नेकपाका महासचिव विप्लव सीद्वारा जाजरकोटका भूकम्प पीडितले पठाएको ज्ञापन–पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी मार्फत जाजरकोट नगरगाड –१ च्यूरी र पालीगाँउका जनताले प्रधानमन्त्री प्रचण्डलाई पठाएको ज्ञापन–पत्र महासचिव विप्लव सी ले आज विहान प्रधानमन्त्री प्रचण्डलार्ई हस्तान्तरण गरेका छन् । आज विहान प्रधानमन्त्री प्रचण्ड र महासचिव विप्लव सीबीच बालुवाटारमा भएको भेटवार्ताका क्रममा जाजरकोटका भूकम्प पीडित जनताको पठाएको ज्ञापन–पत्र महासचिव विप्लव सीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।
नलगाड –१ च्यूरी र पालीगाँउलाई भेरी नदिको कटानले पहिरो जाँदा गाउँ नै जोखिममा परेको छ । कैयौघर विस्थापित भैसकेका छन ।
पहिरोको जोखिमका कारण पीडित जनतामाथि कार्तिक १७ गते गएको भूकम्पको पीडा थपिएको छ । स्थानीयले सरकारसंग वस्ती स्थानान्तरणको माग गरेका छन । प्रधानमन्त्री प्रचण्ड र विप्लव सीको भेटमा सो वस्ती उचित स्थानमा सार्न महासचिव विप्लव सीले सरकारको ध्यान आकृष्ट गराएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा भूकम्प पीडितको राहत, समाजवादी मोर्चाको आगामी कार्यक्रम र राजबन्दी रिहाईको विषयमा सकरात्मक छलफल भएको बताईएको छ ।
यस्तै भेटवार्तामा हमास विद्रोहीको नाममा प्यालेष्टिनी जनता विरुद्ध इजरेली साम्राज्यवादले गरिरहेको युद्ध अपराधको विरुद्ध आजै समाजवादी मोर्चाको धारणा सार्वजनिक गर्ने सहमति भएको छ ।
भेटवार्तामा भूकम्प पीडितको उद्धार र राहत तिव्र पार्ने र बन्दी रिहाईको विषयमा ठोस पहल गर्ने सहमति भएको बताइएको छ ।