समय र श्रमको महत्व

विप्लव सी २०७९ माघ ९ गते, सोमबार

समय र श्रमको सदुपयोगले मान्छेको निजी एवं सामाजिक जीवनको विकास, रुपान्तरण तथा समृद्धिमा कस्तो र कति प्रभाव पर्दछ भन्ने विषय साँच्चै नै मार्मिक एवं मननीय रहेको छ । निजी एवं सामाजिक जीवनका संचालन तथा विकासका अनुभवहरुलाई ऐतिहासिक एवं बौद्धिक तर्कहरुका कसीमा राखेर जाँचबुझ गर्दा देख्न सकिन्छ कि निजी होस् या सामाजिक, शासक होस् या शासित, सत्तासीन होस् या विद्रोही, सुधारवादी होस् या क्रान्तिकारी, पुँजीवादी होस् या साम्यवादी समय र श्रमलाई बुझ्ने उसको दृष्टिकोण र सदुपयोग गर्ने क्षमतासँग अस्थायी नै भए पनि उसको विकास, रुपान्तरण र समृद्धि निर्भर रहन्छ । समय र श्रमको उपलब्धता, गति, उत्पादन, संचय र समृद्धि जस्ता विशेषताहरुलाई सही तरिकाले बुझ्न र प्रयोग गर्न सक्ने पक्ष तीव्रतामा समुन्नत, सुदृढ एवं समृद्ध बन्दै जान्छ भने बुझ्न र प्रयोग गर्न नसक्ने पक्ष कमजोर बन्दै पछिल्तिर धकेलिन्छ । राजनैतिक एवं सामाजिक रुपान्तरणको पहल गर्ने नेतृत्वको दायित्व समय र श्रमलाई शासकहरुको नियन्त्रणबाट मुक्त गर्ने मात्र होइन अपितु हरेक नागरिकलाई समय र श्रमको महत्वबारे ज्ञान प्रदान गर्ने र तिनको सदुपयोग गर्न सक्षम बनाउने पनि हुनु पर्दछ ।

समय र श्रमको उपलब्धता

समयको मान निर्धारण भएदेखि हरेक मानवका लागि दिनको २४ घण्टा, महिनामा ३० दिन र वर्षमा १२ महिना उपलब्ध छ । समय युरोपीयन, एसियन, अफ्रिकन, अमेरिकन, मजदूर, किसान, उद्योगी, व्यापारी, बुद्धिजीवि, कवि, कलाकार, चिकित्सक, इञ्जिनियर, प्रध्यापक सबैका लागि समान रुपमा उपलब्घ छ । जीवनभर मान्छे सरदर असी वर्षजति भौतिक र मानसिक रुपले अनि नब्बे वर्ष जति मानसिक रुपले सक्रिय हुनसक्छ । मानवको जस्तै समाजले पनि आफ्नो विशेषता अनुरुप लाख, हजार, सय वर्षको समय पाउँदै आएको छ । जस्तो कि मानव जातिको जन्म चौध लाख वर्ष वरिपरि भएको मानिन्छ भने आधुनिक मानव जाति विकास भएको पचासदेखि सत्तरी हजार वर्ष जति भएको छ, मानव जाति आधुनिक समाजमा प्रवेश गरेको दश हजार वर्ष बितेको छ । दास युग तीन हजार वर्ष चल्यो । सामन्ती युगले पन्ध्र सय वर्ष शासन ग¥यो । पाँच–छ सय वर्षदेखि पुँजीवाद चलिरहेको छ भने औद्योगिक क्रान्तिको उपज श्रमिक वर्गले पाँच सय वर्षदेखि र वैज्ञानिक समाजवाद–साम्यवादले उन्नासौं शताब्दीको मध्यदेखि अर्थात् पौने दुई सय वर्षदेखि पुँजीवादका विरुद्ध सङ्घर्ष र प्रतिस्पर्धा गरिरहेको छ । भौतिक वैज्ञानिक इष्टेफन हकिङसका अनुसार चार अर्व वर्ष पहिले जन्मिएको पृथ्वीको आयु अझै चार अर्व वर्ष बाँकी छ भने सिङ्गो ब्रह्माण्डले अझै पन्ध्र अरब वर्षको समय पाएको छ ।

श्रम मानव जातिले जीवनका लागि प्रकृतिसँग सङ्घर्ष गर्ने क्रममा विकास गरेको क्षमता हो । अर्थात्् मानव अंगहरुद्वारा प्रकृतिसँग गर्ने श्रम एवं अन्तरक्रिया नै श्रम हो । श्रमका लागि मान्छेले प्रकृति प्रदत्त अंगहरु हात, खुट्टा, आँखा, कान, नाक, मुख, यौनाङ्ग, दिमाग प्राप्त गरेको छ । यो पनि मानवले लाखौं वर्षदेखि प्रयोग गर्दै आएको छ । लामो समय भौतिक अर्थात् शारीरिक श्रममा चलेको मानव आज यसको विविध, बहुआयमिक एवं उच्च बौद्धिक श्रम गर्नेमा पुगेको छ । यसको विकास अरु उत्कर्षतिर जाने निश्चित छ । वैज्ञानिक अनुसन्धानले सावित गरेको छ कि श्रम कार्यद्वारा नै मानवले आपूmलाई सुरक्षित, परिचालित, समृद्ध र सभ्य बनाउँदै आएको छ । सुरुमा प्रकृति अनुकूल जीवन बनाउन सङ्घर्षरत मानवले समयलाई केवल दिन, रात, चिसो, गर्मी, वर्षाको रुपमा मात्र बुझ्थ्यो । श्रम पनि केवल जीवन रक्षाका लागि आवश्यक मात्रामा सीमित थियो । समय बिताउँदै र विकास हुँदै जाँदा दिनलाई २४ घण्टामा, घण्टालाई ६० मिनेटमा, मिनेटलाई सेकेण्ड र सेकेण्डलाई पनि मिली–सेकेण्डमा विभाजन गर्न पुगेको छ । श्रमलाई पनि मान्छेले आवश्यकता पूर्ति गर्ने साधनबाट उत्पादन, संचय, विनिमय, मुनाफा र समृद्धि आर्जन गर्ने साधनमा विभक्त गर्न पुग्यो । आधुनिक प्रविधिको विकास सँगै श्रमलाई अधिकतम् उपयोगी बनाउने प्रकृयामा छ । उत्पादनका क्षेत्रहरु विकास हुँदै जाँदा श्रमको क्षेत्र र विशेषता पनि नयाँ बन्दै गएका छन् । मानव शारीरिक श्रमसँगै आर्थिक, राजनैतिक, शिक्षा, स्वास्थ्य, प्रविधि जस्ता विषयहरुमा दिनरात बौद्धिक श्रममा जुटिरहेको छ ।

समय र श्रमका विशेषताहरु

मानवको जीवनसँग अभिन्न रहेका समय र श्रमका केही अपरिवर्तनीय विशेषताहरु छन् । यी विशेषताहरुले जीवनका हरेक क्षण, क्षेत्र र कार्यमा अक्षुण्ण प्रभाव पारिरहेका हुन्छन् । ती विशेषताहरु निम्न रहेका छन्–

क) समय र श्रमको गतिशीलता ः समय र श्रम निरन्तर गतिमा छन् । यी स्थिर वस्तु होइनन् । सतहबाट झट्ट हेर्दा समय आउँछ जान्छ, जान्छ आउँछ अक्षुण्ण प्रकारले चलिरहेको छ । यो नियमित स्थिर चक्रमा घुमिरहेको जस्तो लाग्छ तर अन्तर्यमा त्यस्तो छैन । समयको गति स्थिर प्रकृतिको नभएर गतिशील एवं अग्रगामी चरित्रको छ । यो गतिसँगै खर्च पनि हुँदै गएको छ । इतिहासतः हामीले जेलाई समय भनेका छौं यसले तीन साढे चार अर्ब वर्ष बिताइसकेको छ । श्रम पनि स्थिर वस्तुका रुपमा नभएर समय र मानव जीवनसँगै गतिमा छ । सतहबाट हेर्दा श्रम मानव चाहनामा प्रयोग हुने वस्तु जस्तो लाग्छ । प्रयोग गर्दा मात्र खर्च हुने, नभए रहिरहने जस्तो पर्छ तर भित्रि रुपमा श्रम त्यस्तो छैन । समय बित्दै जाँदा श्रम पनि सकिँदै जान्छ ।

समयको इतिहाससँग ब्रह्माण्ड र अरबौं ताराहरुको उत्पत्तिबारे आज हिसाब चलिरहेको छ भने मानव जातिको उत्पत्ति भएपछि यसको श्रम क्षमताको विकास कहिलेदेखि भयो भन्ने अध्ययन चलिरहेको छ । खोज भएसम्म हेर्दा डेढ लाख वर्षदेखि श्रममा सहभागी मानव ७० हजार वर्षयता श्रमशील प्राणीमा विकास गरेको छ । सुरुमा आफ्ना अङ्गहरुबाट श्रम गर्न थालेको मानवले विकास गर्दै जाँदा काठ, ढुङ्गा, धातुको मद्दतले श्रमलाई विकसित तुल्यायो । आज अनगिन्ती चरणहरु पार गर्दै अत्याधुनिक कम्प्युटर र विद्युतीय प्रविधिको प्रयोग गर्नेमा पुगेको छ । सुरुमा अत्यावश्यक खाद्य पूर्ति गर्नका लागि प्रयोग गरिएको श्रम आज कम्प्युटरद्वारा ब्रह्माण्ड जोड्ने श्रममा विकास भएको छ ।

समय र श्रमको गति भने एकै खालको नभई भिन्न छन् । समयको गति नियमित प्रकृतिको छ भने मानव श्रमको गति ज्ञान र साधनद्वारा प्रभावित हुने खालको छ । हातले गर्दा एक हप्ता लाग्ने कपडा बुनाई मेसिनको सहयोगमा एक घण्टामा पूरा गर्न सकिन्छ । खुट्टाले हिंड्दा पाँच दिन लाग्ने बाटो गाडीको प्रयोगबाट पाँच घण्टामा पुरा गर्न सकिन्छ । सुपर सोनिक जहाजको प्रयोगबाट पृथ्वीलाई २४ घण्टाभित्र पार गर्न सकिन्छ । आँखाले देख्न नसकिने नक्षत्रहरुलाई दूरदर्शकयन्त्रको प्रयोगद्वारा हेर्न सकिन्छ । रकेटको प्रयोगबाट चन्द्र, मङगल जस्ता ग्रहसम्म पुग्न किन्छ । यी सबै श्रमको गतिलाई प्रभाव पार्ने साधनहरु हुन् ।

ख) समय र श्रमको असंचयता ः गतिशील चरित्रका कारण समय र श्रम सञ्चित हुँदैनन् । समय र श्रमका गुण नै यस्ता छन् कि यी प्रयोग हुन सके भए हुन सकेनन् भने भएनन् । समय र श्रमको उपयोग गर्न सके ग¥यो, नगरे गरेन । समय जति बित्छ श्रम क्षमता पनि समयसँगै पलपलमा बितिरहेको हुन्छ । न समय रोकिन्छ न त श्रम क्षमता नै रोकिन्छ । न समयलाई संचित गर्न सकिन्छ न त मानवीय श्रमलाई नै संचित गर्न सकिन्छ । समय र श्रम दुवैलाई सञ्चित गर्न सकिंदैन । तर समयसँग मान्छेले आफ्नो श्रमको गतिलाई भने मिलाउँन सक्छ । गतिशील समयलाई आफ्नो श्रमसँग मिलाएर माल र पुँजीका अनुपम उपलब्धिहरु हात पार्न सक्छ । माल र पुँजीमा बद्लिएको समय र श्रमलाई भने संचित गर्न सकिन्छ । उत्पादित एवं संचित माललाई उपभोग, विनिमय र संचित गर्न सकिन्छ । तिनलाई मानव जातिको हितमा दीर्घकालसम्म सदुपयोग गर्न सकिन्छ । उदाहरणका लागि १० जना मान्छेले दुई दिनको समयलाई श्रमद्वारा उपयोग गर्न सकेनन् भने त्यो गयो, बचेन तर ती मान्छेले दुई दिनको समयमा एक विगाह जमिनमा धान रोपे भने धान उत्पादन हुन्छ, कपडा बुने भने कपडा उत्पादन हुन्छ, व्यापार गरे भने पैसा प्राप्त हुन्छ । त्यसरी उत्पादन भएका धान, कपडा, पैसालाई जिन्सी या नगदका रुपमा बचत गर्न सकिन्छ ।

समय र श्रमको गतिका कारण तीनको क्षतिपूर्ति संभव हुँदैन । समयको ज्ञान र तालिका नहुने मान्छेलाई लाग्न सक्छ आज गर्ने काम कुनै कारणले गर्न सकिएन भने भोलि गरे पनि के फरक पर्छ र । आखिर काम त उही त हो । केही दिन यताउता परेर के फरक पर्छ । तर यस्तो सोच्नु भनेको समय र श्रमको गतिशीलतालाई नबुझ्नु हो । गतिशिलतासँग अन्तरनिर्भर उत्पादनको महत्व पक्रन नसक्नु हो । स्वयं समयको सदुपयोगबाट बञ्चित हुनु हो । वास्तविकतामा समयको गतिका कारण वस्तु एकदमै नयाँ ठाउँमा पुगिसकेको हुन्छ ।

यो सही हो आज नगरेको काम पछिको समयमा गर्न सकिन्छ । पछिको कामबाट पनि परिणाम प्राप्त गर्न सकिन्छ तर त्यो समय र श्रमका दृष्टिले बितेको समयमा गरिएको कामको परिणाम होइन, नयाँ समयको नयाँ परिणाम हो, जुन समय अर्को कामका लागि उपयोग गर्न सकिन्थ्यो । यदि त्यो काम त्यस समयमा गरिएको हुन्थ्यो भने भइसक्थ्यो, पछिको समयलाई अर्को कामका लागि सदुपयोग गर्न सकिन्थ्यो । तर, गरिएन भने गरिएन त्यहीँ सकियो । पछि जे गरिन्छ त्यो पहिलेको पूर्ति होइन र हुन सक्दैन, अर्को कामको समय लिइएको हो । यसले देखाउँछ कि समय र श्रमको गतिशीलतालाई ठीक तरिकाले बुझ्नुको महत्व निजी एवं सामाजिक जीवनमा कति मूल्यवान् छ ।

ग) समय र श्रमको नियन्त्रण ः समय र श्रम प्राकृतिक वस्तु हुन् । यिनको उत्पत्तिमा कुनै परम् या रहस्यमय शक्तिको हात छैन । वैज्ञानिकहरु विशेषतः हकिंसले ‘समयको इतिहास’ कृतिमा बताएका छन् कि महाविष्फोटबाट समयको आरम्भ भयो । श्रमको उत्पत्ति पनि मानव जातिको विकास क्रममा लगभग १.५ लाख वर्ष यता भएको छ । त्यसबेलादेखि मानवले ढुङ्गा र काठका साधनद्वारा श्रम गर्न थालेको थियो । आज अत्याधुनिक विद्युतीय साधनसहितको मद्दतले श्रम गरिरहेको छ । तर, जब मानव जाति आधुनिक समाजमा प्रवेश ग¥यो र समाजमा वर्ग र वर्ग सत्ताको जन्म भए तबदेखि समय र श्रमलाई शासक वर्ग र सत्ताले आफ्नो नियन्त्रणमा राख्न पुग्यो । समय र श्रम आमनागरिकहरुको हितको सट्टा मुठ्ठीभर शासक वर्गका लागि दुरुपयोग हुन थाले । आजभन्दा तीन हजार वर्ष अगाडिसम्म समय र श्रमलाई मूलरुपले दास मालिकहरुले नियन्त्रण गरेका थिए । उनीहरुले तिनको प्रयोग आफ्नो सुख, सुविधा, भोग विलास र वैभवका लागि गर्दथे । दास श्रमिकहरुले कडा श्रम र नयाँ वस्तुहरुको उत्पादन गर्दथे तर ती सबै वस्तु मालिकहरुका लागि हुन्थे । मालिकका निजी वस्तु र सम्पत्तिमा बद्लिन्थे । दासहरु जीवनभर उनीहरुका लागि काम गर्ने औजार सिवाय केही पनि हुँदैनथे ।

गएका पन्ध्र सय वर्षसम्म समय र श्रममाथि सामन्तीवर्ग र उनीहरुको सत्ताले प्रयोग ग¥यो । सामन्तीहरुले नै श्रमिक किसानहरुको श्रमलाई आफ्नो स्वार्थ र फाइदाका लागि प्रयोग गरे । मरिमरि काम गर्ने किसान, भूदासहरुको जीवन सामन्त, राजा–रजौटा, जमिन्दारहरुका लागि श्रम गर्ने औजार जस्ता बने ।

पृथ्वीमा पाँच सय वर्षदेखि पुँजीपति वर्ग र उसको सत्ताले समय एवं श्रममाथि नियन्त्रण गर्दै आएको छ । यो वर्गले पुँजी र सत्ताको बलमा मजदुर–किसान, चिकित्सक, इञ्जिनियर, शिक्षक, साहित्यकार, वकिल र उत्पीडित समुदायहरुका श्रममाथि कब्जा जमाएको छ । श्रमिकहरुले जति पनि श्रम गर्छन् त्यसको अधिकतम् उत्पादन पुँजीपतिहरुले कुम्ल्याउने गरेका छन् । जसले गर्दा अत्यधिक श्रमिक जनताको जीवन कष्टकर र मुठ्ठीभरको जीवन अति विलासीपूर्ण बन्दै गएको छ ।

साम्यवादी सिद्धान्तको अनुसन्धान पछि समय र श्रमलाई श्रमिक वर्गले सही प्रकारले बुझ्न पायो । जब उसले समाजवादी क्रान्तिद्वारा पुँजीवादी शासन सत्तालाई समाप्त पार्दै वैज्ञानिक समाजवाद स्थापना गर्न थाल्यो तबदेखि समय र श्रमलाई मुठ्ठीभर मालिक एवं पुँजीपति वर्गको नियन्त्रणबाट मुक्त गर्दै लग्यो । तिनीमाथि श्रमिक वर्ग स्वयंको अधिकार स्थापित गर्न सफल भयो । जब श्रमिक वर्ग आफैँ समय र श्रमको मालिक भयो तब समाजको रुपान्तरण गुणात्मक रुपले नयाँ ठाउँमा पुग्यो । जनताको जीवन दु्रत गतिमा समृद्ध बन्न पुग्यो ।

यतिबेला विश्वव्यापी रुपमा समय र श्रमलाई मूलतः पुँजीपति वर्ग र पुँजीवादी सत्ताले नियन्त्रण गरेको छ । तर, समाजमा शिक्षाको प्रभाव, जनताको जागरण, विज्ञान–प्रविधिको विकास र कम्युनिस्ट विचारको प्रभावका कारण समय र श्रमलाई समाजको हरेक सदस्यले विशेषतः सचेत नागरिकहरुले आफ्नै नियन्त्रणमा राख्न र अधिकतम सदुपयोग गर्न सकिने संभावना छ । खासगरी कम्युनिस्ट सदस्यहरुले सत्ता प्राप्त भए पछि मात्र समय र श्रमलाई सदुपयोग गर्ने हो भन्ने नसोची आजैबाट आपूmलाई प्राप्त समय र आपूmसँग भएको श्रमलाई अधिकतम सदुपयोग गर्न सकिन्छ र गर्नु पर्छ भन्ने सोच राखेर मिनेट–मिनेटलाई गुम्न नदिएर उपयोग गर्नु पर्दछ ।

विप्लव सी

समय, श्रम र समृद्धि

समय र श्रमको सदुपयोगसँग पुँजीको उत्पादन, ज्ञानको विकास एवं समाजको समृद्धि जोडिएको छ । इतिहासले सावित गरेको छ कि समय र श्रमको सदुपयोग जसले अधिकतम् मात्रामा गरेको छ, ज्ञान र सामाजिक समृद्धि उसैको हातमा पुग्ने गरेको छ । जो उपयोग गर्नबाट चुकेको छ ऊ पछि पर्ने गरेको छ । समय र श्रमको प्रयोग स्थायी प्रकारले एउटै जाति, वर्ग, क्षेत्र र देशका मान्छेले मात्र गर्छन र समृद्धि उनीहरुको क्षमताभित्र मात्र पर्छ भन्ने छैन । यसलाई प्रयोग गर्ने क्षमता फरक–फरक समयमा फरक–फरक स्थान र पात्रहरुमा पैदा हुन सक्छ र समृद्धिका केन्द्रहरु पनि यताउता सर्न सक्छन् भन्ने सच्चाई इतिहासतः पुष्टि भएको छ । उदाहरणका लागि दासयुगमा सभ्यताको केन्द्र रोम, युनान, यथेन्सहरु थिए । अर्थराजनैतिक चरित्रका दृष्टिले दास मालिकहरु क्रुर र अमानवीय हुँदाहुँदै पनि उनीहरुले नै समय र श्रमलाई अरुले भन्दा राम्रोसँग उपयोग गर्न सके जसका कारण दासयुगीन सभ्यता त्यहीं विकास भयो । दास युगको उत्कर्ष सभ्यता एवं स्पार्टकसको दास विद्रोह अध्ययन गर्नु प¥यो भने रोम नपुगेर सुखै पाइँदैन ।

मध्ययुगमा सभ्यताका केन्द्रमा चीन, भारत, इजिप्ट, इराक, इरान, पाकिस्तानहरु देखापरे । त्यस अवधिमा समय र श्रमलाई उनीहरुले नै सबैभन्दा प्रभावकारी तरिकाले पक्रन र सदुपयोग गर्न सके । मध्ययुगको विकासलाई बुझ्न ती देशहरुमा खडा गरिएका आश्चर्यजनक कलाकृति, अर्थतन्त्र र सभ्यतालाई अध्ययन नगरेर सुख छैन । जब सोह्रौं शताब्दीबाट पुँजीवादी सभ्यताको उदय भयो, त्यसले आफ्नो केन्द्र बदल्दै युरोपमा स¥यो । वाष्प इञ्जिनको अनुसन्धान र त्यसको यन्त्रिकीकरण, औद्योगिक क्रान्ति, पुँजीवादी अर्थसम्बन्धको विकास, सामन्ती राजतन्त्रविरुद्ध ब्रिटेन, फ्रान्स, जर्मनीमा भएका क्रान्ति र पुँजीवादी गणतन्त्रहरुको उदयका कारण समय र श्रमलाई पक्रनेमा युरोप अगाडि आयो । युरोपले नै आधुनिक सभ्यताको नेतृत्व गर्न पुग्यो । पुँजीवादी विकासलाई बुझ्न युरोपलाई अध्ययन नगरी सुख छैन । बीसौं शताब्दीको आरम्भबाट तीव्र गतिमा उदय भएको वैज्ञानिक समाजवादी क्रान्ति, समाजवादी व्यवस्था र अत्याधुनिक प्रविधिको विकाससँगै समय र श्रमलाई सदुपयोग गर्नेमा कम्युनिस्ट र श्रमिक जनताहरु अगाडि आए । बीसौं शताब्दीको मध्यसम्म पुग्दा यसको विकास इतिहासका कुनै पनि सभ्यतामा भन्दा आश्चर्यजनक रुपले दु्रत्ततर बन्यो । बीसौं शताब्दीका कैयौं समाजवादी सत्ताहरु ढलेपछि यसको केन्द्रमा नयाँ चित्रहरु प्रकट भएका छन् । आज युरोपभन्दा अगाडि चीन, अमेरिका, रुस, जापान, भारत, उत्तरी युरोपका देशहरु देखा परिरहेका छन् ।

हरेक मानवले समय र श्रमको गुणलाई बुझ्दै आएका छन् र अझ बुझ्दै जानेछन् । हरेकको बुझाई स्पष्ट बन्दै जाँदा अनि त्यसलाई सदुपयोग गर्ने क्षमता वृद्धि हुँदै गएमा यिनका केन्द्रहरु निकै तीव्रतामा हेरफेर हुँदै जाने निश्चित छ । आज जहाँ विकास आक्रमक तथा बेजोड देखिएका छन् तिनका केन्द्रहरु फेरिंदै र विस्तार हुँदै जाने प्रष्ट छ । यसैलाई व्यक्तिको निजी व्यवस्थापनसँग जोडेर अध्ययन एवं मूल्याङ्कन गर्दा पनि विकास र विनास, उन्नती र अवनति, समृद्धि र दुर्गति देख्न सकिन्छ । कुनै सचेत मान्छेको समय तालिकालाई हेरौं ः ऊ विहान ५ बजे उठ्छ, ६ बजेसम्म समाचार सुन्छ या अध्ययन गर्छ, सात बजेसम्म निजी तन्दुरिस्तिका काम सक्छ । ८ बजे नास्ता खान्छ, ९ बजेदेखि ४ बजेसम्म व्यवसायिक काम गर्छ, घर फर्केपछि एक घण्टा घुम्छ, खेल्छ, मनोरञ्जन गर्छ या श्रम गर्छ, ७–८ सम्म खाना खान्छ, ९ बजेसम्म अध्ययन, लेखन, मनोरञ्जन गर्छ, १० बजे सुत्छ । समयसँग श्रमलाई मिलायो भने २४ घण्टाको समयमा एक वा एकभन्दा बढी दुई, तीन, चार या ५ वटासम्म काम गर्न सक्छ । ती कामहरुबाट उसले चाहिने भन्दा कैयौं गुणा बढी उत्पादन प्राप्त गर्न सक्छ । आफ्नो आवश्यकता पुरा गर्ने मात्र होइन अन्यलाई चाहिने उत्पादन दिनसक्छ । यसमा हरेकका आफ्ना विशेषताका कामहरु पर्न सक्छन् तर यो एउटा सचेत मान्छेले समय र श्रमलाई व्यवस्थापन गर्ने तरिका हो । उसको यो समय र श्रममा कति उत्पादन हुन्छ, कति उपभोग हुन्छ, कति वितरण हुन्छ र कति बचत हुन्छ या संचित हुन्छ यसलाई नियाल्यो भने निकै भव्य र रमाइलो चित्र भेटाउन सकिन्छ ।

अर्कोतिर अव्यवस्थित र भद्रगोले मान्छेको जीवनचर्यालाई हे¥यौं भने नितान्त अर्कै चित्र देखिन्छ । विहान ७ बजेसम्म ओछ्यानमै हुन्छ, उठेर निजी कर्म सक्न नपाउँदै घामले हानिसकेको हुन्छ, उसले शरीर तन्काउन पनि पाउँदैन, उसले न गतिलो नास्ता पाउँछ न त रचनात्मक कार्य नै गर्न भ्याउँछ । यसो केही गरेपछि खाना खानु प¥यो, श्रममा रुची राख्दैन, सक्ने काममा पनि लाग्दैन, साँझ मदिरा सेवनमा बिताउँछ या बेमतलबका कुरा गरेर बिताउँछ, राति भद्रगोल सुताइमा जान्छ । यस्तो मान्छेको जीवनचित्र उदेकलाग्दो बन्दै जान्छ । यदि सुधार्न सकेन भने हेर्दाहेर्दै जीवन समाप्त हुनसक्छ ।

एक जना व्यक्ति, एक दर्जन मान्छे या एक सय मान्छेहरु विनाश्रम एक दिन, एक हप्ता, एक महिना या एक वर्ष बस्दा उसको निजी एवं उनीहरुको सामाजिक जीवन कस्तो हुन्छ, अनि तिनै मान्छे सामान्य भइपरि आउने कार्य गरेर घुमफिर गर्दै बस्दा उनीहरुको जीवन कस्तो हुन्छ र सुव्यवस्थित प्र्रकारले समय र श्रमलाई सदुपयोग गरेर बस्दा कस्तो जीवन हुन्छ एकदमै सजीव एवं मनमोहक दृश्य देखियो । पहिलो, दोस्रो र तेस्रो जीवनका बिचमा अतुलनीय अन्तर देखा प¥यो । एक जना मान्छेले दिनमा दुई, तीन घण्टा मात्र उत्पादनमूलक श्रममा भाग लिँदा एक दर्जनले एक दिनमै चौबीस, छत्तिस घण्टा उपयोग गर्न सक्छन् भने सय जनाले चौबीस सय, छत्तीस सय घण्टा सदुपयोग गर्न सक्छन् । त्यसबाट उत्पादनको एउटा परिणाम प्राप्त हुन्छ । तिनै मान्छेले त्यो समयलाई श्रममा सदुपयोग गरेनन् भने एक दिनमा एक जनाले दुई, तीन घण्टा गुमाउँछ भने एक दर्जनले चौबीस, छत्तीस घण्टा गुमाउँछन् अनि एक सयले चौबीस, छत्तीस सय घण्टा गुमाउँछन् । उनीहरु त्यो समय बराबरको महत्वपूर्ण उत्पादन हातबाट फुत्काउन पुग्छन् । यदि त्यो समयलाई श्रममा उपयोग गर्न सके भने आफ्नो आवश्यकता पुरा गर्न मात्र होइन उत्पादनलाई बाहिर दिन पनि सक्छन् तर गरेनन् भने आफ्नो आवश्यकता पनि अरुको उत्पादनबाट पुरा गर्नु पर्ने बाध्यता हुन्छ । यी दुई जीवनका बीचमा अतुलनीय अन्तर देख्न सकिन्छ ।

एक सुसङ्गठित एवं अनुशासित संस्थाको विकास पनि यही नियमबाट हुन्छ । जुन सङ्गठित संस्थाले आफ्नो जनशक्तिलाई योजनावद्ध रुपले समय तालिकामा राखेर काम गराउन सक्छ, उसका नयाँ उत्पादन र परिणामहरु निकै तीव्रतामा आउन सक्छन् । तर, संस्थाले समयलाई श्रमशक्तिसँग मिलाउन सकेन, केवल हावादारी गफ गर्नमै समय बितायो, भएको जनशक्ति पनि दशतिर फर्किएर बस्यो भने उसले उपलब्धि हासिल गर्ने होइन कि भएको शक्ति पनि गुमाउँदै बिसर्जनतिर झर्ने हुन्छ । कुनै देश या राष्ट्रको उन्नति या अवनतिको हकमा पनि यही नियम लागू हुन्छ । राज्यको नेतृत्वसँग आफ्नो देशको बारेमा प्रष्ट मार्गचित्र छ, संभावनाहरुको ज्ञान छ, सारा नागरिकहरुलाई समयसँग परिचालन र सदुपयोग गर्न सक्छ, हर नागरिकलाई आफ्नो क्षमता प्रयोग गर्ने अवसर प्रदान गर्छ, उपलब्ध समयलाई खेर जान दिंदैन भने देशको विकास र समृद्धि कुनै दुुरुह कार्य हुँदैन । देशले निकै तीव्रतामा उन्नति, प्रगति र समृद्धि हासिल गर्नसक्छ । देशका नागरिकहरु गरीब र अभावग्रस्त हुने अवस्था नै आउँदैन ।

कुनै देशको नेतृत्व अल्छी, अक्षम, स्वार्थी, भ्रष्ट, जालिझेली, गफाष्टक, अराजक र निरङ्कुश छ भने उसले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुको सट्टा आपूm, आफ्नो परिवार र समूहको सानो गुटलाई पोस्नका लागि मात्र समय खर्चिन्छ । देशका जनताको हालत दिन प्रतिदिन तल झर्दै, बिग्रिंदै, भताभुङ्ग हुने तिर जान्छ । देश विदेशीको दास, दलाल र अरौटे भएर सकिने खतरा उत्पन्न हुन्छ । सत्य यही हो कि जसले समय र श्रमलाई अरुको भन्दा राम्रोसँग तालमेलमा राख्न र सदुपयोग गर्न सक्छ, उसैले विकासको गतिलाई तीव्रता दिनसक्छ । उसैले वास्तविक समृद्धि प्राप्त गर्छ । यसैलाई सिङ्गै विश्वका नागरिकहरुको जीवनमा जोडेर हेरियो भने संसार नै अर्को ठाउँमा पाउन सकिन्छ ।

समय, श्रम र ज्ञान–विज्ञान

२१ औं शताब्दीमा ज्ञान–विज्ञानको विकास आकाशिंदै गएको छ । मानव जाति दिनप्रतिदिन जति अध्ययनमा गहिरिंदै गएको छ, उतिनै ज्ञान–विज्ञानको विकास फैलिंदै गएको छ । मानव त्यसको प्रभावभित्र बाँधिँदै पनि गएको छ । हामीले ज्ञान–विज्ञानको विकास एवं अनुसन्धानलाई खोतल्यौं भने त्यहाँ समय र श्रमको सम्बन्ध जोडिएको छ । यदि मानव प्रजाति श्रम गर्ने गुणसँग जोडिएको हुँदैनथ्यो भने संभवतः अन्य जीव या पशुपक्षीभन्दा खासै फरक र उन्नत हुन सक्दैथ्यो । अनेकौं जीवहरुको बगालमा जीवन व्यतित् गर्ने एक प्राणी मात्र हुन्थ्यो । तर, मानव जातिको गुण समय र श्रमलाई सदुपयोग गर्न जान्ने, श्रमलाई चेतनामा प्रतिबिम्बित गर्ने र पुनः उन्नत श्रममा भाग लिन जाने भएकाले विकसित प्राणी बन्न पुग्यो । आज हामी जेलाई ज्ञान–विज्ञान भन्छौं वास्तवमा यो हजारौं वर्षका मानव श्रमको चेतनामा भएको परिस्कृत प्रतिबिम्बबाहेक केही होइन । यदि समय र श्रमलाई ज्ञानमा र ज्ञानलाई समय अनुकूल श्रममा बदल्दै एवं प्रयोग गर्दै आउँदैनथ्यो भने ज्ञान–विज्ञानको विकास आजको अवस्थामा आइपुग्ने थिएन साथै मानव जाति पनि यहाँ पुग्ने थिएन । यसरी तथ्यहरुबाट पुष्टि हुन्छ कि ज्ञान–विज्ञानको स्रोत समय र श्रम हुन् ।

ईसापूर्व मै भारतीय महाद्वीप, चीन, इजिप्टहरुमा आश्चर्यमूलक कलाकृतिको विकास, पन्ध्रौं–सोह्रौं शताब्दीमा स्पेन, पोर्चुगल, फ्रान्स, बेलायतले विशाल सागर पार गर्ने पानी जहाजको अनुसन्धान, सत्रौं शताब्दीमा भएको औद्योगिक क्रान्ति, उन्नासौं शताब्दीमा भएका तेल इञ्जिनहरुको विकास, बीसौं शताब्दीमा विकास भएका हवाई एवं कम्प्युटर प्रविधिको विकास र एक्काइसौं शताब्दीमा विकास भइरहेका डिजिटल एवं विद्युतीय प्रविधिको विकास समय र श्रमकै सदुपयोगसँग जोडिएका छन् ।

समय, श्रम र साम्यवाद

वैज्ञानिक साम्यवाद समय र श्रमलाई बुझ्ने वैज्ञानिक दृष्टिकोण हो । यसले मानवबीचको समान क्षमता र असमान जीवनलाई समाधान गरिदिन्छ साथै आधारभूत रुपले क्षमताको समान सदुपयोग र समान जीवनको निर्माण गरिदिन्छ । बीसौं शताब्दीको मध्यसम्म कम्युनिस्टहरुले समय र श्रमलाई सबैभन्दा सही तरिकाले प्रयोग पनि गरेका थिए । तथ्यहरुले बताउँछन् कि कम्युनिस्टहरुले समय र श्रमको सही सदुपयोग गरेकै कारण माओ कालसम्म प्रायः कम्युनिस्ट देशहरुले मै हुँ भन्ने पुँजीवादी देशहरु– अमेरिका, ब्रिटिस, जर्मनी, फ्रान्स, जापानजस्ता देशका विकास र सभ्यतालाई केही दशकमै भेट्टाउन र उछिन्न सफल भएका थिए । एक प्रकारले कम्युनिस्ट सभ्यताबाट विश्व प्रज्वलित भएको थियो । तर, यतिबेला यिनको प्रयोगमा पुँजीवादी शक्तिहरु कम्युनिस्टभन्दा अगाडि पुगेका छन् । जसको कारण श्रम र समयको फाइदा थोरै व्यक्ति, परिवार र समुदायले मात्र लिइरहेका छन् । अर्थात् आज समय र श्रम पहिले शासक र शक्तिशालीका लागि त्यसपछि मात्र अरुका लागि भइरहेका छन् ।

हामीले यो सत्य बताउँनै पर्छ कि पुँजीपति वर्गको हातबाट सत्ता खोस्दैमा या पुँजीवादी सत्ताको स्थानमा समाजवादी व्यवस्था स्थपना हुँदैमा समानता र समृद्धि स्वतः प्राप्त भइहाल्दैनन् । वैज्ञानिक समाजवाद आउँदैमा पुँजी, सुख, समृद्धि आकाशबाट वर्षिने होइनन् । अथवा एक पटक समाजवादी सत्ताले नागरिकका आधारभूत आवश्यकता पुरा गरिदिंदैमा सदाका लागि सम्पन्नता पुरा भइरहँदैनन् । आसनबाट हलचल नगरेर, मानसिक एवं शारीरिक श्रम नगरेर उन्नत जीवन र सभ्यता प्राप्त हुने होइनन् । त्यसका लागि समाजवादीहरुले समय र श्रमलाई पुँजीवादीहरुभन्दा पनि अगाडि बढेर (जो निशङ्क गर्न सकिन्छ) मानव जातिको सुख समृद्धिका लागि आजसम्म प्रयोग नगरिएका वैज्ञानिक विधि–तरिकाद्वारा निरन्तर एवं अधिकतम् सदुपयोग गरिरहनु पर्दछ । जब समय र श्रमको प्राकृतिकतालाई प्रत्येक मानवले निर्वाध उपयोग गर्र्ने अवसर पाउने छ या त्यस्तो अवसर उपलब्ध गराइनेछ त्यसपछि मात्र मानव जातिलाई वास्तविक समृद्धि प्राप्त हुनेछ । त्यो समृद्धि र सभ्यताको उत्कर्ष नै साम्यवाद हुनेछ । जहाँ मानव जाति स्वतन्त्र एवं समुन्नत युगमा विचरण गरिरहेको हुनेछ ।

निष्कर्ष

हरेक मान्छे सुख, उन्नति र समृद्धिको सौखिन या प्यासी छ । उसलाई समानतासँगै स्वतन्त्रता र स्वतन्त्रतासँगै समानता र समृद्धि पनि चाहिएको छ । तर अज्ञानताका कारण ऊ यसको तृप्ति एवं परिपूर्तिका लागि विभेदित, विभाजित, असमान दुनियाँ भित्र यति भौंतारिएको छ कि त्यसको वर्णन गर्नै गाह्रो छ । मान्छेहरु कुरा बेचेर पैसा कमाउने धन्दामा लखतरान परुञ्जेल घुमिरहेका हुन्छन् । घरपरिवारका सदस्य, आफन्त, मित्र, व्यवसायीहरु एक अर्कालाई फँसाउन, ठग्न, नाफा कुम्ल्याउन, केवल आफ्नो स्वार्थ पूर्ति गर्न भोको ‘दानव’ जस्तो भौंतारिरहेका छन् । अनैतिकभन्दा अनैतिक, तुच्छभन्दा तुच्छ कार्य गर्न तयार छन् । चोरी, लुटपाट, हत्या, वेश्यावृत्ति, लागू औषधि व्यापार जे गर्न पनि मञ्जुर देखिन्छन् । बतात्कृत हुँदै, समलिङ्गी हुन बाध्य पारिंदै, जहाजको निसासिंदो यात्रामा लुटिदै, कुटिदै बल्छीमा अल्झिएको माछो जस्तो लतारिँदै छन् । तर, परिणामहरुमा ऊ कहिल्यै सन्तुष्ट बन्न सकेको छैन । आवाराहरुका जत्थाबीच हुने खुनखराबा मात्र होइन क्लव, पेशागत सङ्गठन, ट्रेड युनियन, राजनैतिक पार्टी त्यसमा पनि पुँजीवादी पार्टीहरु मात्र होइन मै हुँ भन्ने क्रान्तिकारी पार्टीभित्र देखिने प्रायजसो झैझगडा, आग्रह–पूर्वाग्रह, गुट–उपगुट, विभाजनको सम्बन्ध पनि सुख अर्थात् पैसा वा पुँजीको नियन्त्रणसँग जोडिएको छ । तर, ती कुनै पनि व्यक्ति, समूह, जत्था, पार्टीमध्ये धेरैलाई ज्ञान छैन कि सुख–समृद्धिको प्राप्ति समय र श्रमको उपयुक्त सदुपयोग गर्ने क्षमता र ज्ञानद्वारा हुन्छ । उनीहरु आपूmले पाएको र आपूmसँग भएको प्राकृतिक वस्तुहरु समय र श्रमलाई त्यतिकै पानी बगे जसरी बगाइरहेका छन् । जो उनीहरुको विकास, समृद्धिको स्रोत हो, त्यसैबाट विमुख भएर कहिल्यै नभेटिने स्वार्थी सुखको खोजीमा चक्कर मारिरहेका छन् ।

हामीले हरेक मानव सदस्यलाई बुझाउनु परेको छ कि सुख, समानता, स्वतन्त्रता र समृद्धिको वास्तविक स्रोत समय र श्रम हुन् । समय र श्रमको उपलब्धता, तिनका विशेषता एवं तिनलाई बुझ्ने, आत्मसात गर्ने र सदुपयोग गर्ने दृष्टिकोणसँग जोडिएको छ । समय र श्रमको गतिशिलता, असंचयता र उपयोगितालाई आफ्नो कार्यसूचीबाट वर्ष होइन, महिना र हप्ता होइन, दिन, घण्टा र मिनेटसम्मलाई फुत्किन दिन हुँदैन । समय र श्रमलाई खेर जान नदिए समृद्धि आँगनबाटै सुरु हुन्छ, अरु कसैसँग मुख ताक्नु पर्दैन, हात पसार्नु पर्दैन । हामी कम्युनिस्ट जसले पुँजीको उत्पादन श्रमले गर्छ भन्ने सिद्धान्त राम्रोसँग बुझेका छौं, त्यसमा यो पनि थप्नु पर्छ कि गतिशील समयसँग जसले नचुकेर श्रमलाई जोड्छ, उसैले तीव्र गतिमा समृद्धि हासिल गर्नसक्छ । साम्यवाद जहाँ हरेक नागरिक आफ्नो श्रमलाई समयसँग मिलाउन योग्य र कुशल हुनेछ, त्यहाँ मानव सभ्यताले अनुपम समृद्धिको शिखर छुनेछ । साम्यवाद जहाँ समय र श्रमभन्दा माथि पुँजी हुनेछैन पुँजीभन्दा माथि समय, श्रम र समृद्धि हुनेछ । हामीले आजैदेखि त्यसको सदुपयोग गरौं ।-जनक्रान्ति अंक ५ वाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु