चेतनामूलक कार्यक्रमका लागि ६१ लाख खर्च

२०७० भाद्र ३ गते, सोमबार

ललितपुर, ३ भदौ । राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष २०६९/७० मा कुल ६१ लाख २४ हजार रुपैयाँ चेतनामूलक कार्यक्रममा खर्च गरेको छ ।आयोगका लेखा अधिकृत युवराज राईका अनुसार सबैभन्दा ठूलो रकम ‘जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८’ को अभिमुखीकरणसम्बन्धी २३ वटा अन्तक्रिर्या कार्यक्रम गर्न ११ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
गाविसस्तरमा दलित निगरानी केन्द्र गठन गर्न तीन लाख ८० हजार, परम्परागत सीप तथा पेशा संरक्षणमा दुई लाख ४५ हजार, दुईवटा सरोकारवाला गोष्ठीमा एक लाख, चेतनामूलक ˆलेक्स बोर्ड प्रकाशनमा तीन लाख, अन्तर्जातीय विवाह गरेका पाँच जोडीलाई सहयोग दुई लाख र १२ जना दलित बालबालिकालाई शैक्षिक सामग्री किन्न दुई लाख खर्च भएको जनाइएको छ ।
नगरोन्मुख गाविसका ६ स्थानमा दलित अधिकार गोष्ठी सञ्चालनमा तीन लाख ३३ हजार, आपत्कालीन अवस्थाका दलित समुदायलाई आर्थिक सहयोगमा रु तीन लाख, आयोगको रणनीति निर्माणसम्बन्धी दुईवटा गोष्ठीका लागि एक लाख ५० हजार, माओवादी युद्धकालमा मारिएकाहरुको स्मारक र प्रतीक्षालय निर्माणमा तीन लाख खर्च भएको छ ।
सङ्घीय मामिलामा दलित आयोगको स्थान अध्ययनमा एक लाख ५० हजार, कानुनी सल्लाहकार र परामर्शदाता सेवा शुल्क दुई लाख ६४ हजार, आयोगको स्थापना दिवस मनाउन दुई लाख खर्च भएको छ भने आयोगका पदाधिकारी तथा कर्मचारीको क्षमता विकासका लागि दुईवटा कार्यक्रममा चार लाख १४ हजार खर्च भएको छ ।हालै तयार पारिएको आर्थिक प्रतिवेदनअनुसार गत आवको अवधिमा राष्ट्रिय दलित आयोगले अनुगमनमा १२ लाख ५० हजार खर्च गरेको छ ।
गत आवको स्वीकृत कार्यक्रमअन्तर्गत दलित युवालाई सगरमाथा आरोहणका लागि नेपाल सरकारले राष्ट्रिय दलित आयोगलाई उपलब्ध गराएको रु दुई करोड आयोगले आरोहण प्रबन्ध गर्न नसकेका कारण फ्रिज भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु