समाजवादी मोर्चाको औचित्य र बहस

२०७९ फाल्गुन २२ गते, सोमबार
अनिल शर्मा



राजनीतिक आकाशमा कम्युनिष्ट र कम्युनिष्ट नामधारी पार्टीहरूबीच एकता, ध्रुविकरण र मोर्चाबन्दीका अनेक बहसहरु भइरहन्छन् । केही समययता प्रचण्ड-माधव नेपालबीच पार्टी एकता, पुर्व माओवादीहरुबीच एकता, प्रचण्ड र नेकपाबीच एकता, वामदेव र ओलीसहित एकता यस्ता अनेक बहसहरु भइरहेका छन् । यस्ता बहसहरु भइरहने बिषय हुन् । बिषयको गाम्भिर्यअनुसार बहसमा भाग लिनुपर्ने दायित्व पनि हुन्छ ।
(क) एकताको आधार
साम्यवादी दलहरुबीच पार्टी वा संगठनको एकताको लागि रणनीति उदेश्य मिल्नुपर्दछ । क्रान्तिको निम्नतम कार्यक्रम मिल्नुपर्छ । माक्सवादका आधारभूत प्रस्तावनाहरू (बलप्रयोग, सांस्कृतिक क्रान्ति, सर्बहारा अधिनायकत्व, अन्तराष्ट्रिय भाइचारा र मालेमावाद) मा आधारभूतरुपले समान धारणा राख्नुपर्छ । त्यसमा आसय ( इन्टेन्सन) वा नियतको प्रश्न अझ महत्वपूर्ण हुन्छ । यो विषयमा समान धारणा नवनाई गरिने एकताको बहस ‘गॅजडीवाद ‘ हुनजान्छ । कम्युनिष्ट पार्टीलाई बुर्जुवा पार्टी र दलाल पुँजीवादको पाउमा चढाउनु सरह हुन जान्छ । अहिले हाम्रो पार्टीसँग संयुक्त मोर्चामा संलग्न पार्टीहरू बाहेक अरुसंग एकताको वस्तुगत आधार नै छैन । बहस, प्रस्ताव र राजनीतिक भेटघाट नै एकताका आधार होइन । क्रान्तिकारी भनिने कतिपय ढुसी उम्रेका रुग्ण समुहहरुको नियत (इन्टेन्सन) नै एकता र सहकार्य भन्दा अन्तर्ध्वंसात्मक देखिएको छ। त्यसकारण एकता भन्दा त्यसको आधार निर्माणको प्रश्न आधारभूत प्रश्न हो।
(ख) प्रचण्डसँगको एकता चर्चा
प्रचण्ड दलाल पुँजीवादको प्रतिनिधित्व गर्न चाहिन्छन्। तर त्यो स्थानमा कांग्रेस छ र दोस्रोमा एमाले छ। साम्राज्यवादले आफ्नो विरुद्ध लड्दै आएको कम्युनिष्ट नामधारी समुहलाई सहवरण गर्नुभन्दा दण्डित गर्दा नै रणनीतिक लाभ हुने देखेको हुनसक्छ। त्यसकारण प्रचण्डले साम्राज्यवादलाई मनाउन वा दाहिना बनाउन पार्टीको नाम बदल्ने, चुनाव चिन्ह र झण्डा बदल्ने छलफल गरिरहेका छन् । त्यत्ति भयो भनेँ बाबुराम भट्टराई र उपेन्द्र यादवका समुहसँग प्रचण्डको एकता हुनेछ । त्यसले मध्यम वर्गको एउटा हिस्सालाई सकारात्मक बनाउने र दिल्ली तथा पश्चिमालाई आस्वस्त बनाउनेछ। त्यसो गर्दा जनयुद्धबाट प्रशिक्षित ठुलो पंक्ति ( जुन पार्टीको मेरुदण्ड छ) विप्लवतिर जान सक्छ अथवा पलायन हुनसक्छ । प्रचण्डको त्यस प्रकारको योजनाबाट कार्यकर्तालाई पलायन हुनबाट रोक्न उनले `महरा मिशन ‘ लाई प्रोत्साहित गरिरहेका छन् । कम्युनिष्ट नाममा दलाल पुँजीवादको प्रतिनिधित्व गर्न एमाले नै छ । एउटै विचार र राजनीति भएपछि दुइवटा पार्टी न आवश्यक छ न त रहन्छ । त्यो धरातलिय यथार्थ प्रचण्डलाई थाहा छ ।आफ्नो विघटनलाई रोक्न प्रचण्डले एकताको कुरा गरिरहेका छन् । विघटनको त्रासले छट्पटिएका उनका लम्पट विचारहीन मनुवाहरु डम्फू बजाउँदै नाचिरहेका छन् ।
ग ) प्रचण्ड विप्लव मोर्चा
क्रान्तिकारी कम्युनिस्टहरूको अन्तिम सङ्घर्ष दलाल पुँजीवादको प्रतिनिधि ( नेपाली कांग्रेस ) संग नै हुनेछ । त्यसकारण उदार पुँजीवाद र सहायक दुश्मन सँगको सङ्घर्षलाई थाती राख्नु पर्छ । चारैतिर प्रहार गर्नु वा सबैसंग एकै पटक लड्नु गलत हुन्छ । त्यसो भए प्रचण्डसंग समाजवादी मोर्चा बन्न सक्छ त ? भौतिक जगतमा गोरु ब्याउँदैन । तर राजनीतिमा जगतमा गोरु ब्याउँन सक्छ । त्यसो हो भने निम्न शर्तमा मोर्चा बन्न सक्छ –
१) वर्तमान राजनीतिक अस्थिरता र सङ्कटको कारण संसदीय व्यवस्था हो ।
२)त्यसको समाधान वैज्ञानिक समाजवादी व्यवस्था हो ।
३) कम्युनिष्टहरूमाथिको दमनका र माक्सवादमाथि आक्रमण रोक्नुपर्छ र नेकपाका सम्पूर्ण बन्दीहरुलाई रिहा गरिनु पर्छ ।

यी विषयहरूमा सार्वजनिक प्रतिबद्धता र व्यवहारमा प्रष्टीकरण बिना“ महरा मिशन ” को औचित्य छैन । यद्दपि सार्वजनिक खपत मात्रै भए पनि हामीलाई कुनै आपत्ति छैन । किनकि सार्वजनिक बहसमा पनि उभिन र आफूलाई श्रेष्ठतासाबित गर्न सक्छौं भन्ने आत्मविश्वास छ ।‘ एकता ’नामधारी कमण्डलु बोकेर भौतारिने लकिर – फकिरले क्रान्ति गर्दैन । यो देशलाई कमण्डुधारी बाबाहरुको होइन , बहादुर छोराछोरीको खाँचो छ ।’
घ ) राजनीतिक निकास
संसदीय व्यवस्थाको असफलताको कारण सबै प्रकारका रुग्णताहरु देखिएका छन् । स्पेनका कम्युनिस्ट पार्टीका महासचिव ग्राम्सीले पुरानो मर्दै गरेको तर नयाँमा जन्म नलिएको संक्रमणकालमा देखिने रुग्णता विश्वमा देखिएको बताएका थिए । नेपालमा आज त्यही रुग्णता देखिन्छ । तर विभिन्न नाममा वरपर घुमाउने षडयन्त्र भइरहेको छ । प्रचण्डले कार्यकारी राष्ट्रपतिको कुरा गर्न थालेका छन। यो प्रचण्डको नभएर डा. बाबुरामको भट्टराईको विचार हो । जनताको परिवर्तनको चाहनालाई संसदवाद भित्रै गोलचक्करमा घुमाउने चालबाजी हो ।
निष्कर्ष
यतिबेला पूर्व – माओवादी तथा वामपन्थी पार्टीहरूबीचको एकताको बहस चलेको छ । यो बहसले जनतालाई खुसी पनि बनाएको छ । मतपेटिकाको स्वार्थले र्याल चुहाउने प्रवृत्तिले एकता वा मोर्चाको बहसलाई न्यूनीकरण गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु