‘कम्युनिस्ट आन्दोलनमा बिघटनको प्रक्रिया अन्त्य भएर संगठनको प्रक्रिया सुरु भयो’

२०७९ चैत्र १ गते, बुधबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपालको कम्युनिस्ट आन्दोलनमा बिघटनको प्रक्रिया अन्त्य भएर संगठनको प्रक्रिया सुरु भएको ठोकुवा गरेका छन्। महासचिव विप्लव सी ले नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीबीच पार्टी एकतासम्वन्धी संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सी ले परिवर्तनकारी अग्रगामी कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियाको थालनी भएको बताउदै भने, ‘यो सुखद सुरुवात हो । हामीले यहाँबाट सुरु गरेका छौं । यो नै पूरा होइन । हामीले आज सुरु गरेका छौं। हरेक क्षेत्रमा एउटा संगठन र विघटन आउँछ । नेपालको कम्युनिष्ट आन्दोलन विघटनको उत्कर्षमा पुथ्यो। आजबाट हामीले संगठनको प्रक्रिया सुरु गर्दैछौँ ।’
महासचिव विप्लव सी ले जनताको नेतृत्व गर्ने असल कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने बताउदै भने – ‘आजबाट एउटा छलफल जरुर सुरु हुन्छ । सबै कम्युनिष्ट पार्टीहरुमा हामी अपेक्षा गर्छौं । संशोधनवादी जे भनेपनि । संसदबाटै हुन्छ भनेर एमाले र माओवादीले अभ्यास गरिरहेको छ , यो नयाँ पिढीमा एउटा बहस हुनैपर्छ । यति लामो अभ्यास संसदको गोलचक्करमा हराउने राजनीति र कम्युनिष्ट आन्दोलनले जनताको चाहनाको नेतृत्व गर्नै सक्दैन ।’
उक्त पत्रकार सम्मेलनमा बोल्दै कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष शुसिलले नेपाली क्रान्तिको नेतृत्व गर्ने जिम्मा अब विप्लवको काँधमा आएको बताएका छन। उनले भने – “हामी उहाँको साथमा छौँ ,यो के पी ओली र प्रचण्डको जस्तो एकता होइन ,हाम्रो बर्ग, आन्दोलन र देशको आबश्यकता पुरा गर्न एकताको घोषणा गरेका हौं ,हामी क्रान्तिकारी आन्दोलनका अन्य शक्ति , व्यक्ति र पात्रहरुलाई एकता गरेर एकपटक दलाल पुजीवाद विरुद्ध अन्तिम लडाइँ लड्न हामीलाई एकीकृत शक्तिको खाँचो छ। “
अध्यक्ष शुसिलले अगाडी भने-“जव रास्ट्रमा संकट पर्छ तब रास्ट्रीय एकताको आवश्यकता पर्छ,जव बर्गिय संकट पैदा हुन्छ तब बर्गिय एकताको आबश्यकता पर्छ,जव माओवादी आन्दोलनमा संकट पर्छ तब हामी माओवादीलाई एकता गर्न चाहन्छौं । “
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले मन्तव्यद्वारा स्वागत गरेको एकता सम्बन्धि पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी , स्थायी समिति सदस्यहरु शिलु सी, भरत सी केन्द्रिय सल्लाहकार दीर्घ सी लगायत नेताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेकपा स्थायी समिति सदस्य अनिल शर्माले गरेका थिए।

प्रतिक्रियाहरु