‘ एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध बनौँ ‘

२०७९ मंसिर ८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनतालाई अधिकार सम्पन्न गर्ने एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुन् अपिल गरेका छन् । महासचिव विप्लवले पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा भिडियोमार्फत नेपालका आम श्रमिक वर्ग, उत्पीडित समुदाय पार्टीका नेता र कार्यकर्ता र समर्थक शुभचिन्तक सबैमा शुभकामनासहित सो अपिल गरेका छन् ।
महासचिव विप्लवले नवौं पुनर्गठन दिवसको अवसरमा भिडियोमार्फत दिएको शुभकामना संदेश यस प्रकार रहेको छ – ‘आदरणीय जनसमुदाय, पार्टीका नेता सम्पूर्ण कार्यकर्ता कमरेडहरू सबैमा न्यानो अभिवादन गर्न चाहन्छु । हाम्रो जनपृय पार्टीको नवौं पुनर्गठन दिवस हो । नेपाली श्रमिक वर्ग, देशभक्त शक्ति, पार्टी नेता कार्यकर्ता, देशभित्र र बाहिर कार्यरत सम्पूर्ण पार्टी पंक्ति, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग सबैको लागि खुशी र गौरवको क्षण हो । यस सुखद क्षणमा म सर्वप्रथम नेपालका आम श्रमिक वर्ग, उत्पीडित समुदाय, पार्टीका नेता र कार्यकर्ता, समर्थक शुभचिन्तक सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
यो सुखद क्षणमा आफ्नो अमुल्य जीवन बलिदान गर्नुहुने एकीकृत जनक्रान्ति, जनयुद्ध, नेपालका सम्पूर्ण जनविद्रोहहरू र विश्व क्रान्तिमा बलिदान गर्ने आदरणीय सहिदहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु, बेपत्ता योद्धाहरूप्रति विशेष स्मरण गर्दै सम्मान व्यक्त गर्न चाहन्छु साथै घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु । यस क्षणमा आदरणीय सहिद परिवार तथा बेपत्ता योद्धाका परिवारहरूप्रति सम्मान र समवेदना व्यक्त गर्न चाहन्छु । साथै घाइते योद्धाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
कमरेडहरू, यतिबेला हाम्रो पार्टीले नवौं पुनर्गठन दिवस देशव्यापी रूपबाट मनाउने तयारी गरेको छ र मनाउँदै छ । हाम्रो पार्टी पुनर्गठन दिवस यता एक दर्जन भन्दा बढी नेता कार्यकर्ताले दलाल पुँजीवादी सत्ताको विरूद्धको विद्रोह र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको लागि बलिदान गरिसक्नु भएको छ । थुप्रै सयौँ कमरेडहरू घाइते हुनुहुन्छ । आजसम्म पनि चालिस जना भन्दा बढी हाम्रा नेता र कार्यकर्ताहरू जेलमा बन्दी हुनुहुन्छ । हजारौँ नेता कार्यकर्ताहरू अहोरात्र जनताको बिचमा एकीकृत जनक्रान्तिमा डटिराख्नु भएको छ । यसले सावित गर्दछ कि यो देशलाई स्वाधिन बनाउने र जनतालाई अधिकार सम्पन्न गर्दै देशलाई दलाल पुँजीपति वर्गको अधिनायकत्व र शासनबाट मुक्त गरेर आम श्रमिक जनता उत्पिडित वर्ग र स्वाभिमानी नागरिकहरूको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी सत्ता स्थापनाको प्रतिनिधि बाहक र नेतृत्व यो पार्टी नै हो भन्ने कुरा सावित गर्दछ ।
आदरणीय जनसमुदायहरू,
हाम्रो देशमा यतिबेला दलाल पुँजीपति वर्गको सत्ता छ, दलाल पुँजीपति वर्गको सत्ता भनेको मुठ्ठीभर पाँच प्रतिशत शासक र शाेषकको सत्ता हो । यसले आफ्नो स्वार्थ र फाईदाका लागि नेपालका करोडौं जनतालाई दिनरात शाेषण गरिरहेको छ, लुटिरहेको छ र उत्पीडन गरिरहेको छ । आफ्नो स्वार्थको लागि यसले भुमण्डलीकृत अमेरीकी साम्राज्यवाद र भारतिय साम्राज्यवादको चाकडी, गुलामी र दलाली गरिरहेको छ । साम्राज्यवादीहरूको आडमा दलाल पुँजीपति वर्गले नेपाली श्रमिक जनतालाई रातदिन शाेषण उत्पीडन गरिरहेको छ । जहिलेसम्म मुठ्ठिभर दलालहरूको सत्ता कायम रहन्छ तहिलेसम्म न नेपाली जनताले अधिकार पाउने छन् न समानता र समृद्धि न शान्ति पाउने छन् न त नेपालले स्वाधिनता नै प्राप्त गर्ने छ । त्यसैले हाम्रो पार्टी यो दलाल पुँजीपति वर्गको मुठ्ठिभर लुटेरा वर्गको सत्ताको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाको लागि जनताको नेतृत्व र संघर्ष गरिरहेको छ । आज एकातिर दलाल पुँजीपति वर्गका प्रतिनिधिहरू संसदवादी दल तिनका नेताहरूले चुनावको नौटंकी गर्दै जनतालाई भ्रम श्रृजना गर्दै को लुटको सत्तामा आसिन हुने भन्ने प्रतिस्पर्धा गरिरहेका छन् तर अर्कोतिर हाम्रो जनपृय पार्टी नेपाल कम्युनिस्ट पार्टी र अरू कैयौं क्रान्तिकारी पार्टीहरू, देशभक्त शक्तिहरू नेपाली श्रमिक वर्गको सत्ता वैज्ञानिक समाजवाद स्थापनाको लागि लडिरहेको छ र लडिरहेका छन् । जनताले प्रष्टसँग बुझ्दै जानुभएको छ कि यो व्यवस्था यो दलाल पुँजीपति वर्गको संसदिय व्यवस्था जनताको नेतृत्व गर्न असक्षम असफल व्यवस्था हो यसले जति पटक नेपालमा सत्ता समालेको छ वा जहिले जहिले यसले सत्ता सञ्चालन गरेको छ, नेपाली जनता कसैले कहिल्यै पनि सुखको श्वास फेर्न पाएका छैनन् । हाम्रो देशले स्वाधिनताको अनुभूति गर्न पाएको छैन् बरू एमसीसी, एसपीपी जस्ता डरलाग्दा अमेरेकी अतिक्रमणकारी सम्झौताहरू नयाँ थेग्नु पर्ने छ र बाेक्नुपर्ने स्थिति आउन सक्ने छ । भारतिय साम्राज्यवाद हाम्रो नेपालको सिमा मिचिरहेको छ । सिमा क्षेत्रहरूमा अतिक्रमण गरिरहेको छ । नेपालको अर्थतन्त्र संकटग्रस्ट बन्दै गईरहेको छ । नेपालका आम नागरिकहरू गरिबीतिर धकिलिदै छन् । नेपालका युवाहरू आफ्ना अगाडिका भविष्य अन्यौलपूर्ण देख्दैछन् । यस्तो बेलामा हामीले भनेका छौँ कि हामी निराश नभएर हामी ठूलो एउटा अन्यौलतामा नपरेर, भ्रममा नपरेर यो सत्ताको विरूद्धमा उठ्न, संघर्षमा उत्रिन जरूर छ । हामी सक्छौँ, हामी एक्काईसौँ शताब्दीमा नेपाललाई स्वाधिन बनाउन सक्छौँ, नेपाली जनतालाई आफ्नै सत्ताको मालिक बनाउन सक्छौँ, वैज्ञानिक समाजवाद निर्माण गर्दै वर्ग, जाती, धर्म विभिन्न खालका क्षेत्रीयता विखण्डनवादका नशाहरूबाट तिनका भ्रमहरूबाट मुक्त गर्दै एउटा सुन्दर वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्न सक्छौँ।

त्यसैले आदरणीय जनसमुदाय,
हामी तपाईहरूको बिचमा एउटा प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ, हाम्रो गन्तव्य भनेको वैज्ञानिक समाजवाद हो । नेपाली श्रमिक जनताको व्यवस्था हो । विश्वका श्रमिक जनताहरूसँग सहकार्य गर्ने, साथ दिने व्यवस्था हो । त्यसकारण हामी आफ्नो सुन्दर भविष्यको निर्माण गर्ने आफ्नै सत्ताको लागि एकताबद्ध बनौँ, एकजुट बनौँ, हामी उत्साहितभित्र जागरुक बनौँ, हामीले संसारलाई बदल्न सक्छौँ, हाम्रो श्रमले संसारलाई बदल्न सक्छ भने हाम्रो देशलाई हामी बदल्न सक्छौँ । यो विश्वासका साथ अगाडि बढौँ र यो नेपाललाई मुक्त गर्ने नेपाली जनतालाई अधिकार सम्पन्न गर्ने एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध बनौँ ! हाम्रो सफलता सुनिश्चित छ भन्ने कुरा तपाईहरूमाझ राख्न चाहन्छु र अन्तिममा फेरि पनि यो एउटा सुखद् क्षणमा देश विदेशका सबै हाम्रा नेता कार्यकर्ता, शुभचिन्तक समर्थकलाई शुभकामना व्यक्त गर्दै आउने एउटा सुन्दर भविष्यको लागि अगाडि बढौँ भन्ने अपिल गर्न चाहन्छु । ‘

प्रतिक्रियाहरु