क्रान्तिकारी र देशभक्तहरुको विरोधको निशाना कता ?

२०८० भाद्र ४ गते, सोमबार
भेषराज सी

नेपालको वर्तमान राष्ट्रिय परिस्थिति अत्यन्त संवेदनशील मोडमा आइपुगेको छ । अन्तर्राष्ट्रिय स्तरमा बहुध्रुवीय टक्कर विस्फोटक बन्दै जानू, भूराजनीतिक अवस्थितिका कारण नेपालमा त्यसको प्रत्यक्ष प्रभाव देखिनु, नेपालको दलाल पुँजीवादी राज्य सत्ताले थेग्नै नसक्ने गरी आर्थिक संकट देखिनु, कृषिप्रधान देश खाद्यान्नमा समेत परनिर्भर बन्दै जाँदा छिमेकी भारतले चामलको निर्यात बन्द गरिदिँदा एक साता मै बजारमा हाहाकार हुनु, देश निर्माणका युवाशक्तले देश भित्र आफ्नो कुनै भविष्य नदेख्नु र दिनप्रतिदिन विदेश पलायन हुँदै जानु, सत्ता संचालनमा रहेका पुराना राजनीतिक दलहरुका अधिकांश नेताहरु जुन लाभको पदमा पुगेका छन् तिनीहरु कुनै न कुनै भ्रष्टाचार, तस्करी, कमिशनखोरी तथा मानव बेचबिखन जस्तो अपराधमा समेत मुछिनु र आमजनताले राज्यका कुनै अंगहरुमा विश्वास नगर्नुजस्ता ज्वलन्त र डरलाग्दा समस्याहरु देखिएका छन् ।

उपरोक्त अवस्थाका साथसाथै अत्यन्त डरलाग्दो अवस्थामा समाज विघटनको दिशातर्फ उन्मुख भएको छ । समाजको पहिलो एकाइ परिवार विघटन हुँदैछ । समाज जातीय, क्षेत्रीय र धार्मिक रुममा विघटनको दिशातर्फ उन्मुख छ । युवाहरुमा आत्महत्याको दर कहालीलाग्दो स्तरमा वृद्धि भएको छ । यति मात्र होइन, राष्ट्रिय स्वाधीनताको प्रश्न यति गम्भीर अवस्थामा कहिल्यै पुगेको थिएन । भूमण्डलीकृत पुँजीवादको नाइके अमेरिकी साम्राज्यवादको ठाडो हस्तक्षेपमा पनि देश एक ढिक्का हुन नसक्नु, यस्तो गम्भीर संवेदनशील विषयमा पनि राज्य सत्ताका सम्पूर्ण अवयवहरु, राजनीतिक दलहरु र नागरिक समाज समेत साम्राज्यवादी हस्तक्षेपको पक्ष र विपक्षमा बिभक्त देखिनुले अस्तित्व कै संकट देखा परेको छ ।

उपरोक्त संकटहरुको कारण भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादको नीति निर्देशनमा परिचालित घरेलु दलाल पुँजीवादी राज्य सत्ता नै हो । अहिले नेपालको राष्ट्रिय प्रधान अन्तर विरोधमा फेरबदल आएको छ । अब दलाल पुँजीवादले साम्राज्यवादी हस्तक्षेप भित्र्याउने मात्र होइन कि साम्राज्यवादको नेतृत्वदायी भूमिकामा दलाल पुँजीवाद एकाकार हुन पुगेको छ ।

यदि सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरु, आमदेश भक्तहरु र सच्चा देशभक्त राष्ट्रिय पुँजीपतिवर्गले समेत एकजुट भएर अमेरिकी साम्राज्यवादी हस्तक्षेपको प्रतिवाद गर्न नसक्ने हो भने नेपाल दक्षिण एशियाको युक्रेन बन्न जाने संघारमा उभिएको छ । देशभक्तहरु माथिको प्रहार सबभन्दा पहिले विगतको महान् दश वर्षे माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने र त्यसका नेताहरूलाई आतंककारीको बिल्ला लगाउने काम साम्राज्यवादका दलालहरुले सडकबाट लगाउने गर्थे भने अब त सडकमा मात्र होइन, जननिर्वाचित व्यवस्थापिका भनिने संसद भित्रै लगाउने दुस्साहस गर्न थालेका छन् । साम्राज्यवादी हस्तक्षेप प्रष्ट रुपमा भन्नुपर्दा राष्ट्रघाती एमसीसी संझौता लागू गर्न तयार नभएका राजनीतिज्ञ तथा कर्मचारीहरु, सडकबाट विरोध गर्ने प्रबुद्ध व्यक्तित्वहरुलाई विभिन्न बहानामा बद्नाम गराउने र गिरफ्तार गर्ने आधार बनाइरहेको छ । यो यतिमा मात्र सीमित नरहेर छानीछानी कम्युनिस्ट समर्थक स्वाभिमानी देशभक्त नागरिक माथि अनेक प्रकारका हतकण्डा अपनाउने कुरा देखिन थालेको छ । यस्तो परिस्थितिमा साम्राज्यवादी हस्तक्षेप र षड्यन्त्रका विरुद्ध सशक्तप्रतिरोध गर्नुपर्ने समयमा नेपालका आपूmलाई देशभक्त तथा क्रान्तिकारी शक्ति ठान्ने व्यक्ति र समूहले साम्राज्यवादी हस्तक्षेपका विरुद्ध निरन्तर अग्रमोर्चामा लडिरहेको नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व गरिरहेका कमरेड विप्लव सी माथि विचार र सिद्धान्तको आड लिएर हमला गर्नाले आफ्ना संकीर्णतावादी सोच माथि पारदर्शी पर्दा हाल्न, डाहा र ईष्र्यालाई अलिकति हलुँगो पार्न त सकिएला तर त्यस कार्यले प्रकारान्तरले साम्राज्यवादलाई नै सेवा पुग्ने छ ।

के आफैँले स्वीकार गरेको सबभन्दा मित्रशक्तिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितको वस्तुगत अवस्थाको ठोस र वैज्ञानिक विश्लेषणको आधारमा आफ्ना कार्यनीतिहरुलाई अगाडि बढाउँदा उछितो काढ्नु के क्रान्तिकारी इमानदारीता हो ? के त्यसले देश र जनताको हित गर्ला ? यसबारे अलिकति गंभिर भएर सोच्ने गरौँ । हो कतै कमजोरी नहोस् जसले देश र जनताको मुक्ति यात्रामा अवरोध सृजना नगरोस् भनेर सचेत गराउन रचनात्मक सहयोग र सृजनात्मक आलोचना गर्नु मित्रशक्तिको दायित्व र कर्तव्य हुनै पर्दछ । त्यस्ता सहयोग र आलोचनाको सदैब उच्च सम्मान गर्नै पर्दछ ।

वर्तमान नेपालको संवेदनशील परिस्थितिमा सम्पूर्ण आग्रह, पूर्वाग्रह, दुराग्रह र संकीर्ण सोचबाट माथि उठेर सकेसम्म सम्पूर्ण क्रान्तिकारी तथा देशभक्त पार्टी, समूह र व्यक्तिहरूले समाजवादी मोर्चामा आवद्ध भएर संयुक्त रुपमा साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीवादी शोषण, उत्पीडन र विभेदका विरुद्ध संघर्ष गरौँ । नभए आ–आफ्ना ठाउँबाट भए पनि विरोधको निशाना अमेरिकी साम्राज्यवाद र घरेलु ललाल पुँजीवाद एकाकार भएर आएकोछ त्यसका विरुद्ध निशाना केन्द्रित गरौँ । विगतका घटनाहरुलाई आजको आँखाले हेरेर सही निष्कर्ष निक्लिँदैन र आजका समस्याहरुलाई हिजकै विधिबाट हल गर्न सकिँदैन यी दुबै कुरालाई राम्रोसँग हेक्का राख्न आवश्यक छ । आजका विकसित घटनाक्रमअनुसार अगाडि बढ्ने आँट गरौँ । अन्यथा इतिहासले हामी कसैलाई माफ गर्ने छैन ।

प्रतिक्रियाहरु