चट्याङ लागेर ३५० भेडाबाख्राको मृत्यु !

२०७९ चैत्र १२ गते, आईतवार


काठमाडौं । भारत, उत्तराखण्डको उत्तरकाशीमा शनिबार राति चट्याङ लागेर ३५० भन्दा बढी भेडाबाख्राको मृत्यु भएको छ । त्यहाँको भाटवाडी ब्लकको बारसु गाउँका तीनजना एक हजारभन्दा बढी भेडाबाख्रा लिएर ऋषिकेशबाट उत्तरकाशी जाँदै थिए । सोही राति उनीहरु डण्डा तहसीलको खातुखाल नजिक पुगे । जानकारी अनुसार उक्त अवधिमा लगातार पानी परिरहेको थियो । स्थानीय समयानुसार राति करिब ९ बजे चट्याङ परेर ३५० भन्दा बढी भेडाबाख्राको मृत्यु भएको हो । एकैसाथ यति धेरै जनावर मरेपछि गाउँमा सबैजना त्रसित छन् । घटनाबारे भाटवाडी ब्लककी प्रमुख विनीता रावतलाई जानकारी गराइएको छ ।
विनीता रावतले घटनाको बारेमा डीएम र जिल्ला प्रकोप व्यवस्थापन विभागलाई जानकारी गराइो । त्यहाँका निवासी जगमोहन रावतले घटनाको पुष्टि गरेका छन् । चट्याङका कारण यति धेरै पशुपंक्षी यसअघि कहिल्यै नमरेको उनले जानकारी गराए । डण्डाका तहसीलदार प्रतापसिंह चौहानले प्रशासन र भेटेरिनरी विभागको टोली घटनास्थलमा पुग्ने बताएका छन् । त्यसपछि मात्रै कूल क्षति र मृत्युको कारण थाहा हुनेछ । विपद् व्यवस्थापन विभागको टोलीले पनि घटनास्थलमा गएर जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउने छ ।

प्रतिक्रियाहरु