अभिनेता धिरेन शाक्य अभिनित ‘छैन केहि डर’ गीत सार्वजनिक

२०७९ माघ १० गते, मंगलवार

काठमाडौं । अभिनेता धिरेन शाक्य अभिनित ‘छैन केहि डर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा विशम आचार्यको स्वर रहेकाे छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन् । गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन् ।
गौरव गिरीको निर्देशनमा बनेको गीतमा धिरेनको अभिनय रहेको छ । उक्त गीतमा अभिनेत्री अनिता केसी, नुशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरीलाई पनि भिडियोमा देख्न सकिन्छ भने बालकलाकार द्वय उमंग हुमागाइँ र उत्कर्ष हुमागाइँ पनि भिडियोमा फिचर्ड छन् ।
अभिनेत्री अनिता केसीले २४ वर्षपहिले सार्वजनिक हिट चलचित्र ‘कमाण्डो’ मा मुख्य भुमिका निभाएकी थिइन् । एक्सन चलचित्र ‘कमाण्डो’ सँगै केसीले सेतोबाघ, छहारी, बसन्ती, सजायदेखि पूर्व पश्चिम लगायत दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन् । पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तिको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई देखाइएको छ । बुबा हराएपछि परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
भिडियोतर्फ भद्रजंग कुवंरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाइँको छ । कलरको काम श्याम कुवंरले गरेका छन् । भिडियोका निर्माता आर कुमार हुन् ।

प्रतिक्रियाहरु