बद्लिएको मौसम र चिचिङ्गुटेहरु

२०८० जेष्ठ १ गते, सोमबार
सन्तोष सी (विषम)


हाम्रो गाउँठाउँमा एउटा सानो फिस्टे चरा हुन्छ । त्यो स–सानो वगालमा हिड्छ । त्यसलाई खाम ‘भाषा’मा चिचिङ्गुटे भनिन्छ । झण्डै शरीर र टाउको उत्रै उत्रै हुन्छ । त्यसले मौसम अनुसार भाका फेर्छ र रंग पनि बदल्छ । सामान्य अवस्थामा बथानमा हिड्दा एउटा भाषा बोल्छ । एउटा मौसममा जव बगालबाट छुट्टिएर जोडा जोडा हिडन थाल्छन्, त्यसबेला अर्को भाका फेर्छ । बगालबाट अलग्गिएर एक्लै हिड्ने बेला अर्कै भाषा बोल्छ । रिसाएको बेला एउटा र डराएको बेला अर्को, आफ्ना बचेराहरुलाई चराउने र बोलाउने बेला अर्कै बोल्छ । यसरी बसन्त ऋतुमा एउटा र शरद र शिशीर ऋतुमा अर्को बोल्छ । त्यो फिस्टे चराबाट हाम्रो गाउँमा विभिन्न उखान र व्यङ्ग्यहरु बनेको छन् । भाषा फेर्दै हिड्ने मान्छेलाई “चिचिङुटे” भन्ने गर्छन् । धाक जमाउने वा नहुने कुरा गर्नेलाई “चिचिङगुटे मारी बाह्र धार्नी बोसो” भनी व्यङ्ग्य गर्छन् । कसैले कुरा बदल्यो भने “चिचिङ्गुटेले भासी फे-यो” भन्छन् । चिचिङ्गुटेले भासी फे-यो भने “मौसम बदलिए छ” भन्ने बुझिन्छ ।
आजभोली नेपालमा पनि “चिचिङ्गुटेहरु”ले भाका बदलेका छन् । राजनीतिक जगत भ्रष्टाचार र घुस प्रकरणले लिएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणले राजनीतिक चर्चा पाएको छ । हिजोआज नेपालका राजनीतिक जगतमा चिचिङ्गुटेहरुले नयाँ गीत गाइरहेका छन् । राजनीतिक जगतमा पनि र सञ्चार जगतमा पनि । आजभोली सबै मिडियाहरु त्यतै ब्यस्त छन् । मिडियाहरुको पनि भाका फेरिएको छ । यसबाट कुरा बुझ्नु पर्छ कि नेपालमा राजनीतिक मौसम बदलिएको छ । मलाई भन्न मन लाग्यो यो दलाल संसदीय व्यवस्थामा घुसघोरी र भ्रष्टाचार अन्त गर्छु, भ्रष्टाचार रोक्छु र भष्टाचारीलाई ठीक गर्छु भन्नु “चिचिङ्गुटे मारी १२ धार्नी बोसो” भने जस्तै हो ।
चिचिङगुटेहरु,
– जब चुनाव आउँछ भाका फेर्छन् चिचिङ्गुटेहरु,
– जोडा जोडा मिलाउन थाल्छन् चिचिङ्गुटेहरु,
– जव चुनाव सकिन्छ भाका फेर्छन् चिचिङगुटेहरु,
– कराउन कहिल्यै छोड्दैनन् चिचिङगुटेहरु,
– मौसम अनुसार बगालमा घुम्छन् चिचिङगुटेहरु,
– मौसम अनुसार एक्लै हिड्छन् चिचिङगुटेहरु,
– अहिलेको मौसम चिचिङ्गुटेहरुको मौसम,
– अहिलेको भाका चिचिङगुटेहरुको भाका,
नेपाली जनताले हेरिरहेका छन्, देखिरहेका छन् र बुझिहेका छन् । नेपाली राजनीतिक दुनियामा एउटा राजनीतिक अध्याय सकिएको छ र अर्को अध्याय सुरु भएको संकेत यो फेरिएको भाकाले दिइरहेको छ । दुनियालाई भ्रम दिन, झिलीमिली पारेर व्यवस्था र पात्रप्रतिको जनताको वितृष्णा र घृणाभावलाई अन्त मोड्न यो चलखेल शुरु भएको छ । यो संसदीय व्यवस्थाभित्रको गेम प्लानरहरुको खेल हो ।
स्थानीय चुनाव, संघ र प्रदेशको चुनाव, गठबन्धनहरुको संघटन र विघटन तथा सरकार गठन र पुनरठन, दल अदलबदल, नागरिकता काण्ड, अद्दालती आदेश र पुनःनिर्बाचन, यी घटनाहरु पर्दा पछाडिको एउटा डिजाइनभित्रका विभिन्न स्टेपहरु हुन् । ती स्टेपहरु एक चरण पूरा भएपछि अर्को स्टेपमा जान नयाँ वातावरण सिर्जना गरिन्छ । यो बदलिएका भाकाले यहि जनाउ दिन्छ । यहाँ जो भनिन्छ त्यो गरिदैन, जो भनिदैन त्यो गरिन्छ, नेपाली संसदीय राजनीतिको विशेषता रहँदै आएको छ ।
भूटानी शरणर्थी प्रकरणको घटना धेरै अगाडिको घटना हो । उतिबेलै यो किन बाहिर ल्याएनन् ? के यो कुरा अमेरिकालाई थाहा थिएन ? के भारतलाई थाहा थिएन ? के यो युरोपियनहरुलाई थाहा थिएन ? के यो कुरा यहाँका त्यसबेलाका शासकहरुलाई थाहा थिएन ? अवश्य थियो, थियो मात्र होइन यो पनि डिजाइनभित्र गरिएको थियो, अन्जानमा हावाको तालमा गरिएको थिएन । त्यसबेलामा यो गर्न दिने पनि डिजाइनमै र योजनामै गरे र अहिले पनि यो डिजाइनमै यो प्रकरण बाहिर ल्याइएको छ ।
जस्तै एउटा ताजा उदाहारण एमसीसीलाई नै हेरौं – एमसीसीको डिजाइन र प्रोसेस सन १९९६ देखि शुरु गरेको २०२१ मा आएर मात्र एक्सपोज भयो । पछि थाहा भयो कि यो सरकारमा बस्ने र प्रतिपक्षमा बस्ने निश्चित अधिकारीहरु सबैलाई थाहा थियो तर यसलाई बाहिर ल्याइएन, निकै गोप्य रुपमा यो डिजाइन र प्रोसेस चालियो । थाहा भएकाहरु थाहा पाउँदा पाउँदै पनि तैं चुप मै चुप बसे जवसम्म स्वार्थ मिलेको थियो । जव स्वार्थ मिलेन तव एक्सपोज भयो । यो उनीहरु आफै बाहिर ल्याउन बाध्य हुन्छन् । त्यसपछि टालटुल पारेर आफै मिलाउँछन् । “बोक्सी पनि आफै झाँकृ पनि आफै” बन्छन् साम्राज्यवादीहरु । यो साम्राज्यावादको खेल हो । साम्राज्यवादको खेल अदृश्य हुन्छ । पर्दा पछाडि निकै डरलाग्दा षड्यन्त्रहरु हुन्छन् । ठूलठूला खतरनाक डिजाइनहरु बुनिन्छ र त्यो घटना भएपछि मात्र थाहा हुन्छ । एउटा मजबुत सुरक्षा घेराभित्र बसेको बीरेन्द्रको बंशनाश गर्ने डिजाइन र षड्यन्त्र हुँदा समेत राजा र उनका संयन्त्रले थाहा पाउँदैन भने सामान्य जनताले त झन थाहा पाउने कुरै छैन ।
गाउँघरमा एउटा कहावत छ – “मैले पिटे जस्तो गर्छु तँ रोए जस्तो गर्नु” बाठो घरपतिले घर आएको पाहुना भगाउने जुक्ती गरे । तर आजकालका पाहुना पनि बाठै भएका छन् । पाहुना घर पस्न जाँदा श्रीमान श्रीमतिले कुटाकुट रुवावासी गरेको देखेपछि पाहुना फरक्क फर्केर निस्के । पाहुना गएपछि लोग्ने स्वास्नीले आपसमा हाँस्दै खुशी प्रकट गर्दै भन्न लागे मैले कस्तो कुटे जस्तो गरें है, स्वास्नी भन्छिन् अँ म पनि कस्तो रोए झैं गरें है । यतिनै बेला पाहुना टुप्लुक्क भित्र पस्दै भने हजुर म पनि कस्तो गए जस्तो गरें है । नेपालको राजनीति पनि यस्तै हो । हेरौ यो भ्रष्टाचार विरोधी सरकारी कदमको आदि र अन्त्यको कथा, कहाँ गएर टुँगिन्छ । भ्रष्टाचारको अन्त्य गर्नु पर्छ र भ्रष्टाचार गर्नेलाई कडाभन्दा कडा सजाय दिनु पर्छ, यसमा सायद कसैले विरोध गर्दैनन् होला ।
नेपालका सिण्डीकेटवाला राजनीतिक दल भनेका काँग्रेस, एमाले, माओवादी, मधेशवादी दलहरु हुन् । यसमा एउटा डिजाइनमा रास्वपालाई पनि अगाडि ल्याइएको छ । कहाँसम्म जान्छ हेर्न बाँकी छ । यो नयाँ पार्टी र पुराना पार्टीहरु बदनाम हुँदै जनतामा नाङ्गिदै गएपछि तिनका विकल्पमा विदेशीहरुले अगाडि सारेका वा खडा गरेका प्रायोजित (Designed) पार्टी हो । बाँकी अन्य साना कम्युनिस्ट वा गैरकम्युनिस्ट समुहहरु यिनका “चेपुवा” पार्टी हुन् जो ठूला पार्टी वा दलहरुका सहयोगी दल हुन् । रास्वपा पनि चौथो ठूलो दलको रुपमा एउटा चेपुवा पार्टीकै रुपमा खडा छ । यो वार्गेनिङ्ग पावरसहितको चेपुवा पार्टी बनेको छ । यहाँ “चेपुवा पार्टी” भन्नुको अर्थ ठूला सिण्डीकेटवाला दलहरुलाई बीचमा वा तलमाथि दायाँवायाँ बसेर मिलाउने “चेपुवा” बन्ने पार्टी हुन् । ठूला सरकार बनाउने हैसियत राख्ने तर अरुको सपोटमा बनाउने खालका पार्टीहरुको बीचमा बसेर पूर्णता दिने चेपिएका पार्टी हुन् जसले गारो हाल्दा दुई वा तीन ठूला तर आपसमा नमिलेका ढुङ्गाहरुलाई आफु चेपुवा बनेर मिलाउने गर्दछ । यसैलाई चेपुवा पार्टी भनेको हुँ । यस्ता चेपुवाको काम गर्नेहरु गठबन्धन बनाउँदा २-४ मत नपुगेमा तिनले सरकार बनाउने सहयोग पुर्याउछन् । त्यसैले तिनको पनि भाउ बढ्छ, संसदीय व्यवस्थामा ।
अहिलेको सरकारमा ठूला दल भनेका काँग्रेस र एमाले हुन् । उनीहरुको सरकार बनाउने जनमत छैन । त्यसैले माके ती दुईमा जतापनि मिल्ने चेपुवा पार्टी हो । यसपछि रास्वपा, एस, राप्रपा, जसपा, लोसपा, जनमत, मसाल आदि सबै चेपुवा पार्टीहरु आफूहरु जता सजिलो हुन्छ त्यतै चेपुवा बन्छन् । अहिले काँग्रेस, माकेमा एस थप्दा पनि सरकार नपुग्दा अन्य मधेशवादी दलहरुलाई चेपुवा राखेर गठबन्धनको धार्नी पुर्याउन सकेका छन् । त्यसैले एउटा चेपुवा निस्कने वितिकै पर्खाल हल्लन र ढल्न थाल्छ । ठूला ढुङ्गाहरु आपसमा ठोकिन थाल्छन् त्यसैले यिनीहरु बढो होशियारी पूर्वक भाका मिलाउँ्छन् , बर्षा यामका करिमा (झ्याउँकिरी)हरुले जस्तै । साना साना अनेक चेपुवा समुहहरु पनि आफ्नो अस्तित्वका रक्षाका कारण त्यहि झ्याउँकिरीको -याउँ-याउँमा मिसिएर भाका जोड्न बाध्य छन् । यी सबै चिचिङगुटेहरु र झ्याउँकिरीहरुको कथा संसदवादी दलहरुको अन्तरकथा हो ।
बास्तवमा गएको चुनावमा जनताले कसैलाई पनि बहुमत दिएको होइनन् । चाख लाग्दो कुरा त ३ करोड जनसंख्यामा दुई करोडभन्दा बढी बालिक मत थियो । जसमा मुश्किलले १ करोड ८० लाखले मात्र मतदाता नामावलीमा नाम चडाए । नाम चढेकामध्ये पनि १ करोड ९ लाखले मात्र मतदान गरे । ७१ लाखभन्दा बढीले भोटै दिएनन् । भोट दिएका १ करोड ९ लाखमा पनि ५ लाख मत रद्द (बदर) भए । जम्मा १ करोड ४ लाख मात्र सदर मत ठहरियो । त्यो सदर मतमा पनि समानुपातिकमा करीव १२ लाख र प्रत्यक्षमा त २०–२५ लाख मत रवि (रास्वपा)तिर डाइभर्ट भयो । यसको कारण पनि बाद्यकारी अवस्थामा नराम्रोमध्यको नयाँलाई रोज्नु पर्ने बाध्यता थियो । यसरी हेर्दा खसेको मत १ करोड पनि छैन । बाँकी मतहरु पनि विदेश बसेका, मरेका अनुपस्थितहरुको नाममा खसेको छ । पैसामा भोट किनिएका छन् । एउटा मतलाई ५०० देखि १० हजारसम्म परेको छ । यसरी अल्पमतले दिएको मत परिणाम पनि कसैलाई पनि कसैलाई बहुमत प्राप्त छैन । एउटा पार्टीलाई त पुगेन गठबन्धनलाई नै साधारण बहुमत नपुग्ने गरी जनताले आफ्नो असन्तुष्टि र विरोध जाहेर गरे । जनताको यत्रो ठूला संख्याले चुनावमा भागै लिएन वा विविध रुपमा बहिस्कार र खारेज गर्दै चुनावी विद्रोह गरेका छन् । यो भनेको व्यवस्थाप्रतिको घृणा, वितृष्णा र असन्तुष्टि हो । नेता र पात्रहरुप्रतिको अविश्वास र बहिस्कार हो । यो थाहा पाएका राजनीतिक दलहरु आफ्नो खुस्केको लगौंटी सम्हाल्न धौ भएको छ । अझ त्योभन्दा ठूला चिन्ता आफ्ना दलालहरुप्रतिको जनताको घृणा र बहिस्कारको भावना कतै कम्युनिस्टतिर नढल्कियोस र समाजवादी व्यवस्थालाई फाइदा पुग्न नजाओस भन्नका लागि जनताको ध्यान यहि व्यवस्था, दल र नेताहरुबाटै संभव छ भन्ने देखाउन र खुस्केको धोती सम्हाल्न भ्रष्टाचार र घुस काण्डको मुद्दालाई हाइलाइट गरिएको छ । त्यो पनि सुरु कम्युनिस्टहरुबाट सुरु गरियो । लहरो तान्दा पहरो गर्जियो भने जस्तै यसले काँग्रेसका नेता र नेतापत्नीसम्म पुगेको छ । यो कहाँ गएर टुंगिएला अनुमान गर्न सकिन्छ । यो अन्तमा गएर कम्युनिस्टबाट सुरु गरेर कम्युनिस्टमै टुंग्याउने र सरकारमा फेरबदल गरेर नयाँ जोगीहरुलाई कुर्चिमा ल्याउने खेलोमेलो हुन सक्छ । वासिंगटन के सोंच्छ, दिल्ली र लण्डनहरु के सोचिरहेकाछन् । त्यसमा निर्भर रहन्छ । यो प्रयासकै रुपमा अहिले भाका फेरी फेरी नक्कली भूटानी शरणार्थीको गीत गाई रहेकाछन् । भोली के के गीत गाउने हुन् । गाउँदै जाँदा क्यान्टोनमेन्टसम्म पुगाउन पनि सक्छन् । गएको चुनावी परिणामले संसदवादी चिचिङगुटेहरुलाई यो गीत गाउन बाध्य बनायो । यिनीहरुलाई यो स्थितिमा ल्याउने भूमिका जनताको चुनावी विद्रोह हो । यो जनताको असन्तुष्टि र व्यवस्था र संसदवादी नेताप्रतिको घृणा र बहिस्कारको परिणाम हो । त्यसैले जनताको थप विद्रोह र असन्तुष्टिहरु रोक्न र अन्य संभावित विद्रोहहरुलाई ओझेल पार्न उनीहरुले योजनामै यो लोकप्रिय नारा र कदम चालेका हुन् भन्ने कुरामा भम्र नपरौं । तर यो व्यवस्थामा यो कदम किन असंभव छ भने यो सारा समस्या नै यो व्यवस्थाका कारण उत्पन्न भएको हो र यो व्यस्था रहुन्जेल यो भ्रष्टाचार पनि रोकिदैन, घुस पनि रोकिदैन र यस्ता फेरीफेरी गीत गाउने चिचिङगुटे भाकाहरु पनि रोकिदैनन् । मौसमी झ्याउकिरीहरु पनि जन्मिरहन्छन् र हल्ला गरिरहन्छन् जवसम्म वैज्ञानिक समाजवाद आउँदैन ।
जहाँसम्म मुद्दाको कुरा छ, भ्रष्टाचारको मुद्दा अहिलेको सवैको ध्यान आकृष्ट गर्ने मुद्दा हो । भ्रष्टाचार कसैले मन राउँदैनन् तर यो व्यवस्थामा कर्मचारी र संसदीय दलका नेताहरु यो गर्न लाचार पनि छन् । यो कुरा सत्य हो कि भ्रष्टाचारको अन्त नहुँदासम्म न देश उभो लाग्छ न जनताको अवस्था नै फेरिन्छ । यो बुझि राखे भयो । तर भ्रष्टाचारको अन्त कसरी हुन्छ ? यो मुख्य कुरा हो । यो एक दुई जनालाई कार्बाही गरेर अन्त हुँदैन । फेरी अर्कोले गरिहाल्छ । किन कि भ्रष्टाचार गर्ने र उत्पँन्न गर्ने र हुने श्रोतको अन्त भएको छन् । भ्रष्टाचारी नामको बोट बचाइराख्ने हो भने भ्रष्टाचार त फलिरहन्छ । एउटा हाँगो काटेर फोेर फल्न छोड्दैन । अर्को हाँगोमा त फलि नै रहन्छ नी । छासेको हाँगोमा झन राम्रो र धेरै हाँगाहरु पलाएर आउँछन् । त्यसकारण यसको बोट सुकाउने वा विरुवा नै बदल्ने जुक्ती राम्रो हो । यसो झट्टै भ्रष्टाचारको विरोध गर्नु, घुस र सुदको अन्त गर्नु एकदम जायज र सकारात्मक कुरा हो । हामी पनि यहि चाहान्छौं । यसका विरुद्ध उठ््ने कुनै पनि संस्थागत वा व्यक्तिगत रुपले गरिने संघर्ष र आन्दोलनको हामी समर्थन गर्छौं, समर्थनमात्र होइन, सहकार्य गर्छौं र साथ सहयोग पनि गर्छौंं किन कि नेपाल र नेपालीको लागि भ्रष्टाचार र घुस, नेकपाका महासचिव कमरेड बिप्लवले भन्नु भएजस्तै “सरुवा क्यान्सर” जस्तै भएको छ । यो कार्य इमान्दार राजनैतिककर्मीहरुका लागि “हद दर्जाको अनैतिक कार्य” हो । यसले “देशलाई भित्रभित्र धमिराले खाए जस्तो खोक्रो बनाउँछ । यसका विरुद्ध केवल केही नेता, केही पार्टी र राज्य मात्र लडेर पनि पुग्दैन, जनता मात्र लडेर पनि पुग्दैन सबै मिलेर लड्नु पर्छ ।” फेरी पनि दोहो¥याएर भन्न चाहान्छु जति लडे पनि यो व्यवस्था रहुन्जेल भ्रष्टाचार रोकिदैन । यो झनझन बढेर जान्छ । त्यसैले यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकीकृत जनक्रान्ति नै अहिलेको मूल बाटो हो । भ्रष्टाचार, कमिशन, घुस, सुद्, तस्करी, कालोबजारी, माफियातन्त्र, मीटरव्याजी, चत्रबृद्धि ब्याज, बेरोजगार, बेतिथि, बिकृति, विसंगति, हिँसा, अशान्ति, भोकमरी, आवारागर्दी, लागु औषध बेचविखन र ओसारपसार, चेलीवेटी बेचविखन, बलात्कार र व्यभिचार यी सब यो दलाल संसदीय व्यवस्थाका अनिवार्य उपज हुन् । यो व्यवस्था रहुन्जेल यी रोकिदैनन् । जति कारवाही गरे पनि व्यवस्थाले अर्को तरिकाले यसको संरक्षण गरिरहेको हुन्छ । यसको परिणाम राजनीतिमा पनि विकृति, किनबेच, रकमी चुनाव (चुनावमा पैसाको चलखेल), साँसदहरुको खशीबोका भन्दा सस्तोमा खरिदविक्री हुनु, पार्टीहरु संस्थागत रुपले खरिद विक्री हुनु, स्थायी सत्ताका प्रमुखहरु नै खरिदविक्रीका साधन बन्नु, उनीहरुबाटै भ्रष्टाचार, घुस, कमिशन र चलखेल सुरु हुनु यी सबै व्यवस्थाकै करण हो । त्यसैले कसैलाई कार्बाही गरेर यो भ्रष्टाचार रोकिने पनि होइन र रोकिदैन पनि । जस्तो कि एउटा व्यक्तिलाई भ्रष्टाचारमा ५ बर्ष कैद गरियो, अर्कोलाई चोरी केशमा ३ बर्ष जेल कोचियो । अर्कोलाई ज्यानमारामा दश बर्ष जेल कोचियो । अर्कोलाई घुस खाएको केशमा २ बर्ष जेल हालियो तर ती सबैले कानूनी प्रक्रिया पार गरेर निस्कन्छन् । अझ न्यायधिश, वकिलहरुले नै पैसा खाएर तिनलाई सजाय मिनाहा गरिदिने र निकाल्ने गर्छन्् । राजनीतिक नेताहरुले कानून नै बदलेर यसलाई संस्थागत बनाउँछन् । तिनीहरु बाहिर निस्कँदा न तिनीहरु आव त्यो अपराधबाट प्रायश्चित गरेका हुन्छन् न बाहिर समाजमा र राज्ययन्त्रमा ती सबै अपराधका महलहरुको अन्त भएको ्रहुन्छ । ती निरन्तर चलिरहेकै हुन्छन् र पैसा खाने जुक्ती र महलमा परिनत भएका हुन्छन् ।। अनि विद्रोह रोक्यो त जेलनेल र कानूनले ? यसैले यसको एकमात्र समाधान भ्रष्टाचार, घुस खाने, सुद लिने, चोरी डकैटी गर्ने र हिँसा गर्ने वातावरणकै अन्त गर्नु हो । राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, जातीय, क्षेत्रीय, लिङ्गीय तथा मनोवैज्ञानिक विभेद र असमानताहरुको अन्त गर्नु हो । यसको लागि अझै नेपालमा एउटा क्रान्ति जरुरी छ । त्यो एकीकृत जनक्रान्ति हो । किन कि नेपाली समाज र नेपाली जनतामा एउटा भयंकर महारोग लागेको छ । त्यसमा एउटामात्र रोग लागेको छैन । सबै रोगले ग्रसित छ । एकीकृत रोग (Combined Disease) लागेको छ देशलाई माथि भनेका सबै क्षेत्र रोगले ग्रसित भएर नै सामान्य सुधारवादी वा अंशअंशमा गरिने उपचारले पुग्दैन भनेको हो । त्यसको निवारण वा अन्त्य सामान्य सुधारवादी बाटोबाट संभवै छैन । त्यसैले आमूल पविर्तन आवश्यक छ । एक पटक सबैले छात्ती मिचेर भएपनि यो आँट गरौं कि देश जनतालाई साक्षी राखेर सबै नेपालीहरु प्रण गरौं यो रोगको अन्त्य गर्न सकिन्छ, संभव छ । नेपाललाई बदल्न सकिन्छ तर चिचिङगुटे भाकाबाट यो संभव छैन र हुँदैन ।
अन्तमा “लुतो”लाई कन्याएर मजा लिनुभन्दा यसको उपचार गर्ने तर्फ लागौं । यो नै हामी सबैको हीतमा छ । अहिलेको बदलिएको मौसम गएको चुनावी चक्रवातका कारण उत्पन्न सामान्य मौसमी बदलाव मात्र हो । क्रान्तिको सुनामी आउनु पर्छ साँच्चैको भ्रष्टाचारको अन्त गर्नलाई । यसको लागि बाहिय र आन्तरिक स्वाधिनताको समस्या हल गर्ने तर्फ सबैले सोचौं । बाहिय स्वाधिनता राष्ट्रिय स्वाधिनताको समस्या हो जो बाहिय साम्राज्यवादी हस्तक्षेपबाट पैदा भएको समस्या हो र दोस्रो आन्तरिक स्वाधिनताको समस्या हो जो देशको दलाल पुँजीवादी राज्य व्यवस्थाका कारण उत्पन्न समस्या हो । यो व्यवस्थापकीय समस्या हो र प्रणाली (System)को समस्या हो । यसैको कारणले भ्रष्टाचार मौलाएको हो । विदेशी साम्राज्यवादी पुँजीले यसको संरक्षण र प्रोत्साहन पाएको हो । अहिलेको भ्रष्टाचार विरोधी हल्लाखल्ली आन्तरिक र बाहिय दुबैसंग गाँसिएको छ । बाहिय गुरुयोजना र भित्री कार्यान्वयनसंग यो घटना जोडिएको छ । जे होस, जुनसुकै रुपमा भएपनि सरकारले यति गर्ने आँट गर्नु र कदम चाल्नुलाई सकारात्मक नै ठान्नु पर्छ । उठाएको कदमलाई पार लगाउन पनि आँट गर्नु पर्छ ? यसलाई बीचमा फेरी सत्ता र कुर्चीको बार्गेनिङ र संझौतामा टुगाइनु हुँदैन । घुस र भष्टाचार प्रकरणबाट पद र कुर्ची प्रकरणमा नजाओस सचेत बनाउन चाहान्छु । आशा गरौं सरकार आफ्नो कदममा सफल रहोस । यहि शुभकामना ।

प्रतिक्रियाहरु