‘वर्तमान राजनीतिक संकटलाई क्रान्तिमा बदल्छौ’

२०७९ फाल्गुन २६ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनताको हातमा सत्ता नआएको र देश स्वधीन नभएको ठोकुवा गर्दै वर्तमान राजनीतिक संकटलाई क्रान्तिमा बदल्ने बताएका छन । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेकपा र नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन्।
महासचिव विप्लवले संयुक्त मोर्चाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्धमा स्वाधिनताको नेतृत्व गर्ने बताउदै देश गोलचक्करमा फसिरहेको र यसलाई अग्रमनको मार्गमा लाने प्रयत्न गरिने बताए । उनले भने – ‘हामीले आँट गरेका छौँ । हामी सहमत भएका छौँ। एकरुपतामा गएका छौँ कि, यो संयुक्त मोर्चामा समाजवादी, देशभक्त संयुक्त मोर्चा जुन बनेको छ हाम्रो यो मोर्चाले देशको विकेन्द्रित स्थितिलाई एकतावद्ध गर्ने पहल गर्नेछ। संकटलाई निकासमा लैजाने नेतृत्व गर्नेछ। यथास्थितिलाई क्रान्तिमा बदल्ने नेतृत्व लिनेछ।’
महासचिव विप्लवले संयुक्त मोर्चा जनताको अधिकारहरुलाई स्थापित गर्नलाई नेतृत्व लिने बताउदै भने – ‘ यसले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको बिरुद्धमा स्वाधिनताको नेतृत्व गर्नेछ। यसले आज गोलचक्करमा फसिरहेको नेपालमा सु–स्पष्ट मार्गमा एउटा क्रान्ति, परिवर्तन र अग्रगमनको मार्गमा लिएर जानेछ। हाम्रो प्रयत्न त्यो दिशामा रहनेछ। त्यसैले एकता, अग्रगमन, क्रान्ति, निकास, स्वाधिनताको एउटा केन्द्रिकृत अभिव्यक्तिको रुपमा संयुक्त मोर्चा अगाडि आएको छ।’
यसैगरी , महासचिव विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई बिनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको उल्लेख गर्दै प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए । उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको बताए । उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गरे ।
महासचिव विप्लवले सो मुद्दालाई आफुहरुले अस्वीकार गर्ने बताए । उनले भने– ‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो । अथवा गणतन्त्रलाई सम्पूर्ण रुपले पश्चगामी र दलाल पूजिँपति वर्गको हातमा हाल्दिने षड्यन्त्र र जसले विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन , अब कसैले पनि त्यसलाई सोच्नु हुँदैन भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ । प्रश्न उठ्छ किन ? किनकि क्रान्ति भनेको पुरानो सत्ताले खडा गरेका अन्तरविरोधहरु, समस्याहरु, संकटहरु, दमन, उत्पीडनहरुको विरुद्धमा हुने चिज हो । त्यो जनतासँग सम्बन्धित कुरा हो । पार्टी वा नेताले त्यसको नेतृत्व गर्ने हो । त्यो कुरालाई एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्यो चाहीँ क्रान्तिलाई नै अस्वीकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ ।
त्यसैले हामीले अस्वीकार गरेका छौँ । यसको जवाफ हामीले के भनेका छौँ भने प्रचण्डजीहरुले उहाँको पार्टीमा के गर्नुहुन्छ उहाँहरुको कुरा हो । तर जनयुद्धलाई अपराधिकरण गर्ने र जनयुद्धका उपलब्धिहरुलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ । नेपाल कम्युनिष्ट पार्टी लड्छ । र त्यसको कुनैपनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्ध माथिको आक्रमण हो ।’
महासचिव विप्लवले भने, ‘यो परिवर्तनमाथिको आक्रमण पनि हो । भएको सिमित उपलब्धि माथिको पनि आक्रमण हो । जसले क्रान्ति गरेर यि चिजहरु लिएर आयो, त्यसलाई पनि अस्वीकार गर्ने, अपराधिकरण गर्ने हमला छ त्यो प्रचण्डको व्यक्तिगत मामिला होइन । यो राज्यको मामिला हो । जनताको मामिला हो । जनताको अधिकारलाई पनि झन छिन्नभिन्न पार्ने, समाप्त पार्ने षड्यन्त्र हो । त्यसकारण यो प्रचण्डको कुरा मात्रै होइन ।’
महासचिव विप्लवले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरु त्यसको प्रतिरोधमा उत्रेको समेत बताए ।
उक्त पत्रकार सम्मेलनलाई नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुती) र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी सुसिलले सम्बोधन गरेका थिए ।


उक्त पत्रकार सम्मेलनमा मोर्चाले केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिमा अध्यक्ष मण्डल रहने जनाइएको छ। अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने र अध्यक्षको कार्यकाल एक वर्षको हुने बताइएको छ । मोर्चाको केन्द्रीय, प्रदेश र जिल्ला संगठन हुनेछ। केन्द्रीय समितिमा १५देखि २१ जनासम्म र जिल्लामा ११ देखि १५ जनासम्म सदस्य रहने छन । मोर्चाले राष्ट्रिय स्वाधिनता सम्बन्धी, वैज्ञानिक समाजवाद तथा जनवाद सम्बन्धी, जनजीविका सम्बन्धी र विभिन्न संघर्षका कार्यक्रम गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु