‘महाधिवेशनमा विचार विकासको संश्लेषणमा वहस गर्दैछौ ‘

रामलाल विश्वकर्मा २०७९ आश्विन २९ गते, शनिबार

तपाईं विगत लामो समयदेखि जनयुद्ध , शान्ति प्रक्रिया र एकीकृत जनक्रान्तिको निरन्तर यात्रामा हुनुहुन्छ, यी तीन कालखण्डका भोगाई र अनुभूतिहरुलाई कसरी लिनु हुन्छ ?
हामी आजको दिनसम्म आउँदै गर्दा विगत दश वर्षको जनयुद्ध ,जनयुद्धको शान्ति प्रक्रियाको अवधिहरु र पछिल्लो समयमा फेरी हामीले नयाँ पार्टी निर्माण गरिसके पछिको यो एकीकृत जनक्रान्तिको कार्यदिशा अन्तर्गतको प्रक्रियालाई हामीले हेर्नुपर्ने हुन्छ । पक्कै पनि सम्पूर्ण नेपालीहरूको सहभागिता रहेको नेपालको राजनीतिक क्रान्तिको इतिहासमा कम्युनिष्ट क्रान्तिको इतिहास दश वर्षे जनयुद्ध एउटा उथलपुथलकारी र नेपालको राजनीतिक इतिहासमा एउटा परिवर्तनकारी इतिहास थियो र नेपालको सामाजिक इतिहासमा पनि भव्य रूपान्तरण गर्ने एउटा क्रान्तिकारी यात्रा थियो । जुन ०६२ ÷ ६३ सम्म आइपुग्दा नेपालबाट राजतन्त्रको अन्त्य भएर संविधान सभाको माध्यमबाट नयाँ संविधान निर्माण गरी अगाडि बढ्यो । तर जुन प्रकारको नेपाली समाजमा रहेको विगतकै हालीमुहाली गर्दै आएको एउटा वर्ग र समुदायको अस्तित्व थियो, त्यसको ठाउँमा तल्लो बर्ग र समुदाय जस्ले कहिल्यै पनि शासन सत्तामा आफ्नो सहभागिता नजनाएकोहरुलाई पनि सहभागिता गराउने हाम्रो प्रश्न थियो त्यसलाई हल गर्न सकेन । विशेष गरी सामन्तबाद , पूँजीवाद र साम्राज्यवाद तीन पक्षमा सामन्तवादको नेतृत्व गरिरहेको राजतन्त्रको अन्त्य गरियो । तर त्यसपछि भने पूँजीवादमाथि साम्राज्यवाद हाबी हुँदै गयो । आजको राज्य सत्ता साम्राज्यवादको छत्र –छायामा हुर्की रहेको छ र यो दलाल पुँजीवादमा परिणत भएको छ । यो संविधानले जुन अधिकारहरूबाट नेपाली जनताहरुलाई वञ्चित गरिएको थियो त्यसको हस्तान्तरण गर्न सकेन । यसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले ठूलो सङ्घर्ष गरेको छ ।
०६२÷६३को संबिधान पश्चात संविधान सभाको निर्वाचन त्यसले प्राप्त गरेको गणतन्त्र र संबिधान निर्माणको प्रक्रिया भित्र हेर्दा उही पुरानो संसदीय व्यवस्थालाई अलिकति मात्र रङरोगन गरी नयाँ बनाएर ०६२ सालको संविधानमार्फत् अगाडि त सार्यो तर सारमा भन्नु पर्दा त्यो विगतकै संसदीय व्यवस्था थियो । जसले केही मुठ्ठीभर मानिसहरूको मात्र हित गथ्र्याे । यद्यपि मानिसहरू माओबादीमा केही प्रतिशतले वृद्धि भयो । तर त्यो आमजनताको हितमा , जनतालाई अधिकार सम्पन्न गराउने सवालमा ,देशलाई विकास र समृद्धिको तर्फ लैजाने संबिधान नभएका कारण हामीले त्यसको बिरोध गर्यौ । त्यो समयमा हामी वैद्यको नेतृत्वमा थियौं । करिब ५÷७वर्षको लामो समयावधीमा पार्टीलाई शान्ति प्रक्रियामा लैजान पार्टीभित्रै हामीले संषर्ष गर्यौ , त्यो सङ्घर्षबाट प्रचण्डलगायतका जनयुद्धकालमा मूख्य भूमिकामा रहेका नेताहरुसँग त्यो गलत बाटोलाई परित्याग गरेर क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउनु पर्छ भन्दा उहाँले कुरा सुन्नु भएन र हामीले त्यसको बिरोध गर्यौ र वैद्यको नेतृत्वमा नयाँपार्टी निर्माण गर्दै आगाडि बढ्दै गर्दा , विद्रोह गर्दासम्म राम्रै थियो तर क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने सवालमा भने त्यहाँ सम्भावना नदेखे पछि हामीले महासचिब विप्लबको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर आजको दुनियाँको परिस्थितिको विश्लेषणसहित अहिलेको भुमण्डलीकृत पूँजीवादको रूपमा रहेको आजको विश्व परिवेश जुन नेपालमा एकदमै विकसित परिस्थिमा छ । त्यो हल गर्ने भनेको अब माओ र लेलिनको पालाको क्रांतिको कार्यदिशा र विचारले मात्र पुग्दैन । यसमा थप विकास गरेर एकिकृत ढङ्गबाट जाँदा क्रान्तिलाई सम्भव बनाउँन सकिन्छ भनेर हामी अगाडि बढिरहेका छौं ।
क्रान्ति भनेको विश्राम लिने कुरा होइन तर केही मानिसहरूको भने क्रान्ति सकियो घर फर्कने , विश्राम गर्ने या अब क्रान्ति नगर्ने भन्ने जुन प्रकारको चिन्तन फेला पर्यो त्यो निश्चयपनि सही कुरा होइन । क्रान्ति वर्ग रहेसम्म निरन्तर बढिरहने र सङ्घर्ष गरिरहने कुरा हो । यद्यपि यसका रूप फेरबदल हुनसक्छन् । कहिले यो सशस्त्र हुनसक्छ, कहिले शान्तिपूर्ण, कहिले चर्को त कहिले मध्यम पनि यसका रूप, तत्व र घनत्वहरुमा फेरबदल हुनसक्छ तर क्रान्ति निरन्तर चलि रहने प्रकृया हो । त्यसैले माओले पनि भन्नु भएको छ – “निरन्तर क्रांन्तिकारी सिद्धान्तलाई विकास गर्नु पर्छ । हामी र हाम्रो पार्टीले गरिरहेको क्रान्ति दशवर्षे जनयुद्धको निरन्तरताको नयाँ शृङ्खला हो ।“
तपाईहरु एकीकृत जनक्रान्तिको प्रक्रियामा हुनुहुन्छ , यो विगतको जनयुद्ध भन्दा फरक र विकसित छ पनि भनिरहनु भएको छ, खासमा जनयुद्ध भन्दा एकीकृत जनक्रान्तिका मुख्य भिन्नताहरु के के हुन जस्तो लाग्छ ?
आजको दुनियाँको विचारधारात्मक क्षेत्रमा, विचार विकासको क्षेत्रमा या परिस्थितिको मूल्यांकन गर्ने क्षेत्रमा आधारभूत रूपमै अन्तर छ । माओको मृत्यु पश्चात संसारभरीमै कम्युनिस्ट क्रान्ति छैन र भइरहेका क्रान्तिहरु पनि कतिपय त्यतिकै विलिन भएका छन् भने कतिपय उचित निष्कर्षमा पुग्न सकेको अवस्था छैन । बास्तवमै कम्युनिष्ट क्रान्ति संसारभरि नै असफल हुनको कारण माओ पछाडिको दुनियाँ वा वस्तुगत परिस्थिति , राष्ट्रिय – अन्तर्राष्ट्रिय परिस्थिति , उही ठाउँमा छैन , आधारभूत रूपमै यो नयाँ परिस्थितिमा पुगिसकेको छ । तर त्यो परिस्थितिलाई हल गर्ने बिधि भने पुरानै प्रवृतिको छ । क्रान्ति भनेको विकसित अन्तरविरोधको समाधानको एउटा विधि हो । अन्तरविरोधहरु नयाँ नयाँ सृजना भइसक्दा समत त्यसलाई हल गर्ने बिधि उहि माक्स, लेनिन, माओ भनेरै हामी कम्युनिष्टहरू भनिरहेका छौं । जनयुद्ध असफल हुनुमा सम्भवतः यो पनि एक कारण हो । मुल नेतृत्वमा भएका कारण हामीले प्रचण्ड, बाबुरामले जनतालाई धोका दियो भनिरहेका छौं , भन्न मिल्ने एउटा पाटो पनि हो र अर्को पाटो चाहिँ के हो भने उहाँहरूले आजको बिकसित दुनियाँको वस्तुगत परिस्थितिलाई समाधान गर्ने नयाँ विचार र कार्यदिशा निर्माण गर्न सक्नु भएन, वास्तविक कुरा यही हो ।
हिजो रुसको पालामा शहर केन्द्रीत मजदुरको नेतृत्वमा एउटा विद्रोह भएको थियो । क्रान्तिको स्वरूप माओको पालामा भने गाउँ केन्द्रीत मजदुर किसानको नेतृत्वमा दीर्घकालीन जनयुद्ध भएको थियो । १० बर्षको जनयुद्धमा माओले निर्माण गरको कार्य दिशा या सिद्धान्तकै नेपाली स्वरूप थियो । तर अब हामीले भन्न खोजेको कुरा के हो भने , आजको दुनियाँको अन्तरविरोधलाई हल गर्नको लागी अब एउटामात्रै तरिका लगाएर पुग्दैन र समस्याको समाधान पनि हुँदैन । हामीले गर्ने क्रान्तिको कार्यदिशा भनेको एकिकृत जनक्रान्तीको कार्य दिशा हो । हामीले कार्य दिशाको नामै एकिकृत जनक्रान्ती भनेका छौं । यसको सार भनेको क्रान्तिमा चौतर्फी तरिका अपनाउनु पर्दछ । अब गाउँलाई मात्र केन्द्रीत गरेर पुग्दैन , गाँउ र शहरलाई मिलाउनु पर्छ, हिजो मजदुर र किसानमात्रै भनेका थियौं ,अब नेपालमा मजदुर ,किसान कम भइसकेका छन् । यहाँ ठुलो मात्रामा क्रान्तिको एउटा हिस्सा मध्यम वर्गमा परिणत भइसकेको छ । त्यसकारण मजदुर, मध्यम वर्गसहितको क्रान्तिको कार्य दिशा हामीले सोचेका छौं । अर्को आजको दुनियाँमा विज्ञान प्रविधिको जुन विकास भएको छ । त्यो विज्ञान र प्रविधिलाई पनि क्रान्तिसँग जोड्नुका साथ साथै अर्थ प्रणालीको क्षेत्रमा पनि जोडिनु पर्दछ । पहिले समाजवाद आएपछि मात्र हामीले अर्थ प्रणालीलाई सोच्नुपर्छ भन्ने हुन्थ्यो भने अहिलेको परिस्थिती यस्तो छ कि , आजबाटनै अर्थ प्रणालीमा पनि आत्म निर्भरतको विकास गरेर अगाडि जानु पर्छ भन्ने कुरालाई पनि हामीले अगाडि सारेका छौं ।
त्यसैगरी राज्य सत्ता निर्माणको सवालमा पनि अहिलेनै राज्य सत्ताका कोणहरु निर्माण गर्दै गरेर बैकल्पिक सत्ता हरु निर्माण गर्दै अगाडि बढ्नु पर्छ भन्ने हाम्रो धारणा हो ।
कम्युनिष्ट आन्दोलनमा बल प्रयोग चाहिन्छ तर परम्परागत बल प्रयोगले अबको क्रान्ति सम्भव हुँदैन यसको तरिका परिबर्तन गरेर अगाडि बढ्नु पर्छ । समग्रमा भन्नुपर्दा माक्र्सवादका तीनवटा संघठक अंगमा दर्शन,राजनीति अर्थशास्त्र , वैज्ञानिक समाजवादको विचारमा हामीले नयाँ विकास गरेमा मात्र क्रान्ति सम्भव छ ।
तपाईले भुमण्डलीकृत विश्वको प्रसङ्ग कोट्याउनु भयो , अहिलेको सूचना प्रविधिको युग र भुमण्डलीकृत विश्वमा वल प्रयोगको सिद्धान्तमा आधारित क्रान्ति असम्भव छ भनिन्छ नि ?
बिज्ञानको नियमले के भन्छ भने प्रत्येक नयाँ कुराको जन्म बल प्रयोगबाट हुन्छ । नयाँ कुराको अथवा वस्तुको जन्म हुने क्रममा कुनै पनि प्रकारको अवरोध छ भने त्यो अवरोधलाई बल प्रयोगले मात्र हटाउन सकिन्छ । यदि त्यसो हो भने बल प्रयोगले आजको दुनियाँमा क्रान्ति संभव छैन भनेर भन्नु हुन्छ , त्यो बिज्ञान विरोधी कुरा हो । तर विगतदेखि सबैले भन्दै आएका कारण यो नयाँ पनि होइन । वास्तवमै बल प्रयोगको कुरा गर्दा युद्धको कुरा आउँछ अब नितान्तरूपमा युद्ध र हतियार कै कुरा गर्ने हो भने कतिपय मानिसलाई असम्भव लाग्न सक्छ । आजको विश्वको बिज्ञान प्रविधिको दुनियाँ, आजको साम्राज्यवादले निर्माण गरेका हतियार ,प्रविधि त्यसलाई कम्युनिस्टहरूले या क्रांन्तिकारीहरूले सक्दैन त्यो भीमकाय छ भनेर तर्क गरेका होलान् । साम्राज्यबाद लेनिनका पालामा पनि कम शक्तिशाली थिएन , माओका पालामा पनि साम्राज्यवाद या प्रतिक्रियावादी कम सक्तिशाली थिएनन् तर पनि उहाँहरूले बल प्रयोग गर्नु भयो र हिजो १० वर्षे जनयुद्ध गर्दा पनि यहाँको राज्य कम शक्तिशाली थिएन । भरुवा बन्दुकबाट , घङ्गारुको लाठीबाट सुरू भएको हो जनयुद्ध । त्यसको तुलना गरेर हेर्ने हो भने नेपालको राज्य सत्ता कति सक्तिशाली थियो । त्यसरी तुलना गर्दा साम्राज्यवाद , प्रतिक्रियावादी, या शासकहरू भन्दा विद्रोहीहरु , क्रान्तिकारीहरुसँग त्यति शक्ति हुँदैन । तर कुरा के हो भने समग्रमा बुझ्दा बलप्रयोग भनेको त मात्र सार्वभौम नियम हो , यो वैज्ञानीक कुरा हो । बल प्रयोगबिना कुनैपनि वस्तु नयाँ रूपमा विकशित हुन सक्दैन, पुराना अवरोधहरु हट्नै सक्दैनन् । तर अहिलेको परिस्थितिमा यसको प्रयोग गर्ने तरिका फेर्न अत्यन्त जरुरी छ ।
आजको दुनियाँमा तरवारले लड्छु भन्यो भने सम्भव छैन । आजका साम्राज्यवादका शासकहरु हाइपर सोनिक र सुपर सोनिकको ठाउँमा भएका बेला हामीले पुरानो पद्धति अनुसार लड्न सम्भव हुंदैन । त्यसकारणले भनेको हो कि लेनिन र माओको तरिकाले अब लड्न सकिँदैन । यसको मतलब जनयुद्धको तरिकामा लड्न सकिन्न भनेर चाहिँ भनेको होइन । तर आजको परिस्थितिको मूल्यांकन गर्दै त्यो अनुसारको रणनीति र कार्यनीति हामीले बनाउनु पर्छ । कम्युनिष्टहरूको नीति भनेको बलप्रयोग भन्दा बाहिरको हुँदैन तर त्यसको स्वरूप कस्तो हुने भन्ने मात्र हो ।
कम्युनिष्टहरूले बहस , छलफल, शान्तिपूर्ण बिधि अपनाउँछन् तर ति कुनै पनि विधिले अवरोधहरू हटेनन् , सबै वैधानिक, शान्ति पुर्ण तरिकाले सम्भव नहुँदा या बाटाहरू बन्द भएको खण्डमा अन्तिममा बाध्य भएर बल प्रयोग गर्दछन् । त्यसकारण बलप्रयोग अनिबार्य कुरा हो ,बल प्रयोग वैज्ञानिक कुरा हो , फरक यत्ति हो कि त्यसको तरिकामा हामीले फेरबदल गर्न आवश्यक छ ।
तपाईहरु पार्टीको नवौ महाधिवेशनमा हुनुहुन्छ, महाधिवेशनका बहसका मुख्य मुख्य एजेन्डाहरु के के हुन सक्छ्न ?
असोज महिनाको १ गते काठमाडौंमा गर्ने भनिएको हाम्रो महाधिवेशन सरकार पक्षसँगको बार्ता लम्बिन गएपछि तीनबुँदे सहमतिलाई लागू गर्ने सवालमा अधिवेशनको मिति सार्नु पर्ने परिस्थिति बन्यो । तोकिएको मितिमा सम्भव नभएका कारण असोज २५ गते कपिलवस्तुमा हाम्रो पार्टीको केन्द्रीय कार्यालयको हलमा संपन्न गर्न गइरहेका छौं । यो हरेक ५ बर्षमा आउने पार्टीको ठूलो पर्व पनि हो । एउटा पार्टीको भव्य आन्तरिक काम पनि हो । स्वभाबैले यो अधिवेशनलाई हामीले त्यही रुपमा बुझिरहेका छौ र सम्पन्न गर्न गइरहेका छौँ । कुनैपनि महाधिवेशनका २ वटा कार्यभार हुने गर्दछन् । एउटा सहि रणनीति तथा कार्यनीति निर्माण, राजनीतिक दस्तावेज निर्माण गरी पास गर्नु, आगामी क्रान्तिलाई अगाडि बढाउने एउटा रणनीतिक कार्यदिशा एउटा पाटो हो भने दोस्रो त्यसलाई हाँक्ने सक्षम नेतृत्वको टिमलाई निर्बाचित गर्नु हो ।
दुईवटै क्षेत्रमा हेर्दा विचार निर्माणको क्षेत्रमा हामीले यो महाधिवेशनलाई के भनेका छौं भने नयाँ विचारको संस्लेसण र संस्कृति निर्माणको महाधिवेशन यसो भन्दै गर्दा हामीले बहस गर्दै आएका विषय एकीकृत जनक्रान्तिले अगाडि सारेका थुप्रै विषयहरु मैंले अगाडि पनि चर्चा गरिसकेको छु कि हामीले एकीकृत क्रान्ति किन भनिरहेका छौं भने विषयमा यो भन्दा अगाडिको आठौं महाधिवेशनमा पनि हामीले संस्लेशण गरेका थियौं भने यो नवौं महाधिवेशनमा पनि यो भन्दा अझैं उचाईमा हामी हाम्रो विचारलाई संस्लेशण गर्न गइरहेका छौं ।
विशेष गरी दर्शनको क्षेत्रमा एकीकृत जनक्रान्तिले अगाडि सार्न खोजेको विषय के हो त ? हामी त्यहाँ छलफल गर्दै नयाँ संस्लेशण गर्ने छौं राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पनि र विशेष गरी वैज्ञानीक समाजवादमा कस्तो सत्ता हुने त ? आजको युगमा पूँजीवादी सत्ता संसारभरी छन् र समाजबादी सत्ता पनि अभ्यासमा आए जस्तै चीन, रुसलगायतका अन्य समाजवादी देशहरूमा कम्युनिष्ट समाजबादी सत्ताका स्वरूपहरु छन् , हामीले नेपालको सन्दर्भमा बनाउँन खोजेको राज्य प्रणाली कस्तो हो त ? भन्ने विषयमा पनि हामी नयाँ तरिकाले अध्ययन , छलफल संस्लेश्ण गर्दै छौ ।
दोस्रो , सांस्कृतिक निर्माणमा पनि अहिलेसम्म साम्राज्यवादी र परम्पराबादी सामन्ति संस्कार र संस्कृति जसरी हाम्रो समाजमा स्थापित छ । हामी कम्युनिष्ट क्रान्तिकारीहरूले जब कम्युनिष्ट व्यवस्थाको कुरा गर्छौँ , वैज्ञानिक समाजवादको कुरा गर्छौं भने विशेष गरी संस्कार र संस्कृतिको क्षेत्रमा पनि अब पुराना कुराहरू जस्तै जन्म, बिबाह, मृत्यु, पर्व आदि इत्यादीको पनि विकल्प दिन सक्नुपर्छ । यो त हिजोदेखि एउटा साम्राज्यवादी प्रणालीले ल्याएका र परम्परागत ढङ्गले चल्दै आएका कुराहरू हुन् । यसलाई हामी कमुनिस्टहरूले कुन हदसम्म मान्ने भन्ने विषयमा पनि हामी बहस गरीरहेका छौं ।
तेश्रो , नेपाल विशेष गरी दक्षिण एसियामाको परिवेशमा अरु भन्दा भिन्न छ । पश्चिमा देशहरुमा छैन र पूर्वीय हिन्दू राष्ट्रहरूमा जातीय आधारमा हाम्रो समाज निर्मण भएको छ । जातको आधारमा निर्माण भएको समाज त्यसपछि समाजमा त्यसले पैदा गरेका विभेदहरु र यसलाई समाज रूपान्तरणको प्रक्रियामा कसरी डोर्याउने, जस्तै कम्युनिष्टहरूले नयाँ अन्तर्राष्ट्रिय जातिको कुरा गरेको छ , नयाँ जाति निर्माणको कुरा गरेको छ भन्ने नारा त हामीले भन्दै आएका छौं तर कम्युनिष्टले बनाउँन खोजेको नयाँ जाति के हो त ? त्यो विषयमा पनि हामी बहस गर्दै छौं । साङ्केतिक रूपमा हामी केहि प्रस्ताव पनि गर्दैछौ । उदाहरणका निम्ति एउटा पहिचान दिने खाले जो पहिचान दिने आन्दोलनहरु छन् । मधेशी आन्दोलन ,आदिवासी ,जनजातिहरूको अर्को पहिचान छ । यहाँ खसहरुको पनि छुट्टै पहिचान र इतिहास छ । यहाँ सबैको आ– आफ्नै पहिचान छ। तर सदा आआफ्नै पहिचान मा रहने कि ? यसलाई नयाँ रूपान्तरण गर्ने नामले मात्रै रूपान्तरण हुँदैन । यसको सांस्कृतिक उन्मूलन के हो त ? यसको विधि र पद्धतिमा हामी बहससङ्गै एउटा प्रस्ताव पनि गर्दैछौ ।
पार्टी निर्माण विशेष गरी संगठन निर्माणको बिषयमा पनि हामी एकीकृत क्रान्तिको कार्यदिशा नयाँ विचारको कुरा गर्दै गर्दा सङ्गठनको संरचना पनि नयाँ ढङ्गले सोच्न पर्ने आवश्यकता छ । जस्तै हिँजो लेनिनले भनें अनुसारको संगठनात्मक संरचनाले मात्र पुग्ला कि नपुग्ला त ? आजको परिवेशमा उहाँको विचारले र कार्यदिशाले मात्र पुगेन भने त त्यहाँ पनि त हामीले थप विकास गर्नु पर्ला ? माओले गरेको संगठनात्मक क्षेत्र , पार्टी , सेना र संगठनात्मकको जुन कन्सेप्ट छ । विशेष गरी नेपालमा जनयुद्ध सुरुभई एकीकृत जनक्रान्तिसम्म आईपुग्दा हामी तिनै विधिबाट अघि बढेका छौं भने माओले मात्रै पुग्दैन भन्दै गर्दा उहाँले गरेका संगठनात्मक सिद्धान्तहरु अपुरो छन् होला । त्यसकारण पार्टी निर्माण र संगठन निर्माणको क्षेत्रमा पनि अब नयाँ ढङ्गले विकास गर्नु पर्छ भन्ने कुरा हामी यो महाधिबेशनमा बहस गर्दैछौं ।

केही समय अघि तपाईहरुले अबलम्बन गरेको चुनावी कार्यनीतिको बिरोध गर्दै र केही सैद्धान्तिक विषयमा आरोप लगाउदै कञ्चन सुदर्शनहरु अलग्गिनु भयो , उहाँहरुका आरोपबारे कसरी टिप्पणी गर्नु हुन्छ ?
सुदर्शन र कञ्चनको हाम्रो पार्टीबाट पलायनको प्रसङ्गलाई हामीले थुप्रै पटक लिखित,, मौखिकरूपमा खण्डन गरी सकेका छौं र मलाई लाग्छ अब धेरै खण्डन गरिरहनु पर्ने आवश्यकता पनि छैन किनभने उनीहरू आफ से आफ खण्डन भइराखेका छन् । तर जुन उहाँहरुले हाम्रो पार्टीको चुनाबी कार्यनीति बनाइसकेपछि , चुनावमा जानु भनेको संसदवादी हुनु हो , क्रान्ति छोड्नु हो भन्ने विषयलाई मुख्य मुद्धा बनाएर अलग हुनु भयो र अर्को पार्टी बनाउनु भयो । अरु दर्शनमा, राजनीतिक अर्थशास्त्रमा समाजवादमा या अरु थुप्रै क्षेत्रमा आरोप लगाउनु भयो त्यो बारेमा मलाई लाग्छ हामीले चुनावलाई कार्यनीतिक विषय भनि सकेपछि त्यही कार्यनीतिक विषयलाई लिएर पार्टी नै फुटाउने तहसम्म जानुपर्ने थिएन । उहाँले एक हप्ता नकुरेर ,कुनै फरक मत नराखेर जुन प्रकारले सिङ्गोरूपले हामीलाई आरोप लगाई राख्नु भएको छ । आफ्नो कुनै पनि फरक मत, नराखी पार्टीबाट पलायन भइसकेकाहरूले के हामीलाइ के भन्छन् त्यसमा कुनै आपत्ति छैन,ती सबै अर्थहीन छन् ।
फुटबादी र पलायनबादी जुन प्रकारको उहाँहरुको कार्य छ , त्यसलाई ढाकछोप गर्न केही जलप त लगाउनै पर्यो । आफ्ना कमजोरीहरु लुकाउनमात्र हामीप्रति लगाएका ती आरोपहरु हुन् त्यसलाई ठूलो विषयका रूपमा लिनुपर्ने कुनै कारण छैन र ति सबै अर्थहीन आरोपहरु हुन् । हामी संसदबादी भयौँ की निरन्ंतर क्रान्तिमा छौं, यो पछिल्लो समयमा पुष्टि भइसकेको कुरा हो र भोली पनि हामी यही दुनियाँमा छौं अझै जनताहरूले को कस्तो भनेर अझै प्रस्टरुपमा बुझ्ने छन् ।
जसले नयाँ कुरा सिर्जना गर्न सक्दैन उनीहरूलाई जडसुत्रबादी भन्दा फरक नपर्ला । एकोहोरो हिजोको माक्र्स, लेनिन, माओको सिद्धान्तलाई भन्दा थोरै पनि दायाँ बायाँ आउनासाथ संसदबाद देख्ने उहाँहरुको चिन्तनमा अपुगता छ , त्यसले गर्दा पार्टीमा समस्या आएको हो ।
पछिल्लो समयमा केही हदसम्म प्रमाणीत भएको कुरा यो छ कि अहिले हाम्रो क्रान्तिका विरूद्ध साम्राज्यबादले क्रान्तिलाई सिध्याउन, फुटाउन, भाँड्नको लागि प्रत्यक्ष , अप्रत्यक्षरूपमा खेलिरहेको छ । सुदर्शन र कञ्चनहरु पनि त्यस्तै क्रान्ति विरोधीहरूको षड्यन्त्रको सिकार हुनुभएको हो कि भन्ने आशंका देखिन्छ । अब ढिलो चाँडो उहाँहरूको विसर्जनबाहेक अर्को कुनै विकल्प छैन ।
तपाई श्रमिक समुदाय मोर्चा नेपालको अध्यक्ष पनि हुनुहुन्छ , तपाईहरुले आफ्नो संगठनको नाम दलित मुक्ति मोर्चाबाट श्रमिक समुदाय मोर्चा नेपाल नामकरण गर्नु भयो , यसको पछाडिको खास सन्दर्भ र औचित्य के होला ?

नेपालमा २००४ सालदेखि दलित सङ्गठनको निर्माण भएर अघि बढ्दै गर्दा २०२४ सालसम्म दलित शब्दको प्रयोग हुने गरेको थिएन । जनविकास परिषद् २०२४ सालमा गठन भएपछि मात्रै दलित शब्दको प्रयोग भएको हो । यो दलित शब्द भारतबाट आयातित शब्द हो । यसको लामो इतिहास छ । यसको सारकुरा भनेको चाहि उत्पीडित, हेपिएका, चेपिएका,दमित समुदायहरुलाई दलित भन्ने गरिएको हो । त्यसकारण दलित भन्ने शब्द कुनैबेला ठिक थियो तर बर्तमान स्थितिमा त्यसको आवश्यकता छैन । जतिबेला छुवाछुत थियो ,उत्पीडन थियो, त्यो समयमा हरेक उत्पीडित वर्गलाई एउटै आन्दोलनमा समाहित गर्नका निमित्त आवश्यक थियो । यसो गर्दा एकताबद्ध हुनुभएकाले त्यो बेलामा दलित शब्दको प्रयोग गरियो , त्यसले आन्दोलनलाई एक ठाउँमा पुर्यायो पनि । आजको बिकसित परिस्थितिअनुसार र फेरिएको रिएल पहिचान र इतिहासलाई केलाउँदा त्यो शब्द अधुरो र अपुग भयो । यो दलित शब्दको एउटामात्रै पहिचान छैन, यसका अरु पनि थुप्रै पहिचानहरु छन् । समग्रमा भन्नु पर्दा यो एउटा श्रम समुदायसङ्ग जोडिएको छ । विशेष शरीरले नै गर्नुपर्ने खालका श्रमहरु जो समाजको नजरमा घृणित रूपमा रहेका कामहरू यो समुदायले गर्नु पर्ने भएकाले त्यसको पहिचान श्रमसँग जोडिएको हो । त्यसकारण अब भने दलित शब्द अपुग हुने भएकाले यसको नयाँ ढङ्गले नामाकरण गर्नु पर्छ भन्ने प्रस्ताव हामीले केन्द्रमा राखिसके पछि त्यसलाई परिमार्जित गरेर श्रमिक समुदाय भनिएको हो ।
जुन सिङ्गो समाजमा रहेको जातीय विभेद जसलाई हामी रूपान्तरण गर्नका लागि त्यही स्थानमा रहेर सम्भव हुँदैन । कुनै पनि चीज वस्तुलाई नयाँ बनाउनका लागि ठाँउ, नाउँ या रुप फेर्नु पर्ने हुन्छ । त्यसो हुँदा यो समुदायको पनि पुरानो नाम, फेर्नै हुन्न भन्ने हो भने नयाँ कसरी बनाउने त ? विज्ञानको नियम अनुसार हामीले खराब कुरालाई फेर्न र राम्रो कुरालाई थप राम्रो गर्दै अगाडि लैजाने गरेका छौं । हरेक क्षेत्रको विकासमा पनि यही नियम लागू हुन्छ ।
हामीले दलित शब्दलाई परिमार्जित गरेर श्रमिक समुदाय राख्दा धेरै प्रकारका टिकाटिप्पणी भएको पायौं । विशेष गरी यही समुदायका जो आन्दोलनमा रहेकाहरूले प्रश्न उठाइरहेका छन् भने कतिपय आन्दोलनमा नभएकाहरूले समर्थन जनाइरहेको हामीले पाएका छौं । प्रश्न बढी के कुरामा उठिरहेको छ भने श्रमिक दलितमात्र नभई हरेक जात – जातिभित्र श्रमिकहरु छन् । हाम्रो पहिचान के त ? वास्तबमा भन्नेहो भने पूरै १०० प्रतिशत श्रमिक भनेको दलित या नि श्रमिक संगठन नै हो । त्यस कारण समुदायगतरूपमा श्रमिक भनेको यही एक संगठन हो । अरु भनेका आंशिक हुन । यदि यसमा समस्यामा भएकै हो भने त यसलाई फेरिपनि परिमार्जित गर्न सकिन्छ ं। यसै शब्दलाई अन्तिम बनाउनु पर्छ हामीले भनेका छैनौँ । अर्को कुनै वैज्ञानिक पदावली भए भने पनि हामी त्यसलाई स्विकार्छौ, तर दलित शब्दले मात्रै क्रान्ति आन्दोलनको समग्र परिभाषा दिँदैन ,अबको दुनियाँमा वस्तुगत परिस्थिति घनत्वलाई समात्दैन ।
अबको श्रमिक आन्दोलनको स्वरुपको कार्यदिशा भनेको सबै श्रमिक जातिहरूले एकत्रित भएर यूनिफाइड कन्सेप्टमा एकीकृत आन्दोलनको तरिका अपनाउनु हो । त्यसैले हामी एक्लै लडेर मात्र हुँदैन । समग्रमा दलित, आदिवासी, जनजाति, मुस्लिम, खस सम्पूर्णलाई एकत्रित गर्ने बेला भयो । यसकारण यो एकीकृत आन्दोलनमा मिलाउनको लागि पनि दलित शब्द बाधक बन्न सक्छ । हरेक जातिले आआफ्नै पहिचानको लागि लड्ने हो भने परिबर्तन संभव छैन । हामीले समग्र मानव जातिको त्यो माथि पनि श्रमिक समुदायको हक हितको लागि क्रान्ति अगाडि बढाउन यो नाम राखेका हौ ।
हरेक जातिका उत्पीडित वर्गहरुलाई शासकवर्गले शासन गरेर अन्तरविरोधी बनाए , अब अन्तर्घुलित भएर लड्नु पर्छ । त्यसको लागि दलित शब्द अपुग हुने भएकाले हामीले श्रमिक समुदाय नामाकरण गरेका हौं । हिजोको आन्दोलनको तरिकाले मात्रै पुग्दैन, त्यसको स्वरूप बदल्नु पर्छ ।
अन्तमा, केहि भन्नुहुन्छ ?
आजको यो विज्ञान प्रविधिको दुनियाँमा शिक्षासँग प्रत्यक्ष जोडिएका अझ भनौं सम्पूर्ण कुराहरू अति बढी र छिटो क्याच गर्ने युवा युवतीहरूको जमात बढ्दो छ । त्यसकारण पनि विज्ञान र टेक्नोलजीलाई मानब उपयोगी कसरी बनाउने आजको च्यालेन्ज पनि हो । त्यसैले सम्पूर्ण आमनेपाली जनता विषेशगरी सञ्चारकर्मीले अहिलेको विज्ञान र प्रविधिलाई प्रयोग गरी देशमा वैज्ञानिक समाजवादको स्थापनामा जुट्न , सुखी जनता , सुन्दर र सम्बृद्ध राष्ट्र निर्माणमा जुट्न मेरो आग्रह छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु