विश्वकप फुटबल : आज समुह ‘सी’ र ‘डी’ का चार खेल

२०७९ मंसिर १४ गते, बुधबार

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज बुधबार समुह ‘सी’ र ‘डी’ का चार खेल हुनेछन् । पहिलो दुई खेल नेपाली समयअनुसार राति पौने ९ बजेबाट हुनेछ भने बाँकी दुई खेल राति पौने १ बजेबाट हुनेछ । राति पौने ९ बजे सुरु हुने खेलहरुमा ट्युनिसिया र फ्रान्स भिड्दा अष्ट्रेलियाले डेनमार्कसँग खेल्नेछ । समुह ‘डी’ बाट लगातार दुई खेल जितेको फ्रान्स नकआउट चरणमा पुगिसकेको छ । बुधबारको खेलबाट अष्ट्रेलिया, ट्युनिसिया र डेनमार्कमध्ये एक टोली अब राउण्ड अफ सिक्सटिनमा उक्लिनेछ । दुई खेलबाट अष्ट्रेलियाको ३ अंक छ भने डेनमार्क र ट्युनिसियाको १–१ अंक छ । बुधबार नै राति पौने १ बजे हुने समुह ‘सी’ का खेलहरुमा पोल्याण्ड र अर्जेन्टिना तथा साउदी अरबिया र मेक्सिको भिड्नेछन् । यो समुहमा दुई खेलबाट ४ अंक जोडेको पोल्याण्ड शिर्ष स्थानमा छ । अर्जेन्टिना र साउदी अरबियाको ३–३ अंक छ भने एक अंक जोडेको मेक्सिको पुछारमा रहेको छ । यो समुहका सबै चार टोली नकआउट चरणमा पुग्ने समिकरणमा जिवित छन् ।

प्रतिक्रियाहरु