पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १३ जुनसम्मको जमानत

२०८० जेष्ठ २० गते, शनिबार


काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आतंकवाद विरोधी अदालत (एटीसी)ले लाहोरको कोर्प्स कमाण्डर हाउसमा भएको हमलालगायत तीनवटा मुद्दाको अग्रिम जमानत जुन १३ सम्म बढाएको छ। खान कडा सुरक्षाबीच एटीसी लाहोरमा हाजिर भएका थिए। उनले आफ्नो ज्यानमा गम्भीर खतरा रहेको अदालतमा दोहोर्‍याएका छन्। पीटीआई कार्यकर्ता जिले शाहको हत्या मुद्दामा आफ्नो जमानतको म्याद थप गर्न पीटीआई पार्टीका अध्यक्ष खान लाहोर उच्च अदालतमा उपस्थित भएका थिए। उक्त मुद्दामा उच्च अदालतले उनको जमानत जुन १३ गतेसम्म थप गरेको छ।
‘न्यायाधीश एजाज अहमद बुट्टरले जिन्ना हाउस भनेर चिनिने लाहोर कोर्प्स कमाण्डर हाउसमा भएको आक्रमणसँग सम्बन्धित मुद्दामा किन तपाईं माथि अनुसन्धानमा सामेल गराउन मिल्दैन? भनेर प्रश्न गरेका थिए,’ अदालतका एक अधिकारीले भने। तर, जवाफमा खानले आफ्नो ज्यान खतरामा रहेको मात्रै कुरा बढीमा जोड दिएकाे ती अधिकारीले बताए।
खानले अन्वेषकहरूलाई भिडियो लिंकमार्फत अनुसन्धानमा सामेल हुन अनुमति दिन अनुरोध गरेका थिए, जसलाई अदालतले अस्वीकार गरेको छ। यद्यपि, न्यायाधीशले उनलाई अनुसन्धानमा सामेल हुन निर्देशन दिए र उनको जमानत जुन १३ सम्म लम्ब्याइयो छ।

प्रतिक्रियाहरु