कामीरिता शेर्पाद्वारा २८ औं पटक सगरमाथा आरोहण

२०८० जेष्ठ ९ गते, मंगलवार


काठमाडौं । कामीरिता शेर्पा २८ औं पटक सगरमाथाआरोहण गरेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् । उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए ।
योसँगै कामीरिताले सबैभन्दा धेरै पटक (२८ औंपटक) सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । सोलुखुम्बुको थामे गाउँका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । सबैभन्दा पहिले उनको सगरमाथा आरोहण यात्रा १९९२ मा सपोर्ट स्टाफको रुपमा सुरु भएको थियो । हालसम्म उनले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्से लगायतका हिमाल समेत आरोहण गरिसकेका छन् ।

प्रतिक्रियाहरु