माक्र्सवादी (द्वन्द्वात्मक भौतिकवादी) ज्ञानसिद्धान्त ः संक्षिप्त व्याख्या

२०७९ फाल्गुन १५ गते, सोमबार

हस्तबहादुर केसी

“व्यवहार, ज्ञान, फेरि व्यवहार र फेरि ज्ञान । यो क्रम अनन्त रुपले दोहरिएर रहन्छ र प्रत्येक आवृत्तिका साथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लो स्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी (माक्र्सवादी ) ज्ञान – सिद्धान्त हो, र यो नै बोध र कार्यको एकतासम्बन्धित द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो ।” – माओ त्सेतुङ, संकलित रचनाहरु, भाग – १, पृष्ठ २४६, सिर्जनशील प्रकाशन, मैतदेवी, काठमाडौँं, दोस्रो संस्करण, २०५७ मंसिर, अनुवादक ः कृष्णदास श्रेष्ठ ।

माक्र्सवादी (द्वन्द्वात्मक भौतिकवादी) ज्ञान– सिद्धान्त बृहत् विषय हो । द्वन्द्वात्मक भौतिकवादी ज्ञान – सिद्धान्त दर्शन शास्त्रको मौलिक प्रश्नसित सम्बन्धित विषय हो । त्यसैले भौतिकवादी द्वन्द्वात्मक भौतिकवादी ज्ञान – सिद्धान्तका अनुसार सत्ता र चिन्तनका बीच द्वन्द्वात्मक एकता एकता हुन्छ । यहाँनिर हामीले बुन्ने कुरा के हो भने संसार अज्ञेय होइन ज्ञेय छ, मानिसको चेतनाले संसारलाई प्रतिबिम्बन गर्ने सामर्थ्य राख्दछ । विश्वलाई त्यसको सारतत्व तथा नियममा बुझ्न र बदल्न सकिन्छ भन्नु नै माक्र्सवादी (द्वन्द्वात्मक भौतिकवादी) ज्ञान – सिद्धान्तको मूल तत्व हो ।

(१) ज्ञानको श्रोत

ज्ञानको श्रोत वस्तुगत जगत र सामाजिक व्यवहार हो । ज्ञानको श्रोत के हो ? ज्ञानको उत्पत्ति कसरी हुन्छ ? यी प्रश्नहरु ज्ञान सिद्धान्तको क्षेत्रमा प्राथमिक महत्वका छन्् । यसबारे माक्र्सवाद – लेनिनवाद – माओवादको सिधा र स्पष्ट जवाफ छ – ज्ञानको श्रोत भौतिक विश्व हो, पदार्थ जगत हो र ज्ञानको उत्पत्ति मान्छेका उत्पादन सम्बन्धि गतिविधिहरुका बीचबाट हुन्छ । उत्पादनका लागि संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्ष सम्बन्धि व्यवहारबाट ज्ञानको उत्पत्ति र विकास भएको हो ।

                त्यसैले ज्ञानको प्रारम्भिक विन्दु मान्छेको सामाजिक व्यवहार हो । यस विषयमा कमरेड माओले भन्नुभएको छ, “मान्छेले आफ्ना भौतिक आवश्यकताहरु पुरा गर्न उत्पादनमा लाग्दछन्् । मानव ज्ञान विकसित हुने प्राथमिक श्रोत यही नै हो ।” – माओ त्सेतुङ, संकलित रचनाहरु, भाग १, पृष्ठ २६८, सिर्जनशील प्रकाशन, मैतिदेवी, काठमाडौँं, २०५७ ।

द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धमन्त भौतिक संसार र चेतना बीचको सम्बन्धको आधारभूत सवालको अर्को महत्वपूर्ण पक्षसित सम्बन्धित छ । आपूm रहेको संसारलाई हामी जान्न सक्छौ कि सक्दैनौं ? के त्यो यथार्थको ठिक प्रतिबिम्ब हुन सक्छ ? के सत्ता र चिन्तनको मेल हुन सक्छ ? यी प्रश्नहरुको जवाफ पनि भौतिकवाद र आदर्शवादले एकदमै भिन्न भिन्न ढंगले दिएका छन्् । यस विषयमा दार्शनिकहरु दुई खेमामा विभाजित छन् । यो संसार ज्ञेय छ, बुझ्न र जान्न सकिने मात्र होइन यसलाई बदल्न सकिन्छ भन्ने दार्शनिकहरु भौतिकवादी खेमामा खडा भएका छन् भने यो संसार अज्ञेय छ, यसलाई बुझ्न, जान्न र बदल्न सकिदैन भन्ने दार्शनिकहरु आदर्शवादी खेमामा खडा हुन पुगेका छन् । त्यसैले माक्र्सवादी ज्ञान– सिद्धान्त अज्ञेयवादका विरुद्ध परिलक्षित रहेको छ । माक्र्सवादी ज्ञान – सिद्धान्तले दुनियाँलाई बुझ्ने मात्र होइन यसलाई बदल्ने हो भन्ने कुरालाई ग्रहण गर्दछ ।

(२)          व्यवहार नै ज्ञान प्राप्तिको पहिलो आधार

द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तका अनुसार प्रकृति र समाजलाई बदल्न मानिसले गर्ने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । श्रम र भौतिक उत्पादन नै त्यसको आधार हो । सर्वप्रथम स्वयं ज्ञान नै व्यवहारको आधारमा र मुख्यतया भौतिक उत्पादनको प्रभावले गर्दा उत्पन्न भएको थियो भन्ने कुरा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तले प्रमाणिात गरिदिएको छ । यस विषयमा कमरेड माओले व्याख्या गर्नुभएको छ, “व्यवहारद्वारा सत्य पत्ता लगाऊ र फेरि व्यवहारद्वारा सत्यको पारख गर र त्यसलाई विकसित गर । इन्द्रियग्राह्य ज्ञानबाट सुरु गर र सक्रियतापूर्वक त्यसलाई बुद्धिसंगत ज्ञानमा विकसित गर, अनि बुद्धिसंगत ज्ञानबाट सुरु गर र मनोगत तथा वस्तुगत दुबै संसारलाई फेर्नका लागि सक्रिय रुपले क्रान्तिकारी व्यवहारको पथप्रदर्शन गर । व्यवहार ज्ञान, फेर व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्त रुपले दोहोरिन्छ र प्रत्येक आपृतिका साथसाथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लो स्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त हो र यो नै बोध र कार्यको एकता सम्बन्धि द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो ।” – माओ त्सेतुङ, संकलित रचना, भाग १, पृष्ठ २४६, उही ।

(३) ज्ञानको दुई छलाङको सिद्धान्त

मानिसले कसरी प्रत्येक्ष रुपमा ज्ञान प्राप्त गर्न सक्छ त ? यो ज्यादै महत्वपूर्ण सवाल हो । मानिसको ज्ञान ज्ञानेन्द्रियहरु जस्तै – नाक, कान आँखा, मुख, छाला आदिद्वारा रुप, रस, गन्ध, स्पर्श शब्द संवेदनाहरुको ज्ञानसितै सुरु हुन्छ । यसै प्रक्रियामा संसारलाई प्रत्येक्ष रुपमा देख्न, बुझ्न र जान्न सकिन्छ । यो नै इन्द्रिय ग्राह्य ज्ञान हो । यस प्रकारको ज्ञान मानिसको निम्ति अझै अधुरो हुन्छ । त्यसैले मानिसको ज्ञानले बुद्धिजन्य ज्ञानमा छलाङ हान्न जरुरी हुन्छ । संवेदना, संस्कार र प्रत्यक्षबाट प्राप्त ज्ञानलाई बुद्धिजन्य ज्ञानमा समृद्ध तुल्याउने काम हुन्छ । यसमा वस्तुहरुको समग्रता, सारतत्व र आन्तरिक सम्बन्धलाई संश्लेषित गरिन्छ । त्यसपछि यसै क्रममा मानिसमा धारणा, निर्णय, निष्कर्ष, नियम वा सिद्धान्तको जन्म हुन पुग्दछ । अनि फेरि यस प्रकारको बुद्धिजन्य ज्ञानले व्यवहारमा छलाङ् हान्नु पर्दछ ।

यस विषयमा कमरेड माओ अगाडि भन्नु हुन्छ, “इन्द्रिय ग्राह्य ज्ञानबाट आरम्भ गर्नु र त्यसलाई गत्यात्मक रुपले बुद्धिसंगत ज्ञानमा विकसित गर्नु, त्यसपछि बुद्धिसंगत ज्ञानबाट आरम्भ गरेर गत्यात्मक रुपले क्रान्तिकारी व्यवहारको प्रदर्शन गर्नु, जसबाट कि आत्मगत र वस्तुगत संसारमा परिवर्तन ल्याउन सकियोस् । व्यवहार, ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्त कालसम्म आवृति भइरन्छ र हरेक आवृतिको साथमा ज्ञानको अन्तर्वस्तु अरु बढी उच्चस्तरमा पुग्दै जान्छ ।” माओ त्सुङ, संकलित रचनाहरु भाग १ पेज २६७, सिर्जनशील प्रकाशन, मैतिदेवी, काठमाडौँं, २०५७ । अतः व्यवहारबाट र सिद्धानणतबाट व्यवहार यही नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको दुई छलाङको सिद्धान्त हो ।

(४)          सत्यको वस्तुनिष्ठता

हामीले बुझ्ने कुरा के हो भने मानवीय ज्ञान सत्यको अन्तर्वस्तु वस्तुगत जगत हुन्छ । हाम्रो ज्ञानको अन्तर्वस्तु विषयी अर्थात् मानिस होइन विषय अर्थात् वस्तुगत संसारमा आधारित हुन्छ । त्यसैले सत्य संधै आत्मनिष्ठ होइन वस्तुनिष्ठ हुन्छ । द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तका अनुसार मानिसको आत्मा वा मन भन्दा बाहिर प्रकृति या वस्तुजगतको स्वतन्त्र अस्तित्व छ र त्यो मानिआत्मनमा प्रतिबिम्बित हुन्छ । यही नै सत्यको वस्तुनिष्ठता हो ।

(५) व्यवहार नै सत्यको कसौटी

माक्र्सवादी दार्शनिकहरुले व्यवहारलाई नै सत्यको कसौटी हो भन्ने प्रमाण प्रस्तुत गरेका छन् । द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तु सम्बन्धि त्यो ज्ञानलाई बुझिन्छ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतर्दछ र जुन त्यसको अनुरुप हुन्छ । यस विषयमा लेनिनले भन्नुभएको छ, “सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो, जुन मानिसमा भर पर्दैन, मानव जातिमा भर पर्दैन । सत्यको सार तिनै वस्तुगत प्रक्रियाहरुको निरुपित गर्दछन्, जसलाई त्यसले प्रतिबिम्बित गरेको हुन्छ ।” – लेनिन, संकलित रचना संग्रह, खण्ड १८, पृष्ठ १३७ ।

सामाजिक व्यवहार मात्र सत्यको कसी बन्न सक्छ । ज्ञान सम्बन्धि द्वन्द्वात्मक – भौतिकवादी सिद्धान्तमा व्यवहारको दृष्टिकोण प्राथमिक र आधारभूत दृष्टिकोण हो ।

(६) ज्ञान सिद्धान्तको विधि

ज्ञान सिद्धान्तको विधिअन्तर्गत विभिन्न विषय पर्दछन्–

पहिलो ः कुनै पनि वस्तु वा प्रकृतिलाई ठीकसित बुझ्न, त्यसका नियम पत्ता लगाउन र त्यसको राम्रो निरक्षण व जाँचबुझ गर्नु पर्दछ । अनि त्यसलाई प्रयोगमा ल्याएरसिद्ध गर्नु पर्छ । निरक्षण र प्रयोग परस्पर सम्बन्धित छन् ।

दोस्रो ः ज्ञानको विधि निगमन र आगमनको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छ । निगमनलाई सामान्य र आगमनलाई विशेषका रुपमा बुझ्नुपर्छ । निगमन र आगमनको विधिले सिद्धान्त र व्यवहारको द्वन्द्ववादलाई प्रस्तुत गर्दछ । ।

तेस्रो ः ज्ञान मूर्त र अमूर्तको द्वन्द्वात्मक विधिका रुपमा विकसित हुन्छ । चिन्तनको विकास कुनै ठोस वस्तुको मूर्त प्रत्यक्षबाट अमूर्त हुँदै मूर्तमा जाने प्रक्रियाका बीचबनट हुने गर्दछ ।

चौथो ः ज्ञानको अर्को विधिको नाम ऐतिहासिक र तार्किक विधि हो । ऐतिहासिक विधिले कुनै पनि वस्तुको तथ्यांकगत विकास प्रक्रियाको तस्बिर प्रस्तुत गर्दछ । अनि तार्किक विधिले त्यस तस्बिरलाई बौद्धिक नियम सङ्गतिमा ढालिदिन्छ ।

पा“चौ ः ज्ञान सिद्धान्तको एउटा महत्वपूर्ण विधिको नाम हो विश्लेषण र संश्लेषणको एकता हो । कुनै पनि वस्तुलाई अंश अंशमा केलाउनु, वर्गीकरण गर्नु, विविध ढंगका अन्तर्विरोधहरुलाई दर्शाउनु विश्लेषण हो । अंश अंशलाई समग्रमा ल्याउनु, वर्गीकउत वस्तुलाई एकीकृत गर्नु र विभिन्न अन्तर्विरोधहरुलाई समाधान तर्फको बाटो देखाउनु संश्लेषण हो । कुनै पनि क्रान्तिका विशेषताहरुको विवेचना गर्नु विश्लेषण हो भने त्यसको समाधान दिनु संश्लेषण हो ।

अतः समग्रमा भन्नु पर्दा माक्र्सवादी (द्वन्द्वात्मक भौतिकवादी) ज्ञान सिद्धान्त अन्तर्गत आत्मगत र वस्तुगत पक्ष, सिद्धान्त र व्यवहार तथा भनाइ र गराइका बीच द्वन्द्वात्मक एकता कायम गर्नु पर्ने कुरामा विशेष जोड दिइन्छ ।

(७) निष्कर्ष

हामी क्रान्तिकारी कम्युनिस्टहरूले माक्र्सवादका विविध पक्षहरुमा गहिरो ज्ञान प्राप्त गर्नका लागि माक्र्सवादी ज्ञान सिद्धान्तले महत्वपूर्ण मद्दत गर्दछ । किनभने ज्ञान प्राप्तिको सन्दर्भमा हामी कुन निष्कर्षमा पुग्दछौं भने हरेक वस्तुको विकास छिपछिपृबाट गहिराइतिर, सरलबाट जटिलतातिर, सानोबाट ठूलोतिर, सजिलोबनट अप्ठ्यारोको बाटोबाट मात्र अगाडि बढ्न सक्छ । यो नै माक्र्सवादी ज्ञान सिद्धान्तको प्रमुख आधार हो । त्यसैले हाम्रो क्रान्तिकारी जीवनमा माक्र्सवादी ज्ञान सिद्धान्तको महत्वपूर्ण स्थान रहेको छ । किनभने माक्र्सवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यसैका आधारमा मात्र हामी संसारलाई बुझ्न र बदल्न र वर्गविहीन, राज्यविहीन साम्यवादी मानव समाजको निर्माण गर्न सक्षम हुन्छौं । त्यसैले हामी माक्र्सवादी – लेनिनवादी – माओवादी क्रान्तिकारीहरुले माक्र्सवादलाई जीवनदर्शनको रुपमा आत्मशातिकरण गर्न जरुरी छ ।

(केसी वरिष्ठ माक्र्सवादी लेखक हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु