राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण गरिंदै

२०७७ श्रावण २६ गते, सोमबार

काठमाडौं । फिफा विश्वकप छनोटको औपचारिक तयारी सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ एन्फाले कर्मचारी र नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको कोरोना परिक्षण गर्न लागेको छ । एन्फाले काठमाडौ‌ बाहिरबाट आएर होटेलमा क्वारेन्टिनमा बसिरहेका खेलाडीहरुको परीक्षण गर्ने भएको हो । पाटन अस्पतालमा उनीहरुको कोरोना परिक्षण हुने बताइएको छ । काठमाडौं बाहिरबाट आएका खेलाडीहरु अहिले होटेलमा क्वारेन्टिनमा बसिरहेका छन् भने उपत्यकाका खेलाडीहरु आफ्नै घरमा बसिरहेका छन् ।
कोरोना परिक्षणपछि सबैलाई एन्फाले आफ्नै होस्टेलमा राख्ने तयारी गरिरहेको छ । विश्वकपका छनौट खेलहरुका लागि भदौ १ गतेबाट प्रशिक्षण सुरु हुँदैछ । छनोटको तयारीका लागि अहिले ३३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्न बाँकी छ । नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग तथा त्यसको ५ दिनपछि अष्ट्रेलियासँग खेल्ने तालिका छ । आफ्नो अन्तिम खेलमा नेपालले कात्तिक २७ गते जोर्डनसँगको खेल्नेछ ।

प्रतिक्रियाहरु