साम्राज्यवादको ठाडो हस्तक्षेप

२०७९ पुष ३० गते, शनिबार

झपेन्द्रराज बैद्य

चीन र भारतबीच रहेको नेपाल तेस्रो शक्तिबाट च्यापिएको छ । भारतबाट त हस्तक्षेप भएकै छ तर अमेरिकी साम्राज्यवादबाट पनि उकास पाएको छैन । नेपालका नेताहरुको समर्थनले गर्दा अमेरिकालाई के खोज्छस् काना आँखा जस्तै भएको छ । अहिले हस्तक्षेप बदलिएको छ । पहिले अमेरिकाले भारतलाई लगाएर हस्तक्षेप गर्दथ्यो भने अहिले अमेरिकाले नेपाललाई ठाडै हस्तक्षेप गरिरहेको छ । अमेरिकाले नेपालका आफ्ना दलालहरुमार्फत् नेपाललाई हस्तक्षेप गरिरहेको छ । पछिल्लो समय अमेरिकाले सिधै हस्तक्षेप गर्न थालेको छ ।

नेपालीहरुको सशक्त विरोधका बाबजुद अमेरिकाले एमसीसी पास गराइछाड्यो नेपालमा । ब्याख्यात्मक भनेर नेपालका दलालहरुले नै पास गराए एमसीसी । जम्मा ८ करोडको लोभमा । नेपालको मुख्य दुश्मन शक्ति साम्राज्यवाद त छँदैछ । तर, दलालहरुको चुनौती पनि खेप्नुपरेको छ नेपालले । हेर्नको लागि उनीहरु नेपाली हुन् । तर, उनीहरु अमेरिकाको दास बनेर प्रोअमेरिकनको रुपमा काम गरिरहेका छन् । नेताहरु किन अमेरिकाको दास बन्छन् ? भन्ने कुरामा पद, प्रतिष्ठा अमेरिकाबाट नै प्राप्त हुन्छ । नेपालको मन्त्री हुन अमेरिकाको सिफारिसमा हुनुपर्छ । प्रधानमन्त्रीको सिफारिस गर्ने पनि अमेरिका नै हो । मन्त्रीहरु पनि चुनिने अमेरिकाबाट नै । बर्गीय हितले गर्दा भारतले पनि अमेरिकाले भनेको मान्छ । यसैको परिणम रवि लामिछाने गृहमन्त्री बनेका हुन भनिन्छ । तर, उनको काम हेर्न बाँकी छ, अहिल्यै भन्न हतार हुनेछ । उनलाई अमेरिकाको नागरिक हुन् नेपालका होइनन् आरोप छ । अमेरिकामा गएर उतैको नागरिक बने पछि नेपालको नागरिक बनिदैन, दोहरो नागरिकता हुँदैन । नेपालमा आए स्वतः नेपालको नागरिक हुन्छ । यहाँ एकथरिले यहाँ आए पनि अमेरिकाकै नागरिकमा पर्छन् भनेका छन् तर त्यसो होइन । नेपालमा आए पछि नेपालकै नागरिक बन्छन् । तर, उनले नेपाली नागरिकता नलिएको जनाइएको छ । यहाँ नागरिकताको सवालभन्दा मन्त्रीको सवाल छ । बिदेशीले आफ्नो अनुकुल मन्त्री छानिदिने परम्परा बनिसकेको छ । नेपालमा के स्वतन्त्र छ ? अड्डा अदालत न्याय सुरक्षा, योजना सबै उतैबाट निसृत हुन्छन् । ईन्डो प्यासिफिक अमेरिका कै देन हो । यहाँ अमेरिकी सेना यत्रतत्र हिँडेका पाइन्छन् । अफिस पनि बनेको छ । दुई किसिमले अमेरिकी सेना नेपालमा बस्छन् । पहिलो कुरा त नेपालमा बहुमूल्य खनिज पदार्थ छन् जसलाई नेपालले उपयोग गर्न सकेको छैन सीप र श्रोतको कमीले । अर्को कुरा नेपालको उत्तरतिर चीन उभिएको छ । अमेरिकाले चीन नेपालमा नपसोस् भन्ने चाहन्छ । एकलौटी हालिमुहाली गर्न । दुबै देश नेपालका असल मित्र हुन् । तर, चीन भने सिमानामा जोडिएको असल छिमेकीमा पर्छ । यसलाई नकार्न सकिँदैन । भारत पनि छिमेकी हो । दुबै देशका परम्परा सँस्कृति मिल्दाजुल्दा छन्, बिहेबारी चल्छ । धेरै जसो सामान भारतबाट नै आयातित हुन्छन् । नेपालको पैसा भारतले संचय गर्छ । यसैले नेपाल दिनप्रतिदिन गरिबीमा पर्छ । नेपालको २६ जिल्लाहरुबाट २५६ ठाउँ भारतले हस्तक्षेप गरेको छ । तर, नेपालले केही भन्न सकेको छैन, यो दुःखको कुरा हो ।

नेपाल कम्युनिष्ट पार्टीले हस्तक्षेपको विरोध गर्दै आएको देखिन्छ । तर, अफसोच पार्टी टुट फुट र बिभाजन भएको बुझिन्छ । नेकपाको नवौँ बैठक पछि एकथरि अल्पमत भएको गुटले बहुमत भएको बातउँदै छुट्टै पार्टी खोलेको अवस्था छ । जब–जब पार्टीले विकास गर्दै जान्छ कम्युनिष्ट पार्टीमा विभाजन हुन्छ । नेकपाको इतिहासले नै यस्तै देखाउँछ । यसमा साम्राज्यवादले ठूलो भूमिका खेलेको हुन्छ । यसको एउटा पात्र धर्मेन्द्र बास्तोला हुन् । बिना वादल असीना आउँदैन तर कृतिम वादलबाट असीना आउँदोरहेछ । कस्तो भद्दा नाटक ? आर्थिक सवालमा रुमलिए पछि कार्य नीतिको निहुँ देखाएर पार्टी फोड्न पाइन्छ ? यसको बारेमा बहस खै ? पार्टी क्रान्तिमा फड्को मारेको देखेर नै साम्राज्यवादको ग्राण्ड डिजाइनमा पार्टी फुटेको त होइन भन्ने आशंका हुन्छ । नत्र भने सिद्धान्त उही छ, नीति उही छ । तर काले काले एकनासे भनेजस्तै क्रान्ति नचाहने ब्यक्ति मिलेर पार्टी अलग भएको घोषणा गरेका छन् । उनीहरुको चासो भनेको नेपाल कम्युनिष्ट पार्टीलाई हमला गर्नुमा छ । बहस गर्न आउन पनि डराउने, पाखा–पाखा विरोध गर्दै हिँड्ने यो भँडुवा नीति होइन ? यो बिभाजनले साम्राज्यवाललाई मलजल हालेको छ । यसको जिम्मेवार अलग हुने गुट नभएर कुन हुनसक्छ ?

यो पंक्तिकारको आशय हो क्रान्तिको लागि सबै सच्चा वामहरु एक जुट हुनुपर्छ । हरेक देशभक्त एक जुट हुनुपछ । एक जुट भएमा साम्राज्यवादलाई अवश्य परास्त गर्न सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु