नयाँ विश्वव्यवस्थाको अपरिहार्यता

२०७९ चैत्र १३ गते, सोमबार

          विष्णु पन्त

१. युक्रेनमा रुस–चीनविरुद्ध अमेरिका–नेटो गठबन्धन ः युक्रेनमा भइरहेको युद्ध भड्किएको छ । वास्तवमा युक्रेनमा रुसविरुद्ध ठूलो सैन्य तयारी भएको रहेछ भन्ने तथ्य आज आएर पुष्टि भएको छ । पछिल्लो पटक युक्रेन युद्धले विश्वभर धु्रवीकरण बढाएको छ । अमेरिकाले रुसी राष्ट्रपति भ्लाद्मीर पुटिनविरुद्ध अन्तर्र्राष्ट्रिय फौजदारी अदालतको माध्यमद्वारा हमला गरेको छ । युद्ध अपराधसम्बन्धी मुद्दामा आइ.सि.सी. अर्थात् अन्तर्र्राष्ट्रिय फौजदारी अदालतले पुटीनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उता रुसले त्यो आदेश र फैसलालाई खारेज गरेको छ । वास्तवमा रुस जस्तो शक्तिशाली देशका राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी गर्नु सामान्य घटना थिएन । रुसी सैन्य अधिकारीहरुले त अमेरिकाको ईशारामा चल्ने अन्तर्राष्ट्रिय फौजदारी अदालत र त्यो फैसलामा संलग्न न्यायाधीशहरुलाई बमले उडाइदिने सार्वजनिक धम्की दिइरहेका छन् । त्यो फैसलापछि राष्ट्रपति पुटिन आफैँ युक्रेनको मेरियोपोलमा गएर विरोधीहरुलाई चेतावनी दिए । राष्ट्रपति पुटिनको मेरियोपोलमा अभिव्यक्ति आत्मविश्वासमा हेर्दा अनुमान गर्न सकिन्छ कि अब छिट्टै युक्रेन रुसको कब्जामा हुनेछ । नभन्दै रुसले युक्रेनविरुद्ध सैन्य हमलालाई आक्रामक बनाएको छ । उता चिनियाँ राष्ट्रपति सिजिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता र सहमति भएको छ । आजसम्मका घटनाक्रमलाई हेर्दा, रुसले युक्रेनमा दीर्घकालिन युद्ध गर्ने र अमेरिकी तथा युरोपियन लगानीलाई युक्रेनमा ध्वस्त बनाइदिने रणनीति बनाएको थियो । पछिल्लो घटनाक्रमपछि रुस आफ्नो रणनीतिलाई परिवर्तन गरेको छ र उ अब युक्रेनलाई छिटो कब्जा गर्ने रणनीतिमा पुगेको छ । आजसम्मको रणनीति हेर्दा, युक्रेन तीन भागमा विभाजित भइसकेको छ । केही राज्यलाई स्वतन्त्र राज्य बनाई रुसले आफ्नो सेना राखेको छ र केही सहरहरु रुसको कब्जामा गइसकेका छन् । अब अन्तिम हमलामा आक्रामकरुपमा रुसी सेना युक्रेनका विभिन्न राज्यमा पुगिसकेका छन् । युक्रेनी सेनामा ठूलो क्षति, विघटन र आत्मसमर्पण शुरु भइसकेको छ । अब रुसी हमलाको केन्द्रीय निशानामा युक्रेनी राष्ट्रपति जेलेन्स्की र उनको हेडक्वाटर रहेको छ ।

वास्तवमा युक्रेन युद्धमा विश्वभर दुई धु्रव खडा भएको छ । एकातर्फ अमेरिका र नेटो गठबन्धन छ भने अर्कोतर्फ रुस, चीन, इरान र उत्तरकोरिया गठबन्धन बनेको छ । धेरै सैन्य वा युद्ध विश्लेषकहरुको निष्कर्ष छ कि युक्रेनमा रुसलाई पराजित गर्न असम्भव छ । युक्रेनमा अमेरिका र नेटो गठबन्धन नराम्ररी फसिसकेको छ र अब त्यहाँबाट सकुसल निस्किन असम्भव छ । रुसको ढोकामा गएर अमेरिकी सेना लड्न सक्ने अवस्था छैन । रुसलाई जिस्क्याउनु र भड्काउनु अमेरिकाको लागि महँगो पर्न सक्छ । यो युद्धले अमेरिका र युरोपलाई अपुरणीय क्षति हुने सम्भावना बढेको छ । अमेरिका र नेटो गठबन्धनले युक्रेन युद्धलाई केही लम्ब्याउन त सक्ला तर रुसलाई हराउन सक्दैन भन्ने निष्कर्ष नै आजको वास्तविकता हो ।

युक्रेनमा अमेरिका र नेटो गठबन्धनले धेरै ठूलो युद्धको तयारी र विकास गरेको रहेछ । रुसी हमला वास्तवमै रुसको भविष्यको लागि अपरिहार्य बनेको रहेछ भन्ने रुस समर्थित विश्लेषकहरुको मत छ । वास्तवमा युक्रेन पूर्वसोभियत संघकै भूमि थियो र त्यो रुसमा गाभ्ने रुसी योजना उनीहरुका लागि स्वभाविक थियो भन्ने एउटा मत छ । उता अमेरिका र नेटो समर्थित विश्लेषकहरुको मत छ कि, ‘युक्रेन स्वतन्त्र र सार्वभौम राष्ट्र हो र उसले नेटो वा अमेरिकासँग सहकार्य गर्ने अधिकार राख्दछ ।’ रुसी विश्लेषण छ– रुसकै भूमि रुसका दुश्मनहरुसँग साँठगाँठ गरेर रुसकै विरुद्ध धावा बोल्ने कार्यलाई किमार्थ स्वीकार गर्न सकिँदैन ।

२. आर्थिक संकट र विश्वयुद्धको खतरा ः वास्तवमा आजको विश्व एउटा भीषण आर्थिक संकटको मुखमा फसिसकेको छ । अमेरिका जस्तो देशका ४ वटा बैंकहरु टाट पल्टिसके र अरु थुप्रै बैंक टाट पल्टिने क्रममा छन् । धेरै अर्थशास्त्रीहरुले चेतावनी दिएका छन् कि सन् १९७० को भन्दा पनि ठूलो आर्थिक संकट अवश्यम्भावी बनेको छ । ख्यातिप्राप्त अमेरिकी, अर्थशास्त्रीहरु र अनुसन्धानकर्ताहरुले त भविष्यवाणी गरिसकेका छन् कि अब अमेरिका र युरोपको पतन निश्चित बनेको छ । धेरैको विश्लेषण छ जब ठूला–ठूला संकटहरु आउँछन् तब युद्धको खतरा बढ्छ । त्यसकारण आज विश्वयुद्धको खतरा बढेको छ । युद्धको बीऊ युक्रेनबाट शुरु भएको छ । यो झिल्कोले विश्वलाई नै तहसनहस बनाउन बेर छैन । आज युक्रेनमा रुसविरुद्ध अमेरिका र युरोप लागेको छ । भनिन्छ, युरोप विभाजित मन लिएर युद्धमा होमिएका छन् । उता रुसले पनि सशक्त गठबन्धन बनाएको छ । रुस र चीन मिल्नासाथ बाँकी विश्व एक भए पनि सन्तुलन मिल्छ । रुस, चीन, इरान र उत्तरकोरिया अग्रमोर्चामा देखिएका छन् । उता इजरायल मामलाका कारण मुसलवान राष्ट्रहरु एक हुने अवस्थामा पुगेका छन् । पहिला अमेरिकासँग लाग्ने ठानिएको भारत अहिले रुससँगको सम्बन्धका कारण बीचमा बसेको छ । रुस, चीन र भारतबीचको सहकार्यले क्षेत्रीय शान्तिका लागि ठूलो सम्भावना बोकेको छ ।

३. कुनै पनि बेला युद्ध भड्किने खतरा ः आजको विश्वमा विकसित पछिल्ला घटनाक्रमहरुलाई नियाल्ने हो भने लाग्छ ः तेस्रो विश्वयुद्धको सुरुवात भइसकेको छ । कुनबेला कहाँ के हुन्छ त्यो भन्न सकिँदैन । युक्रेनमा त युद्धको आगो दन्किएको छ र अब यसलाई निभाउन गाह्रो छ । त्यस्तै मध्यपूर्वको वातावरण पनि अत्यन्तै प्रज्वलनशील र संवेदनशील बनेको छ । युरोप त्यस्तै भड्किएको छ । रुसले बन्द गरिदिएको इन्धन र खाद्यान्नको संकटले युरोपमा छट्पटाहट सुरु भएको छ । त्यस्तै जापान र दक्षिण कोरियाविरुद्ध उत्तरकोरिया कुनै पनि बेला युद्ध भड्किन सक्छ । भनिन्छ, जापान र दक्षिण कोरियामा पनि युक्रेनमा जस्तै अमेरिकी सैन्य तयारी भएको छ । जापानले रुसी हमलाविरुद्ध आफ्नो तयारी गरेको छ । रुसले पनि जापानको विरुद्ध हाइपरसोनिक वमहरु तैनाथ गरेको छ । कतिपय विश्लेषकहरुले भनेका छन् कि जापान यस्तो भूमि नबनाओस् जहाँ दोस्रो विश्वयुद्धको समाप्ती र तेस्रो विश्वयुद्धको सुरुवात होस् । जापाले रुस र उत्तर कोरियाबाट सुरक्षा खतराको महसुस गरेको छ ।

४. पृथ्वी र मानव जातिकै अस्तित्वको प्रश्न र चिन्ता ः सबैलाई थाहा छ, युद्धको स्वरुपलाई परिकल्पना वा पूर्वानुमान गर्न सकिँदैन । युद्धले विश्वमा ठूला–ठूला महाप्रलय र विनाश निम्त्याउन सक्छ । एक पटक महान् वैज्ञानिक अल्वर्ट आइन्सटानले भनेको भनाइ सान्दर्भिक हुन्छ, “यदि तेस्रो विश्वयुद्ध भयो भने चौथो विश्वयुद्ध ढुंगा र माटोले हुनेछ । विज्ञान र प्रविधिको विकासका कारण अवको विश्वयुद्धलाई आँकलन गर्न सकिँदैन । त्यसकारण तेस्रो विश्वयुद्ध नभड्कियोस् भन्ने आम चाहना छ ।”

५. शान्ति सम्झौताको पक्षमा चीन र भारतको नेतृत्वदायी भूमिका ः चीनका राष्ट्रपति सि जिनपिङले आफ्नो रुस र मस्को भ्रमणका क्रममा युक्रेनमा शान्ति योजनाको १२ बुँदे प्रस्तावको घोषणा गरेका छन् । वास्तवमा युक्रेन युद्धलाई रोक्ने वा समाधान गर्न मध्यस्थताको भूमिका निभाउन सक्ने मुख्य देशहरु हुन् चीन र भारत । भारतले घटनाक्रमलाई नजिकबाट निहालिरहेको र कुनै पनि पक्षमा नलाग्ने असंलग्नताको नीतिलाई अंगिकार गर्ने जनाएको छ । रुस र अमेरिकालाई मध्यस्थता गर्न सक्ने प्रचुर क्षमता चीन र भारतसँग मात्र छ । शान्तिको लागि संयुक्त राष्ट्र संघको भूमिका हेर्न बाँकी नै छ । तर, उसको विश्वसनियता र प्रभावकारितामा प्रश्नचिन्ह उठ्नु हुँदैन । अन्तर्र्राष्ट्रिय फौजदारी अदालत सुरुमै बद्नामित र विवादित बन्यो । अन्तर्राष्ट्रिय संघ संस्थाहरुले आफ्नो भूमिका र मर्यादालाई ध्यान दिन सक्नुपर्छ ।

६. नया विश्वव्यवस्थाको आवश्यकता ः वास्तवमा आजको युक्रेन युद्ध केवल अमेरिका र रुसबीचको युद्ध मात्र पनि होइन । हुन त यो को सुपरपावर वा शक्ति राष्ट्र बन्ने भन्ने लडाइ नै हो । आजको विश्वपरिस्थितिले एउटा नयाँ विश्वव्यवस्थाको माग गरेको छ । विश्व परिस्थितिको मागअनुसार शक्ति राष्ट्र अरु बदलिन जरुरी छ । आजको विश्वको मुख्य समस्या भनेकै मानव जातीको असमानता हो । सीमित अर्बपति र खर्बपति मात्र नियन्त्रण रहेको वर्तमान विश्वव्यवस्थालाई बदल्न जरुरी छ । अहिलेको विश्वव्यवस्थामा अमेरिका सुपर पावर भन्ने छ तर त्यसलाई रुस र चीनले अस्वीकार गरिसकेका छन् । त्यसकारण अव नयाँ विश्वव्यवस्थाको विकास वा परिकल्पना अवश्यम्भावी बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु