नेकपाले राष्ट्रिय स्वाधीनता र जनजीविकाका बिषयमा सङ्घर्ष गर्ने(बिज्ञप्तिसहित )

२०७९ माघ २५ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाधीनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा केन्द्रित रहेर सङ्घर्ष गर्ने बताएको छ । सो पार्टीले नवौ केन्दीय समितिको तेश्रो पूर्ण बैठकको निर्णय जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएको हो । उक्त पत्रकार सम्मेलनमा महासचिव विप्लवले ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका बताए । उनले साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताउदै भने – ‘किसानले पुरानो जीवनबाट माथि उठ्न ऋण काढेका छन् । तर ती सबै जेथा मिटरब्याजीले लिएर सडकमा पुर्याई दिइरहेका छन् ।
यसैगरी, महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिएको बताए । उनले भने -‘हाम्रो निष्कर्ष के छ भने विचार मिल्ने पार्टीहरूसँग पार्टी एकता गर्नुपर्छ, मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गर्नुपर्छ।’ महासचिव विप्लवले अगाडी भने- ‘यही व्यवस्थाभित्र घुमेर होइन । यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ । त्यो सर्तमा नेपालमा वैज्ञानिक समाजवादी बहस, रूपान्तरणकारी राजनीतिक बहस होस् सबै देशभक्त शक्तिहरूसँग पनि ।’ उनले आफूहरू सबै विषयमा खुल्ला ढङ्गले छलफल गर्न तयार रहेको भन्दै नेपाल सबै विषयको निराशावादी गोल चक्करबाट मुक्त गर्नुपर्ने बताए ।

महासचिव विप्लवले शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताए । उनले क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको उल्लेख गर्दै युवापुस्तामा रहेको निराशा गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि देखिएको बताए । उनले भने, – ‘ चुनाव इतिहासकै सबैभन्दा फितला र कमजोर भए, जनताले कम मतदान गरे र नयाँ विकल्पको खोजीमा हिँडे। चुनावमा नयाँ दल उदाउनु सकारात्मक कुरा हो ।’
उक्त पत्रकार सम्मेलनमा नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण वैठकका निर्णय प्रवक्ता प्रकाण्डले वाचन गरेका थिए । जुन यस प्रकार रहेको छ – ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको ऐतिहासिक तेस्रो पूर्ण वैठक महासचिव कमरेड विप्लव सीको अध्यक्षतामा यही माघ ३ देखि ११ गतेसम्म पार्टी केन्द्रीय कार्यलय कपिलवस्तुमा सम्पन्न भयो । वैठकले लिएका महत्वपूर्ण निर्णयहरु जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।


१) कमरेड विप्लव सीले तेस्रो पूर्ण वैठकको अध्यक्षता गरे लगत्तै सवै केन्द्रीय समितिका कमरेडहरु आन्तराष्ट्रिय गीत गायनमा सहभागी बन्नु भयो ।
२) केन्द्रीय समितिको वैठकमा एकीकृत जनक्रान्ति, जनयुद्ध, नेपाली मुक्ति संघर्ष र विश्वक्रान्तिका महान सहिदहरुप्रति १ मिनेट मौणधारण गरियो । वेपत्ता योद्धाको स्मरण गर्दै सम्मान व्यक्त गरियो । साथै घाइते योद्धा एवं बन्दी कमरेडहरुप्रति सम्मान व्यक्त गरियो ।
३) महासचिव कमरेड विप्लव सीले नवौं केन्द्रीय समितिको ६ महिने योजनासहितको “पार्टी योजनालाई कडाइपूर्वक लागु गरौं, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔं” भन्ने राजनैतिक प्रस्ताव पेस गर्नु भयो । प्रस्तावमा पूर्ण जनवादी वातावरणमा छलफलगरी आवश्यक विषयहरु समावेश गरेर एकमतले ताली बजाएर पारित गरियो । प्रस्तावका मुख्य विषय निम्नानुसार छन्—
क) ऐतिहासिक नवौं महाधिवेशनको भव्य सफलता तथा त्यसका युगान्तकारी संश्लेषणहरुको आलोकमा दलाल पूँजीवादी सत्ताको संघ र प्रदेशको चुनाव खारेज अभियान सञ्चालन गरियो । उक्त अभियान दलाल पूँजीवादी सत्ता र व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी सत्ता र व्यवस्था हो भन्ने सन्देश दिन र क्रान्तिकारी धार स्थापित गर्न सफल भयो ।
ख) यस पटक संघ र प्रदेशको चुनावलाई प्रभावकारी देखाउन देशको सत्ता, संसदवादी दल र विदेशी पूँजीवादी तत्वहरुले ठूलो लगानी गरेर खुब प्रचार गरे । महायुद्ध नै जितन्छ जसरी तामझाम र डौडाडौड गरे तर मंसिर ४ मा जनताले २ वटा उत्तर र परिणाम सबैले बुझ्नेगरी दिए । पहिलो इतिहासमै कम मतदान गरेर यो व्यवस्थाप्रति अविश्वास व्यक्त गरे, दोस्रो कुनै एक दलको कुरै छोडौं दुई गठबन्धनलाई समेत सामान्य बहुमत दिएनन् । जनताले मत नै दिदा पनि पुराना संसद्वादी दलहरुको विकल्पमा नयाँ दलहरुतिर ढल्किए । जनताको उत्तरले बताउँछ नेपाली जनता दलाल पूँजीवादी सत्ता, संसदीय व्यवस्था र संसद्वादी दलहरुप्रति विश्वास गर्दैनन् । जनताको उत्तरले सारा संसद्वादीहरु हतोत्साहित र निराश बन्दै देशमा अस्थिरता अझै बढ्ने प्रतिक्रिया दिन विवस भए ।
चुनावबाट केही नयाँ संसद्वादी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, जनता उन्मुक्ति र जनमत पार्टी अगाडि आएकोलाई निकै हल्ला गरियो । तर यो बाहिर हल्ला गरिए जस्तो राजनैतिक सत्ता र शक्तिको विकल्प थिएन र होइन । यो पुराना संसदीय व्यवस्था, संसदवादी पार्टी र तिनका नेताहरुको असफलता र तिनी प्रति बढेको अविश्वासको अस्थायी प्रतिक्रिया मात्र थियो र हो । यसलाई ति पार्टीका नेताहरुले आफूले “व्यवस्था होइन अवस्था फर्ने” भनेर दिएको प्रतिक्रियाले स्पष्ट गर्दछन् । जनता सचेत नबन्ने हो भने यो सोचले पनि जनतालाई असफल दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाभित्रै घुमाउने छ ।
ग) यतिवेला पनि देश अग्रगमन र यथास्थितिको संघर्षमा छ । दलाल पूँजीवादी सत्ता र व्यवस्थाका कारण देशमा राजनैतिक अस्थिरता, अराजकता र भूमण्डलीकृत पूँजीवादको हस्तक्षेप बढिरहेको छ । आर्थिक संकट चुलिदै जादा नागरिकहरुको जीवन कष्टकर बन्दै गएको छ । एकातिर केही सय परिवारको हातमा देशको आधा सम्पत्ति थुप्रिन पुगेको छ भने अर्कोतिर आर्थिक संकट र शोषणले मजदुर,किसान, मध्यमवर्ग र राष्ट्रिय उद्योगीहरु सडकमा पुग्ने, बिचल्ली बन्ने अवस्था बनिरहेको छ । तराइमा मिटर व्याजेहरुको अत्याचार, पहाडमा लघुवित्तको शोषण, सहरमा बैंकको चर्को व्याज, विचौलियाको चलखेल, शैक्षिक वेराजगारी,मानव तस्कर, विदेशी एकाधिकारवादी पूँजीको दवदवाले नागरिकहरु छटपटाइ रहेका छन् । दिनप्रतिदिन बढ्दै गएको भूमण्डलीकृत साम्राज्यवादीहरुको हस्तक्षेपका कारण देशको स्वाधीनता नवउपनिवेशको अवस्थामा पुग्दैछ । तर दलाल पूँजीपतिवर्ग र संसद््वादी दलहरु देशलाई अग्रगामी निकास दिनेतिर नगइ आफ्नै पद, कुर्ची र फाइदाका लागि गठबन्धन, जत्थेबन्दि, भागबन्डा र तानातानमा मस्त छन् ।
हाम्रो पार्टीको सुस्पष्ट निष्कर्ष छकि आजको राजनैतिक, आर्थिक संकट भनेको जनचाहना विपरित लादिएको दलाल पूँजीपतिवर्गको सत्ता र पूँजीवादी संसदीय व्यवस्थाको असफलताले पैदा भएको संकट हो । यसको अग्रगामी समाधान वैज्ञानिक समाजवादी सत्ता र व्यवस्था मात्र हो । त्यसका लागि पार्टीले “दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता”भन्ने राजनैतिक नारालाई मुख्य बनाउने यद्धेपी पार्टीले संसद्मा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै अन्य राजनैतिक दलहरुसँग राज्य रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको छ ।
घ) विश्वमा हावी रहेको भूमाण्डीकृत पूँजीवादका कारण मानव जातिले दोस्रो विश्वयुद्ध पछि सबैभन्दा खराब अवस्था भोग्नु परिरहेको छ । धु्रवीकरण, द्वन्द्व, युद्ध, विध्वंस चलिरहेको छ । दैनिक सयौं नागरिकहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ । युक्रेन, मध्यपूर्व, पूर्वी एसियाका युद्ध र तनाव हेर्दा विश्व तेस्रो विश्वयुद्धतिर धकेलीरहेको देखिन्छ । यो भूमण्डलीकृत पूँजीवादकै असफलता र संकटको कारणले भइरहेको छ । यसको समाधान पनि वैज्ञानिक समाजवादी क्रान्ति, पूँजीवादको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना नै हो ।
४) वैठकले पार्टी संगठनमा निर्णय लिदै “जनआधारित पार्टी र जनआधारित नेता कार्यकर्ता” भन्ने नीति पारित गरेर जनताको सुख दुःखमा पार्टी पुग्ने योजना अगाडि सारेको छ ।
५) पार्टीले आगामी दिनमा दुई क्षेत्रमा संघर्ष गर्ने निर्णय लिएको छ । पहिलो राष्ट्रिय स्वाधीनता दोस्रो जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजिविकाका क्षेत्रमा । नेपालको भूराजनीति र कम्युनिष्ट जनमतका कारण भूमण्डलीकृत साम्राज्यवाद, क्षेत्रीय साम्राज्यवादबाट राजनैतिक, आर्थिक, साँस्कृतिक क्षेत्रमा भइरहेको व्यापक हस्तक्षेप, अतिक्रमण विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष संचालन गर्ने, खासगरी एमसीसी, एनसेल, एसपीपी, अग्नीपथ, माथिल्लो कर्णाली,अरुण तीन, महाकाली अतिक्रमणका विरुद्ध संघर्ष गर्ने ।
जनताको अधिकार खासगरी देशमा वस्न, खान, पढन, जान्न, काम गर्न पाउने मौलिक अधिकारका लागि संघर्ष गर्ने । तराइमा मिटर ब्याज, पहाडमा लघुवित्त, सहरमा चर्को बैंक ब्याज, कैयौं सहकारी र मानव तस्करको आतंक छ । महिलामाथिको शोषण र हिंसा असह्य प्रकारले बढिरहेको छ । राज्यले मिटर व्याजलाई अपराध घोषणा गर्नु पर्छ, लघुवित्त, बैंकहरु र सहकारीको ब्याजदर एक अंकभित्र झार्नु पर्छ । यसका लागि फागुन ५गते मिटर व्याज, बैंकको चर्को ब्याज र लघुवित्तका विरुद्ध र फागुन १५गते चर्को महङ्गीका विरुद्ध पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने छ । देशबाट हजारौं युवायुवतीलाई विदेशमा लगेर बेच्ने, अलपत्र पार्ने, यौन शोषण र हिंसा गरी जीवन नै समाप्त पारिदिने मानव तस्करीलाई यथासिघ्र रोक्नु पर्छ ।
३ वुदे सहमति अनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण बन्दि कमरेडहरु मुक्त हुनु पर्नेमा हालसम्म पनि ४०जना कमरेडहरु विभिन्न जेलहरुमा बन्द हुनहुन्छ, सयौं मुद्दाहरु खारेज भएका छैनन् । राज्यसँग पटक पटक छलफल सहमति भएर पनि कार्यान्वयन गरिएको छैन । उल्टै जनयुद्ध कालका मुद्दामा त्यो पनि सहिद भसाइकेका कमरेडहरुको नाममा समेत पक्राउ पुर्जी टास्ने प्रतिगामी एवं अनैतिक कार्य भइरहेका छन् । राज्यले सहमति अनुसार अविलम्ब बन्दि कमरेडहरु मुक्त गर्नु पर्छ साथै मुद्दाहरु खारेज गरिनु पर्छ । यि मुद्दामा पार्टीले संघर्ष गर्नेछ ।
नेपाली किसानहरुलाई सर्वसुलभरुपले मल, बिउ, औजारहरु उपलब्ध गराउनु पर्छ । साथै भारतबाट परिक्षण विना अनियन्त्रित प्रकारले आयात गरिने तरकारी रोकेर नेपाली तरकारी, फलफुल आदिको संरक्षण गर्नु पर्छ । त्यसैगरी १लाख ४७हजार किलोमिटर भित्र वास नपाएर सुकुम्बासी बनेका नागरिकहरुलाई अविलम्ब वासको व्यवस्था गर्नु पर्छ र उनीहरु वसिरहेको ठाउँबाट डोजर लगाएर उठाउन बन्दगरेर उनीहरुकै नाममा लालपुर्जा दिनु पर्छ । सुकुम्वासी जमिन दर्ताका नाममा अति चर्को दर्ता शुल्क असुल्ने कार्य बन्द गरेर निशुल्क या न्युनतम शुल्कमा दर्ता गरिनु पर्छ । मजदुरहरुका सुविधा कटौति गर्ने र करारमा काम गराउने अवस्था अन्त्य गर्नु पर्छ । मध्यम खालका र राष्ट्रिय उद्योग व्यवसाय गर्दा कोभिड, विभिन्न रोग, आर्थिक संकटका कारण टाटपल्टिएका व्यवसायीहरुलाई राहत दिनु पर्छ र उनीहरुलाई संरक्षण गर्नु पर्छ । शैक्षिक वेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्था गर्नु पर्छ । जनताले थेग्नै नसक्ने गरी वृद्धि भइरहेको महङ्गी रोकिनु पर्छ । यि विषयमा संघर्ष गरिने छ ।
६) नेपालका सम्पूर्ण सहिदहरु मुख्यतः जनयुद्ध र एकीकृत जनक्रान्तिमा वलिदान गर्ने महान सहिदहरुलाई यथासिघ्र राष्ट्रिय सहिद घोषणा गर्नु पर्छ साथै वेपत्ता योद्धहरुबारे राज्य वोल्नु पर्छ । घाइतेहरुको उपचारको व्यवस्था गर्नु पर्छ । परिवारहरुको संरक्षण गर्नु पर्छ । यसका लागि पार्टीले संघर्ष गर्ने छ ।
७) शैक्षिक क्षेत्रमा व्याप्त निजीकरण, व्यापारीकरण र त्यसले समाजमा पारिरहेको नकारात्मक प्रभावलाई रोक्न राज्यले शिक्षालाई आफ्नो दायित्व भित्र लिनु पर्छ । विभिन्न विषयमा मुख्यतः मेडिकल कलेजका विद्यार्थीहरुमा भइरहेका अत्याचार रोकेर विद्यार्थीसँग भएका सहमति लागु गराउनु पर्छ । गण्डकी कलेजले पैसा पनि फिर्ता नदिने परिक्षामा वस्न पनि नदिने स्थिति अन्त्य गर्नु पर्छ । पार्टीले विद्यर्थाीहरुको न्यायीक संघर्षलाई साथ दिने छ ।
८) पार्टीले आर्थिक क्षेत्रमा महाधिवेशनले संश्लेषण गरेको एकीकृत स्वामित्व प्रणालीलाई पकड्दै आत्मनिरभर उत्पादन र राष्ट्रिय उद्योगी व्यवसायीहरुसँगको सहकार्यलाई लागु गर्ने छ ।
९) पार्टीले नेता कार्यकर्ताको वैचारिकीकरण एवं जननेतृत्व निर्माणका लागि कम्युनिष्ट कलेज संचालन गर्ने छ ।
१०) क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग सयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यन्वयन गर्ने छ ।
११) विश्वका मालेमावादी पार्टीहरुसँग भाइचारा सम्बन्ध कायम राख्दै कम्युनिष्ट पार्टीहरु सँगको बहस, सहकार्यलाई व्यवस्थित गर्दै जाने निर्णय लिइएको छ ।
१२) पार्टीका आधिकारिक धारणा सार्वजनीक साथै संप्रेषण गर्नका लागि जनपत्रिका अनलाइन, दृष्टिकोण पत्रिका र अन्य प्रकाशनहरु संचालन गर्ने साथै क्षेप्यास्त्र साप्ताहिक लगायत पार्टी समर्थक र सहयोगी संचार माध्यमहरुसँग सहकार्य गर्ने । फागुन भित्र एकीकृत जनक्रान्तिका सहिदहरुको जीवन गाथा प्रकाशन गर्ने निर्णय लिइएको छ ।
१३) पार्टीले कम्युनिष्ट संस्कृति निर्माण, स्थापित र विकास गर्नका लागि महाधिवेशनले पास गरेको सी जातिको संस्कृति अनुसार निम्न कार्यहरु लागु गर्ने निर्णय लिइएको छ ।
क) कम्युनिष्ट आन्दोलनका र नेपाली क्रान्तिका दिवस, सहिद तथा वेपत्ता दिवसहरु भव्यरुपले मनाउने
ख) बच्चा जन्मिदा खुसीयाली मनाउने, ६महिनामा शुभकामना कार्यक्रम गर्ने , विवाहलाई जनवादी बनाएर खुसीयाली मनाउने, मृत्यमा ५दिने कार्यक्रमहरु गर्ने । पहिलो दिन शोक सभा, दोस्रो दिन वृक्षारोपन, तेस्रो दिन सहयोग वितरण, चौथोदिन अक्षयकोष खडा गर्ने र पाचौं दिन श्रद्धाञ्जली कार्यक्रम गर्ने, सी जातिका आफन्तहरुको निधनको स्मृतिमा हरेक बर्ष असोज २५गते स्मृति दिवस मनाउने ।
ग) प्रगतिशील जनवादी—समाजवादी साँस्कृतिक कर्मीहरुको सम्मान र संरक्षण गर्ने साथै सामना लगायत साँस्कृतिक परिवारहरुबाट साँस्कृतिक अभियानहरु संचालन गर्ने निर्णय लिइएको छ ।
१४) पार्टीले जनसेवा, श्रमकार्य र नमुना कार्यलाई निरन्तर संचालन गर्ने निर्णय लिइएको छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु