भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध

२०८० मंसिर २२ गते, शुक्रबार


काठमाडौँ । भारतले प्याजको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहन यस्तो कदम चालेको हो ।
भारतले आगामी वर्ष मार्च महिनासम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायको सूचनामा उल्लेख छ ।भारतीय प्याजले नेपालमा पनि ठूलो हिस्सा ओगट्ने गरेको छ । भारतको यो निर्णयले नेपाली नागरिकको चुल्होसम्म असर गर्न सक्छ । भारतको यो कदमले नेपाली बजारमा अब प्याजको मूल्य आकाशिन सक्छ । पछिल्लो समय नेपाली बजारमा समेत प्याजको हाहाकार छ । आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका हुन् । आयातकर्ता नै हडतालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तीन दिनदेखि आलु र प्याज भित्रिएको छैन । समितिले पनि तीन दिनदेखि नै आलु–प्याजको मूल्यसूची अपडेट गरेको छैन ।

प्रतिक्रियाहरु