क्रान्ति समाजको अपरिहार्य आवश्यकता हो

भरत सी, स्थायी कमिटी सदस्य– नेपाल कम्युनिस्ट पार्टी २०७९ पुष २६ गते, मंगलवार

०             तपाईंहरुले केही समय अघि पार्टीको नवौँ महाधिवेशन कपिलवस्तुमा सम्पन्न गर्नु भयो, त्यस बेलाको समग्र परिस्थिति र महाधिवेशनका अनुभूतिहरु कस्तो रह्यो ?

हो, नेकपाको नवौँ महाधिवेशन गएको असोज / कार्तिकमा आफ्नै केन्द्रिय कार्यलय कपिलवस्तुमा भयो । त्यो तीनवटा परिस्थितिका प्रतिकूलता– नेताको नाममा जारी पक्राउ पुर्जी र चुनावले पैदा गरेको राजनैतिक, दशैँ–तिहारले पैदा गरेको सांस्कृतिक र दशैँ लगत्तैको अविरल बर्षा र बाढी– पहिरोले पैदा गरेको प्राकृतिक प्रतिकूलता चिर्दै व्यापक जनवादको अभ्यास गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न भयो । अवश्य पनि यसले हामी र सबै क्रान्तिकारीहरुलाई सफलतानुभूति र सुखानुभूति गरायो । वास्तवमा, नेपालका प्रायः अन्य राजनैतिक पार्टीका महाधिवेशनमा विचार–राजनीति र देश अनि जनताका मुद्दामा बहस हुन छोडी सकेको स्थितिमा नेकपाको महाधिवेशनमा ती विषयमा छलफल भै निचोड दिन पाउँदा गौरवको अनुभूति भएको छ ।

०             महाधिवेशनले केही ऐतिहासिक र महत्वपूर्ण निर्णयहरु समेत पारित गरेको कुरा सार्वजनिक भएको पाइयो । खासमा तपार्ईंंहरुले पारित गरेका मुख्य–मुख्य निर्णयहरु के के थिए ?

महाधिवेशनले गरेका निर्णयहरुलाई केन्द्रीकृत गरेर एउटै वाक्यमा भन्दा– देश र जनताहरुले भोगिरहेका समस्यालाई समाधान गर्न समयानुकूल क्रान्तिकारी विचार र क्रान्तिको कार्यदिशा विकास गर्ने प्रस्ताव पास गरेको छ भन्न सकिन्छ । विकेन्द्रित रूपमा भन्दा देशको संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटग्रस्त बन्दै असफलता उन्मुख भएकोले क्रान्तिकारी परिवर्तनको लागि एकीकृत जनक्रान्ति सफल पार्न सामाजिक क्रान्तिको विज्ञान मालेमावादी दर्शनमा ‘अनिश्चिय रक्षा र रुपान्तरण’ को नियम, राजनैतिक अर्थशास्त्रमा ‘एकीकृत स्वामित्व प्रणाली’ र वैज्ञानिक समाजवादमा ‘एकीकृत निर्वाचन प्रणाली’ जस्ता नयाँ संश्लेषण गरेको छ । जो दूरगामी महत्वका निर्णयहरु हुन ।

०             माक्र्सवादी – लेनिनवादी – माओवादी दर्शनशास्त्रको क्षेत्रमा अनिश्चयको सिद्धान्त भनेर संश्लेषण गरेको भए पनि यसबारे अझै स्पष्टताको अभाव जस्तो देखियो, यसको औचित्य के हो ? यो किन भनियो ? स्पस्ट पारिदिनुहोस न ।

भौतिक विज्ञान र सामाजिक विज्ञान अन्तरसम्बन्धित र अन्तर्निभर हुन्छन् । भौतिक विज्ञानमा जर्मन भौतिकशास्त्री म्याक्स प्लान्कको ‘क्वान्टम भौतिकि’ मा आधारित हाईजनवर्गको ‘अनिश्चितताको सिद्धान्त’ ले समाज विज्ञानमा के कसरी काम गर्छ ? वा गर्दैन त ? यसलाई अन्तरसम्बन्धित गरेर हेर्दा काम गरेको स्पष्ट देखिन्छ । जस्तो कि पुँजीवादपछि आएको समाजवाद साम्यवादमा जाने निश्चितिता देखिएन, साथै यदि सचेत पहल भएन भने पुँजीवादको अन्त्य र क्रान्ति हुने पनि निश्चिति भएन ।

त्यसैले दर्शनमा ‘अनिश्चय– रक्षा र रुपान्तरण’ को नयाँ नियम संश्लेषण गरेको हो । यसले पुँजीवादको अन्त्यका लागि क्रान्ति गर्न सचेत पहलमा जोड दिन्छ भने समाजवाद आएपछि त्यसको निरन्तर रक्षा र विकास गर्न निर्देशित गर्दछ ता कि वैज्ञानिक साम्यवाद प्राप्त गर्न सकियोस् । समाज विज्ञानमा अनिश्चितताको नियम विपरितहरुको एक अर्कोमा बदलिने गतिको तीब्रतामा देखिएको छ ।

अन्ततः गतिलाई पक्रन सकिएन भने समाजको नेतृत्व गर्न सकिँदैन । सायद सिद्धान्तमा गतिको विज्ञान द्वन्द्ववाद विरोधी भएर पनि व्यवहारमा पुँजीवाद गतिशील हुन सकेर नै टिकेको छ भने कम्युनिस्ट समाजवाद आफ्नो द्वन्द्ववादी सिद्धान्त व्यवहारमा लागू गर्न असमर्थ हुँदा पछि परेको देखिन्छ – जस्तो कि पुँजीवादले प्रायः प्रत्येक दिन नयाँ वस्तु र विचार बजारमा दिरहेको हुन्छ, प्रचण्ड बिहान एक र साँझ अर्कै बोल्छन् ! पुँजीवादी आज झगडा गर्छन– भोलिपल्ट मिलिहाल्छन् ! पुराना पार्टीलाई ६ महिने पार्टीले जित्छ किन ? सम्भवतः यी आवश्यकता र अनिश्चितताका परिणाम हुन तर पुँजीवादले यसमा ‘उपभोक्तावाद’ मिसाएर गल्ती गरेको छ । कम्युनिस्टहरुले यो अनिश्चितता र समाजको गतिलाई पक्रेर रणनैतिक रूपमा सदुपयोग गर्ने कोसिस गर्नुपर्दछ । यसरी मात्रै समाजको नेतृत्व लिन र गर्न सकिन्छ । यो दिशामा नयाँ नियमले काम गर्नेछ । अन्तर्वार्ताको यति कुराले मात्रै पनि यो संश्लेषणको आवश्यकता र औचित्य स्पस्ट हुँदैन र ?

०             राजनीतिक अर्थशास्त्रको क्षेत्रमा एकीकृत आर्थिक प्रणाली भनेको पाइयो । आजको दुनियाँमा अस्तित्वमा रहेका दुईवटा अर्थप्रणालीहरुः पुँजीवादी र समाजवादी वा मिश्रित अर्थ प्रणालीभन्दा तपाईंहरुले भन्नु भएको अर्थ प्रणाली कुन अर्थमा फरक र विशिस्ट छ र किन ?

नवौँ महाधिवेशनले ‘एकीकृत स्वामित्व प्रणाली’ को प्रस्ताव गरेको छ, किनभने निजी स्वामित्वको पुँजीवादी प्रणाली असमान, अमानवीय र असफल छ, यसले धनी र गरिबको अन्तर चर्काएको छ, दुईटा विश्वयुद्ध गराएको छ, यो प्रणाली सामाजिक द्वन्द्वको मुख्य कारक रहेको छ भने सामुहिक स्वामित्वको समाजवादी प्रणालीका विगतमा समाजवादी देशमा एकातिर जनता खुशी नभएको र अर्कोतिर कम्युनिस्टको उच्च तहमा नै नवधनाढ्य वर्ग जन्मेको छ । जस्को कारण समाजवाद ढलेको छ । त्यसैले सामुहिक स्वामित्वको वैज्ञानिकता र श्रेष्ठता पुष्टि गर्दै कायम राख्न निश्चित समयसम्म निजी स्वामित्व पनि सहायक रूपमा सँगै रहने र राख्नुपर्ने आवश्यकता देखिन्छ ।

वास्तवमा, सामुहिक स्वामित्व, उत्पादन र वितरणमा नै जनताले अपनत्व महसुस गर्दै खुशी हुने स्थिति बन्छ र बनाउनुपर्छ । यसोभन्दा यो त ‘मिश्रित आर्थिक प्रणाली’ भयो भन्ने भ्रम पनि हुनसक्छ तर होइन । वस्तुतः मिश्रित अर्थ प्रणाली भनेको पुँजीवादी प्रणाली नै हो जसको सैद्धान्तिक आधार अर्थशास्त्री किन्सले दिए भने, भारत, नेपाल लगाएत अन्य आजका कैयौं देशको प्रणाली त्यही भित्र पर्दछ । एकीकृत आर्थिक स्वामित्वमा आधारित आर्थिक प्रणाली भनेको वस्तुतः समाजवादी अर्थ प्रणाली हो जसले निजी पुँजीका सकारात्मक वा समाजवाद अनुकूल पक्षलाई आपूmमा एकीकृत गर्दछ । त्यसैले यो विशिस्ट र नयाँ प्रणाली हो ।

०             पार्टीको नवौँ महाधिवेशनले अन्तर्रास्ट्रिय परिस्थितिको मूल्यांकन वा विश्लेषण गर्ने सन्दर्भमा आजको परिवेशलाई दुई ध्रुवीय वा बहुध्रुवीय भन्दै अहिलेको साम्राज्यवादलाई भूमण्डलीकृत साम्राज्यवाद भनेर व्याख्या ग¥यो । जब कि आठौं महाधिवेशनले त साम्राज्यवादलाई उत्तरसाम्राज्यवाद भनेको थियो नि !

आठौं महाधिवेशनले साम्राज्यवादलाई उत्तर– साम्राज्यवाद भनेको थियो तर नवौँ महाधिवेशनले पार्टी बाहिर र भित्रको बहस र सुझावपछि सरल र स्पष्ट शव्द ‘भूमण्डलीकृत’ राखेको हो, जसले स्पष्ट गर्दछ कि– पुँजीवादको चरित्र भूमण्डलीय छ र यो विश्वव्यापी समस्या हो, यो पुरानो सार र नयाँ रुपमा छ र लेनिनको बेलाको भन्दा भिन्न छ । अहिलेको पुँजीवाद विश्वका श्रमिकहरु, उत्पीडित राष्ट्र र पृथ्वीसमेतको चर्को शोषणमार्फत् पुँजीको अति केन्द्रिकरण र अनुत्पादकता बढाएर झन्–झन् अमानवीय, असामाजिक र फासिष्ट चरित्र ग्रहण गर्दै गएको छ, परिणामतः एक ध्रुवीय विश्व बहुध्रुवीयतिर जाँदैछ । त्यसैले पुँजीवाद विरोधी जनताको संघर्षलाई एकीकृत र प्रभावकारी बनाउन ‘भूमण्डलीकृत पुँजीवाद’ को रूपमा संश्लेषण गर्न आवश्यकता भएको हो । सरल रूपमा भन्दा साम्राज्यवादको पछिल्लो स्वरुप – जो विगतको बन्दुकधारी सेना लिएर होइन कि पैसा र प्राविधि लिएर लुट्ने चरित्र छ– लाई ठिक ढंगले व्यक्त गर्न र बुझाउन ‘भूमण्डलीय’ शव्द बढी सही हुन्छ भनेर पार्टीले ब्याख्या ग¥यो ।

भरत सी, स्थायी कमिटी सदस्य– नेपाल कम्युनिस्ट पार्टी

०             तपाईंहरुले आफ्ना नेता – कार्यकर्ताको थरको सट्टा सी लेख्ने निर्णय गर्नु भारै’छ । यसको औचित्य र सार्थक कार्यान्वयनबारे धेरै जिज्ञासाहरु पनि व्यक्त भएका छन् । यसलाई थप प्रस्ट गरिदिनु हुन्छ कि ?

निश्चय नै हामीले आफ्नो थरको सट्टा सी लेख्ने निर्णय गरेका छौँ । यसले मानिसको अन्तर्राष्ट्रिय जाति नयाँ वा समाज निर्माण गर्नेछ । सीको अर्थ कम्युनिस्ट ( साम्यवादी) भन्ने हो । यो कम्युनिस्ट जाति सबै वर्ग, जाति र भूगोल (क्षेत्र) भन्दा माथि उठेको नयाँ मानव जाति हो र वैज्ञानिक समाजवादका लागि आवश्यक तत्व हो भने वैज्ञानिक समाजवादमा थप ‘एकीकृत निर्वाचन प्रणाली’ अगाडि सारेको छ, जसले पार्टी र जनताको संयुक्त सत्ता अभ्यासलाई सुनिश्चित गर्दछ र अहिले चुनावमा देखिएको पुँजीको निर्णायक भूमिकालाई अस्वीकार र नियन्त्रण गर्दछ ।

त्यस्तै, पार्टी संगठनात्क पद्धतिमा जनवादी केन्द्रियता, आलोचना आत्मआलोचनाका अतिरिक्त ‘अध्ययन र तथ्यद्वारा रुपान्तरण’ को नयाँ विधि पनि प्रस्ताव गरेको छ जसले कम्युनिस्ट पार्टीलाई रुपान्तरण र एकताबद्ध गर्न सहयोग गर्नेछ । फेरि पनि जात परिवर्तन गरेर एउटै नयाँ जाति बनाउने कुरा जटिल तर आवश्यक कुरा हो ।

०             अलिकति फरक प्रसङ्गमा जाऔं, नेकपाले गएको स्थानीय चुनाव प्रयोग ग¥यो र पछिल्लो संसदीय चुनाव खारेज भनेर कार्यनीति तय ग¥यो । तपाईंहरु कै केही सहयात्रीहरु स्थानीय चुनाव प्रयोग गर्ने नीति गलत भएको भन्दै अर्को पार्टी बनाएर हिँडे । यी घटनाक्रमलाई कसरी बुझ्दा सही होला ?

पार्टीको चुनावसम्बन्धी नीति र निर्णयले – चुनाव सबैथोक हो वा चुनाव छुनै नहुने हो भन्ने दुबै अतिवादी बुझाईलाई तोडेको छ । एक कम्युनिस्ट क्रान्तिकारीका लागि त चुनाव कार्यनैतिक विषय हो, जो लेनिनका अनुसार २४ घण्टामा बदलिन्छ । त्यसैले पार्टीले कार्यनैतिक रूपमा स्थानीय चुनाव प्रयोग र संसदीय चुनाव खारेज गर्ने निर्णय गरेको हो । यस प्रकारको प्रयोगले पार्टी जनतासँग मिलेर अघि बढ्न चाहन्छ र खारेजले नयाँ वैज्ञानिक समाजवाद चाहन्छ भन्ने सन्देश दिन सफल भएको छ । जहाँसम्म कार्यनीतिलाई रणनीति बनाएर पार्टी फुटाउनेहरु छन्, तिनले ठूलो गल्ती गरेका छन् । वास्तवमा उनीहरुको क्रान्तिप्रतिको समर्पण र प्रतिबद्धता एकदमै कमजोर रहेछ भन्ने घटनाक्रमले देखाएको छ । त्यति मात्रै होइन कि पार्टी खुला परिवेशमा हुँदा पुँजीवादीहरुलाई पार्टी तोडफोड गर्न सजिलो पनि हुन्छ । यहाँ अहिले फुटवादीको क्रान्तिप्रतिको कमजोर प्रतिबद्धता र पुँजीवादको कम्युनिस्ट तोडफोडको रणनीति एकाकार भएर नेकपाविरुद्ध कृयाशिल रहेको छ । यी घटनाक्रमले क्रान्ति र प्रतिक्रान्तिको स्वभाविक टक्करलाई व्यक्त गरिरहेका छन् ।

०             तपाईंहरु तीन बुँदे सहमति गरेर आइसके पछि सरकारी पक्षबाट त्यसको कार्यान्वयनमा निकै सकस देखियो । देउवा सरकारले अध्यादेश ल्याएर हल गर्ने कोसिस गरे पनि त्यो पूर्ण हुन सकेन । फेरि प्रचण्ड सरकार बनेको छ । अब त्यो कोर्स कसरी अगाडि बढ्छ ?

तत्कालीन केपी ओली सरकारसँग तीन बुँदे सहमति भएको दुई वर्ष पुग्दैछ तर कार्यन्वयन अझै भएको छैन जुन सहमतिअनुसार बन्दी साथीहरू छोड्नुपर्ने र सम्पूर्ण झुट्टा मुद्दा खारेज गर्नुपर्ने थियो । सरकारले तीन बुँदे सहमति लागू गर्न देखाएको अनिच्छाले उ शान्ति होइन कि आफ्नो असफलता ढाकछोप गर्न नयाँ द्वन्द्व चाहन्छ भन्ने देखिँदैछ । तर, पार्टी तीन बुँदे सहमतिमा प्रतिबद्ध छ । ठोस रूपमा भन्दा शान्तिपूर्ण गतिविधि गरिरहेको छ । त्यसैले शान्ति र समृद्धिका खातिर सहमति लागू गर्नैपर्छ । यो सन्दर्भमा के पनि भनी हालौँ भने विगतमा केपी र प्रचण्डले कम्युनिस्ट पार्टीलाई ‘प्रतिबन्ध’ लाएको दोष एक अर्कोलाई लगाई आपूm चोखिन खोजेका थिए ।

ओलीले त तीन बुँदे गरिसकेका छन् तर प्रचण्डले लागू गर्छन कि के गर्छन् ? हेर्नुपर्ने दिन आएका छन् । वस्तुतः शान्तिको महत्व बढी प्रचण्डले बुझ्नुपर्ने हो तर ऊनी नै नयाँ द्वन्द्वको कारक वा प्रारम्भकर्ता बन्ने खतरा पनि छ, किन कि साम्राज्यवादले यही चाहन्छ । हामीले त आशा गर्नैपर्छ कि प्रचण्ड सरकारले तीन बुँदे सहमति कार्यान्वयन सहजै गर्नेछ अन्यथा २०५२ सालको देउवाको नयाँ प्रचण्ड रुप देख्नुपर्नेछ ।

०             नेपाली समाजको दलाल पुँजीवादसँगको प्रधान अन्तर्विरोध हल गर्ने भनेर एकीकृत क्रान्तिको सामरिक कार्यदिशासहित तपाईंहरु अगाडि बढेको पनि झण्डै एक दशक पुग्दै छ, क्रान्ति अनिश्चयताको गर्भमा भएको जस्तो महसुस हुँदैछ । यस्तो बेला पार्टी, क्रान्ति र आन्दोलनबारे कसरी सोच्दै हुनुहुन्छ ?

अवश्य पनि, एकीकृत जनक्रान्ति विभिन्न आरोह– अवरोहसहित अघि बढिरहेको छ । परिणामतः वैकल्पिक राजनीतिको बहस नेकपा वरिपरि केन्द्रित हुन आएको छ । एक दशक पुग्न लाग्दा पनि केही भएन भन्नू गलत हो, अझ त त्यो यान्त्रिक बुझाई हो । यसो भनेर फेरि तपाईंले भने जस्तो क्रान्ति अनिश्चितताको गर्भमा छ भन्ने पनि होइन । क्रान्ति समाजको अपरिहार्य आवश्यकता हो, भविष्यमा अनिवार्य हुनेछ तर त्यसको लागि कम्युनिस्ट क्रान्तिकारी पार्टीको सचेत पहल आवश्यक हुन्छ । त्यसैले यो बेलामा हामीले पार्टीलाई सुदृढ गर्ने, क्रान्तिलाई निरतरता दिने र जनताले भोगिरहेका समस्यालाई लिएर जन संगठनको विस्तार र जनआन्दोलनको उठान् गर्ने अनि त्यही प्रक्रियामा क्रान्तिकारी तथा प्रगतिशील कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको नयाँ ध्रुवीकरण र मोर्चाबन्दी गर्ने योजनाको विकास गर्न आवश्यक छ र पार्टी त्यही तयारीमा जुटेको छ ।

०             अब छिट्टै फाल्गुन १ गते वा जनयुद्ध दिवस नजिकिँदै छ । कसरी स्मरण गर्नु हुन्छ ती क्षणहरु र के भन्नुहुन्छ सहिद परिवार, घाइते योद्धा र आम मजदुर किसानहरुलाई ?

निकट भविष्यमा जनयुद्ध दिवस तथा फागुन १ आउँदैछ । अवश्य पनि, जनताको महान् उत्सवको रूपमा स्मरण गर्दै त्यसले निरन्तरता पाउने छ किनभने माओवादी जनयुद्ध एक गौरवशाली महान् लडाइँ थियो, जसले विश्वमा नेपालीलाई सबैभन्दा स्वाभिमानी, परिवर्तनप्रेमी र क्रान्तिकारी जनताको रूपमा चिनाएको थियो तर त्यो लक्ष्यमा नपुग्दा र अहिले त्यसमाथि प्रतिक्रान्ति हावी हुँदै गइरहेको स्थितिमा त्यो एक हिंसात्मक अपराध थियो भनेर बद्नाम गर्ने अभियान पनि जोडतोडले चलिरहेकै छ ।

यो बेला सम्पूर्ण जनयुद्धमा सहभागी र त्यसका पक्षधरहरुले आपूmलाई नयाँ ढंगले पुनर्जीवित र पुनर्गठन गर्न आवश्यक छ । त्यसैले आउँदै गरेको जनयुद्ध दिवसका सन्दर्भमा म जनयुद्धमा सहभागी र जनयुद्धप्रेमीहरुलाई स्मरण गर्दै महान् सहिदहरुलाई उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गर्दै सहिद परिवारलाई निराश नहुन अनुरोध गर्दछु ।

त्यसैगरी बेपत्ता र घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै उहाँहरुको परिवारलाई हामी सहिदको बाटोमा नै हिँडिरहेको जानकारी गराउँदछु र मजदुर किसानलगायत आमजनतालाई विगतको जनयुद्ध अहिले विकसित भएर नयाँ एकीकृत जनक्रान्तिको रूपमा निरन्तरता अघि बढिरहेको हुनाले एकदिन अधुरो क्रान्ति पुरा हुनेमा विश्वास गर्न र भविष्यप्रति आशावादी हुन अपिल गर्दछु ।

०             अन्तमा, थप केही भन्न चाहनु हुन्छ ?

चुनावका कारण महाधिवेशनका निर्णयहरुको सम्प्रेषण ओझेलमा परेको हो कि भन्ने थियो । यद्यपि, पत्रकार सम्मेलनमार्फत् सम्प्रेषण गरिएको थियोे र निरन्तरतामा अन्तर्वार्ताद्वारा त्यो मौका दिएकोमा तपाईंंलाई धन्यवाद ! र तपाईंंको मिडिया र त्यो सम्बद्ध संचारकर्मीको निरन्तर प्रगतिको कामना गर्दछु । साथै, वर्तमान संसद, सरकार र समग्र राज्यसत्ता देश र जनताको विरुद्ध जाने खतरा भएकोले त्यस विरुद्ध जनतालाई जागरुक बनाउन निरन्तर कृयाशिल भैरहनु होला भन्न चाहन्छु ।

प्रतिक्रियाहरु