‘दलिय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहन्छौं ‘

२०७९ फाल्गुन २१ गते, आईतवार


काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले नेपालको विश्वविद्यालयहरुलाई दलिय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहेको बताएका छन। आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त घोषणापत्र सार्वजनिक गर्न चार विधार्थी संगठनद्वारा आयोजना गरेको स्ववियु निवार्चन र संयुक्त घोषणपत्र सार्वजनिक कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रकाश सीले सो कुरा बताएका हुन् ।
उनले भने – ‘हामी दलाल पुँजीवादी संसदीय अर्थराजनितिक व्यवस्थाका विषम परिस्थि विरुद्धमा लडीरहेका छौं ,तीस बर्षदेखि तीन/ चार राजनितीक दलहरुले सत्तामा सिन्डिकेट लगाईरहेका छन् , त्रिभुवन विश्वविद्यालयको समग्र सुधारका निम्ति प्रशासनिक, प्राज्ञिक र नीतिगत सुधारका लागि संघर्ष गर्ने हाम्रा साझा एजेण्डा रहेका छन् ।’
अध्यक्ष प्रकाशले अहिलेका विश्वविद्यालय राजनीतिक दलको पार्टी कार्यालय जस्तो भएका छन भन्दै यसो हुनुमा दलीय भागबन्डा प्रणाली उत्तरदायी रहेको बताए । उनले भने- “हाम्रा विश्वविद्यालयहरु खण्डहर भएका छन् । पुरानै लयमा विश्वविद्यालयलाई कसरी फर्काउन सकिन्छ भनेर हामी लागिरहेका छौं । विश्वले नै खोजिरहेको जनशक्ति उत्पादन गर्ने, व्यवहारिक परीक्षा प्रणाली लगायतका तमाम विषयमा हामी यो स्ववियु निर्वाचनमार्फत् छलफल गर्न चाहन्छौं । यी सबै समस्यको कारण हामीले त्यहाँभित्र रहेको दलीय भागबण्डा नै मुख्य समस्या मानेका छौं । आज विश्व विद्यालयमा अध्ययन, खोज र अनुसन्धान छैन । हामी दलीय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहन्छौं ।’
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष्य नरेन्द्र सीले संसदीय राज्य व्यवस्थाको विरुद्ध कम्युनिष्ट शक्तिहरु एक हुनुको विकल्प नभएको बताए । उनले भने – ‘अहिलेको संसदीय व्यवस्थाको विकल्पमा समाजवादी राज्य व्यवस्थाका लागि आन्दोलन गर्ने, त्रिभुवन विश्वविद्यालयको समग्र सुधारका निम्ति प्रशासनिक, प्राज्ञिक र नीतिगत सुधारका लागि संघर्ष गर्ने हाम्रा साझा एजेण्डा रहेका छन्। ‘


उपाध्यक्ष्य नरेन्द्र सीले अहिलेको संसदीय राज्यव्यवस्थाको हस्तक्षेपका कारण विद्यार्थी संख्याको हिसाबले विश्वको १२औं स्थानमा रहेको त्रिविको शैक्षिक गुणस्तर खस्किएको बताउदै भने – ‘छ लाख भन्दाबढी विद्यार्थीहरु अध्ययन गरिरहेको संस्था दिन प्रतिदिन खस्कँदो अवस्थामा छ । यसको गुणस्तर कमजोर हुँदै गएको छ । नेपालको असफल राज्य व्यवस्थाले यसलाई हस्तक्षेप गरिरहेको छ । यो स्ववियु निर्वाचनलाई राज्यको राजनीतिक अर्थ–व्यवस्थालाई परिवर्तन गर्ने महान अभियानका रुपमा हामीले लिएका छौं ।’
उपाध्यक्ष्य नरेन्द्र सीले विद्यार्थी आन्दोलनको इतिहास व्यवस्थाविरोधी इतिहास भएको उल्लेख गर्दै शासकहरुको दमनबाट जनतालाई मुक्ति दिन विद्यार्थी आन्दोलनले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान दिएको बताए । उनले अहिले नेपालमा विद्यार्थी आन्दोलनको मुख्य मुद्दा भनेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई फाल्नु भएको उल्लेख गर्दै अहिले त्रिवि राज्यव्यवस्थाको शिकारमा परेको ठोकुवा गरे ।
उनले भने – ‘भ्रष्टाचारमा चुर्लुम्म डुबेका दलाल पुँजीवादीका मतियार विद्यार्थी संगठनबाट परिवर्तन सम्भव छैन । तसर्थ निरन्तर संघर्षका माध्यमबाट शैक्षिक विसंगतिका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा र जनताको हरेक संघर्षमा अग्रपंतिमा लडेका हामी चार विद्यार्थी संगठनलाई विजयी गराइदिनुहुन अनुरोध गर्दछौं ।’
सोही क्राय्क्रमा अखिल क्रान्तिकारीका संयोजक कपिल सिजापतिले आफूहरुले स्ववियुबाट विद्यार्थीको हित चाहेको बताए । अन्य विद्यार्थी संगठनको विकल्पको रुपमा आफूहरु उदाएको उनको दावी थियो । उनले स्ववियुमा विद्यार्थीले आफूहरुलाई म्याण्डेट दिएको खण्डमा विद्यार्थीको हकहितका लागि आफूहरु लागि पर्ने बताए । उनले चार दलीय संगठनको मोर्चालाई विवेक प्रयोग गरी जिताउन पनि सबै विद्यार्थीलाई आग्रह गर्दै कसैको स्वार्थको आधारमा स्ववियु निर्वाचन रोक्ने चलखेल भएको खण्डमा आफूहरु त्यसको प्रतिवाद गर्ने बताए ।
यसैगरी , वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक करण बुढाले अहिले विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाए । उनले आजको राज्य व्यवस्थाले लाखौं विद्यार्थीहरुलाई विदेश पलायन गरिरहेको र अहिलेको अवस्था सुधारका लागि चार विद्यार्थी संगठनले संयुक्त एजेण्डा लिएर आएको बताए । उनले अहिलेको व्यवस्था बदल्नका लागि आम प्रगतिशील विद्यार्थी संगठन एक ठाउँमा आउनु पर्नेसमेत बताए । उनले भने – ‘अहिलेको दलाल राज्यसत्ता, शोषणकारी राज्यसत्ता, अहिलेको दमन र निरंकुश राज्यसत्तालाई बदल्नका लागि आम प्रगतिशील विद्यार्थी शक्तिहरु एक ठाउँमा उभिएका छौं ।’
उनले राज्यले आम श्रमजीविहरुलाई प्रशासनको आडमा लखेटिरहेको उल्लेख गर्दै अहिले दलीय भागबण्डाको आधारमा शिक्षा क्षेत्र सञ्चालन भइरहेको बताए । उनले भने- ‘विद्यार्थीका समस्याका बारेमा राज्य बेखबर रहेको छ। अब प्राविधिक शिक्षामा जोड दिनका लागि पनि चार दलीय विद्यार्थी संगठनले कदम चाल्नेछ ।’
उक्त पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कर्णजीत बुढाथोकीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि गठबन्धन गर्ने बताउदै संयुक्त घोषणापत्र समेत सार्वजनिक गरेका थिए।

प्रतिक्रियाहरु