कम्युनिष्ट पार्टीमा पार्टी एकताको सवाल

२०८० बैशाख २४ गते, आईतवार

डा. केशव देवकोटा

नेपालमा गतसाता बैशाख १८ गते अन्तर्राष्ट्रिय मजदूर दिवशको अवसर पारेर नेकपालगायतका केही कम्युनिष्ट पार्टीहरुका बीचमा पार्टी एकता भयो । नेपालमा दुई दर्जनभन्दा बढी कम्युनिष्ट नामधारी पार्टी रहेको अवस्थामा एकादुई कम्युनिष्ट पार्टीकाबीचमा पार्टी एकता भएको कुराले खासै चर्चा पाएन र जनतामा त्यसको कुनै प्रतिक्रिया रहेको पनि देखिएन । यसलाई पनि बिभिन्न कम्युनिष्ट पार्टीका नेताहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने देखिएको छ । कम्युनिष्ट पार्टी भनेको पहिलो माक्र्सवादी सिद्धान्तअनुसार चल्नुपर्ने पार्टी हो । कम्युनिष्टहरुलाई निर्देशन गर्ने प्रमुख आधार माक्र्सवाद, लेनिवाद हो । पछिल्लो समयमा नेपालका कम्युनिष्टहरुले माओ विचारधारालाई पनि थपेका थिए । तर त्यसअनुसारको आचरण नगरेका कारण माओ विचारधाराको कुनै अर्थ देखिएको छैन । माक्र्सवादका आधारभूत सिद्धान्त, मूल्य, मान्यता र आदर्शहरु रहेका छन् । त्यसैले कम्युनिष्ट पार्टी भनिनका लागि त्योअनुसार चलेको पार्टी होकि होइन भन्ने कुरा पहिलो निक्र्योल हुनुपर्छ । दोश्रो कम्युनिष्ट पार्टी भनेको मजदूरहरुको पार्टी हो । जसको सोच्ने र विचार गर्ने दृष्टिकोण सर्बहारावादी हुनुपर्दछ अर्थात् जनपक्षीय हुनुपर्दछ । कम्युनिष्ट पार्टी मजदूर संगठनहरुको विकसित रुप हो भनेपनि हुन्छ । किनकि कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दा पहिलेनै मजदुर संगठनहरुको स्थापना भएको थियो । मजदुर संगठन स्थापना हुनुभन्दा पहिले बिभिन्न मजदूर सहयोगी समूहहरुको स्थापना भएको थियो । जसले मजदुर संगठनहरुको निर्माणका लागि पूर्वाधारको काम गरेका थिए । उद्योग र कल कारखानाहरुको विकास भएपछि मजदुरहरुले त्यसलाई ब्यवस्थित गर्ने र आपूmहरुको अस्थित्व स्थापनागर्ने माग गरेका थिए । जसका कारण बिभिन्न ट्रेड यूनियनहरुको जन्म हुनपुगेको थियो । नेपालमा यतिबेला उद्योग÷कलकारखानाहरु क्रमशः बन्द हुँदै गएको अवस्था छभने कम्युनिष्ट पार्टीहरुले पनि आफ्नो लिक छाडेको अवस्था छ । त्यसैले यहाँका कम्युनिष्ट पार्टीहरु गरिव किसानको झपडीमा नपुगी सुख्खै छैन । आज पनि देशका बिभिन्न भागमा मिटरब्याज पीडित र हरवा–चरवालगायत आआफ्नो किसिमले आन्दोलित छन् । बेलाबखत आउने सरकारहरुले कमलरी र कमैयालाई मुक्त गरेको, बाली प्रथाको अन्य गरेको भनेपनि ति सबै घोषणामै सीमित रहेका छन् । जसलाई नेपालका कुनैपनि कम्युनिष्ट पार्टीले आफ्नो पार्टी संगठन, राजनीति र आन्दोलनमा समेट्न सकिरहेका छैनन् । नेपालको कम्युनिष्ट आन्दोलन शुरुदेखि हालसम्मनै छिटफुट घटना बाहेक गम्भीर ढंगले राजनीतिक अभ्यासमा लागेको देखिएको छैन ।

मूलतः यहाँको कम्युनिष्ट पार्टीमा दुईथरी धारहरु देखिएका छन् । कम्युनिष्ट पार्टीको गठन गर्नासाथ केहीले बल प्रयोगलाई प्रमुखता दिने र केहीले सत्तामा जाने कुरालाई प्रमुखता दिने गरेको देखिंदै आएको छ । तर ति दुबै कुराहरु जनतासँग जोडिन सकिरहेका छैनन् । त्यसैले त्यसले देश र जनताका लागि कुनै उपलब्धी पनि दिन सकिरहेको छैन । दुबै उपायको प्रयोग गरेर केही ब्यक्ति र समूहहरुले ब्यक्तिगत लाभ हाँशिल गरेका छन् । पछिल्लो समयमा कम्युनिष्टका नाममा चर्चा कमाएका केही पार्टी र नेताहरुले राष्ट्रियरुपमा सामन्तवादको नाइके पार्टी नेपाली कांग्रेस र अन्तर्राष्ट्रियरुपमा खुलेयाम भारत र अमेरिकासँग सहकार्य थालेका छन् । जसलेगर्दा कांग्रेस र कम्युनिष्ट एकै हुन्भन्ने भ्रम बढ्दैगएको छ । सही कम्युनिष्ट पार्टी भनिएकाहरुले पनि ति छद्मभोषि र धोखेबाजहरुको भ्रमलाई चिरेर अगाडि बढ्न सकिरहेका छैनन् । बरु कतिपय अवस्थामा सही कम्युनिष्ट भनिएकाहरु पनि छद्मभेषिकै वरिपरी घुमिरहेको देखिन थालेको छ । यो वा त्यो बहानामा उनीहरु पनि कम्युनिष्ट विरोधी शक्तिको निकट पुगेको देखिन थालेको छ । सत्तामा पुगेर सुधारका माध्यमबाट जनसेवाका काम पनि नगर्ने र सत्ता बाहिर रहेर आआफ्नो विधान र विचार अनुसारको काम पनि नगर्ने प्रबृत्तिलेगर्दा देशको समग्र राजनीतिनै फोहरी खेलमा परिणत हुँदैगएको छ । सामान्य आन्दोलनले मात्र शोषित पीडितहरुको माग पूरा नहुने भएपछि राज्यसत्ता कब्जागर्नका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तर हाल आएर कम्युनिष्ट पार्टीका नाममा राज्य सत्ता कब्जागर्ने र त्यसैको दुरुपयोग गरेर आआफ्नो निहीत सवार्थ पूरा गर्ने÷गराउने अभियान चलेको छ । कम्युनिष्ट पार्टी निर्माणका लागि मुख्य सैद्धान्तिक आधार कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई मानिन्छ । तर नेपालका पार्टीहरुले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय घोषणापत्रको त के कुरा आफ्नै विधान र राजनीतिक प्रतिवेदनकोसमेत ख्यालगर्न छाडेका छन् । यतिबेला खासगरी नेपालका सन्दर्भमा कम्युनिष्ट पार्टीहरुका यति बिकृति र बिसंगतिहरु बढेका छन् कि अब उनीहरु आफ्नै पंत्तिका बिकृतिका कारण हल न चलको अवस्थामा पुगेका छन् । नेपालमा झण्डै दुईदर्जन कम्युनिष्ट पार्टी र बिभिन्न समूहहरुको जसरी स्थापना हुनपुगेको छ, त्यसैले उपरोक्त कुराको प्रमाणित गर्दछ । खासमा कुनै एउटा देशमा एउटै कम्युनिष्ट पार्टी हुनुपर्दछ । नेपालमा कम्युनिष्ट पार्टीहरुको विभाजन र जन्म पूर्वाग्रह र कार्यनीतिक सवालमा मत नमिलेर हुनेगरेको देखिएको छ । यो नै खासमा मुख्य बिकृति हो । कम्युनिष्ट पार्टीहरुले अन्तर्राष्ट्रियरुपमा गरेको अभ्यास भनेको पार्टी प्रणालीअनुसार काम गर्ने, बहुमतको निर्णय मान्ने र अल्पमतको कदरगर्ने भन्ने हो । तर नेपालमा अल्पमतमा पर्नासाथ अर्को पार्टी गठन गरिहाल्ने अथवा नेताहरुबीचको पूर्वाग्रहका आधारमा नयाँ पार्टी स्थापना गरेर कम्युनिष्ट पार्टीले कम्युनिष्ट पार्टीकै विरोधगर्ने परंपरा बढेर गएको छ ।

एउटै पार्टीबाट केही वर्ष अघि पूर्वाग्रहका आधारमा फुटेर गएकाहरु केही वर्षपछि पार्टी सञ्चालन गर्न नसकेर फेरी मिसिन आउँछन् भने त्यो कसरी पार्टी एकता भयो ? त्यसैगरी कुनै एउटा पार्टीले कारवाही गरेर पार्टीबाट निकाल्ने वा सदस्यता निलम्बन गर्नासाथ अर्को पार्टीले लिने प्रबृत्तिले पनि नेपालको कम्युनिष्ट पार्टीमा ठूलो बिकृत्ति खडा गरेको छ । यस्ता ‘आयाराम गयाराम’ प्रबृत्तिले नेपालका पार्टीहरुको विकास हुन नसकेको हो । पार्टीमा निरन्तररुपमा शुद्धिकरण आन्दोलन सञ्चालन गर्नुपर्नेमा बिकृत बनाउने अभियानहरु सञ्चालन हुने गरेका छन् । नेपालका कतिपय कम्युनिष्ट पार्टीका सदस्यहरुले त कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय घोषणापत्रसमेत नपढेको अवस्था पनि छ । खासमा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय घोषणापत्रलाई आत्मसात गर्ने हो भने बेग्लाबेग्लै कम्युनिष्ट पार्टीहरु बनाउनै नहुने हो । कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रियवादी समेत भएका कारण कम्युनिष्ट अन्तर्राष्ट्रियको नीति निर्देशन र नियमअनुसार सञ्चालन हुनुपर्ने हो । तर नेपालमा पछिल्लो समयमा खासगरी संयुक्त राष्ट्रसंघको नीति निर्देशनअनुसार चल्ने कम्युनिष्ट नामधारी पार्टीहरु पनि देखिएका छन् । ०६३ को परिवर्तनका उपलब्धीभन्दै ०७२ को संविधानमा संघीयता, जातीय समाबेशी, लिङ्गिय आरक्षणलगायतका जे जस्ता कुराहरु समाबेश गरिएका छन् । ति सबै बिश्व साम्राज्यवादका फुटाउ र शासन गरभन्ने नीतिअन्तर्गतका कुराहरु हुन । जसलाई चीनको कम्युनिष्ट पार्टीलेसमेत मानेको छैन । तर नेपालका कतिपय कम्युनिष्ट पार्टीले त्यसैलाई शिरोधार्य गरेर र मूलमन्त्र बनाएर अगाडि बढेको देखिएको छ । त्यसैले उनीहरु कुनै न कुनैरुपमा शक्ति राष्ट्रको नजिक पुगेर उनीहरुकै खेतालाकारुपमा काम गरिरहेका छन् । त्यसैले उनीहरुका लागि कांग्रेस र कम्युनिष्टकाबीचमा पनि कुनै भेद रहेको छैन ।

पछिल्लो समयमा नेपालका कम्युनिष्ट पार्टीहरुका बीचमा समाजवादलाई रणनीतिक उद्देश्य मान्ने कि नयाँ जनवादलाई ? संसदीय निर्वाचनलाई उपयोग गर्नेकि बहिष्कार गर्ने ? संघर्षको मूलस्वरुप शान्तिपूर्ण जनसंघर्ष हुने कि सशस्त्र संघर्ष ? जस्ता कुराले पनि विभाजन आएको देखिएको छ । यसका साथै कतिपय नेताहरुको ब्यक्तिगत झैझगडा, इबी, रातारात आपूm नेता बन्ने महत्वाकांक्षा जस्ता कुराले पनि नेपालका कम्युनिष्ट पार्टीहरु विभाजन भएको देखिएको छ । पछिल्लो समयमा नेपालका केही कम्युनिष्ट पार्टीका नेताहरुले देखाएको चरम अवसरवादले त पार्टीहरुलाई जनताका माझमा अविश्वसनीय बनाउने काम गरेको छ । नारा क्रान्तिकारी तर चरित्र सर्बसत्तावादी भएका कारणले पनि नेपालको कम्युनिष्ट आन्दोलानलाई हालको जस्तो रक्षात्मक अवस्थामा पु¥याएको हो । त्यसैले सच्चा कम्युनिष्ट पार्टीका लागि आफैभित्रको संघर्ष आजको प्रमुख बिषय हो । त्यसपछि कम्युनिष्ट पार्टीहरुबीचको संघर्षको कुरा आउँछ । अन्य बुर्जुवा र प्रतिक्रियावादीहरुसँगको संघर्ष टाढाको बिषय छ । यदि कम्युनिष्ट पार्टीलाई अन्तर्राष्ट्रिय मूल्य, मान्यता र आदर्शअनुसार संगठितगर्ने र देशको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा परिचालन गराउने हो भने सबै किसिमका बिकृति, बिसंगति र अप्ठेराहरुसँग जुझेर अगाडि बढ्न सकिने अवस्था रहन्छ । नेपालमा यतिबेला कम्युनिष्ट समूहहरुबीचको एकताभन्दा पनि आफै भित्रको एकताको आवश्यकता रहेको छ । नेपालमा एउटा राम्रो खासै कम्युनिष्ट पार्टीको आवश्यकता छ । जसको पूर्तिका लागि प्रयास थालिनु आवश्यक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु