जनयुद्धका सहिदहरूको नाम राजपत्रमा प्रकाशित

२०७९ चैत्र ४ गते, शनिबार


काठमाडौं । जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुसार नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका सहिदको विवरण राजपत्रमा प्रकाशित भएको हो । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित भएको छ ।
सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् । सबैभन्दा कम शहीद रहेको जिल्लामा भक्तपुरका ६ जना, काठमाडौंका ७ र ललितपुरका १४ जना रहेका छन् ।
यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद  घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

राजपत्रमा प्रकाशित सहिदको विवरण अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा २ हजार १६५ जना मारिएका छन् । दोस्रो, लुम्बिनी प्रदेशमा १ हजार ५६६ जना मारिएका छन् । सबैभन्दा कम मधेसमा ७०४ जना सहिद बनेका छन् । कोशी प्रदेशमा १ हजार १६७ जना, बागमतीमा १ हजार १०६, गण्डकीमा ७४४ र सुदुर पश्चिम प्रदेशका जिल्लाहरुबाट १ हजार ७ जना सहिद बनेको राजपत्रमा उल्लेख छ । राजपत्रमा नवलपरासी सुस्तापूर्व र नवलपुर दुबै जिल्लालाई एकै ठाउँमा देखाइएको हुनाले कर्णालीको तथ्यांकमा दुबै नवलपरासीको तथ्यांक जोडिएको छ । त्यस्तै रुकुमलाई पनि राजपत्रमा एकै जिल्लामा देखाइएको हुनाले गण्डकीको तथ्यांकमा दुबै जिल्लाको तथ्यांक पर्न गएको छ ।
कोशी प्रदेशमा मारिएका १ हजार १६७ जनामध्ये ताप्लेजुङ १५०, पाँचथर १०१, इलाम १००, झापा ७८, मोरङ ११५, सुनसरी ५१, संखुवासभा ९३, तेह्रथुम ५३, धनकुटा २२, भोजपुर ७८, खोटाङ ९३, सोलुखुम्बु ८४, ओखलढुंगा ८५, उदयपुर ६४ छन् ।
त्यसैगरी मधेस प्रदेशमा मारिएका ७०९ जना मध्ये सप्तरी ४२, सिराहा १२०, धनुषा १४०, महोत्तरी ४८, सर्लाही ७८, रौतहट १७८, बारा ७२ र पर्सा ३१ जना छन् । बागमती प्रदेशमा मारिएका १ हजार १०६ जनामध्ये दोलखा ११२, रामेछाप ८८, सिन्धुली १४५, काभे्रपलाञ्चोक १३५, सिन्धुपाल्चोक १८५, रसुवा १९, नुवाकोट १६३, धादिङ ६९, चितवन १०७, मकवानपुर ६३, भक्तपुर ६, ललितपुर १४ र काठमाडौं ७ जना छन् ।
गण्डकी प्रदेशबाट सहिद बनेका ७४४ मध्ये गोरखा २१५, लमजुङ ९०, तनहुँ ८०, कास्की ४८, म्याग्दी ६४, पर्वत ४१, स्याङजा ४८, बाग्लुङ १०० र नवलपरासी (दुबै) ५८ जना छन् ।
लुम्विनी प्रदेशबाट घोषित १ हजार ५६६ जना सहिदमध्ये रुपन्देही ४३, कपिलवस्तु ११९, पाल्पा ४७, अर्घाखाँची ५७, गुल्मी २३, रोल्पा ७५३, प्युठान ६९, दाङ २४५, बाँके ११० र बर्दिया १०० जना छन् । राजपत्रमा यो प्रदेशको नवलपरासी पश्चिमलाई गण्डकीको विवरणमा मिसाइएको छ ।
पहाड र हिमाली भेगमात्र समेटिएर बनेको कर्णाली प्रदेश सशस्त्र द्वन्द्वबाट धेरै क्षति व्यहोर्ने प्रदेश बन्न पुगेको छ । यस प्रदेशमा मारिएका २ हजार १६५ मध्ये रुकुम ५८४, सल्यान २२१, डोल्पा ४०, जुम्ला १७५, मुगु ६७, हुम्ला १०९, कालिकोट ४३३, जाजरकोट २१३, दैलेख १८६ र सुर्खेत १३७ जना छन् । यो तथ्यांकमा रुकुमपूर्वसमेत समेटिएको छ ।
सुदुरपश्चिम प्रदेशबाट सशस्त्र द्वन्द्व र अन्य आन्दोलनहरुमा १ हजार ७ जनाले ज्यान गुमाए । मारिने मध्ये बाजुरा १०९, बझाङ ६९, डोटी ६३, अछाम १४३, दार्चुला ५०, बैतडी ८३, डडेलधुरा ७३, कञ्चनपुर १३५ र कैलाली २८२ जना छन् ।

प्रतिक्रियाहरु