५२ हिमाल आरोहणका लागि एक हजार ३२९ जनालाई अनुमति

२०८० मंसिर २३ गते, शनिबार


काठमाडौँ । पर्यटन विभागका अनुसार यस मौसम (हेमन्त ऋतु)मा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति पाएका छन् ।
स्वदेशी तथा विदेशी गरी एक हजार ६९ जना पुरुष र २६० जना महिला गरी एक हजार ३२९ जनाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका हुन् ।
विभागका निर्देशक राकेश गुरुङका अनुसार १७२ समूहका एक हजार ३२९ जनालाई आरोहण अनुमति प्रदान गरिएको छ । सबैभन्दा बढी अमादब्लम हिमाल आरोहणका लागि ४५ समूहका ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले ५२ हिमाल आरोहणका लागि अनुमति लिएका गुरुङले जानकारी दिए ।
त्यसैगरी मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्याण्डका ५० जना छन् । हेमन्त ऋतुको आरोहण अनुमतिबाट विभागले सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस क्रममा ६ मुलुकका २२ जनाले नेपालका हिमालबाट ‘स्की’का लागि अनुमति लिएका छन् । स्कीका लागि सबैभन्दा धेरै अनुमति लिनेमा फ्रान्सका नागरिक छन् । उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने विभागले जनाएको छ । नेपालमा हिमाल आरोहणको लागि वसन्त, शरद र हेमन्त ऋतु उपयुक्त मानिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

बुलबुले तालको सरसफाइ

२०८० फाल्गुन ५ गते, शनिबार

पाथिभरामा केबलकार !

२०८० फाल्गुन २ गते, बुधबार