नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अभिभाराहरु

२०७९ माघ ३ गते, मंगलवार

सञ्जीव सी

‘दुनियाँका समस्त पदार्थहरुमा जनता सवभन्दा मुलयवान कुरा हो । जवसम्म जनताको साथमा कम्युनिस्ट पार्टी रहन्छ त्यसको नेतृत्वमा हरेक किसिमका चमत्कारहरु गर्न सकिन्छ ।’ –लेनिन, संकलित रचनाहरु, भाग–४ पृष्ठ–४५४   

तत्कालिन सोभियत संघको कम्युनिस्ट पार्टीले गरेको पार्टी निर्माण, जनसम्वन्ध, क्रान्तिको तयारी र समाजवादी क्रान्ति एवं स्थापित सत्ता राजनीतिमा पुष्टि भएको लेनिनको उपरोक्त संश्लेषण निकै महत्वपूर्ण रहेको छ । क्रान्तिकारी पार्टीको निर्माण र अफ्नो मुक्तिका लागि आमजनतालाई संगठित गर्दै संघर्षका विभिन्न रुपहरुको प्रयोगसहित सन् १९१७ मा महान् अक्टोवर समाजवादी क्रान्ति सम्पन्न गरिएको थियो । जसको प्रत्यक्ष नेतृत्व लेनिनले गर्नु भएको थियो । समाजवादी क्रान्ति र सत्ताको सञ्चालन लेनिनले लामो समय नेतृत्व गर्न पाउनु भएन । सन् १९२१ मा उमेरमै समाजवादी सत्ता स्थापना भएको चार वर्षमै उहाँको निधन भएको थियो । लेनिन अरु केही समय बाँचेको भए अन्तर्राष्ट्रिय श्रमिक जनताको लागि अझ धेरै योगदान गर्ने कुरा निश्चित थियो । विज्ञानका सामु यो केवल भावनात्मक विषय मात्र हो । लेनिनको निधनपश्चात सोभियत संघको कम्युनिस्ट पार्टी र समाजवादी सत्ताको नेतृत्व कमरेड जोसेफ स्टालिनले सम्हाल्नु भयो । लगातार ३२ वर्ष कम्युनिस्ट पार्टी र समाजवादी सत्ताको नेतृत्व गरेर लेनिनकै संश्लेषणलाई थप समृद्ध गर्न सफल हुनु भयो । विज्ञानका हरेक शाखाहरुमा खोज–अनुसन्धान तथा प्रयोग, जनताको दैनिक जीवनसँग जोडिएका हरेक क्षेत्रहरुमा समृद्धि, वातावरण तथा पर्यावरणको संरक्षणलगायतका क्षेत्रहरुमा गुणात्मक विकासका सूचाङ्कहरुले प्रमाणित गरेका तथ्यहरुलाई आधार मानेर हेर्दा स्टालिनले वैज्ञानिक समाजवादी सत्ता र मानव जातिका लागि ठूलो योगदान गरेका छन् । त्यस्तै चीन, कोरिया, क्युवा, भियतनाम र पूर्वी यूरोपलगायतका समाजवादी सत्ताहरुले पनि सोभियत संघको पार्टी र सत्तालाई पछ्याएका थिए । यसको सार यो हुन जान्छ कि वैज्ञानिक समाजवादी सत्ता आजसम्म मानव जातिले गरेको खोज, अध्ययन–अनुसन्धानमा सबैभन्दा उत्कृष्ट व्यवस्था हो । आज विश्वभर समाजवादी सत्ताहरुमा प्रतिक्रान्ति भएको छ र पँुजीवादको पुनस्र्थापना भएको छ । पँुजीवादको तुलनामा जनताको पक्षमा गुणात्मक परिवर्तन र समृद्धि दिने समाजवादी सत्ता किन पुँजीवादका सामु टिक्न सकेन, यसका बारेमा करिब पाँच दशकयता अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठूल–ठूला सैद्धान्तिक–राजनैतिक बहसहरु भइरहेका छन् । हाम्रो पार्टी पनि त्यस प्रकारको सैद्धान्तिक–राजनैतिक बहसमा सहभागी हँुदै आइरहेको छ । बहसहरु मात्र नभई सशस्त्र संघर्षको माध्यामबाट समाजवादी सत्ता स्थापनाका प्रयत्नहरु पनि भएका छन् तथापि विश्वव्यापी रुपमा यो पाँच दशक यता कतै पनि सम्भव भएको छैन । नेपालमा सञ्चालन गरिएको जनयुद्धमा पनि हाम्रो पार्टीको अगुवाइमा थुप्रै चमत्कारिक युद्धनीति र जनसम्वन्धको क्षेत्रमा सम्पन्न गरिएका थिए तर जनयुद्धका नायकहरुमा पैदा भएको विचलनका कारण ती लिपिबद्ध हुन पाएनन् तर आज गौरवको सवाल यो छ कि त्यसकै जगमा हाम्रो पार्टीको अगुवाइमा नेपालमा एकीकृत जनक्रान्ति अगाडि बढिरहेको छ ।

एकीकृत जनक्रान्तिको कार्यदिशा वैज्ञानिक समाजवादी राज्यसत्तामा भएका प्रतिक्रान्तिको कारणको खोज, अध्ययन–अनुसन्धानको प्रक्रियामा जन्मिएको हो । यो अतर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रयोग हँुदै आएको दुई भिन्न कार्यदिशा अल्पकालिन सशस्त्र विद्रोह र दीर्घकालिन जनयुद्धको विकसित रुप हो । विश्वव्यापी समाजवादी देशहरुमा भएका प्रतिक्रान्तिहरु, वैज्ञानिक समाजवादी सत्ताको स्थापनाका लागि सञ्चालन गरिएका सशस्त्र संघर्षहरुको विभिन्न रुपमा भएका विर्सजनहरु, नेपालको जनयुद्धले खाएको सेटव्याकको पृष्ठभूमिमा भएका कैयौं छलफल बहसको परिणाम स्वरुप यो कार्यदिशा जन्मिएको हो । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सर्वहारा वर्गको अभिन्न अङ्गका रुपमा विश्व क्रान्तिको सेवा गर्नुका साथै नेपालमा वैज्ञानिक समाजवादी सत्ताको स्थापनार्थ मालेमावादी विज्ञानको खोज, अध्ययन–अनुसन्धान र विकास गर्दै अगाडि बढिरहेको छ । यस अर्थमा यो पार्टी आज नेपाली जनताको विश्वास र भरोसायोग्य पार्टीको रुपमा स्थापित हुन पुगेको छ । भूमण्डलीकृत पुँजीवाद र नेपालको दलाल संसदीय व्यवस्थाको विरुद्धको वर्ग संघर्षरत तथा दक्षिणपन्थी तथा जडसूत्रवादी कम्युनिस्टहरुका विरुद्ध वैचारिक–सैद्धान्तिक संघर्ष सञ्चालन गर्दै अघि वढिरहेको हाम्रो पार्टीका अगाडि अनेकौं चुनौती र सम्भावनाहरु विकसित भएका छन् । अनेकौं प्रकारका चुनौतिहरुलाई पराजीत गर्दै संभावनाहरुलाई यथार्थतामा बदल्न हाम्रो पार्टी केन्द्रका अगाडि केही महत्वपूर्ण अभिभाराहरु रहेका छन् । ती अभिभाराहरुलाई पूरा नगरी पार्टीको घोषित लक्ष्य–उद्देश्यहरु प्राप्त हुन सक्ने छैनन् । ती केन्द्रिय अभिभाराहरु संक्षेपमा निम्नानुसार उल्लेख गर्नु सान्दर्भिक हुने छ ।

पहिलो– पार्टी तथा जनसंगठनको व्यापक सुदृढीकरण र विस्तार गर्नु

यो तथ्य स्पष्ट छ कि राजनैतिक विज्ञानको सम्वन्ध गणित विज्ञानसँग अनन्य रुपले जोडिएको हुन्छ । भूमण्डलीकृत पुँजीवाद र दलाल संसदीय व्यवस्थाले उक्त विषयलाई केवल चुनावसँग जोडने गरेको छ । त्यो पनि केवल औपचारिक रुपमा । हामी कम्युनिस्टहरुले चाहे चुनाव होस् चाहे जनसंघर्षको बाटो होस आमजनतासँगको सम्बन्धलाई व्यापक र बलियो रुपमा निर्माण गर्नु पर्दछ । त्यसको आधार–मूलत राजनैतिक–वैचारिक, संगठनात्मक र आन्दोलनका तत्कालिन र दीर्घकालिन एजेण्डासँग जोडिएको हुन्छ । यो चरणका दृष्टिले प्रारम्भमा सानो र प्रचारात्मक हुँदै क्रमशः सन्तुलन र हस्तक्षेपकारी स्तरमा विकसित हँुदै जान्छ । आजको दिनमा हाम्रो कार्यभार अर्थात् राज्यसत्ता विरुद्धको संघर्षमा हाम्रो भूमिका प्रचारात्मक मात्र हो या सन्तुलन र हस्तक्षेपकारी हुनुपर्दछ निश्चय नै आजको दिनमा हाम्रो पार्टीको भूमिका प्रचारात्मक मात्र नभई राज्यसत्ताका विरुद्ध हस्तक्षेपकारी हुनु पर्दछ । त्यसका लागि हामीसँग रहेको मौज्दात जनशक्ति अपर्याप्त हुन जान्छ र हाम्रो संघर्षको स्वरुप केवल प्रचारात्मक मात्र हुन जान्छ त्यसका लागि पार्टीले पार्टी तथा जनसंगठनहरुको विद्यमान संख्यालाई विस्तार गर्नु पर्दछ । आज हाम्रो पार्टी तथा जनसंगठनहरु देशका सबै जिल्ला, प्रवास हँुदै विश्वका विभिन्न देशहरुमा रहेका छन् तर ती आजको आवश्यकताको तुलनामा निकै कम संख्यामा रहेका छन् । यसर्थमा हाल हामीसँग रहेको जनशक्तिको सुदृढीकरणसहित त्यसको विस्तारलाई व्यापक बनाइनु पर्दछ । सदस्यता विस्तार गर्दा पार्टीको विचार–राजनीति, पार्टी संगठनका अनुशासन र मूल्य–मान्यतालाई कदापि न्यूनीकरण गरिनु हँुदैन । पार्टी तथा जनसंगठनको सुदृढीकरण तथा विस्तार एवं सञ्चालन–परिचालन गर्दा हाम्रो पार्टीको पछिल्ला नयाँ संश्लेषणहरुको प्रयोग गरिनु पर्दछ ।

दोश्रो – पार्टी तथा जनसंगठनहरुलाई राजनैतिक–वैचारिक हतियारले लेस गर्नु

आजको दुनियाँमा विश्वव्यापी र नेपालमा थुप्रै राजनैतिक पार्टीहरुले आफ्ना राजनैतिक गतिविधिहरु अगाडि बढाइरहेका छन् । ती राजनैतिक पार्टीहरु मूलतः दुईवटा विश्व दृष्टिकोणद्वारा निर्देशित रहेका छन् । पहिलो–कम्युनिस्ट विश्व दृष्टिकोण, दोश्रो–भूमण्डलीकृत पुँजीवाद र दलाल संसदीय पुँजीवादी विश्व दृष्टिकोण । कम्युनिस्ट विश्वदृष्टिकोणको तात्पर्य शोषणमा आधारित विश्व व्यवस्थाको अन्त्य, मानवका बीचमा आपसी भाइचारा र समानता, जनताका आधारभूत आवश्यकताहरुमा राज्यको दायित्वका साथै साह्रा मानव जातिको साझा उन्नति र समृद्धिका लागि संयुक्त प्रयासमा आधारित खोज तथा अध्ययन–अनुसन्धान आदि हो । भूमण्डलीकृत पुँजीवाद र दलाल संसदीय पुँजीवादी विश्व दृष्टिकोण र अभ्यासको तात्पर्य एक व्यक्ति र अर्को व्यक्ति तथा एक राष्ट्र र अर्को राष्ट्रका बीचमा लुट–खसोट, अन्याय–अत्याचार, शोषण–दमनका साथै केवल निजीत्वमा आधारित रहनु हो । जुन वर्तमान विश्व व्यवस्थाले सावित गरिरहेको छ । हामीले वर्तमान लुट–खसोटमा आधारित विश्व व्यवस्थाको अन्त्य र समानता एवं समृद्धिमा आधारित विश्व व्यवस्थाको स्थापनाको लागि लामो समयदेखि संघर्ष गर्दै आइरहेका छौं । यस सिलसिलामा हामीले थुप्रै दर्शन, विचार–राजनीति र ज्ञानहरु प्राप्त गर्दै एवं तिनको प्रयोग र विकाससहित अघि वढिरहेका छौं । मालेमावादी विज्ञानको अजेय हतियार दर्शन, अर्थराजनीति र व्यवस्था तथा तिनको प्राप्तिका लागि विभिन्न खोज तथा अध्ययन–अनुसन्धान र प्रयोगसहित हामी यो ठाउँसम्म आइपुगेका छौं । सर्वहारा–श्रमिक जनताको उक्त विशाल ज्ञान भन्डारद्वारा हाम्रो आमपार्टी तथा जनसंगठनलाई प्रशिक्षित गरेर मात्र हामीले हाम्रो वैज्ञानिक समाजवादी विश्व व्यवस्था निर्माणको महान् अभियानलाई पुरा गर्न सक्दछौं । हामीले आफ्ना हरेक कार्य सम्पादन गर्दा कम्युनिस्ट विचार अर्थात् मालेमावादी विज्ञानको विचारद्वारा निर्देशित भएर सञ्चालन गर्नु पर्दछ । कमरेडहरुका बीचमा आपसी विश्वास र सहकार्य, आफ्ना समस्याहरुप्रति आफैँ निर्ममतापूर्वक संघर्ष गर्न सक्ने, मितव्ययिता, हरेक काममा लगनशीलता र प्रतिबद्धता एवं मुक्ति र परिवर्तनका लागि समर्पण हुनु मालेमावादी विचार–राजनीतिका आधारभूत शर्तहरु हुन् । यसका साथै पार्टीका विधि–विधान तथा कार्यपद्धतिको सही प्रयोगले सिंगो पार्टी तथा जनसंगठनहरुलाई एकताबद्ध गर्न मद्दत गर्नेछ । जुन एकताको बलमा पार्टी तथा जनसंगठनहरुले आफ्ना घोषित लक्ष्य–उद्देश्यहरु हासिल गर्न सक्नेछन् ।

तेश्रो–सशक्त र हस्तक्षेपकारी जनसंघर्ष सञ्चालन गर्नु

हामी घोषित रुपमा दलाल संसदीय व्यवस्थाको विरुद्ध संघर्षमा रहेका छौं । वर्तमान भूमण्डलीकृत पुँजीवादद्वारा निर्देशित दलाल संसदीय व्यवस्थाको कारण आज हामी नेपालीहरु राजनैतिक, आर्थिक, सामरिक र साँस्कृतिक रुपले पराधिन वन्दै गइरहेका छौं । देशको ब्यापार घाटा, वैदेशिक ऋण सर्वाधिक रुपमा वृद्धि भइरहेको छ । बेरोजगार नागरिकहरुको संख्या दैनिक वढिरहेको छ । शिक्षा–स्वास्थ्य क्षेत्रमा मौलाइरहेको माफियाकरणका कारण सर्वसाधारणको यो क्षेत्रमा पहँुच पुगेको छैन । महँगीले जनतालाई एक छाक तार्न मुस्किल वनाएको छ । भ्रष्टाचार र तस्करी दिनदाहाडै चलिरहेको छ । सामाजिक बिकृति तथा विसङ्गति र लागू औषधको कारोबार राज्य सञ्चालकहरुसँगको मिलोमतोमा चलिरहेको छ । यस प्रकारको समस्याबाट जनताले गर्ने संघर्षलाई विषयान्तर गर्न दलाल संसद्वादी पार्टीहरु आलो–पालो सत्तामा पुग्ने र जनतालाई झुक्याउने खेलमा लिप्त रहेका छन् । यो दलाल संसदीय व्यवस्थाको अनिवार्य परिणाम र तथ्य हो तर यी सम्पूर्ण परिणाम र तथ्यहरुबाट नेपाली जनता कतै पनि सन्तुष्ट छैनन् र उनीहरु यसबाट मुक्ति चाहन्छन् । हामीले पार्टीले अँगालेको वैज्ञानिक विचारद्वारा जनतालाई प्रशिक्षित गर्दै, समयसापेक्ष जनताका आवश्यकताहरुलाई सम्वोधन गर्ने नाराको विकास गर्दै जनसंघर्षलाई सशक्त र प्रभावकारी तुल्याउन पहल गर्नुपर्दछ । आजको तथ्य यो रहेको छ कि वास्तवमा संसदीय व्यवस्थाको वैकल्पिक शक्ति केवल हाम्रो पार्टी मात्र हो यसले स्पष्ट गर्दछ कि राज्यसत्ताले जनतामाथि थोपरिरहेका हरेक समस्याहरुको विरुद्ध हाम्रो पार्टीको अगाडि संघर्षका केन्द्रिय अभिभाराहरु रहेका छन् । यो हाम्रो लागि चुनौति र अवसर पनि हो । चुनौतिहरु त जहाँ र जहिले पनि विद्यमान रहन्छन् तर अवसर भने खास–खास वेलामा मात्र पैदा हुन्छन्, त्यसमा पनि क्रान्तिकारीहरुले सचेत प्रयत्नद्वारा निर्माण गर्नुपर्ने हुन्छ । आज हाम्रो पार्टीको अगाडि एउटा सुनौलो अवसर आइरहेको छ जसलाई प्राप्त गर्न पार्टीले सचेततापूर्वक देशव्यापी सशक्त हस्तक्षेपकारी जनसंघर्षको सञ्चालन गर्नु पर्दछ ।

चौथो– बलियो जनसम्बन्धको निर्माण गर्नु

कुनै पनि राजनैतिक या सामाजिक परिवर्तनहरु जनताको सहयोगविना किमार्थ सम्भव हँुदैन यस अर्थमा राजनैतिक विज्ञान अन्य विज्ञानको तुलनामा फरक छ । सर्वहारा–श्रमिक जनताका अग्रज तथा अनुसन्धान र प्रयोगकर्ता माक्र्स–एङ्गेल्स, लेनिन–स्टालिन, माओ–किम इलसुङ, फिडेल क्यास्त्रा, चे लगायतका महान् गुरुहरुले जनतासँगको पार्टीको सम्बन्धमा विषद व्याख्या र प्रयोगहरु गरेका छन् । उहाँहरुको संश्लेषणमा जनता नै वास्तविक इतिहासका चालक शक्ति हुन्, जनता हाम्रा गुरु हुन्, संगठित जनता नै इतिहासका निर्माणकर्ता हुन् । यसलाई माओले अझ जोड दिएर भनेका छन्– “जनता, जनता र फेरि जनता” नै इतिहासका निर्माता हुन् । उनले पार्टी र जनताको सम्वन्धलाई “पानी र माछा, नङ र मासु तथा माटो र बीउ” का रुपमा परिभाषित गरेका छन् । “जनताबाट लेउ र जनतालाई देउ, जनताबाट सिट्टैमा सियो र धागो समेत नलेउ, जनताको बाली नबिगार” जस्ता सूत्र शव्दहरुको प्रयोगले पार्टीको जनतासँगको सम्वन्धको महत्वलाई स्पष्ट गर्दछ । आज हाम्रो पार्टीको काँधमा नेपाल राष्ट्र र नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने अभिभारा आएको छ । त्यसको समाधान दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नुमा अन्तरनिहित रहेको छ । उपरोक्त महान् कार्यभार पुरा गर्नका लागि हाम्रो पार्टीले अगालेको वैज्ञानिक विचार र पार्टी कार्यदिशाको प्रयोगमा आमजनतालाई जोड्नु पर्दछ । पार्टीको नेतृत्वमा चल्ने आन्दोलन तथा संघर्षमा आमजनतालाई आव्हान गरेर मात्र हुँदैन बरु उनीहरुसँगको सम्वन्ध बलियो र सौहाद्रपूर्ण हुनु पर्दछ । जनताले वर्तमानमा भोग्नु परिरहेका समस्याहरुबाट छुट्करा पाउन उनीहरु जबसम्म संगठित हँुदै संघर्षको लागि तयार हुँदैनन् तव उनीहरु समस्याको जाटोमै रहन्छन् यो कुरा हामीले आम श्रमिक जनतालाई बुझाउनु पर्दछ । उनीहरुलाई यो कुरा बुझाउन एकचोटीको मात्र प्रयासले सम्भव हँुदैन बरु उनीहरुलाई विभिन्न जनसंगठनमा आबद्ध गर्दै, नियमित बैठक, प्रशिक्षण, छलफल, अन्तरक्रियाको वैचारिक कार्यद्वारा मात्र सम्भव छ ।

पाचौं– आत्म निर्भर अर्थतन्त्रको निर्माण गर्नु

यो कम्युनिस्ट पार्टीको निकै महत्वपूर्ण र ध्यान दिन योग्य विषय हो । कम्युनिस्ट पार्टीले अफ्नो श्रममा विश्वास गर्दछ र श्रमद्वारा नै आत्मनिर्भर बन्ने कुराको पक्षपोषण गर्दछ । सिद्धान्ततः यसो भए पनि नेपालको कम्युनिस्ट आन्दोलनमा पछिल्लो पटक अफ्नो परिश्रमबाट आत्मनिर्भर हुने विषयलाई छोड्दै सहयोग र चन्दामा निर्भर हुने परम्पराको विकास हँुदै आइरहेको छ । अहिले अहिले केवल पार्टीलाई र भोलि समस्त राष्ट्रलाई नै पराधिनतातर्फ लैजाने निश्चित छ । यो संश्लेषणसहित हाम्रो पार्टीको पुनर्गठनपश्चात् हामीले यो कुरालाई हल गर्न अर्थात कम्युनिस्ट पार्टीमा आत्मनिर्भर प्रणालीको विकासमा जोड दिइरहेका छौं । आठौं महाधिवेशनद्वारा नेता साम्यवादी, कार्यकर्ता समाजवादी तथा जनता धनी र समृद्व हुने संश्लेषण आफैँमा युगान्तकारी रहेको छ । करिव सात दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनमा समाजवाद र सामयवादलाई सुदूर भविष्यको विषय बनाउने गरियो । यसले पार्टी संगठनलाई जीवन्त तुल्याउन सकेन । बरु पार्टी संगठनहरु हरेक क्षेत्रमा केवल औपचारिकतावादमा फस्न पुगे । यसको विपरित पार्टीमा साम्यवाद, समाजवादको अभ्यास गर्ने कुरा आफैँमा नयाँ प्रयोग त हो नै साथसाथै नेपाली कम्युनिस्ट आन्दोलनको परम्परागत स्कुलको क्रमभंग पनि गरेको छ । यसका साथै पार्टीमा आवद्ध हरेक नेता–कार्यकर्ताका परिवारहरु अनिवार्य श्रम कार्यमा जाडिनु पर्ने, हरेक पार्टी तथा जनसंगठनका समितिहरुले उत्पादन र श्रम कार्यमार्फत् आपूmलाई आत्मनिर्भर तुल्याउन पहल गर्नु पर्दछ । हाम्रो देश नै अहिले वैदेशिक सहयोग, अनुदान र ऋणबाट चलिरहेको अवस्थामा हाम्रो समाजको संस्कृति नै मागेर चल्नेतिर जाला कि ? भन्ने डर छ । समाजको यो संस्कृतिको प्रभाव पार्टीमा पनि पर्ने नै भयो तर हामीले यो गलत अवधारणालाई खारेज गर्दै श्रमद्वारा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने कुरामा सिङ्गो पार्टी तथा जनसंगठनहरुलाई प्रशिक्षित र प्रेरित गर्नु पर्दछ ।

हाम्रो पार्टीको अगाडि जर्वजस्त उपस्थित पाँच अभिभाराहरु पुरा नगरिकन हामीले केही पनि गर्न सक्ने छैनांै । हाम्रो पार्टीद्वारा अगाडि सारिएका लक्ष्य–उद्देश्यहरु प्राप्त गर्नका लागि यी अभिभाराहरु पुरा गर्नुको विकल्प छैन । तसर्थ सिङ्गो पार्टी एकताबद्ध भएर हाम्रो अगाडि उपस्थित पाँच अभिभाराहरु पुरा गर्न अघि वढौं ।

(लेखक ः नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु