक १० जना, बालबालिका ४ जना छन् भने ३५२ जना किशोरकिशोरीको लैंगिक परिचय खुलेको छैन ।

प्रतिक्रियाहरु