संगित अभियात्रीद्वारा बामपंथी नेताहरुलाई सुध्रिएर एकै ठाउँमा आउँन आग्रह

२०७९ चैत्र ११ गते, शनिबार


काठमाडौँ । राष्ट्रका लागि संगित अभियात्रा भन्ने मुल नाराका साथ दाङ्गको घोराहीमा भव्य सांगीतिक प्रस्तुति सम्पन्न भएको छ । घोराहीको बहुउद्देश्यीय सभाहलमा हजारौं दर्शकहरुको उपस्थितिमा शुक्रबार सम्पन्न भएको संगित अभियात्राको सांगीतिक प्रस्तुतिमा अभियात्रीहरुले बामपंथी नेताहरु सुध्रीएर एकै ठाउँमा आउनुपर्ने बताएका छन् ।
सांगीतिक प्रस्तुतिको सुरुवातमा जनवादी गीतकार तथा संगीतकार मणि थापाले धारणा राख्दै भने ‘२००७ सालदेखी अहिलेसम्म भएका परिवर्तनहरु संस्थागत हुनुपर्छ भन्ने जनवादी कलाकारहरुको मान्यता हो तर २००७ सालदेखी अहिलेसम्म बनेका सरकारहरुबाट जनवादी कलाकार सन्तुष्ट छैनन् । सत्ता चलाइरहेका र सत्ता बाहिरका राजनितिक पार्टीहरुले जसरी काम गरिरहेका छन् आधारभुत वर्ग सन्तुष्ट छैन , उनिहरुमा परिवर्तन आएको छैन । देशमा अझैपनी आर्थिक र सामाजिक रुपले परिवर्तन आएको छैन र जवसम्म आर्थिक र सामाजिक परिवर्तन हुँदैन देशमा चुनाव हुने , सरकार बन्ने , फेरिने कुराले कुनै तात्विक महत्व राख्दैन । कम्युनिस्टहरुबिचको टुट , फुट र विघटनले गर्दा जनतामा असन्तुष्टी पैदा भएको छ । आर्थिक रुपले देश टाट पल्टिदै छ , राष्ट्रियता कमजोर हुँदै छ , गणतन्त्र संस्थागत भइसकेको छैन त्यसैले अब कम्युनिस्टहरु एक ठाउमा आउनुस ।’
विप्लवको धेरै कुरा नगरौं , संगितकार थापाले थपे ‘विहिवारको पत्रकार सम्मेलनमा बोल्दै विप्लव जीको धेरै कुरा नगरौं उहाँ आफ्नो ठाउमा ठिकै हुनुहुन्छ । अन्य बामपंथी नेताहरु सुध्रिनुपर्यो र सबै एकै ठाउँमा उभिनुपर्छ। जनवादी कलाकारहरु सबै बामपंथी एकताबद्ध भएको हेर्न चाहान्छन ।’
‘टुटफुट र खण्डित कुरा नगर , आत्मसमर्पणको कुरा नगर , एक ढिक्का एकताको कुरा गर , वीरताको कुरा गर’शुक्रबार घोराहीको बहुउद्देश्यीय सभाहलमा सबै जना जनवादी कलाकारले एकै पटक यो गीत गाउँदै नेपालका वामपन्थीहरुलाई एकताबद्ध हुन अपिल गरे । नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा बदलाव नआएको भन्दै कलाकारहरुले वामपन्थीहरुलाई एक ठाउँमा उभिएर रुपान्तरणका लागि अग्रसर हुन सुझाव दिए ।
देश अब खण्डित भएर होइन, एकताका माध्यमबाट मात्रै रुपान्तरण हुन सक्छ र त्यसका लागि वामपन्थीहरु एक ठाउँमा उभिनुबाहेक अर्को विकल्प नरहेको कलाकारहरुले गीतमार्फत सन्देश दिए ।
जनवादी गायक कर्ण विद्रोहीले भने, ‘ माओवादीहरु बिचको टुटफुट , बिभाजन हाम्रा लागि दुखद् कुरा हो । उतिबेला जुन उद्देश्यका साथ हामीले संघर्ष गरेका थियौँ, अहिले केही रुपमा व्यवस्थामा परिवर्तन आए पनि गरिब, सर्वहारा वर्गहरुको अवस्थामा परिवर्तन आएन ।’
‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियानसहित मंगलबार वीरेन्द्रनगरमा प्रस्तुति दिएको जनवादी कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणि थापा, वरिष्ठ जनवादी गायक जीवन शर्मा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाख्रिन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा छन् ।
वरिष्ठ गायक जीवन शर्माले सिमली छायाँले, झरनाको चिसो पानी लगायतका गीत गाएका थिए । उनले वर्तमान अवस्थामा देशमा भ्रष्टाचार मौलाइरहेको र सहि ढंगले नचलेकोप्रति चिन्ता व्यक्त गरे ।
नेपालमा जनताको अवस्था र नेताको अवस्थामा आकाश पातालको फरक रहनु दुखद् पक्ष भएको गायक शर्माको भनाइ थियो ।
वामपन्थीहरु टुटफुटको अवस्थामा भइरहँदा जनवादी कलाकारहरु भने यतिबेला एक ठाउँमा आएका छन् ।
गीतकार मणि थापाले अब नेपालका वामपन्थीहरु सञ्चिनु बाहेक विकल्प नरहेको बताए ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य विषम सी , माओवादी केन्द्र , मसाल , राष्ट्रिय जनमोर्चा , नेकपा एमाले , नेकपा एस लगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरुको समेत सहभागिता थियो ।
सांगीतिक प्रस्तुतिलाई घोराही झिंगौराका स्थानीय थारु समुदायले झाकीसहित स्वागत गरेका थिए भने कार्यक्रमको समापनमा नेकपा दाङले सबै जनवादी श्रस्टाहरुलाइ मायाको चिनो प्रदान गरेको थियो ।

प्रतिक्रियाहरु