भारतको अक्षम्य गल्ती

२०८० जेष्ठ २१ गते, आईतवार

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको ‘अखण्ड भारत’ भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राख्नु घोर आपत्तिजनक र निन्दनीय कार्य हो । तसर्थ, भारतले नेपालसँग माफी माग्दै संसद भवनको अगाडि राखिएको ‘अखण्ड भारत’ भनिएको नक्सावाट नेपालको कपिलवस्तु र लुम्विनीलगायतलाई तकाल हटाउनु पर्छ । यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र राष्ट्र नेपालको भूमिलाई आफ्नो देशको नक्सामा राख्ने हस्तक्षेपकारी र अतिक्रमणकारी कार्य नसच्याए आमनेपाली जनताले संघर्षको बलमा सरकारमार्फत् उक्त हस्तक्षेपकारी र अतिक्रमणकारी कार्य तत्काल सच्याउन भारतलाई बाध्य पार्नुको बिकल्प छैन ।

हुन् त भारतले विगतदेखि नै नेपालको राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक क्षेत्रमा अतिक्रमण र हस्तक्षेप गर्दै आएको जग जाहेर नै छ । भारतले सीमावर्ती क्षेत्रमा बल मिच्याइँ गर्दा पटक–पटक नेपाले जनता प्रताडित हुनु परेको कुनै नौलो घटना होइन । बिगतदेखि नै नेपाल सरकारको लाचारीपनका कारण भारतले बेरोकतोक सीमा क्षेत्रमा आफ्नो गतिविधि अगाडि बढाउँदै आइरहेको छ । भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक निर्माण गरेका संरचनाका कारण खासगरी बर्खायाममा हजारौं नेपालीले सास्ती बेहोरिरहे पनि समस्या सुल्झाउन नेपाल सरकारबाट हालसम्म कुनै प्रभावकारी पहल हुन सकेको छैन । नेपाल पक्षबाट बेलाबेला भएका कूटनीतिक पत्राचार र ध्यानाकर्षणको पनि भारतले रद्दीको टोकरीमा मिल्काउँदै आएको छ । नेपालको २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । नेपाल भारतबीच एक हजार आठ सय ८० किलोमिटर सीमारेखा छ । त्यसमध्ये २३ जिल्लामा सीमा विवाद छ भने नेपाल–भारत सीमारेखाको ७१ स्थानमा अतिक्रमण, मिचान गरेको छ । यस्तो विवादित क्षेत्रफल ७९ हजार ६ सय ४२ हेक्टर रहेको आँकडा छ । यीमध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रमा ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लामा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित भएको छ ।

नेपालको राजनीतिक दल र तिनका नेताहरु आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ पूर्तिका लागि भारतको गुलाम बन्ने गरेकाले नै भारतको मनोबल बढ्दै गएको हो । तसर्थ, देशको अस्तित्व रक्षाको निम्ति देशका तमाम राजनीतिक दल र नेताहरु भारतीय हस्तक्षेपबिरुद्ध एकजुट भएर लाग्नु अनिवार्य भएको छ । अन्यथा भारतको हस्तक्षेप झन्–झन् बढ्दै जाने र एक दिन देशको अस्तित्व माथि नै संकट पु-याउने निश्चित छ या ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु