राष्ट्रपति पौडेलद्वारा नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

२०८० जेष्ठ १७ गते, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन । तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले रोकेको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेललेअघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका हुन् ।
सो विधेयकमा केही प्रश्न उठाउँदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकि थिइन् । संसदका दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १५ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै भण्डारीले संसद्लाई फिर्ता पठाएकि थिइन् ।


विधेयकका मुख्य विषय ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भन्ने उल्लेख छ । विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।
यस्तै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने लगायतका प्रावधान विधेयकमा छन् ।
साउनमा फिर्ता भएको विधेयक पछि दुवै सदनले दोस्रो पटक हुबहु पारित गरेर गत वर्ष भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले त्यसलाई रोकेर राख्नुभएको थियो । त्यही विधेयक ९ महिनापछि प्रमाणीकरण भएको हो ।
प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमण जानु अघि यो बिधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रियाहरु