उडिरहेको जहाजमा पनि इन्टरनेट चलाउन पाइने !

२०७९ माघ २६ गते, बिहीबार


काठमाडौँ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् । निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने निर्देशिकाले प्रस्ट पारेको छ । अन्य देशको हकमा भने सम्बन्धित देशको नियमानुसार नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ
त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ । निर्देशिकाअनुसार कानुनी रूपमा दर्ता भएका स्वदेशी अथवा विदेशी दुवै किसिमका सेवाप्रदायकले यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । निर्देशिकाले यस किसिमको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रियाको पनि स्पष्ट व्यवस्था गरेको छ । आफ्नो उडानमा सञ्चार सेवा उपलब्ध गराउन चाहने हवाई सेवाप्रदायकले सेवाको किसिम, प्रयोग हुने फ्रिक्वेन्सी, स्याटेलाइट र अर्थ स्याटेलाइटको विवरण, प्रयोग हुने प्रविधि, सञ्चार सेवा उपलब्ध गराउने सेवाप्रदायकको विवरण पेस गर्नुपर्नेछ । त्यस्तै सेवाप्रदायकको हकमा भने सञ्चार सुविधा उपलब्ध गराउन स्याटेलाइट सेवा प्रदायकसँग सम्झौता गरेको हुनुपर्नेछ ।
सेवाप्रदायकले हवाईजहाजभित्र कुनै किसिमको उपकरण जडान गर्नुपर्ने अवस्थामा भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हुनुपर्नेछ ।
-गोरखापत्र दैनिक

प्रतिक्रियाहरु