आज बालश्रम विरुद्धको विश्व दिवस

२०७० जेष्ठ २९ गते, बुधबार

काठमाडौ, जेठ २९ – घरेलु बालश्रम अन्त्य गरौं नाराका साथ बाल श्रम विरुद्धको विश्व दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६ लाख बालबालिका श्रमिकका रुपमा कार्यरत छन् । ति मध्ये ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् । जोखिमपूर्ण श्रममा रहेका बालबालिकामा पनि झण्डै ६० प्रतिशत बालिका तथा ४० प्रतिशत संख्या बालकको रहेको छ ।
डेढ लाख भन्दा बढी बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।
नेपाल सरकारले बालश्रम रोक्न तथा समग्र बालअधिकारको संरक्षण तथा संवर्द्धनका लागि बालअधिकार सम्वन्धि महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्वन्धि आइएलओ महासन्धी १३८ र निकृष्ट प्रकारको बालश्रम उन्मुलन सम्वन्धि महासन्धि १८२ लाई अनुमोदन समेत गरेको छ ।
थुप्रै कानुनी, नीतिगत, र राष्टिय स्तरका कार्यक्रम भएपनि गरिबी, जनचेतनाको अभाव, स्पष्ट कानूनी व्यवस्था र कार्यान्वयनको अभाव जस्ता अवरोधका कारण बालश्रम निवारणले उचित लक्ष्य हासिल गर्न नसकेको सरोकारवालाले बताएका छन् ।
जीवन निर्वाहका लागि जस्तोसुकै श्रममा संलग्न हुनुपर्ने बाध्यताले बालबालिकाहरु शारीरिक, मानसिक, सामाजिक, नैतिक तथा बौद्धिक समस्यामा पर्ने भन्दै सरोकारवालाले विस्तृत बालश्रम निवारण नीति आवश्यक भएकोमा जोड दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु