फिनल्यान्ड सबैभन्दा खुसी मुलुक : नेपाल ७८औँ स्थानमा

२०७९ चैत्र ६ गते, सोमबार


काठमाडौं । संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटर्वक (यूएन एसडीएसएन) ले विश्वका खुशी मुलुकहरूको सूची सार्वजनिक गरेको छ ।
सोमबार अर्थात् मार्च २० मा विश्व खुशी दिवसका अवसरमा ‘ह्याप्पिनेस’ रिपोर्ट सार्वजनिक गरिएको हो । विश्वभरका १५० भन्दा बढी देशहरूमा गरिएको सर्वेक्षणका आधारमा खुशी देशहरूको सूची तयार पारिएको छ । सूचीमा कोभिड–१९ को महामारीपछि सुधार देखिएको छ ।
“अरू व्यक्ति खासगरी अपरिचितप्रतिको परोपकार वा सहयोगी–दयाभाव सन् २०२१ मा नाटकीय रूपमा बढेको छ र यो सन् २०२२ मा पनि उच्च रहेको छ,” विश्व ह्याप्पिनेस रिपोर्टका लेखमध्येका एक जोन हेलिवेले सीएनएनसँग भनेका छन् । फेसबुकमा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । Follow मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । यो रिपोर्टले पछिल्ला तीन वर्षको जीवनयापनको मूल्यांकनका आधारमा खुसीको स्तरको स्थान तोक्ने गर्छ । यसको अर्थ सन् २०२३ को सूची २०२० देखि २०२२ सम्मको जीवनयापनको स्थितिमा निर्भर हुन्छ ।
फिनल्यान्डले लगातार छैटौँ वर्षको रिपोर्टमा सबैभन्दा खुसी देशका रूपमा पहिलो स्थान कायम गरेको छ । सूचीमा डेनमार्क, आइसल्यान्ड, स्वीडेन र नर्वेले पनि राम्रो स्थान पाएका छन् ।
सबैभन्दा कम खुसी मुलुकका रूपमा अफगानिस्तान १३७औँ स्थानमा छ । सूचीमा लेबनान १३६औँ स्थानमा छ । स्थान निर्धारणका लागि दिइने ० देखि १० मध्ये यी देशले पाँचभन्दा कम नम्बर पाएका छन् । सबैभन्दा खुसी मुलुकले १० नम्बर पाएको छ । २०२२ मा रुसले युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसैले यी दुई देशको खुसीको स्तर पनि चासोको विषय बनेको छ । यो वर्षको रिपोर्टअनुसार रुस ७०औँ र युक्रेन ९२औँ स्थानमा छ ।
विश्वका सबैभन्दा खुसी मुलुकहरूको पहिलो स्थानमा फिनल्यान्ड, दोस्रोमा डेनमार्क, तेस्रोमा आइसल्यान्ड, चौथोमा इजरायल र पाँचौँमा नेदरल्यान्ड्स छन् । स्वीडेन, नर्वे, स्वीट्जरल्यान्ड, लक्जमबर्ग र न्युजिल्यान्ड क्रमशः छैटौँदेखि दशौँ स्थानमा छन् । सूचीमा अष्ट्रेलिया १२औँ, क्यानडा १२औँ, संयुक्त राज्य अमेरिका १५औँ, बेलायत १९औँ स्थानमा छन् । भारत १२६औँ स्थानमा छ भने नेपाल ६ अंकको सुधारसहित ७८औँ स्थानमा परेको छ । सन् २०२२ को रिपोर्टअनुसार नेपाल ८४औँ स्थानमा थियो ।तर, नेपालले प्राप्त गरेको अंक गत वर्षभन्दा कम छ । गत वर्षको रिपोर्टमा नेपालले जीवनको मूल्यांकनमा ५।३७७ अंक पाएको थियो । यो वर्ष ५।३६० अंक पाएको छ । यसको अर्थ अरू देशहरूको स्थिति बढी बिग्रँदा नेपालको स्थान बढेको देखिन्छ । नेपालका छिमेकी चीन ६४औँ स्थानमा, भारत १२६औँ, बंगलादेश ११८औँ स्थानमा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु